Comments Add Comment

पाँचतारे होटलमा ८ कोठा, एउटै कोठाको पाैने २ लाख !

Amankora-Hotel-Thimphu-7
राजधानी थिम्पुमा सञ्चालित अमानकोरा होटलको बाहिरी भाग ।

 नविन अर्याल/ टिप्पणी

१८ फागुन, भुटान । सुन्दा अचम्म लाग्न सक्छ, भुटानको एउटा पाँचतारे लक्जरी होटलमा ८ वटामात्रै रुम ! जब कि नेपालमा सबैभन्दा कम रुम भएको पाँचतारे होटल सांग्रिलामा मात्रै सयवटा रुम छन् ।

भुटानमा सञ्चालित पाँचवटा ‘अमानकोरा’ होटलमा जम्मा ७२ मात्रै स्वीट रुम छन् । यी होटल सिंगापुरको प्रख्यात होटल एन्ड रिसोर्ट चेन ‘अमान’ले सञ्चालन गरेको हो ।

अमानले भूटानमा ८ वटा रुममात्रै भएको पाँचतारे लक्जरी होटल चलाइरहेको छ । पुनाखा र फोब्जिखामा रहेका अमानकोरा होटलमा ८/८ रुममात्र रहेका छन् ।

सामान्यतया पाँचतारे होटल भन्ने वित्तिकै हामी धेरै कोठा, क्यासिनो, गेमिङ जोन, स्वीमिङ पुल, विभिन्न भेराइटीका रेष्टुरेन्ट, सम्मेलन कक्षलगायत भएको बुझ्छौं ।

भुटानमा सञ्चालित यी होटलमा न त स्वीमिङ पुल नै छन्, न त क्यासिनो तथा गेमिङ जोन नै । रेष्टुरेन्ट पनि एउटा मात्र रहेको छ । तर, पनि यहाँ एउटै रुमलाई प्रतिरात एक लाख ८६ हजार रुपैयाँसम्म तिर्ने पर्यटक आउँछन् ।

सेवा सुविधाका हिसावले अमनकोरा भन्दा नेपालका पाँचतारे होटल अगाडि रहे पनि खर्चालु पर्यटक अमनकोरामै पुग्ने गर्छन् ।

Amankora-Hotel-Thimphu
होटलको बेडरूम ।

अमनकोराका कोठाहरु पौने दुई लाखमा बिक्री हुँदा नेपालका पाँचतारे होटलका रुमहरु ८०/९० डलरसम्म झरेर बिक्री गरिन्छ । पर्यटक तान्न अमनकोरा गुणस्तर बढाउँछ, नेपाली होटलहरु मूल्य घटाउँछन् ।

अमानले पारो, पुनाखा फोब्जिखा, बुमथाङथिम्पुमा अमानकोरा होटल चलाइरहेको छ । जसमध्ये पारोमा २४ कोठा, थिम्पु र बुमथाङमा १६/१६ कोठा छन् ।

भुटानको अमनकोरा होटलमा मात्र होइन, उमा, ताज तासी, लि मेरिडियन, जीवालिङ होटलमा पनि ३० भन्दा बढी कोठा छैनन् । यहाँका होटलहरु थोरै रुममा गुणस्तरीय सेवा दिन तल्लीन छन् ।

भुटानमा सञ्चालित ९ पाँचतारे होटलमध्ये एउटामात्र (जीवालिङ) स्थानीय व्यवसायीको लगानीमा सञ्चालित होटल हो । अन्य सबै होटलहरु विदेशी चेनले सञ्चालन गरेका हुन् ।

भुटानमा कोठा कम, मूल्य बढी

अमनकोराका पाँचवटै होटलमा बस्नका लागि सिजनमा सिंगल रुमको १४ सय ५० डलर डबल रुमको १५ सय ५० डलर तिर्नुपर्छ । जुन सेवा शुल्क र कर बाहेकको मूल्य हो ।

थिम्पुस्थित अमानकोरा होटलकी असिष्टेन्ट लज म्यानेजर योसी कुबोटाका अनुसार १० प्रतिशत सेवा शुल्क र १० प्रतिशत कर जोडिदा सिंगल रुमको प्रतिरात १७ सय ४० डलर र डबल रुमको १८ सय ६० डलर तिर्नुपर्छ ।

Amankora-Hotel-Thimphu-8
स्पाको बारेमा जानकारी दिँदै होटलकी असिष्टेन्ट लज म्यानेजर योसी कुबोटा ।

अफ सिजनमा भने सेवा शुल्क र करबाहेक सिंगल रुमको ८ सय ७० र डबल रुमको ९ सय ७० डलर तिरे पुग्छ । भुटान टुरिज्म को-अपरेसन स्थानीय साझेदार रहेको यस होटलमा आउने पर्यटक औषत ६/७ दिन बस्छन् ।

नेपालमा सञ्चालित होटलमा विदेशी चेनले व्यवस्थापन मात्र सम्हालेका छन् । तर, भुटानमा सञ्चालित होटलमा ओनरशीप नै विदेशी कम्पनीले लिएका छन् । जसले गर्दा भुटानमा होटलबाट हुने आम्दानीको अधिकांश हिस्सा बाहिरिने गर्छ ।

२५ हजार खर्च अनिवार्य

‘कन्ट्रोल टुरिजम’ अवधारणा अपनाएको भुटानमा पर्यटकले सिजनमा दैनिक २ सय ५० र अफसिजनमा २ सय डलर अनिवार्य खर्च गर्नुपर्छ ।

नेपाली २५ हजार रुपैयाँ बराबरको प्याकेज खरिद गर्न नसक्ने पर्यटकलाई भुटानमा प्रवेश छैन् । पर्यटकलाई प्याकेज अनिवार्य गरिएको हुँदा यहाँका साधारण जनताले भने पर्यटनबाट खासै फाइदा लिन पाएका छैनन् ।

‘भुटानको पर्यटन समग्र जनताका लागि लाभदायक छैन, त्यहाँ होटल तथा ट्राभल व्यवसायीहरु आफै पर्यटक ल्याउँछन्, आफैमात्र कमाउँछन्’ पर्यटनविद् प्रचण्डमान श्रेष्ठ भन्छन्- ‘व्यवसायीले यति कमाए, उति कमाए भन्ने कुरा ठूलो होइन, कमाएको रकम कहाँ गयो भन्ने ठूलो कुरा हो ।’

भुटानका होटलमा विदेशीको स्वामित्व भएको हुँदा उनीहरु पर्यटक आफै भित्राउँछन्, कामदार पनि आफै ल्याउँछन्, खानेकुरासमेत आफ्नै देशबाट ल्याउँछन् ।

Amankora-Hotel-Thimphu-5
होटल बाहिर दृश्यावलोकन गर्दै बस्ने ठाउँ ।

नेपालको पर्यटनबाट ठूला व्यवसायीमात्र नभई सडकमा चटपटे बिक्री गर्ने व्यापारीदेखि ट्याक्सी ड्राइभर तथा भरियासम्म लाभान्वित हुन्छन् ।

निषेधले बढायो खर्चालु पर्यटक

भुटान सबै पर्यटकका लागि पहुँच नभएको (निषेधित) मुलुक भएकाले पनि महंगा पर्यटकको आकर्षण बढेको श्रेष्ठको ठम्याइ छ ।

‘जुन ठाउँ रेष्टिक्टेड हुन्छ, त्यो ठाउँमा के रहेछ भन्ने कौतुहलता हुन्छ, त्यस्तो ठाउँमा ठूलो रकम खर्चेर भए पनि मानिस जान रुचाउँछन्’ उनले भने- ‘नेपालको पनि ढोरपाटनमा शिकार खेल्न लाखौं रकम खर्च गरेर धनाढ्य पर्यटक आउने गर्छन् ।’

नेपालमा मानिसको बसोबास कम भएका ठाउँमा भुटानका जस्ता होटलहरु खोलेर खर्चालु पर्यटक भित्र्याउन सकिन्छ । तर, धेरै जनसंख्या भएको नेपालका सबै ठाउँमा भुटानको जस्तो पर्यटन उपयुक्त छैन ।

सहजै प्रवेश गर्न नपाइने चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६५ मा चितवन राष्ट्रिय निकुञ्जमा टाइगर टप्स खुलेको थियो । अमेरिकन नागरिकले खोलेका उक्त होटलमा ४ वटामात्र कोठा थिए । झण्डै ५० वर्ष अगाडि नै उक्त होटलमा अहिलेका महंगो पाँचतारे होटलमा भन्दा बढी पैसा तिरेर पर्यटकहरु जाने गर्थे ।

यही होटलले चितवनको पर्यटनमा नयाँ आयाम ल्याएको थियो । हामीले धेरै पर्यटक लैजान नसकिने ठाउँमा यस्तै होटलहरु खोलेर महंगा पर्यटक भित्राउन सकिन्छ ।

Amankora-Hotel-Thimphu-4
होटलको लवी ।

नेपालमा पनि खुल्नुपर्छ महंगा होटल

नेपालका निकुञ्ज तथा आरक्षहरुका साथै अपर मुस्ताङ, अपर डोल्पा, सगरमाथा बेस क्याम्प, रारा, बर्दिया, अन्नपूर्ण बेस क्याम्प लगायतका निषेधित ठाउँमा ‘टाइगर टप्स’ तथा ‘अमनकोरा’ जस्ता होटल सञ्चालन गर्ने बहुराष्ट्रिय कम्पनी भित्राउन सकिन्छ ।

नेपालको उच्च पहाडी तथा हिमाली भेगमा मानिसको बसोबास कम भएको हुँदा रोजगारी बढी आवश्यक पर्दैन । यस्ता ठाउँमा धेरै पर्यटक लैजानु पनि पर्यावरणीय दृष्टिले हितकर नहुने जानकारहरु बताउँछन् ।

यस्ता ठाउँमा थोरै पर्यटकबाट मनग्ये आम्दानी गर्न सक्ने अमन, लि मेरिडियनजस्ता प्रख्यात ब्रान्डलाई आफ्नो स्वामित्वमा होटल खोल्न दिनुपर्ने श्रेष्ठ बताउँछन् ।

नेपालको पर्यटन नीति नै गलत

‘दूर्भाग्य, नेपालमा भुटानमा जस्तै अन्तर्राष्ट्रिय ब्रान्ड भित्राउने र हाइइन्ड टुरिष्ट भित्राउने नीति नै छैन’ श्रेष्ठले भने- ‘रेष्टिक्टेड क्षेत्रबाट लाभ लिन सरकारले उपयुक्त नीति बनाउनु आवश्यक छ ।’

पर्यटकीय सम्भावनाको दृष्टिले भुटानभन्दा नेपाल धेरै अगाडि रहेको हुँदा यहाँ खर्चालु पर्यटक भित्राउन सकिन्छ । तर, यहाँ कुनै राम्रो परियोजना सञ्चालन गर्न खोज्यो कि राज्यका नीतिहरु नै बाधक बन्ने व्यवसायीहरुको गुनासो छ ।

रारामा स्तरीय होटल खोलेर खर्चालु पर्यटक तथा सेलब्रेटी ल्याउन सकिने सम्भावना छ । तर, यहाँ होटल खोल्न बन तथा निकुञ्ज बाधक बन्ने गरेको छ ।

बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउन लामो समयसम्म व्यवसाय गर्न पाउने सुनिश्चितता गर्नुपर्छ । तर, यहाँ जग्गा भाडा दियो भने देश बेच्न लागेको भनेर ‘राष्ट्रवादी’हरुले गुनासो पोख्ने गरेको व्यवसायीको आरोप छ ।

खर्चालु पर्यटक बहुराष्ट्रिय कम्पनीको हातमा

नेपालीहरु न त ठूलो लगानी गर्न सक्छन, न त पर्यटक नै भित्राउन सक्छन् । यस्तो अवस्थामा धनाढ्य पर्यटकको पहुँच भएका बहुराष्ट्रिय कम्पनी आवश्यक पर्छ ।

शहरी क्षेत्रमा पनि द्धारिकाज जस्ता होटलहरु खोलेर खर्चालु पर्यटक तथा चर्चित विदेशी सेलिब्रेटीहरु तान्न सकिन्छ । अहिले यो होटल राजधानीको उदाहरणीय होटल हो ।

Amankora-Hotel-Thimphu-3
रेष्टुरेन्ट ।

प्यासिफिक एशियन ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे भुटानबाट नेपाली व्यवसायीले सिक्नुपर्ने कुरा धेरै रहेको बताउँछन् ।

‘स्तरीय होटल हुनका लागि धेरै कोठा, भव्य भवन भएरमात्र हुँदैन रहेछ’ पाण्डेले भने- ‘सबैभन्दा ठूलो कुरा गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय नेटवर्क आवश्यक पर्दोरहेछ ।’

खर्च गर्ने वातावरण दिइएन

पोखरामा निर्माणाधीन दी पेभिलियन हिमालयजका महाप्रबन्धक राजीव श्रेष्ठ नेपालमा दिनको दुई/अढाइ सय डलर खर्च गर्ने पर्यटक आए पनि व्यवसायीकै कारण कम खर्च गर्ने गरेको बताउँछन् ।

‘पर्यटकहरु मोटो रकम खर्च गर्ने गरी आउँछन्, नेपालमा आउँदा उनीहरुले सोचेभन्दा कम मूल्यमा प्याकेज पाउँछन्’ श्रेष्ठको भनाइ छ- ‘सस्तो प्याकेज पाउँदा पाउँदै कसैले महंगो मूल्य तिर्दैन, व्यवसायीबिचको मूल्य लडाइँ नै नेपाली पर्यटकको विडम्वना हो ।’

भुटान अमनकोराकी कुबोटाका अनुसार उनीहरुकहाँ विश्वका चर्चित सेलिब्रेटीहरु समेत छुट्टी मनाउन आउने गर्छन् । उनीहरुले होटलमा मनग्गे खर्च गर्ने गरेको उनले सुनाइन् ।

नेपालमा पनि साहसिक पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको हुँदा खर्चालु यूवाहरु भित्राउन सकिन्छ । तर, यसका लागि सरकार तथा व्यवसायीले खासै पहल गर्न सकेका छैनन् ।

सम्बन्धित समचारहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment