एस.के. शान
२९ असोज, सप्तरी । विगत दुई महिनादेखि अत्यन्तै भीडभाड देखिएको राजविराजको आन्दोलन (नेता) चोक बुधबार सुनसानजस्तै देखियो । सुनसानको अर्थ, जसरी यहाँ मान्छेहरुको भीड देखिन्थ्यो, त्यसरी बिल्कुलै देखिएन ।
राजविराजको मुख्य आन्दोलनस्थलका रुपमा परिचित जनआन्दोलन चोक (पहिलाको नेता चोक) मा विगत दुई महिनादेखि व्यापक जनलहर देखापर्दै आएको थियो । बुधबार भने जिल्ला तहका नेताहरु एक्लै भाषण ठोकिरहेका देखिए ।
चोकमा एकजना आएर भाषण दिने र तुरुन्तै छेउमा गइहाल्ने दृश्य देखिएको थियो । नेताहरुले भाषण दिइरहँदा अघिल्ला दिनहरु जस्तो मञ्च अगाडि एकजना पनि अतिथि उपस्थित थिएनन् ।
‘पानी परेर यस्तो भएको हो’ आन्दोलनमा सधैं सहभागी हुने नेकपा माओवादी मातृका समूहका नेता जयप्रकाश यादवले भने, ‘पानी परेकै कारण सर्वसाधारणको उपस्थित देखिएन ।’ उनले सडकका पेटीहरुमा उभेका मान्छेहरुलाई देखाउँदै भने, ‘पानी परिरहेको छ, कसरी यहाँ आउँछन् त ?’
आन्दोलनमा सधैं देखापर्ने सदभावना पार्टीका २ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव पनि पानी परेकै कारण सर्वसाधारण आउन नसकेको प्रतिकृया दिए ।
‘पानी पर्नु त कारण थियो नै, तर भारदहमा भएको श्रद्वाञ्जलीसभामा मानिसहरु गएका कारणले पनि यहाँ उपस्थिति कम देखियो’ उनले भने ।
यद्यपि अस्तिसम्म कहिले १० हजार त कहिले २० हजारको उपस्थिति रहने नेता चोकमा कम्तिमा पनि ५ सय जनासम्म त उपस्थित हुने गर्थे । बुधबार त्यही पनि भएनन् ।
नेताहरु भन्छन्, चाडपर्वले समस्या पार्यो
त्यसो त बुधबार मात्रै होइन विहीबार पनि त्यस्तै दृश्यहरु देखियो राजविराजमा । आन्दोलनका कार्यक्रममा नेताहरुको उपस्थिति देखिए पनि कार्यकर्ता र सर्वसाधारण आएनन् ।
‘एक्कासी जनता आन्दोलनमा आउन छाडेको कारण के होला ?’ नेताहरु भन्छन्, ‘चाडपर्व पनि लाग्यो, त्यही भएर हुन सक्छ ।’
विगत दुई महिनायता लगातार जारी रहेको आन्दोलन पछिल्लो दुई दिनयता सुस्ताउँदै गएको यी दृष्टान्तहरु हुन् । जारी आन्दोलनमा प्रथम बलिदानी दिने सप्तरी जिल्लाको यस्तो हालत छ भने अरुतिर झन् के होला ?
सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, कञ्चनरुप नगरपालिका, रुपनी, कल्याणपुर आदि स्थानहरु आन्दोलनका केन्द्र मानिएका थिए । यसका साथै हनुमाननगर, योगिनियाँसहितका ग्रामीण क्षेत्रहरुमा पनि प्रदर्शनहरु हुँदै आएका थिए ।
ती ठाउँहरुमा दैनिकरुपमा कुनै न कुनै प्रदर्शन हुँदै आए पनि बुधबार र विहीबार राजविराजमा नेताहरुको मात्रै उपस्थितिमा कोणसभा र भारदहमा सामान्य बिरोध र्यालीको आयोजना भएको छ । बाँकी स्थानहरुमा कुनै गतिविधि भएको छैन । विहीबार सदरमुकाम राजविराजमा जिल्लास्तरीय नेताहरुले भाषण ठोकेका छन् भने भारदहमा र्याली निकालिएको छ ।
‘जनता सडकमा देखिन छाडेका छन्’ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह भन्छन्, ‘महान चाड दसैं परेकाले यस्तो भएको हो, तर आन्दोलन मत्थर हुने कुरै छैन ।’
साह अझै पनि आन्दोलनमा जनता आउने विश्वास व्यक्त गर्छन् । उनी यत्रो लामो आन्दोलन गरेका जनता जेजस्तो भए पनि आन्दोलनलाई वीचैामा तिलाञ्जली दिने पक्षमा नरहेको बताउँदै निष्कर्षमा पुग्नै लागेको आन्दोलनलाई सबैले साथ दिने दाबी गर्छन् ।
फोरम लोकतान्त्रिकका महासचिव समेत रहेका पूर्वमन्त्री मृगेन्द्रसिंह यादवले पार्टी परित्याग गर्ने बताए । सिरहाका रामचरित्र साहसहित जिल्लामा सम्पूर्ण नेता तथा कार्यकर्ताले सामूहिकरुपमै राजिनामा दिने निर्णय गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर पनि दसैं आएकाले जनता पूजापाठमा लागेको बताउँछन् । ‘जनता सडकमा नआउनुको अन्य कुनै कारण नै छैन्’ उनी भन्छन्, ‘आइतबार राजविराजमा विशाल प्रदर्शन गरिने कार्यक्रम तय भएको छ, त्यसमा हजारौं जनता सडकमा आउनेमा आशावादी छु ।’
सदभावना पार्टीनिकट विद्यार्थी संगठन विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव पनि दसैंका कारण जनता पूजापाठमा लागेकाले सडकमा केही कमी देखिएको बताउँछन् ।’
सुशीललाई मतदानले नकारात्मक असर
मधेसी मोर्चाले प्रधानमन्त्री चुनावमा भाग लिएर सुशील कोइरालालाई मतदान गरेपछि यस्तो स्थिति त आएको होइन ? अनलाइनखबरको प्रश्नमा राजविराजका नेताहरु भन्छन्, ‘यो पनि प्रमुख कारण हो ।’
उनीहरु भन्छन्, ‘किनभने नेताहरुले संसदमा गएर मतदान गरेपछि जनतामा एक किसिमको उदासीपना देखिएको छ ।’
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह पनि मोर्चाले सुशीललाई मतदान गरेपछि जनतामा नकारात्मक सन्देश गएको स्वीकार्छन् ।
‘किन मतदान गरियो ? यो कुरा जनताको बीचमा आएर नेताहरुले प्रष्टीकरण दिनुपर्यो’ उनी थप्छन्, ‘जनताभित्र आएको नकारात्मक कुरालाई सम्बोधन गर्नुपर्यो ।’
सदभावना पार्टी निकट विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ पनि मधेसी मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा मदतान गरेपछि जनता रिसाएको धारणा व्यक्त गर्छन् ।
‘जनताको भावना नबुझेर एकाएक मतदान प्रकृयामा जानुले जनता रिसाउनु स्वभाविक हो’ उनी भन्छन्, “अझै जनताको भावनालाई कदर नगरिए नेताहरु जनतासमक्ष नाङ्गनिेछन् ।”
लहान अझै तात्दैछ
पहिलो मधेस आन्दोलनको शुरुवात हुने ठाउँ सिरहाको लहानले भने यसपटकको आन्दोलनमा खासै अग्रणी भूमिकामा निभाएन । आन्दोलनको शुरुवाती क्रममा केही गतिविधि हुँदा प्रहरीसँग यहाँ झडप पनि भयो । तर, त्यसपछि खासै गतिविधि हुन सकेको थिएन । पछिल्लो समयमा भने लहान शान्तिपूर्ण आन्दोलनमा तातेको छ । यहाँ एक हप्तायता दैनिक रुपमा अनौठा गतिविधिहरु गरेर शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिइएको छ ।
आन्दोलनअन्तर्गत २८ असोजमा जञ्जिर शरीरमा बाँधेर प्रदर्शन गरिएको छ । मधेसीलाई गुलामीको जञ्जिरमा जकडिएको बताउँदै आन्दोलनकारीले आफ्नो शरीरमा फलामको जञ्जिर बाँधेर प्रदर्शन गरेका हुन् ।
यसअघि लहानमै प्रदर्शन गरिएको शव जुलुस अनौठो थियो । जारी आन्दोलनमा ज्यान गुमाएकाहरुको शवजस्तै बनेर आन्दोलनकारीले प्रदर्शन गरेका थिए । सुतेर माथिबाट सेतो कपडा राखी कपडामा रगतजस्तै रातो रंग छर्केर प्रदर्शन गरिएको आन्दोलन साँच्चिकै अनौठो देखिन्थ्यो ।
लहानमा कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पुत्ला जलुस निकाल्दै दाहसंस्कारकै शैलीमा अत्येष्टिसमेत गरिएको थियो ।
संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव, मधेसी नेता बालेश्वर यादव, तमलोपा नेता राकेश झा, सद्भावनाका सह-महासचिव राजु गुप्तासहितको अगुवाइमा यहाँ दैनिक शान्तिपूर्ण आन्दोलन हुँदै आएको छ ।
फोरम लोकतान्त्रिकको पत्तासाफ
मधेसी जनतालाई धोका दिएको ठहर गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको मधेसका जिल्लाहरुमा पत्तासाफ हुने क्रम बढेको छ ।
सिरहाका रामचरित्र साहसहित जिल्लामा सम्पूर्ण नेता तथा कार्यकर्ताले सामूहिकरुपमै राजिनामा दिने निर्णय गरेका छन् । गोलबजारमा बसेको बैठकले सामूहिक राजिनामा दिने निर्णय गरेको छ ।
यता फोरम लोकतान्त्रिककै महासचिव समेत रहेका पूर्वमन्त्री मृगेन्द्रसिंह यादवले पनि पार्टी परित्याग गर्ने बताएका छन् । सप्तरी निवासी यादवले जिल्लाको शम्भुनाथ नगरपालिकामा आयोजित सभालाई २८ असोजमा सम्बोधन गर्दै अब गच्छदारको पार्टीमा नबस्ने उदघोष गरे ।
मधेसमा जारी आन्दोलनलाई वेवास्ता गर्दै तथा मधेसी जनतालाई धोका दिएर सरकारमा गएको भन्दै पार्टीको साधारण सदस्य समेतबाट उनीसहित सप्तरीका अधिकास नेता/कार्यकर्ताले राजिनामा दिँदैंछन् ।
एक युवा नेताका अनुसार यादवको नेतृत्वमा छुट्टै पार्टी गठनको तयारी समेत भइरहेको छ । यो पार्टीको घोषणा सप्तरीबाटै हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4