Comments Add Comment

राजनीतिक प्रदूषणको सिद्धान्त

अरूण बराल

प्रकृतिको नियमअनुसार हरेक वस्तुमा प्रदुषण हुन्छ । ब्रह्माण्डको कुनै पनि चिज प्रदूषणरहित हुँदैन । मानव शरीरमा पनि प्रदूषण भइरहने भएकाले औषधि विज्ञानको विकास भएको हो । प्रदूषण सार्वभौमिक, सर्वकालिक र सर्वदेशीय हुन्छ । हरेक वस्तुमा’ब्याक्टेरिया’ले आक्रमण गरेर प्रदूषण भएजस्तै भौतिक वस्तुहरुमामात्रै होइन, मानसिक चिजहरुमा समेत प्रदूषण हुने गर्दछ । कुनै पनि मानिसको शरीरमात्रै होइन, मनलाई पनि बेलाबेला सफा गरिरहनुपर्दछ, अन्यथा मानसिक प्रदूषण हुने गर्छ ।

विश्व ब्रह्माण्डका हरेक भौतिक तथा मानसिक वस्तुहरु प्रदूषणमुक्त नहुने भएपछि राजनीतिचाहिँ प्रदूषणबाट मुक्त हुन्छ भन्नु सही होइन । राजनीति मानिसको सामाजिक क्रियाकलापको एउटा महत्वपूर्ण अंग भएकाले यसमा पनि बारम्बार प्रदूषण भइरहन्छ । अहिलेसम्मको राजनीतिशास्त्रको इतिहास भनेकै राज्य सञ्चालनमा देखिने प्रदूषण र त्यसलाई हटाउन गरिँदै आएको संघर्षको फेहरिस्थ हो ।

धार्मिक आदर्शका कथाहरु, प्लेटोले प्रतिपादन गरेको आदर्श राज्य या मेकियावेलीले व्याख्या गरेको अधिकारसम्पन्न राज्यको कुरा नै किन नहोस्, यी सबै राजनीतिक वा सामाजिक प्रदूषणबाट मुक्त हुने उपायको खोजी नै हो । हब्स, लक र रुसोले भनेको सामाजिक सम्झौताको सिद्धान्त होस् या कार्ल मार्क्सले भनेको साम्यवाद नै किन नहोस्,यी सबै सिद्धान्तहरु राजनीतिक प्रदूषणलाई हटाउने उपायका खोजी नै हुन् ।

तथापि अहिलेसम्म जति पनि राजनीतिक सिद्धान्तहरु विकसित गरिए, तिनले राजनीतिक प्रदूषणलाई केही समयका लागि रोके पनि सदाका लागि प्रदूषण हटाउन भने सकेनन् । मार्क्सवादले साम्यवाद आएपछि सबैखाले प्रदूषण हट्ने कुरा त बतायो, तर साम्यवादमा नपुग्दै वीचैमा मार्क्सवादी राज्यहरु, पार्टीहरु प्रदूषित बन्न पुगे । राज्य प्राप्त नहुँदै वा क्रान्ति सम्पन्न नहुँदै कम्युनिष्ट पार्टीहरु प्रदूषित भएर पतन भए, भइरहेका छन् । यसले के पुष्टि गर्दछ भने अहिलेसम्म प्रदूषण हटाउने नाममा जे जति दर्शन, सिद्धान्त रउपायहरु बाहिर आए, ती कुनै पनि पूर्ण र पर्याप्त हुन सकेका छैनन् ।

नेपालमा राजनीतिक प्रदूषणको दुश्चक्र

नेपालको राजनीतिमा प्रदूषणको दुश्चक्रले एउटा स्पष्ट प्रणाली बनाइरहेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले बाइसे-चौविसे लगायतका स-साना राज्यहरु थिए । ती कविला अवस्थाबाट विकसित भएका वंश-राज्यहरु थिए । प्राकृतिक अवस्थाबाट राज्य भैसकेपछि त्यहाँ प्रदूषण शुरु हुनु स्वाभाविकै थियो । दाजुभाइमा झगडा भएर राज्यहरु टुक्रन थाले । यक्ष मल्लको विशाल राज्य आन्तरिक प्रदूषणकै कारणले टुक्रिएको थियो । त्यही प्रदूषणको मौकामा पृथ्वीनारायण शाहले विशाल नेपाल बनाउने भन्दै ‘शुद्धतावादी सिद्धान्त’का आधारमा राज्य विस्तार अभियान शुरु गरे ।

Nepali-rajnitima-Pradursan

शाह वंशले अन्य राज्यहरु मासेर एउटै राज्य निर्माण गर्‍यो र अहिलेको नेपालको नक्शा तयार भयो । आधुनिक नेपाल राज्यको निर्माण सामाजिक सम्झौता वा सहमतिका आधारमा नभई बल प्रयोगको सिद्धान्तका आधारमा गरिएको हो । बन्दुकको नालबाट नेपाल राज्यको निर्माण भएको हो ।

प्रदूषणको सर्वव्यापी सिद्धान्तबाट शाह वंशको राज्य पनि अछुतो हुने कुरै थिएन । नेपालको एकीकरण सँगसँगै राजपरिवार र भारदारहरुमा प्रदुषण शुरु भैहाल्यो । बहादुर शाह र राज्य लक्ष्मीवीचको झगडा, रणबहादुर शाहमा देखिएको पागलपन अनि सुरेन्द्रविक्रमलाई मारेर देवेन्द्रलाई राजा बनाउने दरबारिया षडयन्त्रका कारण कोतपर्वको जन्म भयो । शाहकालीन प्रदूषणको जगमा राणा शासनको उदय भयो । शाहवंशको झगडा कुनै वर्ग संघर्ष थिएन, उनीहरु एकै वर्गका प्रतिनिधि थिए ।

नेपालमा वि.सं. १८२५ मा स्थापना भएको केन्द्रीकृत शाही शासनमा प्रदूषण सुरु भएर राणाहरु सत्तामा आउन ७८ वर्षको अवधि लागेको थियो । त्यसपछि राणाहरुले १०४ वर्षसम्म शासन चलाए ।

यदि सत्तामा प्रदूषण नहुने र त्यो नढल्ने भए अहिलेसम्म राणा शासन रहिरहन्थ्यो होला । तर, राणा शासनभित्र पनि प्रदूषण भयो र राणा शासन ढल्यो । राणाहरु आपसमा विभाजित भए । उनीहरुले चलाएको अत्याचारी शासनका विरुद्ध विशेषतः कांग्रेस पार्टीले शुद्धतावादको प्रचार-प्रसार गर्‍यो, जनताले क्रान्तिमार्फत् कांग्रेसलाई साथ दिए । वि.सं ०१५ सालको चुनावमा दुई तिहाइ मत दिएर नयाँ शक्तिका रुपमा नेपाली कांग्रेसलाई जनताले सत्तामा पुर्‍याए । कम्युनिष्ट पार्टीले पनि ००७ सालको परिवर्तनमा सहयोगी भूमिका खेल्यो ।

नेपाल एकीकरणदेखि आधुनिक नेपालसम्म आइपुग्दा राजनीतिक प्रदूषण र शुद्धतावादको द्वैध संघर्ष प्रष्टैसँग देख्न सकिन्छ । स-साना बाइसे चौबीसे राज्यमा भएको प्रदूषणमा टेकेर पृथ्वीनारायण शाहले शुद्धतावादको आडमा एकीकरण अभियान चलाएका थिए । त्यसपछि राजपरिवारमा देखिएको प्रदूषण हटाउने नाममा जंगबहादुरले शासन हातमा लिए । र, राणाहरुमा देखिएको प्रदुषणको विरोधमा नेपाली कांग्रेस र कम्युनष्टिहरुले अर्को शुद्धतावादी आन्दोलनमार्फत राणा शासनको प्रदूषण हटाए ।

वि.सं ००७ सालदेखि ०१७ सालको अवधिमा दलहरुमा जुन प्रकारको झगडा,गैरजिम्मेवारीपन एवं राष्ट्रियतामाथि भारतीय चलखेल बढेको थियो, त्यसैलाई निहुँ बनाएर राजा महेन्द्रले विकास र राष्ट्रवादको शुद्धतावादी नाराका आधारमा सत्ता कब्जा गरे । महेन्द्रको कदम ‘क्रान्ति’ नभएर ‘कु’ नै भएता पनि त्यो कदम ‘राजनीतिक प्रदूषण’ हटाउने नाममै अगाडि आएको हो ।

पञ्चायती व्यवस्था जतिसुकै शुद्ध परिकल्पनाका आधारमा स्थापना गरिएको भएता पनि त्यसमा पनि प्रदूषण भयो । दरवारिया शक्ति र पञ्चहरुमा विकृति, विभाजन र प्रदूषण बढ्दै गएपछि कांग्रेस-कम्युनिष्टले त्यसलाई नारा बनाएर प्रजातन्त्रमा यस्ता समस्या समाधान हुन्छन् अनि ‘रामराज्य’ कायम हुन्छ भन्दै जनताको विश्वास जिते । ०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भयो ।

पञ्चायतको अन्त्यपछि कांग्रेस र कम्युनिष्टहरु पालैपालो सत्तामा गए । सत्तामा गएपछि उनीहरुमा पनि प्रदूषण बढिहाल्यो । संसदवादी दलहरु भ्रष्ट, गैरजिम्मेवार तथा राजनीतिक प्रदूषणले ग्रस्त भएपछि एकातिर राजावादीहरु शुद्धतावादी विकल्पको दाबी गर्दै मञ्चमा देखापरे भने अर्कातिर माओवादीहरु नयाँ विकल्पका रुपमा अर्को शुद्धतावादको नारा लिएर अगाडि आए । अन्ततः ०५९ सालबाट राजनीतिक प्रदूषण हटाउने नाममा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए । तर, उनी आफैं विलासी र भ्रष्ट भएकाले माओवादी र संसदवादीको शुद्धतावादका अगाडि उनको दाल गलेन । फलतः ०६२/०६३ को आन्दोलनमार्फत् जनताले पुनः संसदवादी र माओवादीलाई एकैसाथ सत्तामा पुर्‍याएपछि ज्ञानेन्द्रले वनवास जानुपर्‍यो ।

यहाँ स्मरणीय कुरा के छ भने ०६२/०६३ को आन्दोलनमा कांग्रेस-एमालेका नेताहरुले हामी शुद्ध बन्यौं, अब भ्रष्टाचार गर्दैनौं भनेर जनतासित पटक-पटक कसम खाएका थिए । यसले के सिद्ध गर्दछ भने नयाँ शक्ति सत्तामा जाने महत्वपूर्ण आधार भनेको शुद्धतावादको नारा नै हो । अर्काेतर्फ कांग्रेस-एमालेप्रति विश्वास गुमाएका जनताले संविधानसभाको चुनावमा नयाँ नारा लिएर आएको नयाँ शक्ति (माओवादी) लाई सघाए, जसका कारण माओवादी ठूलो दलका रुपमा स्थापित भयो । यस परिघटनाले पनि जनताले पुरानो प्रदूषणयुक्त शक्तिलाई परास्त गर्न सधैं नयाँलाई नै सघाउँछन् भन्ने देखाउँछ ।

तर, के अब ०६२/०६३ को जनआन्दोलनबाट स्थापित यिनै संसदवादी र माओवादीले नै युग-युगसम्म नेपालमा शासन गर्लान् त ? अहँ गर्दैनन् । यिनीहरु पनि सत्तामा गएपछि प्रदूषित हुँदै जानेछन् र भइरहेका छन् ।

नेपालमा अब फेरि अर्को नयाँ शक्तिले शुद्धतावादी नारा लिएर जनतालाई अगाडि सार्नेछ । त्यसपछि प्रदूषित सत्ताको निषेध भई नयाँ कथित शुद्धतावादी शक्ति शासन गर्न आइपुग्नेछ । तर, विस्तारै फेरि ऊ पनि प्रदूषित हुनेछ र अर्को शक्तिको उदय हुनेछ । नेपालको राजनीति यसैगरी प्रदूषण सिद्धान्तका आधारमा अगाडि बढ्छ र बढिरहेको छ ।

राजनीतिक प्रदूषणको सिद्धान्तअनुसार नेपालमा के अब पुनः राजतन्त्रको पुनर्स्थापना हुन सक्छ ? या अर्कै नयाँ शक्ति अगाडि आउनेछ ? कि कांग्रेस, एमाले वा माओवादीवीच एकापसमा सत्ता सरेर प्रदूषणको चक्र पूरा हुनेछ ? यी प्रश्नमा स्पष्ट हुनका लागि सबैभन्दा पहिले हामीले राजनीतिक प्रदूषणका सामान्य नियमहरुका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ ।

प्रदूषणका सामान्य नियम

उल्लेखित तथ्य एवं प्रमाणहरुका आधारमा संश्लेषण गर्दा के निचोड निकाल्न सकिन्छ भने प्रदूषणको आफ्नै किसिमको नियम हुन्छ । यसको नियमलाई सामान्य नियम र विशिष्ट नियम गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । सामान्यतः प्रदूषणका ६ वटा सामान्य नियमहरु छन् ।

१. प्रदूषण सर्वव्यापी, सर्वकालिक र सर्वदेशीय हुन्छ ।

प्रदूषण सर्वव्यापी, सर्वकालिक र सर्वदेशीय हुन्छ । जसरी रोगविहीन जीवको कल्पना गर्न सकिँदैन, त्यसैगरी प्रदूषणविहीन समाज वा प्रदूषणविहीन राज्यको पनि कल्पना गर्न सकिँदैन ।
प्रदूषण ब्रह्माण्डमा पनि हुन्छ । खगोलशास्त्रीहरुले सूर्य र पृथ्वीको पनि आयु तोकेका छन् ।
भौतिक जगत, प्राणी जगत वा वातावरणमा हुने प्रदूषणलाई केही समयसम्म रोक्न रकम गर्नमात्रै सकिन्छ तर, सधैंका लागि निर्मूल पार्न सकिँदैन । समाज विज्ञान र राजनीतिशास्त्रमा पनि यही कुरा सत्य हो ।

जसरी घरलाई प्रदूषण मुक्त राख्नका लागि निरन्तर सरसफाइ गरिरहनु पर्दछ, त्यसैगरी समाज र राजनीतिलाई पनि एकपटक मात्रै गरेको शुद्धीकरणले पुग्दैन । यो सर्वकालिक हुन्छ ।
एकपटक क्रान्ति वा निर्वाचनका माध्यमबाट स्थापना गरेको व्यवस्था सधैंभरि स्वच्छ रहिरहँदैन र प्रदूषणका कारण भ्रष्ट बन्न पुग्दछ ।

२. सबै विचारधारा, वाद वा व्यवस्थामा प्रदूषण हुन्छ ।

कुनै पनि राजनीतिक व्यवस्था प्रदूषणबाट पूर्णरुपमा मुक्त छैन र हुन सक्दैन । कम्युनिज्ममा पनि प्रदूषण हुन्छ, पुँजीवादी व्यवस्थामा पनि प्रदूषण हुन्छ । निरंकुशता वा लोकतन्त्र, एकात्मक वा संघात्मक, संसदीय वा अध्यक्षात्मक, कुनै पनि व्यवस्थाहरु राजनीतिक प्रदुषणबाट मुक्त हुँदैनन् ।

आदिम साम्यवाद, दास युग, सामन्तवादी व्यवस्था, पुँजीवाद वा समाजवाद, सबैव्यवस्थाभित्र प्रदूषण थियो/छ । साम्यवादमा पनि प्रदूषण हुन्छ ।
Pradursanko-Duschakra
कार्ल मार्क्स  स्वयंले परिवर्तनलाई सार्वभौम र सर्वकालिक भनेका हुनाले साम्यवाद पनि अपरिवर्तनीय एवं प्रदूषणविहीन व्यवस्था होइन ।

मार्क्सले परिकल्पना गरेको साम्यवादसम्म नपुग्दै समाजवादी राज्यव्यवस्थाभित्रै राजनीतिक प्रदूषण भएका उदाहरणहरु विश्व इतिहासमा पाइएका छन् । नौलो जनवाद,बहुदलीय जनवाद वा एक्काइशौं शातब्दीको जनवाद, कुनै पनि प्रणालीहरु राजनीतिक प्रदूषणबाट मुक्त हुँदैनन् ।

जनवादी व्यवस्थासम्म नपुग्दै कम्युनिष्ट पार्टीभित्रै प्रदूषण हुन्छ र कम्युनिष्ट पार्टीहरु वीचैमा बिग्रन्छन् । यही भएर कम्युनिष्ट पार्टीभित्र ‘संशोधनवादको विरोध’, ‘पार्टी शुद्धीकरण’, ‘सर्वहाराकरण’, ‘दुईलाइन संघर्ष’, ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ र ‘निरन्तर क्रान्ति’ जस्ता नाराहरु प्रचलनमा ल्याइएका हुन् ।

मध्यपूर्वका निरंकुश शासन सत्ताहरु हुन् वा विश्वमा उदीयमान बन्दै गएको चीन होस्, प्रदूषणको खतराबाट कोही पनि मुक्त छैनन् । सर्वशक्तिशाली अमेरिका वा बुर्जुवा प्रजातन्त्रको जननी भनिने वेलायत होस्, कुनै पनि व्यवस्था राजनीतिक प्रदुषणबाट अछुतो छैनन् । जुनसुकै विचारधाराबाट गठित राज्यव्यवस्थामा पनि प्रदूषण हुन्छ ।

हामीले एकात्मक राज्य बनाऔं वा संघात्मक, जनवादी बनाऔं वा बुर्जुवा, एकदलीय बनाऔं वा बहुदलीय, पहिचानका आधारमा राज्य पुनःसंरचना गरौं या भूगोलका आधारमा गरौं, जुनसुकै व्यवस्थाभित्र पनि राजनीतिक प्रदूषण हुन्छ, हुन्छ ।

राजतन्त्र फालेर नेपालमा गणतन्त्र ल्याइएको छ, तर देश राजनीतिक प्रदूषणबाट मुक्त हुन सकेको छैन ।

३. लोकतन्त्र र निरंकुश व्यवस्थाभित्र हुने प्रदूषणको चरित्र फरक हुन्छ ।

प्रणालीगत हिसाबले लोकतान्त्रिक व्यवस्थाभित्र हुने प्रदूषण र निरंकुश व्यवस्थाभित्र हुने प्रदूषणको परिणाम भिन्न प्रकृतिको हुन्छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाट सरकार मात्रै परिवर्तन गरेर प्रदूषणको चक्रलाई पूरा गर्ने कोशिस गरिन्छ भने निरंकुश व्यवस्थाभित्र बढ्ने राजनीतिक प्रदूषणले चाँहि प्रायशः सरकार मात्रै नभई सिंगो व्यवस्थालाई नै परिवर्तन गर्दछ ।

लोकतान्त्रिक व्यवस्थामा भन्दा निरंकुश व्यवस्थामा राजनीतिक प्रदूषणको चक्र ढीलो घुम्छ । निरंकुश व्यवस्थामा प्रदूषण कम हुने भएकाले यस्तो भएको होइन कि त्यहाँ राज्यविरोधी अभियानलाई दलपूर्वक दबाइने भएकाले यस्तो हुन गएको हो । तर, प्रदूषणलाई बलपूर्वक छोप्न खोज्दा त्यहाँ सिंगो व्यवस्थालाई नै धक्का लाग्दछ ।

लोकतान्त्रिक शासनमा भने सरकारको विरोध गर्न पाइने र निर्वाचनबाटै सरकार फेर्न सकिने भएका कारण प्रदूषणले शासन प्रणालीलाई नै धक्का दिइहाल्ने सम्भावना कम रहन्छ ।

दृष्टान्तका लागि अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन वीच सत्ता साटफेर भइरहन्छ । बेलायत, भारत आदि देशहरुमा पनि एउटा पार्टी प्रदूषित भएपछि चुनाव हार्छ र अर्कोको हातमा सरकारको नेतृत्व जाने गरेको छ । तर, अरबका कतिपय देशहरुमा त्यस्तो हुँदैन । ३०/४० वर्ष एउटाले शासन चलाएपछि त्यहाँ क्रान्ति हुने गरेको छ । नेपालमा पनि राजतन्त्रमा प्रदूषण हुँदा व्यवस्थामा नै परिवर्तन आएको छ भने दलीय व्यवस्था रहेका बेला हुने प्रदूषणले एउटा पार्टीबाट अर्को पार्टीमा सत्ता हस्तान्तरण हुने गरेको छ ।

पूर्वसोभियत संघमा ‘समाजवादी’ व्यवस्था ७० वर्षसम्म टिक्यो । अरब मुलुकहरुमा निरंकुश व्यवस्था ३०/४० वर्षसम्म टिकेको हामीकहाँ उदाहरणहरु छन् । नेपालमा पनि एकदलीय पञ्चायती व्यवस्था ३० वर्षसम्म टिक्यो । चीनमा १९४९ मा स्थापित समाजवादी व्यवस्था आजसम्म टिकिरहेको छ । उता यूरोपियन मुलुकहरु, संयुक्त राज्य अमेरिका, वेलायत र भारतजस्ता मुलुकहरुमा चाँहि शासन सत्तामा प्रदुषण देखिनासाथ जनताले निर्वाचनमार्फत् अर्काे शक्तिलाई सरकारमा पुर्‍याउने गरेका छन्, जसले गर्दा त्यहाँको शासन प्रणालीमै उटलपुटल हुने वा लामो समयसम्म एउटै शक्तिले शासन गरिरहने अवस्था देखिँदैन ।

यी दृष्टान्तहरुले के शिद्ध गर्दछन् भने निरंकुश व्यवस्था र लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रदूषणको दुश्चक्र केही भिन्न तरिकाले प्रयोगमा आउने गर्दछ ।

४. राजनीतिक मागकारुपमा प्रदूषणले आकार लिन्छ ।

प्रारम्भमा राज्यसत्तामा देखापर्ने प्रदूषणले राजनीतिक मागका रुपमा आकार ग्रहण गर्छ । राज्यले ती मागहरुलाई सम्बोधन गरेर तत्कालै प्रदूषण हटाउने तत्परता देखायो भने शासनमा केही समय स्थिरता र शान्ति कायम हुन सक्दछ । तर, ती मागप्रति वेवास्ता गरियो भने त्यसले असन्तुष्टि, विग्रह वा आन्दोलनको रुप लिन थाल्छ । राज्य व्यवस्था लोकतान्त्रिक छ भने त्यो आन्दोलन शान्तिपूर्ण हुन्छ र त्यसले बढीमा सरकार परिवर्तन गरेर आफ्नो कोर्ष पूरा गर्दछ ।

यदि राज्य निरंकुश छ भने उसले त्यो आन्दोलनलाई दमन गर्नतिर लाग्छ, जसले गर्दा उक्त आन्दोलनले हिंसात्मक संघर्षको रुप लिन्छ । यस्तो हिंसात्मक संघर्षका परिणाम तीनवटा निस्कन्छन्, या त संघर्षकर्ता शक्तिले पुरानो शक्तिलाई विस्थापित गरी केही समयका लागि प्रदूषणको समस्या हल गर्दछ । या, पुरानै शक्तिले संघर्षकर्ता शक्तिलाई बलपूर्वक दबाएर पुनः अल्पकालीन शान्ति स्थापना गर्दछ । तेस्रो अवस्था भनेको पुरानो र नयाँ दुबै शक्तिवीच सम्झौता पनि हुन सक्दछ । यस्तो सम्झौताले पनि प्रदूषणलाई केही समय रोक्न सक्छ ।

तर, यी तीनवटै अवस्थाले पनि राजनीतिक प्रदूषण सधैंका लागि हटाउन सक्दैनन् । पुरानोले जिते पनि, नयाँले जिते पनि सत्तामा राजनीतिक प्रदूषण देखा परिहाल्छ । सम्झौता भएर केही सामान्य सुधारका लक्षणहरु देखिए पनि पुनः राज्यसत्ता भ्रष्ट बनिहाल्छ ।

५. पुरानो शक्ति पनि सत्तामा आउन सक्छ, तर फेरिएर ।

राज्यसत्तामा देखापर्ने प्रदूषण वा विकृतिले निरपेक्षरुपमा नयाँ वा शुद्धतावादी शक्तिलाई नै सत्ता हस्तान्तरण गर्दछ भन्न सकिँदैन । यस्तो प्रदूषणले पुरानै सत्ताच्युत शक्तिलाई पनि पुनर्जागृत गराउन सक्दछ । नेपालको सन्दर्भलाई हेर्दा ००७ सालको प्रजातान्त्रिक क्रान्तिपछि ०१७ सालमा कू हुनु, ०४६ को परिवर्तनपछि ०५९ सालमा राजाले पुनः शासन हातमा लिनु यसैको दृष्टान्त हो । भारत, अमेरिका, वेलायत जस्ता देशहरुमा एउटा पार्टीप्रति जनताको अविश्वास बढ्दा पुरानै पार्टी सत्तामा दोहोर्‍याएर विराजमान हुन पुग्नु पनि यसैका दृष्टान्तहरु हुन् ।

यसले के पुष्टि गर्दछ भने राजनीतिक प्रदूषणको चक्रमा सामान्यतः नयाँले पुरानोलाई विस्थापन गर्ने भएता पनि पुरानो शक्तिको पुनरुत्थान पनि स्वाभाविक बन्न जान्छ ।

तर, यहाँनेर ख्याल गर्नुपर्ने कुरा के छ भने पुरानोले पुनः सत्तारोहण गर्दा उसले विगतका कमजोरीप्रति जनतासित माफी मागेको र अब शुद्ध भएर शासन गर्ने वचन भने अनिर्वायरुपमा दिएकै हुन्छ । शुद्धताको नाराविना पुरानो शक्तिको पुनरुत्थान सम्भव हुँदैन । त्यसर्थ, पुरानै शक्ति सत्तामा दोहोरिएर आएता पनि शुद्धता र प्रदूषणको सिद्धान्त यहाँ प्रयोग भइरहेकै हुन्छ । ०३६ सालको जनमत संग्रहमा पञ्चहरुले ‘सुधारिएको पञ्चायत’का नाममा भोट मागे । ०६२/०६३ को आन्दोलनमा कांग्रेस र एमालेले अब आफूहरु सुध्रिने र विगतको गल्ती नदोहोर्‍याउने भन्दै जनतासँग प्रतिवद्धता जनाए ।

६. प्रदूषणको दुश्चक्र बृत्ताकार हुँदैन, उर्ध्वाकार हुन्छ ।

प्रदूषणको दुश्चक्र पूर्ण वृत्ताकारमा नभई भुँवरी परेजसरी घुमेर माथितिर जान्छ । किनभने पुरानोको विस्थापन र नयाँ शक्तिको उदय हुँदा राज्यमा केही न केही सुधारका लक्षणहरु देखिन्छन् । यस्ता सुधारका कार्यहरुले राज्यलाई केही अगाडितर्फ धकेल्ने हुनाले प्रदूषणको दुश्चक्र गोलाकार हुँदैन ।

दृष्टान्तका लागि नेपालकै राजनीतिको कुरा गर्ने हो भने शाहकाल- राणाकाल- प्रजातन्त्र- राजतन्त्र फेरि प्रजातन्त्र- फेरि राजतन्त्र र गणतन्त्रसम्म आइपुग्दा नेपाली राज्यको चरित्र पुरानै राणाकालीन ठाउँमा फन्को मारिरहेको अवस्थामा नभई धेरै अगाडि बढेको छ । नयाँ शक्तिले पुरानोलाई हटाउँदा गरेका केही वाचाहरु पूरा गर्दै अगाडि बढ्ने भएकाले देशको राजनीतिमा पनि केही न केही सुधार भएकै हुन्छ ।

यसर्थ, राजनीतिक प्रदूषणको छैठौं विशेषता के हो भने पुरानै चरित्रमा सत्ता फर्किइरहने भएको भए दासयुगबाट समाज यो ठाउँमा विकसित भएर आउने नै थिएन ।

निश्चित कालखण्डसम्म पुरानो शक्ति सत्तामा पुनरावृत्त हुने कुरा अस्वाभाविक नभए पनि यदाकदा आउने पुरानो शक्ति पूर्ववत् रुपमा नभई फेरिएरै आउँछ । प्रदूषणको दुश्चक्रका बावजुद समाज र राज्य अगाडितिर हुत्तिँदै जान्छ, भुँवरीमा पात पतिंगरहरुमाथितिर हुत्तिएजस्तै ।

प्रदूषणको विशिष्ट नियम

प्रदूषणको विशिष्ट नियमले कुनै पनि चिजभित्र प्रदूषणले कसरी कार्य गर्दछ भन्ने विषयमा सुक्ष्म एवं वैज्ञानिक विश्लेषण गर्दछ । प्रदूषणको विशिष्ट नियम भन्नाले पदार्थमा हुने परिवर्तन वा प्रदूषणको भैतिक विज्ञानका आधारमा गरिने विश्लेषण हो भने विचारधारा वा चेतानाको क्षेत्रमा गरिने मनोवैज्ञानिक अध्ययन हो ।

मानिसभित्र देखापर्ने प्रदूषणको मूल दार्शनिक पक्ष अधि-भैतिक चरित्रको हुन्छ । सर्वप्रथम भौतिक पदार्थ एवं वातावरणले मान्छेलाई प्रभाव पार्दछ र त्यसपछि विस्तारै उसको चेतना र विचारलाई विकृत बनाउँछ । अधिभूत भनेको पदार्थ र चेतनाको वीचको अवस्था हो ।

उदाहरणका लागि कुकुरले खानेकुरा देख्दा र्‍याल झार्ने प्रक्रियालाई हेरौं । कुकुरले खानेकुरा (भौतिक वस्तु) देख्दा उसको शारीरिक प्रतिक्रियास्वरुप र्‍याल निस्कन्छ । र्‍याल काढ्नु शारीरिक प्रक्रिया हो भने आँखाले देखेको पदार्थले शारीरिक अवस्थालाई प्रभाव पार्नु अधिभौतिक अवस्था हो । अनुसन्धानकर्ताहरुले कुकरको यस अधिभौतिक अवस्थामा विभिन्न प्रयोगहरु गरेका छन् । एउटा कुकुरलाई खाना दिनुअघि घण्टी बजाउने गरिएको थियो, पछि त्यस कुकुरले खाना नल्याए पनि घण्टीको आवाज सुन्नासाथ र्‍याल झार्न थाल्यो । आखिर खाना देख्दा र्झने र्‍याल घण्टी बज्दा कसरी आउन थाल्यो ? यसले के पुष्टि गर्दछ भने पदार्थले चेतनालाई र चेतनाले पदार्थलाई दोहोरो प्रभाव पारिरहेको हुन्छ ।

राज्य सञ्चालनको तहमा रहेका मानिसहरुभित्र उत्पन्न हुने विकृति वा प्रदुषणले राज्यको नीति निर्माणमा प्रभाव पार्न थाल्छ । राजनीतित्रको घमण्ड, व्यक्तिगत स्वार्थ, सत्तामोह,भ्रष्टाचार र परिवारवाद आदि प्रदुषित विचारले राज्यका अंगहरुलाई प्रदुषित बनाउँछन् । अर्कोतर्फ ,समाजमा कुनै पनि व्यक्ति वा परिवार विकारयुक्त भएपछि त्यसको असरसमाजमा तलैदेखि पर्न थाल्छ र यसले राज्यसम्म प्रभाव विस्तार गर्छ ।

राज्यका विभिन्न अवयवहरु, जस्तै- नागरिक समाज, न्यायाधीश, प्रहरी, व्यापारी,निजामति कर्मचारी, उद्योगपति, राजनीतिक पार्टी , तिनका भातृ संगठनहरु, राजनीतिक दलाल, वकिल, पत्रकार, डाक्टर, शिक्षक, ठेकेदार, सामाजिक संघसंस्था इत्यादिमा जति विकृति र विसंगति बढ्दै जान्छ, त्यसले राज्यलाई कुनै महामारी रोगले जस्तै विकृत बनाउन थाल्छ ।

राज्यका यस्ता विभिन्न अंगहरुमा निरन्तर सफाइ एवं शुद्धीकरणको जरुरत पर्दछ । प्रदूषणको विशिष्ट नियमले के आग्रह गर्दछ भने सफाइ एकचोटि होइन, निरन्तर आवश्यक हुन्छ । एक ठाउँमा मात्रै होइन, सर्वदेशीयरुपमा आवश्यक पर्छ । अहिलेसम्म राजनीतिशास्त्रमा जति पनि सिद्धान्त प्रतिपादन गरिए, त्यसमा प्रदूषणको यो अपरिहार्य विशेषतालाई ठम्याउने काम गरिएन । प्रणाली सिद्धान्तको आलोकमा कुरा गर्दा खेल सिद्धान्त, सञ्चार सिद्धान्त कुनैले पनि राजनीतिमा देखा पर्ने प्रदूषणको विशिष्ट नियमलाई पर्गेल्न सकेको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment