+
+

प्रधानमन्त्री ओलीले मन्त्रीलाई सपथ खुवाउन पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १४:१९

KP-oli-Oath

२५ असोज, काठमाडौं । मुलुकका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता अभागी प्रधानमन्त्री बनेका छन्, जसले आफ्नो मन्त्रिपरिषदका उपप्रधानमन्त्री एवं मन्त्रीहरुलाई सपथ ग्रहण गराउन पाएनन् ।

विगतमा प्रधानमन्त्रीले नै मन्त्रीहरुलाई सपथ खुवाउने गरिएको भए पनि सोमबार प्रधानमन्त्री ओलीले यो अधिकार पाएनन् । ओली मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री र पाँच मन्त्रीलाई राष्ट्रपति रामवरण यादवले सपथ ग्रहण गराइरहँदा प्रधानमन्त्री छेउमा उभिएर टुलुटुलु हेरिरहेका थिए ।

अन्तरिम संविधानको धारा ४२ अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिको रोहवरमा उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण गराउने प्रचलन थियो । यही व्यवस्था अनुसार सुशील कोइरालाले आफैं मन्त्रीहरुलाई सपथ गराएका थिए । झलनाथ, माधव नेपाल, प्रचण्ड, बाबुराम सबैले आफ्ना मन्त्रीहरुलाई आफैं सपथ गराएका थिए ।

तर, संविधानसभाले बनाएको नयाँ संविधानको धारा ८० ले कार्यकारी प्रधानमन्त्रीको यो अधिकार खोसेर राष्ट्रपतिलाई दिएको छ । यही कारणले गर्दा नयाँ संविधानका पहिला प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुको सपथ ग्रहण गराउन नपाएका हुन् ।

नेपालको संविधानको धार ८० मा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण गराउने अधिकार राष्ट्रपतिलाई दिएको छ । प्रधानमन्त्रीले राज्यमन्त्री र सहायकमन्त्रीलाई मात्रै सपथ ग्रहण गराउन पाउने छन् ।

राजनीतिको सामान्य प्रचलन अनुसार कुनै पनि राजनीतिक नियुक्ति पाएको व्यक्तिले जोसँग सपथ लिएको हो, उसैप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । तर, प्रधानमन्त्रीबाट सपथ नखाई सोझै राष्ट्रपतिसँग सपथ लिने सौभाग्य पाएका उपप्रधानमन्त्रीहरु अब कोप्रति उत्तरदायी होलान् ? प्रधानमन्त्री या राष्ट्रपति ?

सपथ राष्ट्रपतिसमक्ष खाए पनि संविधानको धारा ७६ (१०) ले मन्त्रीहरु व्यक्तिगतरुपमा प्रधानमन्त्री र संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ ।

जे होस् नयाँ संविधानको कार्यान्वयनका क्रममा पहिलो गाँसमै प्रधानमन्त्रीको अधिकार कटौतीको दृश्य देखिएको छ, हेर्दै जाऔं, भविश्यमा अरु के-कस्ता अनौठा दृश्य देखिने हुन् ।

Oath

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?