Comments Add Comment

शव जलाउने मान्छे नहुँदा आर्य-संस्कार बदलियो

रामहरि अधिकारी

एक साताअघि गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पपछि राष्ट्रिय संकट नै आउने गरी ठूलो जनधनको क्षति भयो । वारपाकमा गत शनिबार ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको ठीक एक सातापछि पुनः ५.१ रेक्टर स्केलको भूकम्प गयो ।

गत शनिबारको भूकम्पबाट भग्नावशेषमा परिणत भएको वारपाक
गत शनिबारको भूकम्पबाट भग्नावशेषमा परिणत भएको वारपाक

आँगनमै शव गाड्ने बाध्यता

गोर्खामा भूकम्पबाट ४ सयभन्दा धेरैको मृत्यु भएको छ । कैयौं घाइते छन् । तर, भग्नावशेष पन्छाएर नसकिएकाले त्यसभित्र पुरिएका अरु धेरै हुनसक्ने अनुमान छ । त्यसैले मृतकको संख्या अझै बढ्ने पक्का छ ।

गोर्खाको अवस्था भयावह छ । भूकम्पको केन्द्रविन्दु वारपाकमा मृतकको संख्या अत्यधिक भएपछि परम्परागत संस्कार अनुसार जलाएर अन्त्येष्टि गर्न सम्भव भएन । मंगोलिन समुदायमा दाहसंस्कारको प्रचलन जमीनमा गाड्ने रहे पनि आर्य समुदायको जलाउने चलन छ । तर, दैवी विपत्तिका कारण आर्यहरुले परम्परागत रुपमा संस्कार गर्न पाएनन् ।

घरको आँगन नजिकै खाल्डो खनेर शव गाडिएको छ । यसबाट मानवीय र भौतिक क्षतिको पीडासँगै महामारी फैलिने त्रास पनि बढेको छ ।

गोर्खा सदरमुकामबाट बारपाक करिब ८० किलोमिटर टाढा पर्छ । त्यहाँ पुग्न गाडीबाट बालुवासम्म र बालुवाबाट करिब ३ घण्टा पैदल हिँड्नुपर्छ । बारपाकमा १४ सय घरमध्ये धेरैजसो घर खण्डहरमा परिणत भएका छन् । बाँचेकाहरुलाई सेनाको हेलिकोप्टरबाट उद्दार गरी पालुङटारमा टेन्ट लगाएर राखिएको छ ।

आस्राङ गाविस ४ मा कुनै पनि घर सग्ला छैनन् । आस्राङ र खोप्लाङ गाविसमा शुक्रबारसम्म एउटा पनि राहत पुगेको छैन । ओत लाग्ने घर त भत्कियो भत्कियो, अधिकांशको सिउँदो पुछिएको छ, काख खोसिएको छ, बाँच्ने आधार सकिएको छ । कैयौं सहाराविहीन भएका छन् । देशमा सरकार भएको अनुभूति गर्न जनताले पाएका छैनन् ।

राहत ओइरिन्छ तर, पीडितले पाउँदैनन्

विनाशकारी भूकम्पको विपत्तिपछि अहिले गोर्खामा राहत पुर्‍याउनेहरु ओइरिएका छन् । सैयौंको संख्यामा देशी विदेशी सामाजिक संस्थाहरु गोर्खामा छन् । कतिपय आफूखुसी व्यक्तिगत रुपमा पनि गोर्खा पुगेका छन् । तर ती अधिकांश सुगम स्थानमा केन्दि्रत छन् । सुगम स्थानकै पीडितले समेत राहत नपाएको गुनासो गरेका छन् ।

आफन्त गुमाएको पीडा त छँदैछ बाँचेकाहरुलाई के खाने, के लाउने र कहाँ बस्ने भन्ने समस्या झन् ठूलो बनेर आयो

सरकारले हचुवाका भरमा राहत बाँड्दा असहज स्थिति सिर्जना भएको छ । जौबारीको एउटा वडामा ८५ घर ध्वस्त छन् । तर, सरकारबाट १० थान त्रिपाल पठाइयो । त्रिपाल खोसाखोसको अवस्था भएपछि बाँड्दै नबाँडेर राखिएको छ । यातायात सुविधा पुगेका गोरखाका हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, हंसपुर लगायतका गाविसका बासिन्दाले समेत प्रयाप्त राहत नपाएको गुनासो गरेका छन् ।

उत्तरी गोरखाका विकट गुम्दा, लाप्राक, काशीगाउँ, सिम्जुङ, मुच्च्ाोक, केरौजाँ लगायतका गाविसका मुख्य स्थानमा पनि सीमित राहत पुगेको छ । आस्राङ र खोप्लाङ गाविसमा शुक्रबारसम्म एउटा पनि राहत पुगेको छैन । गाविसका कतिपय विकट स्थानका वडाहरुमा उद्दार टोली र राहत सामग्री अझै पनि पुग्न सकेका छैनन् ।

भूकम्पपछि परेको पानीले भत्किएको घरको माटोमा मिसिएको अन्नपात बटुल्न पनि समस्या भयो । आफन्त गुमाएको पीडा त छँदैछ बाँचेकाहरुलाई के खाने, के लाउने र कहाँ बस्ने भन्ने समस्या झन् ठूलो बनेर आयो ।

सामाजिक सदभाव खल्बलिने चिन्ता

राहत लिएर जानेहरु बीच बाटोमै लुटिन थालेपछि स्थानीय प्रशासनले प्रहरीको समन्वय विना राहत लगेर गाउँ नजान निर्देशन दिएको छ

भूकम्पको विपत्तिपछि कतिपय जिल्ला विकास समितिमार्फत् र कतिपय व्यक्तिगतरुपमा गोर्खा पुगेका छन् । केही व्यक्तिहरु एउटा पाल र एक बोरा चामल लगेर गएका भेटिए । ट्रकका ट्रक खाद्यान्न र राहत सामग्री लगेको पनि देखियो । ती सबै राहत सामाग्रीहरु जिल्लामा सर्वदलीय संयन्त्र बनाएर एकद्वार प्रणालीबाट वितरणको व्यवस्था मिलाइएको छ ।

तर, यो एकदमै सुस्त र वास्तविक पीडितसम्म पुर्‍याउन सकिएको छैन । व्यक्तिगत पहल र सञ्चारको पहुँचमा रहेकाहरुसम्म कतिपय आफूखुसी राहत लगेर गाउँ पस्न थालेपछि राहत लिएर कति आए भन्ने हिसाब-किताब राख्न स्थानीय प्रशासनलाई नै कठिन भएको छ ।

राहत सामाग्री सीमित मात्रै हुँदा कसलाई बाँड्ने, कसलाई नबाँड्ने भन्ने समस्या छ । एउटा गाविसका लागि १०० वटा पाल पुग्छ । जबकि एउटै गाउँमा १०० घर क्षतिग्रस्त छन् । ती घर परिवार सबैले अस्थायी बसोबासका लागि त्रिपाल खोज्नु स्वाभाविक हुन्छ ।

राहत लिएर जानेहरु बीच बाटोमै लुटिन थालेपछि स्थानीय प्रशासनले प्रहरीको समन्वय विना राहत लगेर गाउँ नजान निर्देशन दिएको छ ।
पहिले-पहिले मिलेर बस्दै आएकाहरुमा भूकम्पपछि राहतका लागि झिनाझपटीको अवस्था सिर्जना भएको छ । यसबाट सामाजिक सदभाव खल्बलिने भय पैदा भएको छ ।

दलका नेता सदरमुकाममै सीमित

राजनीतिक दलका नेताहरु समेत सदरमुकाममा सीमित छन् । पीडितहरुको घर आँगनसम्म उनीहरु पुग्न सकेका छैनन् । एमाओवादीका हितराज पाण्डे र कृष्ण धिताल तथा कांग्रेसका सुरेन्द्र पाण्डे, कमला पन्तलगायतका नेताहरु गोर्खा सदरमुकाममा बेलाबेला देखिन्छन् ।

एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भूकम्पलगत्तै जिल्ला भ्रमण गरेर राजधानी फर्किएका थिए । नेताहरुले राहत, उद्दार र पुनःस्थापनामा प्रभावकारी भूमिका नखेलेको भन्दै भूकम्प पीडितहरुको आक्रोश बढ्दो छ ।

(६ वटा गाविसलाई राहत सामाग्री लिएर गोर्खा पुगेका अधिकारी केआई नेपाल नामक संस्थासँग संलग्न छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment