सुभाषप्रसाद साह
२५ असोज, वीरगञ्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार वीरगञ्जमा घरेलु हतियारसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले हातमा खुँडा, तरवार लगायतका घरेलु हतियार बोकेका थिए । आन्दोलनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिए पनि प्रहरीहरु मुकदर्शक बनेका छन् ।
मोर्चाको प्रदर्शनमा स्थानीय तीन युवाहरु बेग्लै भेषमा देखिए । प्रमुख तीन दल नपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु सुशील कोइराला, केपी ओली, प्रचण्डको प्रतिकको रुपमा उनीहरुलाई आन्दोलनमा सहभागी गराइएको हो ।
‘मधेस बिरोधी’को संज्ञा दिँदै कोही आन्दोलनकारीहरुले लठ्ठी, झाडु र चप्पलले पिट्दै गरेको देखाइएको थियो । शीर्ष नेताको प्रतीकका रुपमा जुलुसमा सहभागी गराइएका युवाहरु भने हात जोड्दै नपिट्न आग्रह गरिरहेका हुन्छन् ।
सरकारलाई असहयोग गर्ने घोषणा गरेको मोर्चाले दिनहुँ बारा र पर्साका बिभिन्न गाउँहरुबाट कार्यकर्तालाई ओसारेर प्रदर्शन र धर्ना दिँदै आएको छ । प्रदर्शनमा डिजेसहित तेस्रो लिंगीको नाचगान समेत छ । स्थानीय भोजपुरी भाषाको गीतमा तेस्रो लिंगीहरुसँगै नाच्दै आन्दोलनकारी दशगाजा क्षेत्रमा पुगेका थिए ।
मधेसी मोर्चाको प्रदर्शन र धर्नाले मुख्य एवं छोटी भन्सार कार्यालयहरु ठप्प छन् । वीरगञ्ज-रक्सौलबीच पर्ने दशगजा क्षेत्रको मितेरी पुलमा मोर्चाका कार्यकर्ताहरु पाल टाँगेरै धर्ना बसेका छन् । यस्तै बारामा पर्ने बिभिन्न पाँचवटा छोटी भन्सार कार्यालयमा पनि मोर्चाको बन्दले प्रभावित बनेको छ ।
बाराको सिम्रौनगढ, कचोर्वा, मटिअर्वा, पिपरपाती पचरौता र कवहीगोठ छोटी भन्सार कार्यालय ठप्प छन् । मोर्चाका कार्यकर्ताहरु दिनहुँ धर्ना, नारा-जुलुस गर्न थालेपछि यी नाकाहरु ठप्प भएका हुन् । यी नाकाहरु ठप्प भएपछि करोडौंको राजश्व असुली प्रभावित भएको छ ।
नयाँ संविधानको विरोध गर्दै मधेसी मोर्चाको आह्वानमा भएको तराई-मधेस बन्द सोमबार ५८ औं दिन पुगेको छ । सीमानाकामा जारी अवरोध पनि १९ दिन पुगेको छ । मोर्चाका कार्यकर्ताहरुले सरकारले माग पूरा नगरेको भन्दै दिनहुँ प्रदर्शन एवं सभा गर्दै आएका छन् ।
प्रतिक्रिया 4