+
+
Shares

प्रचण्ड मोर्चाद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १७:०८
फाइल तस्वीर
फाइल तस्वीर

२२ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मोर्चाको बिहीबार बसेको बैठकले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । जस अनुसार माघ २९ गते देशभरका सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने र २ गते मोर्चामा आवद्ध दलहरुको संयुक्त कार्यकर्ता भेला गर्ने छन् ।

भेलाका लागि संयोजक प्रचण्डसहितका ३५ नेतालाई प्रशिक्षक तोकिएको मोर्चामा आवद्ध सभासद शिवलाल थापाले जानकारी दिए । प्रचण्डले काठमाडौंमा, बाबुराम भट्टराईले नेपालगञ्जमा, नारायणकाजी श्रेष्ठले झापामा, उपेन्द्र यादवले बिराटनगरमा, विजय गच्छदारले राजविराजमा, महन्थ ठाकुरले भैरहवामा सम्बोधन गर्नेछन् ।

३० दलले ३ गते देशभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । फागुन ९ गते कालो पट्टी र ब्यानरसहित देशभर जनप्रदर्शन र विरोध सभा गरिने सभासद थापाले जनाए ।

काठमाडौंमा २ लाख उतार्ने दाबी

३० दलले पहिलो चरणको आन्दोलनको अन्तिम दिन १६ गते काठमाडौंमा आमसभा गर्नेछ । यसलाई विपक्षीले ‘सत्तामा हमला‘ नाम दिएको छ ।

३० दलको बैठकमा प्रचण्डले १६ गतेको प्रदर्शनमा २ लाख कार्यकर्ता सडकमा उतार्न आग्रह गरेका छन् । उनले एक लाख मानिस आफ्नो दलले ल्याउने भन्दै अन्यलाई आफ्नो हिस्साको जिम्मा लिन आग्रह गरे ।

देशभरबाट कार्यकर्तालाई राजधानीमा ल्याउने प्रचण्डको प्रस्ताव छ । मोर्चाका नेताहरुले भने एउटा बस काठमाडौंमा ल्याउन ३५/४० हजारसम्म पर्न सक्ने भन्दै काठमाडौं र आसपासका क्षेत्रबाट मात्र कार्यकर्ता ल्याउन सुझाव दिएका छन् ।

एक सभासद बराबर २० हजार उठाउने

बैठकले आन्दोलनका लागि गठवन्धनमा आवद्ध दलहरुबाट रकम उठाउने निर्णय समेत गरेको छ । बैठकमा प्रचण्डले नै आन्दोलनका लागि सबै पार्टीबाट रकम उठाउने प्रस्ताव राखेका थिए ।

नेताहरुका अनुुसार संविधानसभामा भएका दलहरुबाट एक सभासद बराबर २० हजार रकम उठाइनेछ । संविधानसभामा नभएका दलहरुलाई भने रकम नतोकिएको र स्वच्छाले दिने बताइएको छ ।

गणेश लामा ३० दलको बैठकमा

प्रचण्ड नेतृत्वको ३० दलको बैठकमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको तर्फबाट डन गणेश लामा सहभागी भएका थिए ।

उनी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । एक नेताका अनुसार बैठकमा उनले केही बोलेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?