Comments Add Comment

दसैं र तिहारमै हुन्छ वर्षभरिको ३० प्रतिशत व्यापार

२५ असोज, काठमाडौं । दसैंतिहारको अवसरमा व्यापारीहरुले वर्षभरि गर्ने कुल व्यापारको ३० देखि ४० प्रतिशतसम्म व्यापार हुने गरेको छ । दसैं लागेपछि अधिकांश मानिसको आम्दानी वृद्धि हुने हुँदा व्यापार बढेको व्यवसायीहरु बताउँछन् ।

फाइल तस्वीर
फाइल तस्वीर

‘दसैंमा अधिकांश मानिसहरु धनका मालिक भएका हुन्छन्, त्यसो हुँदा उनीहरुको क्रय क्षमता अन्य समयमा भन्दा बढी हुन्छ’ नेपाल अटोमोबाइल डिलर्स एशोसियशनका उपाध्यक्ष अञ्जन श्रेष्ठ भन्छन्- ‘नाडा अटो शो देखि छठ पर्वसम्म वर्षभरि हुने गाडीको कुल बिक्रीमध्ये करिव ४० प्रतिशत बिक्री हुनेगर्छ ।’

नेपालीहरुको उत्सवमा उमंग ल्याउन व्यवसायीहरुले आकर्षक छुट र उपहारको समेत घोषणा गरेका हुन्छन् । छुट र उपहारले उपभोक्ता आकषिर्त गर्ने व्यवसायीहरुको बुझाइ छ ।

‘एक त चाडबाडमा क्रेताहरुको आम्दानी बढेको हुन्छ, त्यसमाथि आकर्षक छुट र उपहार पाउने भएपछि यही समयमा किनमेल गर्नुपर्छ भन्ने धारणा बसिसकेको छ’ हुन्डाई गाडीका बिक्रेता समेत रहेका श्रेष्ठले भने- ‘छुट र उपहारले पनि व्यापार बढाउन ठूलो भूमिका खेलेको हुन्छ ।’

चाडबाडमा खर्च गर्नुपर्छ भन्ने नेपालीहरुको सोचाइ रहेको बताउँदै आइएमएसका सिनियर मार्केटिङ कन्सलट्यान्ट पुष्कल खतिवडा भन्छन्- कम्पनी तथा व्यवसायीहरु आकर्षक उपहार र छुट प्रदान गरेर यस अवसरलाई समाउन चाहान्छन् ।

दसैंतिहारका बेला सामान्य समयमा भन्दा २५ देखि ३० प्रतिशत व्यापार बढ्ने गरेको खतिवडाको अनुभव छ । उनी मान्छेको खर्च गर्ने हैसियत बढेपछि उपहार घोषणा नगरे पनि स्वतः व्यापार बढ्ने ठोकुवा गर्छन् । छुट र उपहार उपभोक्तालाई आकषिर्त गर्ने माध्यममात्र भएको उनको भनाइ छ ।

यस वर्षको दसैंमा सरकारले आफ्ना कर्मचारीहरुलाई ११ अर्ब रुपैयाँ भत्ता वितरण गरेको थियो । यति नै मात्रामा उनीहरुले तलबसमेत बुझे । दसैंमा कर्मचारीमार्फत गएको २२ अर्ब रुपैयाँ बजारमै पुगेको पूर्वसचिव कृष्णहरी बास्कोटा बताउँछन् ।

त्यसो त यस समयमा रेमिट्यान्स आप्रवाह पनि बढ्ने गर्छ । अन्य समयमा भन्दा यस समयमा झण्डै दोब्बर रेमिट्यान्स भित्रिने गरेको रेमिट्यान्स कम्पनीहरु बताउँछन् ।
दसैंमा भित्रिएको रेमिट्यान्स रकम पनि बजारमै पुगेको छ । यो समयमा गाडी, मोटरसाइकल, मोबाइल, लत्ताकपडा, अन्य इलेक्ट्रोनिक्स आइटम लगायतका वस्ुतहरुको बिक्री उच्च भएको व्यवसायी बताउँछन् ।

व्यवसायीहरुले दसैंमा घोषणा गरेका विभिन्न स्कीमका कारण कतिपय उपभोक्ताले किनमेलका लागि दसैंलाई उपयोग गरे । अत्यावश्यक वस्तुहरु बाहेक अन्य वस्तुहरु खरिदका लागि उपभोक्ताले दसैं पर्खिने प्रचलन रहेको न्यूरोडका व्यवसायीहरु बताउँछन् ।

चाडबाडको समयमा छुट र उपहार स्किमले उपभोक्ता र व्यवसायी दुबैका लागि ‘वीन-वीन’ को अवस्था सिर्जना गर्ने भिजी सुजुकीका एसिस्टेन्ट जनरल म्यानेजर अधिर कुमार श्रेष्ठ बताउँछन् । वर्षभरि हुने कुल कारोबारको ३० प्रतिशत यसै समयमा हुने गरेको बताउँदै श्रेष्ठले यो समयमा खरिद गर्नका लागि उपभोक्ता कुरेर बस्ने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment