१ भदौ, काठमाडौं । धर्म र थ्रेस होल्डबारे अन्तिमसम्म पनि सहमति नभए संविधानसभाको प्रक्रियामा लगेर टुङ्ग्याउने भएको छ । तर, सीमांकनबारे भने सहमति हुन सकेन ।
सम्वाद समिति अन्तरगतको विशेष समितिको मंगबारको बैठकमा ६ प्रदेशको सीमांकनप्रति देखिएको असन्तुष्टि सम्बोधनको विभिन्न विकल्पमा छलफल भएपनि सहमति हुन सकेन । सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले सबै विषय भोलि टुङ्ग्याउने प्रयास हुने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सिराहा, कपिलवस्तुमा किन आन्दोलन भएको भन्दै आन्दोलनकारीको माग नै थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार धर्म र थ्रेस होल्डबारे अन्तिम समयसम्म सहमतिको प्रयास हुनेछ । तर, सहमति नभए संविधानसभाको प्रक्रिया(मतदान)मा लगेर टुङ्गो लगाइने छ ।
कांग्रेस र एमाले धर्म निरपरेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्ने पक्षमा छन् भने एमाओवादीले धर्म निरपरेक्षता हटाउन नहुने अडान लिएको छ ।
बैठकमा सम्पत्तिको हकमा “वौद्धिक सम्पत्ति” थप्ने, स्वतन्त्रताको हकमा ” नेपालको कुनै पनि भागमा पेशा, व्यवसाय…..गर्ने स्वतन्त्रता” थप्ने सहमति भएको छ ।
विशेष समितिको बैठकमा विभिन्न स्थानमा भइरहेको आन्दोलनबारे उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले वि्रफिङ गरेका छन् । नेताहरुले अनावश्यक रुपमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका छन् भने संयमित हुन आन्दोलनकारी आग्रह गरेका छन् ।
पुच्छर छिर्यो, हात्ती अड्क्यो
सम्वाद समितिका सभापति डा. बाबुराम भट्टरार्इले विशेष समितिको बैठकमा पुच्छर छिर्यो, हात्ती अड्क्यो भनेजस्तो भएको बताएका छन् ।
बैठकपछि उनले फेसबुकमा लेखेका छन्, नागरिकताको मुद्दामा लैंगिक समानता कायम गर्ने विषयमा परम्परगत पितृसत्तात्मक चिन्तनमाथि लाख कोशिश गर्दा पनि विजय हासिल गर्न सकिएन । यस मामिलामा हाम्रा मधेसी मित्रहरु झन् कन्जरभेटिभ पाइयो !
माओवादी नेता समेत रहेका भट्टराईले धर्म निरपेक्षता परित्याग गर्न कांग्रेस र एमाले नेताहरूले कमल थापालार्इ उमेत उछिनेको टप्पणी गरेका छन् ।
उनले लेखेका छन्-गणतन्त्रको अभिन्न पिलर धर्मनिरपेक्षता परित्याग गर्न ‘लोकतान्त्रिक’ र ‘वामपन्थी’ कित्ताकै मित्रहरुले कमल थापाहरुलाई समेत उछिन्ने गरी आतुरता देखाएको पाउँदा क्रान्तिको रापताप सेलाउँदै गए पछि सबै क्षेत्रमा प्रतिगमन कसरी मुखरित हुँदो रहेछ निकै चिन्तित तुल्याएको छ ।’
साथै उनले सीमांकनको विषय सबैभन्दा पेचिलो रहेको बताए । उनले भने, सीमांकनको विषय सवभन्दा पेचिलो भैहाल्यो! आज विभिन्न विकल्प प्रस्तुत भएका छन्। भोलि टुंग्याउने सहमति भएकोछ !’
प्रतिक्रिया 4