Comments Add Comment

एनसीसी बैंकको २० करोड खराब कर्जा उठ्यो

NCC Bank (7)

पुष्प दुलाल

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको जिम्मेवारी लिएपछि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको समुहसँग सम्बद्ध २० करोड रुपैयाँ खराब कर्जा उठेको छ ।

‘समूहसँग सम्बन्धित २० करोड कर्जा असूल भइसकेको छ अब करिब २५ करोड रुपैयाँ असूल हुन बाँकी छ’ राष्ट्र बैंककातर्फबाट एनसीसी बैंकको सञ्चालक समिति सम्हालिरहेका एक सञ्चालकले अनलाइनखबरसँग भने ।

सांग्रिला हाउजिङ, हिमालय क्यापिटल र नेपाल पावर डेभलपमेन्ट कम्नीमा प्रवाह भएको कर्जा उठेको हो ।

डिएनएस र कुमारी विल्डर्स प्रालिमा गएको २५ करोड रुपैयाँ भने उठाउन बाँकी छ । धितो बलियो भएकाले कर्जा असूलमा समस्या नपर्ने ती सञ्चालकले बताए ।

‘कर्जाको धितो राम्रो छ, कतिपयको धितो सेयर पनि छ, त्यसैले कर्जा सुरक्षित छ’ उनले भने ।

बाँकी रहेको खराब कर्जा उठाएर पुस मसान्तभित्रै साभारणसभा गराई नयाँ निर्वाचित सञ्चालक समितिलाई बैंक जिम्मा लगाउने उनले बताए ।

राष्ट्र बैंकले गठन गरेको सञ्चालक समितिलाई समूहगत कर्जा असूल गर्न टिओआर दिएको थियो । बैंकले लगानी गरेका तर वित्तीयरुपमा घाटा भएका संस्थाहरुको पहिचान गरी त्यस्ता संस्थामा प्रवाह भई खराब कर्जामा परिणत भएको कर्जा उठाउने टिओआर छ ।

राष्ट्र बैंकले पठाएको सञ्चालक समितिले त्यस्ता संस्थाबाट प्रवाहित कर्जाको १५ प्रतिशत व्याजदरका हिसाबले प्रतिफल लिएर साावाँ र व्याज असूल गर्न थाल्यो ।

एनबी समूहका लक्ष्मीदास श्रेष्ठ समूहको सांगि्रला हाउजिङमा प्रवाहित २ करोड ५ लाख रुपैयाँ कर्जाबाट प्रतिफलसहित किस्ताबन्दीमा ७ करोड असूल गरिसकेको छ ।

बैंकले एनबी इन्स्योरेन्मा १ करोड रुपैयाँ लगानी गरेको थियो । उक्त कम्पनीको सेयर बिक्री हुन सकिरहेको थिएन । चारपटक सार्वजानिक खरिदका लागि बोलपत्र आहृवान गरेपनि आवेदन परेको थिएन ।

‘तर पछिल्लो समयमा जारी गरिएको सार्वजानिक सूचनामा आवेदन परेको छ ।’ ती सञ्चालकले भने -‘केही समयभित्रै एनबी इनस्योरेन्सको सेयर पनि सल्टिनेछ ।’

मर्जरको विषेश प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समितिले एनसीसी बैंकको आगामी साधारणसभामा मर्जको प्रस्ताव लैजाँदैछ । फेरि पनि बैंकको सञ्चालक समितिमा लक्ष्मीदास श्रेष्ठ र निर्मल प्रधान खेमाकै प्रतिनिधित्व हुने भएकाले राष्ट्र बैंकले मर्जरका लागि दवाव दिने नीति अबलम्बन गरेको हो ।

‘मर्ज भयो भने अन्य समूहको पनि प्रवेस हुने भएकाले यी दुई समूहको झगडाले बैंकलाई समस्या गर्दैन’ राष्ट्र बैंक स्रोतले भन्यो -‘त्यसैले घुमाउरोबाटोबाट राष्ट्र बैंकले मर्जरको दावाव दिइरहेको छ ।’

पहिले बैंकमा प्रवर्द्धकहरुलाई क, ख र ग भनेर समूहमा वर्गिकरण गरिएको थियो । समूहमा जसको होल्डिङ बढी हुन्छ त्यसले सञ्चालक समिति हत्याउँथ्यो ।

