Comments Add Comment

बागबजारमा केपी ओली नरम देखिनुको रहस्य

२२ माघ, काठमाडौं । बागबजारको हार्दिक होटलमा विहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले एमाओवादीलाई सम्बोधन गर्दै भने-‘यो देश एमाले र कांग्रेसको मात्रै होइन, तपाईहरुको पनि हो ।’

Kp sharma Oli

सहमतिबाटै संविधान बनाउने भन्दै ओलीले ‘बहुमतको दम्भ’ नदेखाएको बताए । ‘बहुमतको दम्भ त भए पो देखाउनु,’ उनले भने- ‘एमालेसँग एक तिहाइमात्रै छ, संविधान बनाउन दुई तिहाइ चाहिन्छ ।’

ओलीले यसरी नरम भएर एमाओवादीलाई सहमतिमा आउन आग्रह गर्नुको मुख्य कारण चाँहि बुधबार बसेको एमाले स्थायी कमिटीको बैठक र त्यहाँ भएको छलफल नै हो ।

स्थायी कमिटीको जोड : सहमतिमै संविधान

बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकले एमाओवादीलाई समेत सहमतिमा ल्याएर संविधान बनाउन जोड दिने निश्कर्ष निकालेको एक नेताले बताए ।

‘बाह्रबुँदे समझदारी र शान्ति सम्झौताको मर्मअनुसार समझदारीमै अघि बढ्नेबारे गम्भीर छलफल भयो,’ बैठकमा सहभागी एमाले नेताले अनलाइनखबरसँग भने-‘एमाओवादी नेताहरुले हेगमा लान्छन् भनेर डराउन आवश्यक छैन, जतिसुकै झगडा गरे पनि आपसमा मिल्ने हामी नेपालीको मौलिक संस्कार नै हो, कसैले कसैलाई जेलमा हाल्दैन ।’

बरिष्ठ नेता माधव नेपालको अनुपस्थितिमा बसेको सो बैठकमा एमाओवादीलाई सहमतिमा ल्याउन प्रयास गर्नेबारे कुराकानी भएको र सोहीअनुसार संविधानसभाले प्रश्नावली समितिको म्याद पाँच दिन थपेको स्रोतले बतायो ।

अझै सहमतिको प्रयास गर्ने र प्रश्नावली समितिको म्याद फेरि लम्ब्याउन सकिने एमाले नेताले बताए ।

ओलीको ‘रियलाइजेसन’

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले एमाओवादीलाई चिढ्याएको र यस्ता अभिव्यक्तिले पार्टीलाई घाटा लाग्ने केही नेताले स्थायी कमिटी बैठकमा बताएका थिए ।

अबदेखि यस्तो उत्तेजक अभिव्यक्ति नदिन नेताहरुले ओलीलाई सल्लाह दिएका थिए । सोही सुझावलाई मनन गर्दै विहीबार बागबजारमा ओली संयमित बनेको स्रोतले बतायो ।

ओलीले आफ्नो नियत त्यस्तो नभए पनि बोल्दाबोल्दै फुत्किएको भन्दै ‘रियलाइजेसन’ गरेको एक नेताले भने । एमाओवादीलाई पनि सहमतिमा ल्याएर संविधान बनाउन आफू तयार रहेको ओलीले बैठकमा प्रष्ट पारेका थिए ।

वार्ताका लागि प्रधानमन्त्रीको वक्तव्य पर्खंदै एमाओवादी

Prachandaउता एमाओवादीका एक शीर्षनेताले बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार सहमतिबाटै संविधान बनाउन प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरे आफूहरु वार्तामा आउने बताएका छन् ।

‘प्रधानमन्त्रीज्युले त्यति भनिदिए हामीलाई वार्तामा आउने वातावरण बन्छ’ एमाओवादी नेताले अनलाइनखबरसँग भने-‘अध्यक्ष प्रचण्डले नै पेरिसडाँडाको पत्रकार सम्मेलनमा यो कुरा सार्वजनिकरुपमै भनिसक्नुभएको छ ।’

तर, प्रचण्डले पेरिसडाँडाबाट गरेको आग्रहलाई राम्रोसित नसुनिकन प्रधानमभन्त्री सुशील कोइरालाले सशर्त वार्तामा नबस्ने अभिव्यक्ति दिए ।

एमाओवादीले यसअघि संविधानसभाले सुरु गरेको प्रक्रिया स्थगन नगरेसम्म वार्तामा नबस्ने जनाएको थियो । तर, त्यसबाट लचक हुँदै उसले प्रधानमन्त्रीबाट सहमतिको प्रतिवद्धता आए वार्तामा आउने सकारात्मक संकेत दिएको छ ।

एमाले स्थायी कमिटीका एक सदस्यले अनलाइनखबरसँग भने-‘प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिए राम्रै हुन्छ, बाह्रबुँदे समझदारी, शान्ति सम्झौता एवं अन्तरिम संविधानको मर्म र भावनाअनुसार अघि बढ्न केको आपत्ति ? यो त हामीले भनिरहेकै कुरा हो ।’

एमाले स्थायी कमिटीको बुधबारको बैठकमा पनि प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले सहमतिका साथ अघि बढ्न सार्वजनिकरुपमै आह्वान गर्नेबारे छलफल भएको थियो । स्रोतले भन्यो-‘संविधानसभामै प्रधानमन्त्री र ओलीले बोल्नुपर्छ भन्ने कुरो उठेको थियो, तर सम्भवतः राप्रपा नेपालको गडबडीले त्यो हुन सकेन ।’

फिलिपिन्सबाट विहीबार माधव नेपाल फर्किएलगत्तै शुक्रबार फेरि एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।

नागरिक अगुवा र मध्यमार्गी सक्रिय

यसैवीच एमाओवादी मोर्चा र सत्ता पक्षलाई सहमतिमा ल्याउन विभिन्न दलका मध्यमार्गी नेता एवं नागरिक अगुवाहरु भित्रीरुपमा सक्रिय बन्न थालेका छन् ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले कानून मन्त्री नरहरी आचार्यलगायत सँग छलफल गरेको बुझिएको छ । त्यस्तै दमननाथ ढुंगानाले एमालेका केही नेतासँग एमाओवादी मोर्चालाई समेत सहमतिमा ल्याउनेबारे छलफल गरेका छन् ।

यो पनि पढ्नुस् 

प्रचण्डलाई ओलीको प्रश्न-किन मर्ने, किन टाउको फुटाउने ? (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment