नेपालमा जंगी सेवामा जवान पदका लागि होस् वा निजामती सेवामा खरीदार पदका लागि होस् डिग्रीपास गरेका महिला पुरुषले लर्को लागेर आवेदन दिने गरेका छन् । देशमा शैक्षिक बेरोजगारको संख्या बढ्दै जाँदा सरकारी निकायमा करार सेवामा खुल्ने पियनको पदमा समेत डिग्री पास गरेका मानिसहरु दरखास्त दिन लाइन लाग्छन् । तर नेपालमा मात्र कहाँ हो र यस्तो ? छिमेकी भारतमा अवस्था झनै दर्दनाक रहेछ ।
हालै चपरासी पदका लागि खुलेको विज्ञापनमा पीएचडी गरेका, एमएस्सी गरेका तथा स्नातक इन्जिनियर सम्मले दरखास्त दिएका छन् । ३ सय ६८ पदको लागि विज्ञापन खुलेकोमा २३ लाख भन्दा बढिले दरखास्त दिएको घटनाले भारतमा शैक्षिक बेरोजगारको संख्या डरलाग्दो गरी बढाइरहेको प्रष्ट हुन्छ ।
भारतको उत्तरप्रदेश विधान सभा सचिवालयले हालै ३६८ चपरासी पदका लागि विज्ञापन खोलेको थियो । त्यसका लागि २३ लाख जनाभन्दा बढिले दरखास्त हाले । दरखास्त दिनेमा २ सय ५५ जना त पीएचडी गरेर नामको अगाडि डाक्टर झुण्डाएका हरु छन् । डेढ लाख भन्दा बढि प्रविधि विषयमा स्नातक गरेका अर्थात् बि टेकका साथै बिएस्सी, बि कम पास गरेका छन् भने एमएस्सी, एमकम लगायतका विषयमा स्नातकोत्तर गरेका २५ हजार उमेद्धार छन् ।
तल्लो तहको पदका लागि उच्चतम शैक्षिक योग्यता भएका मनग्गे मानिसले दरखास्त दिएपछि राज्य सरकारले उमेद्धार छनोटका लागि विज्ञको सल्लाह लिइरहेको छ । केवल अन्तरवार्ताको आधारमा कसरी कर्मचारी छनोट गर्ने भन्ने द्धिविधामा सरकार परेको छ ।
चपरासी पदका लागि लिखित परीक्षा दिनु पर्दैन, केवल अन्तरवार्ता दिए पुग्छ । तर २३ लाख जनाकै अन्तरवार्ता लिन सुरु गर्नेहो भने त सबैको अन्तरवार्ता लिनै ४ वर्ष लाग्छ । त्यसैले कर्मचारी भर्ना सम्बन्धि नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्थामा सरकार पुगेको छ । मन्त्री अम्बिका चौधरीले त चपरासी पदमा पिएचडी गरेका मानिसलाई भर्ना गर्ने हो भने उनीहरुलाई काम लगाउनै अप्ठेरो हुने बताउँछन् ।
चपरासी पदका लागि तलब स्केल ५२०० देखि २०२०० भारु सम्म छ । गत सेप्टेम्बर १४ सम्म दरखास्तको लागि अन्तिम मिति तोकिएको थियो भने उमेद्धारको उमेरहद १८ देखि ४० वर्ष तोकिएको थियो । ५ कक्षा पास गरेकाले चपरासी पदका लागि दरखास्त दिन पाउने व्यवस्था गरिएको छ ।
स्मरण रहोस् हालैमात्र उत्तरप्रदेश सरकारले १४०० जना लेखापालका लागि प्रतियोगितात्मक परीक्षा संचालन गरेको थियो । १४ सय लेखापालका लागि खुलेको विज्ञापनमा २७ लाख जना उमेद्धारले दरखास्त दिएका थिए ।
प्रतिक्रिया 4