
२४ वैशाख, हेटौंडा । हेटौंडामा जमिनमुनि गाडी बेपत्ता भएको घटनामा अनुसन्धान गर्न आएको भूगर्भविद्को टोली काठमाडौं फर्किएको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गत शुक्रबार गाडी बेपत्ता भएपछि खानी तथा भूगर्भ विभागको टोली मंगलबार अध्ययनका लागि घटनास्थल आइपुगेको थियो । दुई दिनको अध्ययनपश्चात भूगर्भविद्को चार सदस्यीय टोली बुधबार काठमाडौं फर्किएको हो ।
नारायण अधिकारीको नेतृत्वमा विभागको टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका विषयमा अध्ययन गरेको थियो । असुरक्षालाई कारण देखाएर दुई दिनदेखि जारी अध्ययन रोकिएको हो ।
फर्किने क्रममा घटनास्थलबाट अधिकारीले भने, ‘अहिलेलाई अध्ययन रोक्नैपर्छ । हामी हाम्रो सेफ्टीका कारण त्यो गर्न सक्दैनौं ।’ अध्ययन फेरि कहिले सुरु हुन्छ भन्ने प्रश्नमा उनले थपे, ‘पहिला हामी यसको रिपोर्ट दिन्छौं । त्यसपछि खानी विभागले गर्नसक्छ भने विभाग र उपमहानगरको समन्वयमा गर्छौं । अन्य निकायको पनि सहयोग चाहिन्छ भने सबैको समन्वयमा अगाडि बढ्न सक्छौं ।’
अध्ययनले तत्काल यकिन केही पत्ता नलागेको भूगर्भविद् अधिकारीले बताए । ‘यकिन अहिले नै भन्न सक्दैनौं । के चाहिँ भन्न सक्छौं भने, त्यहाँ कुनै हेभी र स्ट्रोङ म्याग्नेटिब फिट भएको वस्तु चाहिँ देखिन्छ,’ अधिकारीले भने ।
टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेको छैन । अप्रत्यक्ष यन्त्र म्यानेटोमिटरबाट प्राप्त भएको विवरण पनि अप्रत्यक्ष हुने भएकाले त्यसलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।
प्राप्त अप्रत्यक्ष विवरणलाई प्रमाणित गर्ने कार्यले बुधबार पूर्णता पाउन नसकेको अधिकारीले घटनास्थलमा उपस्थित जनप्रतिनिधि र स्थानीयलाई जानकारी गराए । ‘अध्ययनको रिजल्ट हामी दिन्छौं । यसको आधारमा के रिजल्ट देखिन्छ थाहा छैन । त्यसपछि के गर्दा यहाँको अवस्थाको उत्कृष्ट वैज्ञानिक उत्तर पाइन्छ, त्यसपछि भन्न सक्छौं,’ भूगर्भविद् अधिकारीले भने ।
घटनास्थलमा पानीको मूल तीन ठाउँबाट आएको देखिएको र त्यो पानीको मूल स्रोत पत्ता लगाउन वैज्ञानिक अध्ययन गर्नुपर्ने उनले बताए । घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन हुने उनले जनाए ।
गत शुक्रबार दिउँसो ना४च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको गाडी धनी हरिराम राईले बताएका छन् । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । गाडी हराएको दुई दिनपछि हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविद्को सहयोग लिने निर्णय भएको थियो । सोहीअनुसार भूगर्भविद्को टोली अध्ययनका लागि हेटौंडा आएको थियो ।
प्रतिक्रिया 4