३० जेठ, काठमाडौं । पञ्चायतकालीन राजनीतिका दुई हस्ती सूर्यबहादुर थापा र पदमसुन्दर लावतीको निधनले पूर्वपञ्चहरुको खेमामा नयाँ राजनीतिक परिवर्तनको संकेत गरेको छ । लावतीको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा हुँदैछ । विभिन्न गुटमा बाँडिएका पूर्वपञ्चहरु खुल्लामञ्चदेखि आर्यघाटसम्म लावतीलाई श्रद्धाञ्जली दिन एकतावद्ध देखिएका छन् ।
सूर्यबहादुर थापाको निधन नहुँदै राप्रपा नेपाल र राप्रपावीच पार्टी एकताको चर्चा चलेको थियो । तर, गणतन्त्रलाई हेर्ने विषयमा दुई दलवीच कुरा मिलेको थिएन ।
अर्कातिर राप्रपा नेपालबाट विद्रोह गरेर पदमसुन्दर लावतीले समानान्तर संगठन बनाएका थिए । यो समानान्तर अभियानले ठोस आकार ग्रहण नगर्दै लावतीले बिदा लिएका छन् ।
सूर्यबहादुर थापाको निधनसँगै राप्रपाभित्रको गणतन्त्रवादी धार कमजोर बनेको छ, जसले राप्रपा र राप्रपा नेपालको दुरीलाई छोट्याउन सक्ने देखिएको छ ।
अर्कातर्फ थापाजस्तो ‘टावर पर्सनालिटी’ नभएको अवस्थामा कमल थापाको नेतृत्वलाई समेत पूर्वपञ्चवीच सर्व स्वीकार्य बन्न सक्ने सम्भावना बढाएको विश्लेषण गर्न थालिएको छ ।
पदमसुन्दर लावतीको निधनले समानान्तर राप्रपा नेपालको अभियान संकटमा पर्ने देखिएको छ, जसको राजनीतिक लाभ कमल थापाले नै उठाउने सहज अनुमान लगाउन सकिन्छ ।
पूर्वपञ्चको ‘नयाँ शक्ति’ अलपत्र
राप्रपाका केही नेताहरुले पूर्वपञ्चहरुको नयाँ वैकल्पिक धार बनाउने प्रयास पनि नगरेका होइनन् । लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र प्रकाशचन्द्र लोहनीहरुलाई समेत मिलाएर राजावादी धार बनाउने प्रयास केही पञ्चहरुले गरेका थिए । यो प्रयासबारे पूर्वपञ्चहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको समेत आशिर्वाद लिने कोशिस गरेका थिए ।
यही सिलसिलामा लावतीले कमल थापासँग पौंठेजोरी सुरु गरेका थिए । तर, अहिलेसम्म पूर्वपञ्चहरुको एकता भ्यागुताको धार्नीजस्तै बन्दै आएको छ । लावतीको निधनपछि अब यो प्रयासले अर्कै मोड लिने अनुमान गर्न सकिन्छ ।
राप्रपाको मुद्दा सर्वोच्च अदालतमा
सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दवीच चर्किएको राप्रपाको विवाद सूर्यबहादुरको निधनपछि पनि सकिएको छैन ।
राप्रपाको विधानमा चत्रिलीय प्रणाली उल्लेख भएको तर, विधान विपरीत पशुपतिसमशेर अध्यक्ष बनेको भन्दै सर्वोच्चमा राणाविरुद्ध परेको उजुरी यसैसाता न्यायाधीश चोलेन्द्रसमशेर जबराको बेञ्चमा परेको थियो ।
राणाको एकल इजलासले यसको कारण देखाउन पशुपतिसमशेर राणाका नाममा आदेश जारी गरिसकेका छन् । साथै राप्रपाको विधानसमेत अदालतमा पेश गर्न आदेश दिइएको छ ।
राप्रपाको पार्टी सञ्चालन कसरी गर्ने भन्ने विषय अब न्यायाधीशको निर्णयमा निर्भर हुने स्थिति आएको छ । पूर्वपञ्चहरुवीच नेतृत्वको संकट र एकताको अभाव कतिसम्म छ भन्ने यो परिघटनाले स्पष्ट पारेको छ ।
लावतीले थालेको अभियान रोकिँदैन : राई
लावती समूहले गठन गरेको ‘राप्रपा नेपाल सुदृढीकरण अभियान’ का महामन्त्री रामु राईको दाबीअनुसार कमल थापाको विरोध गर्दै स्थापना गरिएको यो अभियान रोकिनेवाला छैन ।
लावतीको निधनपछि अब सह-अध्यक्ष गणेश शेरचनको नेतृत्वमा यो अभियान अघि बढ्ने राईले अनलाइनखबरलाई बताए ।
साथै यो अभियानले नयाँ शक्ति निर्माणका लागि राप्रपाका नेताहरुसँग वार्ता र छलफल चलाइरहेको उनले बताए । उनले अनलाइनखबरसँग भने- ‘लावतीजीको निधनपछि पनि यो अभियान रोकिँदैन, हामी अन्य दलसँग पनि एकता गरेर नयाँ राष्ट्रवादी शक्ति बनाउने छौं ।’
थापा र लावतीको सपना साकार पार्छौ : श्रेष्ठ
कमल थापा नेतृत्वको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले सूर्यबहादुर थापा र पदमसुन्दर लावतीको निधनबाट परम्परागत राजनीतिक शक्तिलाई अपुरणीय क्षति भएको बताए ।
कतिपय कुरामा आवेश देखिए पनि थापा र लावती दुबैको सपना परम्परागत राजनीतिक धारको वैकल्पिक शक्ति बनाउने रहेको भन्दै सहप्रवक्ता श्रेष्ठले भने- ‘उहाँहरुको निधनले अपुरणीय क्षति भएको छ, तर अब हामी एकतावद्ध भएर नयाँ वैकल्पिक धार बनाउने छौं र उहाँहरुको सपना साकार बनाउने छौं ।
‘अण्डर करेन्ट’ छलफल चल्दैछ : तामाङ
यसैवीच राप्रपाका महामन्त्री बुद्धिमान तामाङले पनि पार्टी एकताका लागि भित्रभित्रै काम भइरहेको अनलाइनखबरलाई बताए ।
‘संविधान बन्ने लगभग निश्चित भइसक्यो, तर संविधान बन्नु अगावै पार्टी एकता गर्ने गरी अन्डर करेन्ट छलफल भइरहेको छ,’ तामाङले भने- ‘आ-आफ्ना अडानहरु कायमै रहे पनि पार्टी एकता गर्नु हाम्रो बाध्यता पनि हो ।’