‘अब प्रवर्द्धक र साधारण सेयरधनीमात्रै हुनछन । यसो गर्दा सञ्चालक समितिमा सन्तुलन हुने हाम्रो विश्लेषण छ’ स्रोतले भन्यो ।

NCC Bank (10)
बैंकको नयाँ भवन

चुक्ता पुँजी २ अर्ब २ करोड

राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएपछि न्यूनतम चुक्ता पुँजी २ अर्ब २ करोड रुपैयाँ पुग्नेगरी बोसन सेयर वितरण गर्ने निर्णय गरेको छ ।

गत वर्ष र अघिल्लो वर्षको नाफाबाट बैंकले सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांस दिने निर्णय गरिसकेको छ । आगामी साधारणसभाबाट सञ्चालक समितिको उक्त प्रस्ताव पारित हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ छ । राष्ट्र बैंकले यसअघि नै वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बैंकको पुँजी वृद्धिसम्बन्धी समस्याको पनि समाधान गरेको छ ।

केहीदिनमै श्वेतपत्र

राष्ट्र बैंकले सञ्चालक समिति लिएपछि भएका प्रगतिको बारेमा सर्वसाधारणलाई जानकारी गराउन केहीदिनमै श्वेतपत्र जारी गरिने स्रोतले जानकारी दियो ।

बैंकका सञ्चालकहरुबीच विवाद चुलिएपछि राष्ट्र बैंकले २०७० माघ २१ गते तत्कालीन सञ्चालक समितिलाई निलम्बन गरी लागि राष्ट्र बैंकका निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा राष्ट्र बैंककै उप-निर्देशक रमेश आचार्य र सहायक निर्देशक रमेश रेग्मीलाई सञ्चालक समितिमा नियुक्ति गरेको थियो ।

निरौला कामू कार्यकारी निर्देशक भएपछि निर्देशक शिवनाथ पाण्डेलाई राष्ट्र बैंकले गत असोज २९ गते सञ्चालक समितिको संयोजकमा नियुक्ति गर्‍यो ।

के थियो काण्ड ?
बैंकमा एनबी समूह र निर्मल प्रधान समूहको सेयर होल्डिङ बढी छ । सञ्चालक समितिमा एकले अर्कोलाई निषेध गर्न थालेपछि बैंक समस्यामा परेको थियो । सञ्चालक समितिले निर्ण गर्न नसक्दा बैंकको प्रफर्मेन्स कमजोर बन्दै गएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

इतिहासमा के छ ?

नेपालको बैंकिङ इतिहासमा राष्ट्र बैंकले दुई वटा बैंकको सञ्चालक समिति र दुई वटा बैंकको व्यवस्थापन समितिमा हस्तक्षेप गरेको छ ।

राष्ट्र बैंकले यसअघि बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा हस्तक्षेप गरेको थियो । त्यसैगरी एनबी बैंक र लुम्बीनी बैंकको व्यवस्थापनमा पनि हस्तक्षेप गरेको थियो । नेपालमा हाल ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन ।

यस्तो बैंकको अवस्था
चालू आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा बैंकले  १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ करोड २५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो वर्षको असोजमा बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याएको ३ करोड ७९ लाख रुपैयाँ फिर्ता (राइटव्याक) गरेको छ । गत वर्षको असोजमा १ करोड ६९ लाख रुपैयाँ मात्रै राइटव्याक गरेको थियो ।

बैंकको सञ्चित कोष १ अर्ब २८ करोड ९० लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड छ । ३८ प्रतिशत बोनस सेयर वितरणपश्ताच बैंकको चुक्ता पुँजी २ अर्ब २ करोड हुनेछ ।
यो असोजमा बैंकले २२ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको असोजमा बैंकले २२ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो असोजमा घरजग्गामा बैंकको लगानी ९५ करोड २८ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकले प्रवाह गरेको कूल कर्जाको २.७० प्रतिशत मात्रै खराब कर्जा छ । यो गत वर्षको सोही अवधिको भन्दा ०.१२ प्रतिशले कम हो ।

बैंकको प्रतिसेयर वाषिर्क आम्दानी २०.९८ र प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ६९ पैसा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment