२५ असोज, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकथान पेस्तोलसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी २ स्थित प्रहरी चेकपोष्टमा हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज २९१५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा लोड गरेको एकथान पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको हो ।
सुमोमा सवार मकवानपुर मनहरी गाबिस ६ बस्ने वर्ष १८ को बिनोद राईले झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा म्यागजिनमा ९ राउण्ड गोली लोड भएको अर्ध स्वचालित पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ । राईलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हतियार र गोली दिई पठाउने बाराको गढीमाई नगरपालिका १ बस्ने वर्ष ३६ को रिफबहादुर थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो ४ बजे हेटौडा उपमहानगरपालिका.९ स्थित हनुमानगेटबाट पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न भनी खुल्न आएका भारत मोतिहारी बेलहैया ५ घर भई हाल काठमाडौं पुरानो बसपार्क बस्ने वर्ष २२ को मोहमद समिर अन्सारीलाई राती महानगरीय अपराध महाशाखाको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक शिशु शर्माले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ल्ाा प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा पहिलोपटक महिला प्रहरी प्रमुख
यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुखको रुपमा मीरा चौधरीले पदभार ग्रहण गरेकी छन् । गत साता मात्रै सरुवा भएर मकवानपुर प्रहरी प्रमुखको रुपमा हेटौंडा आएकी हुन् । उनी मकवानपुरको प्रहरी कार्यालयमा प्रमुख भएर आउने पहिलो महिला समेत हुन् ।
सेवा निवृत्तसमेत रहिसकेकी चौधरी प्रहरी संगठनमा कुशल क्षमता भएकी प्रहरी अधिकृतको निरुपमा समेत चिनिन्छिन् ।
पहिलोपटक सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चौधरी जिल्ला प्रहरी प्रमुखको रुपमा सहभागी भइन् । दङ्गा नियन्त्रण गण हेटौँडाबाट चौधरीलाई गत साता गृह मन्त्रालयले मकवानपुर जिल्लामा सरुवा गरेको थियो ।
चौधरीले संगठनको छविमा आँच आउन नदिने र जिल्लामा शान्ति सुरक्षा स्थापनामा जोड दिने बताइन् । उनले यस कामका लागि सबै जिल्लावासीलाई सहयोगसमेत गर्न आग्रह गरिन् । परिचयात्मक कार्यक्रममा मकवानपुरका सञ्चारकर्मी तथा प्रहरी अधिकारीहरुको पनि उपस्थिति थियो ।
– यादव चौलागाईंबाट
प्रतिक्रिया 4