Comments Add Comment

महेश बस्नेतले फेल गराए खेतानको खेल

६ कात्तिक, काठमाडौं । नेपालमा ठूलो औद्योगिक घराना खेतान गु्रपले दोलखाको खरिढुंगास्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग सञ्चालनका लागि अघि सारेका शर्तले सरकार र स्थानीय जनतालाई फाइदा नहुने भन्दै उद्योगमन्त्री महेश बस्नेतले हस्तक्षेप गरेका छन् ।

rajendra khetan
राजेन्द्र खेतान

म्याग्नेसाइट उद्योग खेतान समूह र उडिसा इन्डष्ट्रिजलाई सुम्पिने आफ्नै पार्टीका पूर्ववर्ती उद्योगमन्त्री कर्णवहादुर थापाको निर्णयमा नयाँ उद्योगमन्त्री महेश बस्नेतले खोट देखाउँदै सरोकारवालासँग सल्लाह नगरी फाइल अघि नबढाउन निर्देशन दिएका हुन् ।

थापाले खानी सञ्चालनका लागि खेतान समूहलाई दिन प्रक्रिया अघि बढाउँदा बढाउँदै मन्त्रीबाट हटेका थिए । खेतान समूहले शर्तसहित खानी सञ्चालन प्रस्ताव अघि सारेको छ ।

सरकारलाई घाटा पार्ने र स्थानीय जनताको पनि हित नहुने शर्त पालना गरेर खानी सञ्चालन गर्नु राष्ट्रघात हुने भन्दै मन्त्री बस्नेत र सचिव उत्तमकुमार भट्टराईले अर्थमन्त्रालयको निजीकरण समितिमा जान लागेको प्रस्ताव रोकेको स्रोतले जनाएको छ ।

‘पहिलो कुरा त यो उद्योग सञ्चालनका लागि अरुले पनि उहाँहरुले जस्तै प्रस्ताव ल्याउने गरी प्रतिस्पर्धा गराउनुपर्छ र स्थानीय दोलखा सिन्धुपाल्चोकका उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्छ’ मन्त्री बस्नेतले अनलाइनखबरसँग भने ‘दोस्रो कुरा ७५प्रतिशत शेयर रहेको सरकारले १२ वर्षसम्म नाफा नपाउने र स्थानीयले पनि केही फाइदा नपाउने कुरा मान्न सकिन्न’

ठूला व्यापारिक घरानालाई उनीहरुका शर्त मानेर उद्योग सञ्चालन गर्न दिनुभन्दा सोही क्षेत्रका स्थानीय लगानीकर्तालाई आकषिर्त गर्दा स्थानीय जनताले रोजगारी र सुविधा पाउने मन्त्री बस्नेतको तर्क छ ।

उद्योग सचिव उत्तमकुमार भट्टराईका अनुसार स्वीकृत भएको प्रस्त्ताव पत्रमा १० वर्षसम्म सरकारले लगानी अनुसारको प्रतिफल नपाउने देखिएको छ । गत माघमा तत्कालीन उद्योगमन्त्री थापाले खेतान समूहको प्रस्ताव उत्कृष्ट भएकाले उसलाई सञ्चालनको अवसर दिनुपर्ने बताएका थिए ।

MAHESH-BASNET
उद्योग मन्त्री महेश बस्नेत

खरिढुंगाको म्याग्नेसाइट उद्योगमा सरकारको ७५ प्रतिशत, खेतान समूहको १२ दशमलव ५ प्रतिशत र भारतको उडिसा इन्डस्ट्रीको १२ दशमलब ५ प्रतिशत लगानी छ ।

कृषि, पशु र खाद्य उद्योग तथा निर्माण सामाग्री बनाउन प्रयोग हुने म्याग्नेसाइट उद्योगलाई सरकारले ०५९ सालमा रुग्ण उद्योग घोषणा गरेको थियो । उद्योग ०५४ सालसम्म राम्रोसँग चलेको थियो ।

उद्योग ३ अर्ब ५९ करोड लगानीमा ०३६ सालमा सञ्चालन शुरु भएको थियो । दोलखाको मुडे र दोलखाको लाँकुरी गाविसको सीमानामा पर्ने खरिढुंगा पर्यटकीय तथा धार्मिक मनोरम स्थल हो ।

०५१ मा सरकारले कर्मचारी सञ्चयकोषसँग उद्योग सञ्चालन गर्न २० करोड ऋण लिएको थियो । त्यसबेला राज्यको लगानीलाई खेतान समूहले नै परिचालन गरेका थियो ।

पछि फेरि खेतान समूहले २० करोड मागेर उद्योग सञ्चालन गर्न खोजे पनि सरकारले रोकेको थियो । खेतान समूहबाट उद्योग सन्चालन नहुने र नाफा पनि आफूले मात्र खाने नियत देखिएकाले मन्त्री बस्नेतले अरु प्रवर्द्धक खोजेको स्रोतले जनाएको छ ।

उद्योग खेतान समूहलाई दिने प्रस्ताव निजीकरण समितिमा लैजाने दिनमात्र अचानक फाइल मन्त्रीसमक्ष पुगेपछि मन्त्री र सचिव सल्लाह गरेर यसमा पुनर्विचार गरेरमात्र पठाउने निर्णय भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment