बसुधा नेपाल पोखरेल \ वाशिंटन डीसी, अमेरिका
विगत केही वर्षदेखि हाम्रो मुलुकमा जातजातिको विषयमा धेरै चर्चा-परिचर्चा चलिरहेको छ । पहाडे–मधेसीको विषयमा विभिन्न शान्त र हिंस्रक आन्दोलनहरु भोग्दै हामी यहाँसम्म आइपुगेका छौं।
कति ठीक कति बेठीक ? अनि कति र कसका लागि उपलब्धिमूलक भनेर संयमशील हामी नेपालीले करीब-करीब बुझिसकेको अवस्था पनि छ । राजनीति सफल नभर्इ मुलुक अगाडि बढ्दैन । तर, सबै क्षेत्रमा राजनीतिमात्र सबै बिकासको आधार होइन । हामी चेतनशील नेपालीले गम्भीर भएर सोच्नु, बुझ्नु आवश्यक छ। हाम्रो चाहना के हो र उद्देश्य के हो ? त्यो मूल कुरा हो। नेपाली भएर बाँच्ने, गौरब गर्ने हाम्रो चाहना, उद्देश्य हो कि होइन ? चाहे ती हिमाल पहाड तरार्इ, जहाँका हुन्।
प्रश्न मधेसी र पहाडियाको
तरार्इमा भएको हो मेरो जन्म। रौतहटको गौरमा जन्में । पहाड कस्तो हुन्छ, मैले कागजको पेन्टिङ्गमा मात्रै देखेकी थिएँ। गौरकै भाषा संस्कृति, लवज, लिवाजमा आफ्ना साथीभाइसँगै हुर्केकी मान्छे हुँ म ।
मेरा छिमेकी साथी संगी मीना, शारदा गुप्ता, सरीताकेशरी, हरेन्द्र जैसवाल, सुरेन्द्र जैसवाल, भोला यादव र मोहम्मदहरू थिए ।
धनसम्पतिको कुरा गर्ने हो भने, बडाबडा महल, नोकरचाकर, जामिन्दारका छोराछोरीदेखि सामान्य रोजगारी खेती किसानी गरेर, दूध बेचेर आफ्नो अभिभावकत्व गर्ने अभिभावकका सन्तान साथीसंगी थिए। म सामान्य शिक्षककी छोरी ।
म आफ्नो आँगनबाट पार गरेर निस्किनेबितिकै मेरा साथी तिनै हुन्थे, जयसवाल, यादव, नाज, समिम, अलि, मोहम्मद आदि इत्यादि । जब यहाँ “मधेसिया“ शब्द ब्यापकरुपमा हामीलाई होच्याएर भनेको भनेर तरार्इबासीहरुले चित्त दुखाएको सुन्छु । अनि सोच्छु, जब तिनै मेरा साथीहरुका घर आँगन पार गर्दै स्कुलको बाटोमा मलाई, देख पहडिया छौंडी अलई, देख देख केतना गोर बाटे भन्थे । तर, मलाई कहिल्यै त्यो माइनोरिटी समाजमा बस्दाखेरि वहाँहरुले मलाई प्रयोग गर्ने “ पहाडिया” शब्दले कहिल्यै दुखेन ।
माइनोरिटीमा रहेकी म पहाडिया (उनीहरुकै भाषामा) सधैं मेजोरिटीमै रहेका मधेसी साथीहरुसँगै पढें, बढें र हुर्कें । उही स्कुल, उही शिक्षा, उही, खानपान, उही पोशाक, किन्ने पसल पनि तिनै, लेख्ने कलम पनि उही, कलममा मसी पनि उही, लेख्ने निब पनि उही । कुनै फरक थिएन । सँगै राष्ट्रिय गान गाउँथ्यौं । सँगै पढ्थ्यौं । सँगै परीक्षा दिन्थ्यौं, सँगै पास गर्थ्यौं। सँगै छुट्टी मनाउँथ्यौं, पिकनिक जान्थ्यौं । न त कुनै बैमनस्यता थियो, न कुनै मनामुटाव नै। दशैं-तिहार, झिझिया, छठ, ईद्, बकर इद, सरस्वती पूजा सबै चाडपर्व सँगै मनाउँथ्यौं।
हाम्रा घरमा एक जना काम गर्ने सहयोगी हुन्थे । उनीहरुका घरमा दसौं जना हरुवा-चरुवा, भान्छे आदि हुन्थे । उनीहरु मेरो घरमा आउने, म उनीहरु कहाँ जाने गर्थ्यौं । कहिल्यै लाग्थेन, मलाई पहाडिया भनेर हेप्छन् । न त उनीहरुलाई लाग्थ्यो, मलाई मधिसिया भनेर हेपेका छन् ।
हामी पहाडियाले पढ्यौं, सिक्यौं, अगाडि बढ्यौं, त्यही माइनोरिटीको समाजमा।
जब कक्षा ५-६ मा पुगियो, मुस्किलले ९-१० बर्षकी हुँदा मेरा साथीहरु शारदा, मीना गुप्ताहरुको बिबाह २०-२२ बर्षका केटासँग गरिदिइहाले । । पढाइ सबै त्यसै त्यागेर टन्नमन्न गरगहनाले भरिपूर्ण भएर छोरी अर्काको घर पठाइदिइहाले उनका माता पिताले।
केटाकेटी उमेर न हो, राम्रो राम्रो लाउन पाएपछि मख्ख । न त उनीहरुलाई भविश्यको चिन्ता । न त जिम्मेवारी नै । यो पहाडिया छौंडीलाई चाहिँ बाल्यकालको विस्मृतिले बेलाबेलामा मथिङल गर्छ।
जब अहिले पछाडि फर्केर हेर्छु, मन नराम्ररी चिमोटिन्छ। घरिघरि प्रश्नहरु उब्जिन्छन्।
कसले, कहाँ, कसरी, कहिले छर्यो द्वेषको यो बिउ ? किन र कसका लागि हुँदैछ विष वमन ? केहो यसको जड ? एकछिन शान्त र शालीन भएर सोचौं न।
दुर्इ तीनजना प्रतिनिधि पात्रलाई मात्र लिएर सोच्ने हो भने पनि गौरकै भाषामा एउटा पहाडिया छौंडी, अर्को एकजना मधिसिया छोरी। कसले रोकेको थियो मीना गुप्ता( प्रतिनिधि पात्र) लाई स्कूल\कलेज पढ्न ? के पैसाको कमी थियो ? अहँ थिएन। उसका अभिभावकले ६ कक्षासम्म पढाए । अनि थुप्रो दहेज दिएर अर्काको घर पठाइदिए।
थाहा छैन उसले त्यहाँ खुलेर हाँस्न बाच्न र रमाउनसम्म पनि पार्इ कि पाइन। उसलाई त सन्ततीलाई पढाएर मात्र सक्षम बनाउन सकिन्छ भन्नेसम्मको पनि ज्ञान थिएन होला। न त उसले आफुभन्दा साना भाइबहिनीलाई राम्ररी पढाउन सके उनीहरुको भविश्य उज्ज्वल हुन्छ भनेर आमाबुवालाई सल्लाह दिने हिम्मत थियो । एउटी महिला शिक्षित भइन् भने परिवार समाज शिक्षित बनाउन सक्छिन् भन्ने सोचाइबाट बञ्चित गराउने के पहाडिया थिए ?
यदि मीना शिक्षित हुन पाएकी भए उ आफु आत्मनिर्भर हुन्थी । सन्ततिलाई पनि आत्मनिर्भर बनाउन ठूलो योगदान गर्न सक्थी। र, उ आत्मनिर्भर भएको परिणाम, उसले आफ्नो सन्ततीलाई कुनै पनि हालतमा परनिर्भर हुनबाट रोक्थी।
मलाई अझै सम्झना छ, मेरो क्लासको फस्ट ब्वाइ हरेन्द्र जैसवाल( प्रतिनिधि पात्र) पढाइमा अब्बल थियो । होस्टलमा बस्थ्यो। शायद हामी ८-९ क्लासमा पढ्थ्यौं उनका बुवा हाम्रो स्कुलमा बिहानै आइपुगेका थिए, टिफिनको टाइम थियो । मेरो नजिक टुसुक्क बस्नुभो। अनि भन्न थाल्नुभो। “देखुन हरिन्दरके सादी के लिए केत्ना केत्ना दहेज लेके रिस्ता आए लबा। हमर बेट्वा है कि मान्ते नै खे सादी करेला। हम आइसी त उलुक जाइत वा। अप्ने सब ओकराके सम्झादुन”।
मैले भनें यति सानोमा किन बिहा गर्नु परो ? अहिले पढ्न दिनुस्।
अहिले मैले थाहा पाएकी छु, उ इन्जिनियर भएर कुनै मुलुकमा राम्रो जिन्दगी बिताइरहेको छ। हरेन्द्रले पढ्छु भनेर अगाडि बढ्दा के कुनै पहाडियाले उसको पढ्ने अधिकार खोसे ? आत्मानिर्भर भएको परिणाम उसले आफ्ना सन्ततीलाई कुनै पनि हालतमा परनिर्भर हुन दिँदैन यो मेरो विश्वास हो।
यी दुर्इ नाम मैले प्रतिनिधि पात्रका रुपमा मात्र लिएकी हुँ। शिक्षाको योगदान, हाम्रो जीवन, जगत अनि परिवर्तनका लागि।
अर्को हामीकहाँ उठ्ने गरेको विषय हो ‘पोशाक’
पोशाकका नाममा हामी एकअर्कालाई खुब होच्याएर रमाइरहेको पाउछौं। कहिले धोती लगाउने साना र टोपी लगाउनेहरू ठूला भनेर अनावश्यक विवाद गरेर हामी के जित्न खोजिरहेका छौं ?
स्वभाविकरुपमा सधैंभरि हिउँ पर्ने ठाउँमा लगाउने पोशाक ३०-४०डिग्री तापक्रम भएको ठाउँमा लगाउन सक्दैनन्। हिमालमा लगाउने, पहाडमा लगाउने अनि तरार्इमा लगाउने लुगा फरक-फरक हुन्छ। हामी गर्मीमा बस्ने मान्छे पातलो हावादार लुगा धोती मर्दानी लगाउँछौं । हिमाल पहाडमा सिरेटोबाट जोगिनका लागि टोपी लगाउछौं। स्वाभाविक रुपमा बुझ्ने कुरालाई किन विवादको विषय बनाउने ?
पोशाकलार्इ द्वन्द र द्वेषका रुपमा हेरिनु र घृणा गरिनु हुन्न । त्यस्तै भाषा पनि सबै जातजातिको आफ्नै हुन्छ, सजिलो लाग्ने भाषा बोलिन्छ । राष्ट्रिय भाषालार्इ सबैले सम्मान गर्नुपर्छ ।
हामीलाई चाहिएको बिकास हो। शिक्षा हो। आत्मनिर्भरता हो । रोजगारी हो । सबैभन्दा ठूलो आपसी समझदारी हो । अहिले गम्भिर भएर सोच्नेबेला आएको छ। हामीले चाहेको, खोजेको बाटो के हो ? के कोरिएका छन् योजनामा ? के साँच्चै पहाडियाहरु, मधेसियाका शत्रु नै हुन् त ?
अहिलेसम्म तरार्इमा जति पनि स्कुल कलेज छन्, सँगै बस्ने पहाडिया छौंडाछौंडीहरु पढ्ने अनि मधेसियाहरु तिलकको लोभमा छोराछोरीको बिहा छिटो गराइदिने, अनि कसरी हुन्छ मधेसी समुदायमा शिक्षाको विकास ? शिक्षा नभर्इ ज्ञानको ज्योति कहाँ बल्छ ? कहाँबाट ठीक-बेठीक छुट्याउन सक्ने वृत्ति विकास हुन्छ ?
संयमशील मधेसी साथीभाइले सोच्नेबेला आएको छ । अहिले जुन भाँडभैलो गर्न केही पछि लाग्नुभएको छ, वहाँहरुले आफ्नो परिवार र समाजमा परिवर्तन गर्न कहिल्यै सकारात्मक भूमिका खेल्नुभएको थियो ?
बाग्मतीमा थुप्रै पानी बगिसक्यो । तर, सकरात्मत्कतातिर आफ्ना सन्ततीलाई किन डोर्याउन सक्नुभएन ? परिवारको सदस्य मिलाउन नसक्नेले छिमेकीलाई घरको गुनासो सुनाउँदा छिमेकीले के गर्लान् ? सोच्ने बेला आएको छ ।
मैले देखेको पहाडको दुख
जीवन भोगाइका क्रममा मैले धेरैपछि मात्र पहाड र पहाडमा बस्ने बासिन्दा देखें भेटें । चाहे त्यो ओखल्ढुङ्गा होस या जाजरकोट । उनीहरुको जीन्दगी कयौं गुणा बढी कष्टप्रद पाएँ तरार्इका बासिन्दाभन्दा ।
एक ग्यालिन पानी ल्याउन घण्टैं उकाली-ओराली गर्नुपर्ने। मीठो मसिनो खान चाडपर्व नै आउनुपर्ने बाध्यता देखें । स्वास्थकेन्द्र अस्पतालको अनुहार देख्न नपाएर सुरक्षित सुत्केरी नभएका ती महिलाहरुका कथा सुनें ।
तुलना गरेर हेर्ने हो भने त तरार्इमा घर आँगनमै कलधारा छन्।जताततै पम्पिङ सेट लगाएर कलकल सिँचाइ छ, अन्नबाली उब्जाउन । लहलह धान झुलेका हुन्छन् । आलु, तरकारीहरु आफैं उब्जनी गरेर खान सकिन्छ । मेहनत गरे स्वावलम्बी किशान भई बाँच्न सकिन्छ। त्यो आत्मनिर्भर बन्नबाट रोक्न पहिडियाले सक्दैन मधिसियालाई ।
पहाडियाको रिस गरेर मात्रै खेतमा अन्न फल्दैन । कलकारखाना बनाउन सके मधेसिया मात्र हैन, पहाडियालाई पनि रोजगारी दिन सक्ने व्यवसायिकताको विकास गर्नुपर्छ। रीस भनेको आफ्नो कर्मसँग पोख्नुपर्छ, अनि चेतनशील दिमागहरुले सोच्नुपर्छ । र, कर्मशील हातहरुले उब्जनी गरेर आत्मनिर्भर बन्न सकिन्छ ।
मननशील मनहरुले आफुभित्रको संकुचित दिमाग पढ्न सक्नुपर्यो । माइनोरिटीमा तरार्इमा बसेका पहाडियाहरुले उहिल्यैदेखि आफ्ना सन्तानलाई पढाएर अगाडि बढाएका हुन् भन्ने कटुसत्यतालाई स्वीकार्दै सही बाटो रोज्नुपर्यो । सम्पति थुपारेर, दासदासी पालेर र रमाएर मात्र जिन्दगी सुखमय हुन्छ भन्ने सोचबाट बाहिर आउनुपर्यो ।
हामीसँग सबै कुरा हुँदाहुँदै पनि आफ्ना सन्तानलाई शिक्षादीक्षा किन समयमा दिन सकेनौं ? यसबारेमा सोच्नुपर्यो । तिलक, दहेजप्रथाको लोभलालचाबाट किन बाहिर निस्किन सकेनौं ? कसले रोकेको थियो त्यो मेजोरिटी मधेसिया भएको तरार्इको समाजमा यस्तो बिकृति हटाउन ? पहाडियाले ? चिन्ने बेला आएको छ र सीमित ब्यक्तिको स्वार्थ पूरा गर्न विषवमनको पात्र नहुनुहोस् ।
परिवार बिग्रियो भने छिमेकीले एकछिन कठै भन्लान् । तर, अन्त्यमा लात हान्ने सबैभन्दा पहिले तिनै हुन्छन् ।
त्यसैले सम्यमित बन्नुहोस्, आत्मविश्वाशी बन्नुहोस्, परनिर्भरता हैन, आत्मनिर्भर अनि अन्तरनिर्भर हुनुहोस् । आफ्ना सन्ततीलाई लाठी हैन, कलम समाउन लगाउनोस् । आफुहरु कोदालो बोकेर बाँझो खेत खन्नुहोस । नपढेकी भए पनि तपाईंकी श्रीमतीले खलिहानमा गएर पम्पिङ सेटबाट निस्केको पानीले जमिन सिँचित गर्नेछिन्।
कसैले उचालेको भरमा तपार्इका सन्ततीले शिक्षा पाएको घर खरानी बनाउने काममा सहभागी नहुनुहोस् । तपार्इको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मी तपार्इले बालेको आगोबाट नडढून् । त्यस्तो अपराधी प्रवृतिलाई सीमाना कटाउन सहयोगी बन्नुहोस् ।
पहाडिया–मधेसिया मिलेर सँगै राष्ट्रियगान बजाउनोस्, छामेर हेर्नोस त त्यो गुन्जनले तपाइको छाती ढक्क फुल्छ कि फुल्दैन ?
जब तपाईं र तपार्इका सन्तती सक्षम नेपाली भएपछि तपार्इ आफैले भन्नुहुनेछ, मैले भनेजस्तै मलाई मधेसिया भन्दा अब दुख्दैन । किनकि तपाईंको मेजोरिटीमा म हुर्किँदा तपाइले मलाई भन्ने गरेको “पहाडिया छौंडी”शब्दले म कहिल्यै दुखिँन ।
सिंगो नेपाल राष्ट्र रह्यो भने न हामी ‘मधेसिया पहडिया’ भन्दै हाँस्न गाउन पाउँला । नत्र कहीँ यस्तो नहोस् पहाडे मन मधेसी मनसँग यस्तरी धुजाधुजा होस् कि हाकीले त्यसलाई सिलाउने धागो कहीँ कम पडी नजाओस ।
तपार्इ तरार्इको तापबाट बच्न मर्दानी धोती लगाउनोस् । म पहाडको सिरेटोबाट बच्न टोपी लगाउँला। अनि भनैंला, अपने पहाडिया छी, हम मधिसिया, जहाँ भि रहुं, जौन पहिरु हुम दुनो नेपालीएन छी ।
नेपाली राष्ट्रिय गान बज्दा हाम्रो मुटु ढुक्कसँग गर्वले फुल्नुपर्छ । जुनसुकै जात जाति, भाषा धर्म या जुनसुकै पोशाक लगाउने किन नहुन् चाहे बाहुन क्षेत्री, मगर, शेर्पा, कलवार, यादव, गुप्ता, झा किन नहौं गर्वले म नेपाली हुँ भन्न सक्नुपर्छ ।
प्रतिक्रिया 4