Comments Add Comment

फक्सवागनको तीन नयाँ मोडल नेपाली बजारमा, मूल्य १ करोड ८२ लाखसम्म

२७ भदौ, काठमाडौं । जर्मनीको प्रिमियम कार निर्माता कम्पनी फक्सवागनको तीनवटा नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । दुईवटा अपग्रेडेड भर्सनमा र एउटा पूर्णतया नयाँ मोडलमा फक्सवागन कार नेपाल भित्राएका हुन् ।

फक्सवागनको नेपाली बिक्रेता पुजा इन्टरनेशनलले आइतबार राजधानीमा तीनवटै मोडल एकसाथ सार्वजनिक गर्‍यो । न्यू टोरेग र बिटल अपग्रेडेड मोडल हुन् भने न्यु सिरिक्को नयाँ मोडल हो ।

मंगलबारदेखि काठमाडौंमा हुने नाडा अटो शोलाई लक्षित गरि भित्राइएका तीनवटै मोडल प्रिमियम सेगमेन्टका कार हुन् । नेपालका कार पारखीलाई लक्षित गर्दै नयाँ मोडल ल्याएको पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले जानकारी दिए ।

न्यू टोरेग

विश्वभर कच्ची सडकमा आरामदायी तरिकाले चलाउन सकिने गाडीमा टोरेग प्रख्यात रहेको छ । आवश्यकता अनुसार ३०० मिलिमिटरसम्म उचाई बढाउन सकिने एयर सस्पेन्सन यसमा प्रयोग गरिएको छ ।

car lunch (1)

सन् २०१० मा पहिलो पटक नेपाल भित्रिएको एसयुभी टोरेग ६५ थान बिक्री भइसकेको सिइओ बिजुक्छेले बताए । सुरुमा नेपाल आउँदा ९२ लाख ५० हजार रुपैयाँबाट सुरु भएको टोरेगको मूल्य अहिले दोब्बर पुगेको छ ।

टोरेगका रेगुलर र एक्सक्लुसिभ गरी दुईवटा भर्सन उपलब्ध छन् । रेगुलर भर्सनको मूल्य एक करोड ६२ लाख रुपैयाँ रहेको छ भने एक्सक्लुसिभ मोडलको एक करोड ८२ लाख रुपैयाँ रहेको छ ।

दुबै भर्सनमा समान विशेषता रहेका छन् । टोरेग एक्सक्लुसिभमा ४ जोन एसी, १८ इञ्चको हृवील, एयर कन्डिसन सीट लगायतका थप विशेषताका कारण महंगो पर्न गएको सिइओ बिजुक्छेले बताए ।

टोरेग निकै पावरफुल गाडी हो । यसमा फक्सवागनको शक्तिशाली र टिकाउ २९६७ सीसीको डिजेल इञ्जिन प्रयोग गरिएको छ । जुन इञ्जिन युभी पोर्चे कायने र औडी क्यु सेभेनले पनि प्रयोग गर्ने गर्छ । युभी पोर्चे कायने र औडी क्यु सेभेन स्लोभाकियास्थित फक्सवागनको प्लान्टमा उत्पादन गरिन्छ ।

टोरेगले विश्व प्रशिद्ध डकार र्‍यालीमा निरन्तर तीनपटक प्रथम स्थान हासिल गर्न सफल भएको छ । यो गाडी ७.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा हुँइकिन सक्छ ।

यसले काठमाडौंको सडकमा प्रतिलिटर ९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यसमा ७५ लिटर इन्धन अटाउने ट्यांकी रहेको छ । यस वर्ष टोरेग ३२ युनिट बिक्री गर्ने लक्ष्य रहेको सिइओ बिजुक्छेले बताए ।

टोरेगले नेपालमा टोयोटा ल्यान्डक्रुजर, मित्सुविसीको पजेरो, निशानको पेट्रोल जीप लगायतका गाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । स्टाटस खोज्ने, अफरोडमा बढी प्रयोग गर्नेहरुका लागि टोरेग उपयुक्त अप्सन हुने कम्पनीको भनाई छ ।

न्यू बिटल

car lunch (4)

बिटल विश्वभरी सबैभन्दा लामो उत्पादन इतिहास बोकेको गाडी हो । यो गाडी फक्सवागनले सन् १९३७ मा पहिलोपटक उत्पादन गरेको थियो । सन् २०१० मा बिटल नेपालमा पहिलो पटक भित्रिएको थियो । त्यतिबेला १८ युनिट बिक्री भएको सिइओ बिजुक्छेले जानकारी दिए ।

१३९० सीसीको इञ्जिन जडान गरिएको बिटल आकर्षक डिजाइन र फिचरसहित नेपाली बजारमा भित्रिएको छ । यस वर्ष बिटल १२ युनिट बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यसअघि भित्रिएको बिटल लेडिज ग्राहकलाई लक्षित गरिएको भए पनि यस पटक स्पोर्टस कारजस्तो भएर आएको छ । यसको आकर्षक डिजाइनलाई नेपालीले रुचाइदिने कम्पनीको विश्वास छ ।

नयाँ बिटलमा इञ्जिन बढी पावरफुल रहेको छ भने हेडलाइट आकर्षक बनाइएको छ, गाडीको साइज समेत ठूलो रहेको छ । बिटल रातो, पँहेलो र सेतो कलरमा उपलब्ध हुनेछ ।

यसमा १४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले काठमाडौंको सडकमा एसी चलाएर प्रतिलिटर ८ देखि १० किलोमिटर माइलेज दिने बताइएको छ । यसको मूल्य ७८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

न्यू सिरोक्को

car lunch (3)

सिरोक्को स्पोर्टस् कार हो । सिरोक्को र बिलटमा एउटै इञ्जिन प्रयोग गरिएको छ । दुबै गाडीको प्रफोमेन्स समेत एउटै रहेको सिइओ बिजुक्छेले जानकारी दिए । सिरोक्को आकर्षक डिजाइनमा रहेको छ ।

कम्पनीका अनुसार सिरोक्कोका ग्राहकहरु साधारण सडकमा पनि शक्तिशाली पीकअपको आनन्द लिन चाहानेहरु हुन् । १३९० सीसीको टर्बो चार्ज पेट्रोल इञ्जिन रहेको सिरोक्कोमा बकेट स्टाइलको लेदर सिट राखिएको छ ।

यसमा जडान गरिएको डिएसजी गियर बक्सले ७.८ सेकेन्डमा प्रतिघण्टा १०० किलोमिटर रफ्तारको स्पिड लिने बताइएको छ । यसले पनि काठमाडौंको सडकमा ८ देखि १० किलोमिटर माइलेज दिने छ । कम्पनीले यसवर्ष सिरोक्को ६ थान बिक्री गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment