१ कात्तिक, भक्तपुर । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसलाई धुलोमा मिलाएको आरोप लगाएको छ ।
नेपाल विद्यार्थी सङ्घ भक्तपुरले आइतबार सूर्यविनायकमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा खड्काले कांग्रेस नेतृत्वको सरकार गठन गरेर सफलताको शिखरमा पुगेको पार्टीलाई सभापति कोइरालाले धुलोमा मिलाएको बताए ।
संविधानसभाको दोस्रो निर्वाचनपछि सरकार गठन हुँदादेखि भएको सहमति, दलबीच भएको १६ र ७ बुँदे सहमति विपरीत गएर काँग्रेसले अहिलेसम्मको उपलब्धि र जस गुमाएको उनको भनाइ थियो ।
“संविधान जारी गरेपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो, उनले भने –“संविधान जारीपछि पनि दलबीच के के गर्ने भन्ने सहमति भएकै हो तर काँग्रेसले सहमति लत्यायो ।”
संविधान जारी गरेर शिर ठाडो गरेर जस लिने कांग्रेसले संविधान कार्यान्वयन गर्ने बेलामा दलबीचको सहमति तोडेको भन्दै उनले भने, सहमतिअनुसार नै अगाडि बढ्नुपर्छ भनेर भन्दा महामन्त्री र आफूलगायत सहमतिको पक्षमा उभिने नेताले गल्ती गरे भनिएपनि हामीले गल्ती गरेका छैनौँ ।” रासस
प्रतिक्रिया 4