१३ फागुन, काठमाडौं । अपराधीहरुको संरक्षणमा सरकार नै लागेको एकीकृत नेकपा माओवादीले शंका गरेको छ ।
काठमाडौंमा किशोरीहरुमाथि भएको एसिड प्रहार र बारामा बालिका बलात्कृतका घटनामा संलग्नहरुलाई सरकारले कारवाही नगरेको भन्दै एकीकृत नेकपा माओवादीले सरकारमाथि प्रश्न उठाएको हो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ,- ‘अपराधीको खोजी, कारबाही एवम् पीडितलाई न्याय दिलाउने कर्तव्यबाट राज्य चुकेको छ । यसप्रकारको सत्ताधारी र प्रशासनको गैरजिम्मेवार रवैया र वेवास्ताले कतै अपराधीहरुको संरक्षणमा राज्य तथा यसका निकायहरु नै त जिम्मेवार छैनन् भन्ने आशंका पैदा गराएको छ ।’
विज्ञप्तिमा काठमाडौंको बसन्तपुरमा एसिड प्रहार गरी किशोरीहरुलाई घाइते बनाउनेलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न र स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
बालिका बलात्कृत र दुर्व्यवहारका घटनाले तराई मधेश एवम् राजधानी लगायतका शहरी इलाकाहरु कहीँ पनि बालबालिकाहरु सुरक्षित नभएको पुष्टी भएको एमाओवादीले ठहर गरेको छ ।
प्रतिक्रिया 4