+
+

सानादललाई समेट्दा मन्त्रिपरिषद ‘जम्बो’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ६:५३

२ कात्तिक, काठमाडौं । केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद ‘जम्बो’ बन्ने देखिएको छ । एक–दुई सिट मात्र रहेका साना दलहरूलाई समेत समेट्न खोज्दा मन्त्रिपरिषद जम्बो बन्न लागेको हो ।

KP oli team_1मन्त्रिपरिषदमा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै पनि मन्त्रीहरूको अन्तिम नामावली टुंगो लगाइसकेको छैन ।

‘एमालेबाट मन्त्री हुनेहरूको सूची अझै बनिसकेको छैन,’ एक एमाले नेताले भने, ‘त्यसमा सत्ता साझेदार अन्य साना दलहरूका बारेमा छलफल नै सुरु भएको छैन । मन्त्रालयको टुंगोसमेत लागेको छैन ।’

आइतबार नौ मन्त्रीले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद १८ सदस्यीय बनिसकेको छ । एमालेका तर्फबाट अझै ६ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । त्यसैगरी नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाले कम्तीमा एक–एक मन्त्रालय पाउनेछन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले थप दुई र राप्रपा नेपालले एक मन्त्री पठाउने नागरिकमा खबर छ ।

२६ मध्ये ९ मन्त्रालय प्राप्त गरेको एमालेले तीन जनालाई मात्रै मन्त्री बनाएको छ । तीमध्ये अग्नि खरेलले कानुन र सोमप्रसाद पाण्डेले उद्योग मन्त्रालयको जिम्मेवारी लिएका छन् सत्यनारायण मण्डललाई बिनाविभागीय मन्त्री बनाइएको छ । ‘आवश्यकताअनुसार मन्त्रालयमा राज्यमन्त्रीहरू पनि हुनेछन्,’ एक एमाले नेताले नागरिकसँग भने, ‘अहिले भइरहेको छलफलअनुसार कम्तीमा ३५ सदस्यीय मन्त्रिपरिषद बन्ने देखिन्छ ।’

उपप्रधानमन्त्रीकै संख्या ५ हुने देखिएको छ । आइतबारसम्म तीन उपप्रधानमन्त्री भइसकेका छन् भने अब हुने मन्त्रिपरिषद विस्तारमा दुई जना थप्ने तयारी छ ।

मन्त्रिपरिषदमा ओलीपछि दोस्रो वरीयतामा रहने गरी एमालेबाट र नेकपा मालेका महासचिव सिपी मैनाली उपप्रधानमन्त्री हुने लगभग निश्चित भएको नेताहरू बताउँछन् । प्रधानमन्त्री ओलीसँगै राजनीति सुरु गरेका माले महासचिव मैनालीले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् ।

यसअघि नै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपप्रधान तथा परराष्ट्र मन्त्री छन् । आइतबार मात्रै एकीकृत नेकपा माओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?