Comments Add Comment

मन्त्रीका लागि एमालेको सूचीमा २४ नेताको नाम !

KP-oli

मात्रिका पौडेल

२८ असोज, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले बाँकी मन्त्रीहरु छान्नुअघि मापदण्ड बनाउने भएको छ । मापदण्डबमोजिम संस्थागत निर्णयका आधारमा मन्त्री चयन गर्दा सरकारमा सिंगो पार्टीको स्वामित्व गाँसिने तर्क नेताहरुले गरेका छन् ।

विहीबारको स्थायी समिति बैठकमा व्यक्तिका बारेमा कुनै छलफल नै भएन । बैठकमा बोल्ने नेताहरुले पनि फलानो व्यक्तिलाई मन्त्री बनाउँ भन्ने प्रस्ताव राखेनन् बरु मापदण्ड बनाउँ भन्ने आवाज उठाए ।

बैठकमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु अमृत बोहोरा, केशव बडाल मुकुन्द न्यौपानेले धारणा राखेका थिए । अरुले बोल्न समय नभएपछि अर्को बैठकमा बोल्ने भन्दै अध्यक्ष केपी ओलीले बैठक स्थगित गरे ।

बैठकमा बोल्नेमध्ये न्यौपाने र बडालबाहेक सबै माधव नेपाल पक्षका सदस्य थिए । यद्यपि सबै नेताहरुले विगतमा मन्त्री छान्दा संस्थागत निर्णय नभएकाले एमालेकै बदनाम भएको भन्दै यसपटक त्यस्तो गल्ती नदोहोर्‍याउन सुझाव दिएका थिए ।

एमाले सचिव गोकर्ण विष्टले भने- संस्थागत निर्णयका आधारमा मन्त्री छान्दा त्यसमा पार्टी जिम्मेवार हुने र व्यक्ति पनि पार्टीप्रति जिम्मेवार हुने भएकाले प्रभावकारी काम हुन सक्छ भन्ने सबैको राय छ, मापदण्ड बनाएर संस्थागत निर्णय अनुसार पठाउनुपर्छ ।

के हो मन्त्रीको मापदण्ड ?

मन्त्री बन्नका लागि एमालेले प्रादेशिक सन्तुलन, समावेशी र अहिलेका चुनौति सामना गर्न सक्ने क्षमता हुनुपर्ने विषयलाई मापदण्ड बनाउन लागेको सचिव विष्टले बताए ।

प्रादेशिक सन्तुलनका हिसाबले अहिले मन्त्री भएकामध्ये अग्नि खरेल १ नम्बर, सत्यनारायण मण्डल २ नम्बर र सोमप्रसाद पाण्डे ५ नम्बर प्रदेशका हुन् ।  प्रस्तावित सात प्रदेशमध्ये सबै प्रदेशबाट कम्तिमा एक मन्त्रीको प्रतिनिधत्व गराउने मापदण्ड बनाउन लागिएको अर्का सचिव पृथ्वीसुब्बा गुरुङले अनलाइनखबरलाई बताए ।

समावेशीका हिसाबले मधेसी समुदायका एकजनाले पाएका छन् । अब महिला, दलित र आदिवासी जनजातिबाट कम्तिमा एक एक जना मन्त्री बन्नेछन् । त्यस्तै राज्यमन्त्रीमा केही थपिनेछन् ।  प्रादेशिक सन्तुलन र समावेशी समेत मिलाउने गरि छलफल चलाइने स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले बताए । उनका अनुसार व्यक्तिको क्षमता पनि मूल्यांकन हुनेछ ।

रोस्टरमा को-को ?

