+
+
Shares

खुलेर भोट माग्न र हाल्न पाउँदा उत्साहित एमाले प्रतिनिधि

बन्द सत्रस्थल भृकुटीमण्डप बाहिर प्यानलगत प्रचार कम, व्यक्तिगत प्रचार ज्यादा थियो । मतदानस्थलमा भेटिएका महाधिवेशन प्रतिनिधि र उम्मेदवार सबै खुसी देखिन्थे ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष २ गते २२:००

२ पुस, काठमाडौं । भोजपुरका ३३ वर्षीय ज्ञानेन्द्र राई पहिलो पटक नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । प्रतिनिधि बनेर काठमाडौं आउँदै गर्दा उनलाई महाधिवेशनको माहोल कस्तो हुन्छ भन्ने ठ्याक्कै अनुमान थिएन ।

‘प्यानलगत प्रतिस्प्रर्धाको कुरा थियो नै । तर सार्वजनिक र आन्तरिक रूपमा पनि चुनावको वातावरण कस्तो होला भन्ने खुल्दुली मनमा थियो,’ उनी भन्छन्, ‘हामी सबै लाग्यौं । मतदानको दिन सबैले महसुस गर्नुभएको छ- एमालेमा प्रतिस्प्रर्धा छ, तर स्वस्थ छ ।’

प्यानलमा परेकै कारण भोट आउँछ र जित्छु भन्नेहरूलाई समेत मैदानमा भोट माग्न उत्रनुपर्ने वातावरण बनेको र यसको कारण महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्दैछन् भन्ने पर्नु रहेको उनको ठम्याइ छ ।

‘बाहिरबाट हेर्दा कसलाई भोट हाल्ने पहिले नै तय भएको जस्तो ठानिन सक्छ । तर यहाँ फरक छ,’ राई भन्छन्, ‘व्यक्तिको चालचलन, हाउभाउ, बोलिचाली जस्ता कारणले समेत फरक पर्दो रहेछ ।’

राईले भने जस्तै उम्मेदवारहरू भृकुटीमण्डपमा बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरूसँग मत माग्न व्यस्त थिए । मौलिक देखिन फरकफरक उपाय अपनाउनेहरू पनि थिए ।

केन्द्रीय सदस्य पदका उम्मेदवार तुलसी न्यौपाने तुलसीको बोट नै बोकेर मतदानस्थल पुगे । संखुवासभाका न्यौपाने दिनभर यही शैलीमा मत मागिरहेका देखिन्थे ।

तुलसी न्यौपाने ।

कैलालीका झपट रावल ‘एक्सक्युज मी, झपट रावललाई खोज्नुभएको छ रे हो ?’ भन्दै मतदाता भेटिरहेका थिए । महाधिवेशन प्रतिनिधि हो भन्थे वा हाँस्थे । रावल ‘ल है मै हो झपट रावल’ भन्थे र अगाडि बढ्थे ।

कोही ‘हजुरलाई एउटा कोसेली’ भनेर आफ्नो नाम र उम्मेदवारको लिस्टमा रहेको नम्बर लेखेर दिइरहेका थिए ।

अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल महाधिवेशन प्रतिनिधिहरूसँग मत मागिरहेका थिए ।

बन्द सत्रस्थल भृकुटीमण्डप बाहिर प्यानलगत प्रचार कम र व्यक्तिगत प्रचार ज्यादा थियो । मतदानस्थलमा भेटिएका महाधिवेशन प्रतिनिधि र उम्मेदवार सबै खुसी देखिन्थे ।

विवेकले मतदान गर्न पाएकोमा मकवानपुरकी गीताकुमारी प्रजा खुसी बाँड्दै थिइन् ।

मतदानपछि उनले अनलाइनखबरसँग भनिन्, ‘चुनावको वातावरण राम्रो छ । उम्मेदवारले आफूलाई चिन्ने मौका पाए । सर्वसम्मत भन्दा मनमुटाव हुन्थ्यो । हामी पनि विवेकले मतदान गर्न पाउँदा खुसी भयौं । समग्रमा एमालेजन सबै खुसी छन् ।’

उनलाई प्यानलगत पर्चा समेत दिइएको थियो । मैले प्यानलगत पर्चा भित्र लगिनँ र आफूलाई मन लागेको व्यक्तिलाई मतदान गरेँ ।

सम्झिए दशौं महाधिवेशन

खुलेर भोट माग्न र भोट हाल्न पाउँदा एमालेजन खुसी त थिए नै । यो खुसी साट्दै गर्दा अधिकांशले २०७८ मंसिरमा चितवनमा भएको दशौं महाधिवेशन सम्झिए ।

चितवनका कृषि केसीका नजरमा एमालेको आन्तरिक प्रतिस्पर्धाका सन्दर्भमा प्रश्न गर्नेहरूलाई जवाफ दिने गरी ११औं महाधिवेशन भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै ईश्वर पोखरेल ।

‘दशौं महाधिवेशन र अहिलेको स्थितिमा निकै परिवर्तन भएको छ । अहिले जो पनि उठ्न पाएका छन्, भोट हाल्नेलाई विवेक प्रयोग गर्ने वातावरण छ,’ उनी भन्छन्, ‘१०औंका सन्दर्भमा केही कुरा भए पनि लोकतान्त्रिक अभ्यासमा दृष्टिमा ११औं महाधिवेशन दीर्घकालसम्म स्मरणीय हुनेछ ।’

१०औं महाधिवेशनमा पनि निर्वाचन भएको थियो । तर अध्यक्षका प्रत्यासी भीम रावल पक्षधर नेताहरू खुल्न सकेका थिएनन् । त्यतिबेला केपी शर्मा ओली पक्षधरले मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ भन्दै पर्चा बाँडेको थियो । जसमा त्यसबेलाका अध्यक्षका भीम रावलसहित ११ जनाको नाम थियो ।

११औं मा १०औं महाधिवेशनको जस्तो वातावरण छैन । तेस्रो पटक अध्यक्ष हुन उम्मेदवारी दिएका केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले प्यानलगत रूपमा पर्चा बाँडेका छन् । दुवै प्यानलका उम्मेदवार र प्यानल बाहिरका उम्मेदवारले समेत एक साथ भोट मागेका छन् ।

चितवन जिल्ला कमिटी सदस्य समेत रहेका महाधिवेशन प्रतिनिधि केसीका अनुसार मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याए । यसको मर्म भनेकै आन्तरिक लोकतन्त्र हो ।

नेता केसी थप्छन्, ‘यस पटक यहाँ भोट हाल र नहाल कसैलाई कसैले भनेको छैन । उम्मेदवारले आफूलाई भोट माग्ने कुरा स्वाभाविक हो । मतदाताले आफूले जानेअनुसार मतदान गरेका छन् । यही नै आन्तरिक लोकतन्त्र हो ।’

नवौं महाधिवेशनदेखि निरन्तर प्रतिनिधि रहेका पदमपाणि सुवेदी पनि यस पटक सकारात्मक छन् । उनी भन्छन्, ‘दशौंमा मत माग्न समेत नपाएको जस्तो कुरा बाहिर आएको थियो । यो पटक त्यस्तो छैन ।’

भोजपुरका ज्ञानेन्द्र राईलाई चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास भएन भनेर उठेको प्रश्नले घोचेको रहेछ ।

‘दशौंमा भन्दा अहिले धेरै नै लोकतान्त्रिक अभ्यास भएको छ । यो कुरा प्रतिनिधिले महसुस गरेका छन् । कसलाई मत दिँदैछु भनेर कारणसहित आन्तरिक रूपमा खुलस्त भन्न सकेका छौँ,’ उनी भन्छन्, ‘मताधिकार विवेकले प्रयोग भएको छ । अब एमालेमा आन्तरिक लोकतन्त्रको प्रश्न छैन ।’

खोजिँदै बलियो प्रतिपक्ष

एमालेका केन्द्रीय समिति सदस्य भीम केसीका अनुसार जबजले स्वस्थ प्रतिस्पर्धामार्फत मतदाताको मन जितेर नीति र नेतृत्व चयन गर्ने कुराको वकालत गर्छ । यस्तै अभ्यास एमालेले गर्दै आएको उनको बुझाइ छ ।

बर्दियाका केसी पाँचौं, छैटौं, दशौं र एघारौंमा प्रतिनिधि भएर महाधिवेशनमा सरिक भए ।

यस पटक मतदान गरिसकेपछि उनले अनलाइनखबरसँग भने, ‘पार्टीलाई प्रभावकारी बनाउने गरी मतदान गरियो । अन्यको पनि त्यस्तै होला भन्ने लागेको छ । दुवै प्यानलका उम्मेदवार चुनिन्छन् ।’

कुनै पनि कुरा कसैले राख्दा त्यसउपर क्रस चेक गर्ने हुँदा त्यो प्रभावकारी हुने र क्रस गर्ने गरी गरिने प्रश्नले पार्टीको हित गर्ने उनको राय छ । यस्तो अभ्यास हुन सकोस् भन्नेमा महाधिवेशन प्रतिनिधिहरू सचेत रहेको भन्दै उनी थप्छन्, ‘एमालेका सबै महाधिवेशन भव्य भएका छन् । यस पटक झन् भव्य भएको छ ।’

एमालेले पहिले विधान र नेतृत्व चयन एकै पटक एउटै महाधिवेशनबाट गर्थ्यो । अघिल्लो महाधिवेशनबाट विधान महाधिवेशन र नेतृत्व चयन गर्ने गरी छुट्टाछुट्टै महाधिवेशन गर्न थालेको छ ।

नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पार्टीमा प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धामा पराजित भएपछि पार्टीमा रहन नै नसक्ने वा नरहने दुवै प्रवृत्ति गलत भएको बताउँछन् अर्का महाधिवेशन प्रतिनिधि सञ्जयकुमार यादव (स्वराजी) ।

महोत्तरीका उनी एमालेमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव सुनाउँछन् ।

‘अध्यक्षले पेलेर अगाडि बढेको महसुस भएन । भोट हाल्न प्रतिनिधिलाई स्वतन्त्रता छ । उम्मेदवार हुने स्वतन्त्रता पनि रह्यो,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा रिजल्ट नआउँदासम्म हो । नत्र हामी एकै परिवारका हौं ।’

जसले चुनाव जिते पनि सबै पार्टीमा रहने र कसैले गल्ती गर्न लागे खबरदारी गर्ने अभ्यासले निरन्तरता पाउने उनको विश्वास छ ।

‘जो नेतृत्वमा आए पनि लोकतन्त्रलाई बलियो बनाउने हो । पार्टीमा चुनाव हार्नेले पार्टी छोड्न पर्दैन र छोड्नु पनि हुँदैन । बरु आफ्नो नीति अनुसार के र कसरी समाजलाई अगाडि बढाउने भनेर जित्नेलाई सम्झाइरहनुपर्छ ।’

बाराकी चयन गुरुङका अनुसार जसले चुनाव जिते पनि एमालेका दुवै प्यानलको सशक्त उपस्थिति देखिने छ ।

मधेश प्रदेश कमिटी सदस्यसमेत रहेकी उनी भन्छिन्, ‘दशौं र ११औंमा फरक छ । त्यो बेला भीम रावल एक्लै जस्ता थिए । यो पटक दुवै पक्ष सशक्त देखिन्छ ।’

महाधिवेशन प्रतिनिधिहरूले लिस्टको हिसाबले मतदान नगरेको उल्लेख गर्दै उनी थप्छिन्, ‘विवेक प्रयोग भएको छ । निर्वाचनपछि पनि एउटा पक्ष एक्लै अगाडि बढ्ने अवस्था हुँदैन । यसले सिंगो एमालेलाई जिताउँछ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?