४ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा केही न केही चर्चा पाउने काम गर्छन् भन्ने कुरो गत साउनमै प्रष्ट भइसकेको थियो । यसपालि पनि उनले जनकपुर प्रवेशदेखि नै त्यस्तै नयाँ शैली रोज्ने भएका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)का संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार मोदी भारतबाट भगवान रामको जन्ती बनेर जनकपुर प्रवेश गर्ने छन् ।
जनकपुरमा राम जानकीको विवाहको दिन परेकाले आगामी मंगलबार भारतबाट जन्ती बनेर ठूलो संख्यामा साधुहरु र भक्तजन जनकपुर आउनेछन् । सोही समूहमा मिसिएर मोदी जन्ती बनेर नेपाल पस्न लागेका हुन् ।
काठमाडौंमा बीजेपी नेताको दौडधूप
यसैवीच बीजेपी नेता उपाध्यायले दिल्लीबाट काठमाडौं आएर केही पूर्वप्रधानमन्त्रीहरुलाई होटलमा भेटघाट गरेका छन् । बहालवाल उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर उनी शुक्रबार भारत फर्कने कार्यक्रम छ ।

नेपाली नेताहरुसँग भेट गर्न काठमाडौं आएका संगठन विभाग प्रमुख डा. उपाध्याय नेपालको छिमेकी राज्य उत्तरप्रदेशका बासिन्दा हुन् ।
उनी मोदीको मन्त्रिमण्डलमा मन्त्रीका दाबेदारसमेत मानिन्छन् । काठमाडौंको भ्रमण सकेर उनी जम्मु जाँदैछन् ।
धर्म परिपवर्तन गराउनेलाई जेल हाल्नुपर्छ : बीजेपी नेता
यसैवीच नरेन्द्र मोदीका दूत डा. उपाध्यायले नेपालमा हिन्दुहरुलाई जवरजस्ती क्रिश्चियन बनाउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरे । विहीबार बिहान सगरमाथा टेलिभिजनमा पत्रकार जीवराम भण्डारीसँगको अन्तरवार्तामा बीजेपी नेता उपाध्यायले जबजस्ती धर्म परिवर्तन गर्नेहरुलाई जेल हाल्नुपर्ने बताए ।
प्रतिक्रिया 4