आदिवासी जनजातिबाट शेरधन राई, प्रेमबहादुर आले, शेरबहादुर तामाङ र डम्बर तुम्बाहाम्फे मध्येबाट छानिने एमालेका एक पदाधिकारीले बताए । राई र तुम्बाहम्फे प्रस्तावित १ नम्बर प्रदेशका हुन् भने आले ७ नम्बर तथा तामाङ ३ नम्बर प्रदेशका हुन् ।

महिलाबाट श्रीमाया थकाली, मन्जु चौधरी, कमलादेवी महतो र सीता गिरी ओली नेताहरुको रोष्टरमा छ । बरिष्ठताको हिसाबले थकाली र थारु भएका कारण चौधरी प्रतिस्पर्धामा अगाडि छन् । यद्यपि चौधरीको नाम राज्यमन्त्रीमा छ ।

दलितबाट रामप्रित पासवान, रामदयाल मण्डल, चूडामणि विश्वकर्मा जंगलीको नाम छलफलमा आएको छ । त्यस्तै उच्च हिमाली भेगको प्रतिनिधित्व गराउने हिसाबले जनार्दन ढकाल, मोहन बानियाँ, धनबहादुर बुढा प्रतिस्पर्धामा छन् ।

मधेसीबाट मन्त्री थपिने अवस्थामा शत्रुघन महतो हुन सक्छन् । यद्यपि मन्त्रालयहरुको टुंगो नलागी व्यक्तिका बारेमा छलफल नहुने सचिव विष्टले बताए । प्रादेशिक हिसाबले ३ नम्बरबाट राजेन्द्र पाण्डे, पशुपति चौलागाई आनन्द पोखरेल, शेरबहादुर तामाङ, रामेश्वर फुयाल, जनार्दन ढकाल लगायतको नाम विभिन्न नेताले बोकेर हिँडेका छन् ।

४ नम्बरबाट रविन्द्र अधिकारी, श्रीमाया थकाली, सीता गिरी ६ नम्बरबाट प्रकाश ज्वाला, मोहन बानियाँ, लक्ष्मी पोखरेल, ७ नम्बरबाट प्रेम आले, दामोदर भण्डारी र गणेश ठगुन्ना लगायतको नाम रोष्टरमा छ ।

संसदीय समितिका सभापतिहरुलाई मन्त्री बनाउन नहुने तर्क अरु सांसदले गरिहेका छन् । मन्त्रीका प्रबल दावेदार मानिएका रविन्द्र अधिकारी, शेरधन राई र प्रकाश ज्वाला समितिका सभापति हुन् । तर, प्रमुख सचेतक अग्नि खरेललाई मन्त्री बनाइसकेको अवस्थामा अब सभापतिका लागि त्यो मापदण्ड लागु नहुने तर्क सभापतिहरुको छ ।

अर्थमा त्रिपक्षीय भिडन्त

एमालेबाट प्रधानमन्त्रीपछिको बरियतामा को जाने र अर्थमन्त्री को हुने भन्नेमा तीन प्रभावशाली नेताहरु भिडेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एकले अर्कोलाई छेक्न लागेका छन् ।

अहिलेको सत्तारुढ गठबन्धन निर्माणमा ओलीको दूतका रुपमा मुख्य भूमिका निर्वाह गरेका पौडेललाई उनी अर्थमन्त्री बनाउन चाहन्छन् । तर, माधव नेपाल पक्ष भने सरकारलाई सफल बनाउने हो भने विगतको राम्रो अनुभवका आधारमा पाण्डेलाई पठाउनुपर्ने पक्षमा छ ।

त्यस्तै भीम रावल संविधान निर्माणको प्रक्रियामा ओलीलाई हरेक मोर्चामा साथ दिएका नेता हुन् । त्यस हिसाबले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुने रावलको चाहना छ ।

ओलीले पनि यदि पौडेललाई अर्थमन्त्री दिन नसकेको अवस्थामा पाण्डे होइन, रावललाई रोज्ने सम्भावना रहेको ओली निकट नेताहरु बताउँछन् । पाण्डेले भने ओली सफल हुने हो भने आफूले अर्थको जिम्मेवारी पाउँदा काम गरेर देखाउने बताएका छन् ।

एमालेमा चर्चित रहेका गोकर्ण विष्टलाई मन्त्रीका रुपमा धेरैले रुचाए पनि एमालेमा उनलाई कसैले प्रस्ताव गरेका छैनन् । उनी आफूले पनि मन्त्रीका लागि इच्छा देखाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment