Comments Add Comment

संस्थापन पक्षकै भोटले ४० लाई ५१ पुर्‍याउने शेरबहादुर देउवाको दाउ

Sher Bahadur Deuba

१८ माघ, काठमाडौं । शनिबार बिहान कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा यो हिसाब गर्दैथिए होलान कि देशभर मेरो ४० प्रतिशत सुरक्षित भयो कि भएन ?

१३ औं महाधिवेशनको नेतृत्व छनोट प्रक्रिया पहिलो चरणका रूपमा कांग्रेसले शुक्रबार देशभर गाउँनगरको अधिवेशन गरेको थियो, जसको प्रारम्भिक आँकलन शनिबार बिहान नेताहरुले लगाएका छन् ।

देउवाले पार्टी सभापतिमा औपचारिक उम्मेदवारी त घोषणा गरेका छैनन् । तर, उनी समूहका निर्विकल्प उम्मेदवार हुन् । योपटक उनलाई सभापतिका बलिया दाबेदारका रूपमा हेरिएको छ । यद्यपि उनले पार्टीमा ४० प्रतिशत मतको मात्रै प्रतिनिधित्व गर्दै आएका छन् ।

कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकता भएपछि पार्टीमा ६०/४० को भागबन्डाको राजनीति सुरु भयो । गिरिजाप्रसाद कोइरालाको शेषपछि सुशील कोइरालाको कार्यकालमा यो भागबन्डालाई जोगाउन देउवा सफल भए । र, देउवा अब त्यही ४० प्रतिशतको भरमा संस्थापन पक्ष (समग्रमा ६० प्रतिशत) लाई हराएर कांग्रेस सभापति बन्ने रणनीतिमा छन् ।

सामान्य हिसाब गर्ने हो भने ४० ले ६० लाई हराउन सक्दैन । तर, साहित्य र राजनीतिमा भनिन्छ कि दुईमा दुई जोड्दा पाँच पनि हुन्छ । यस्तै छ, देउवाको रणनीति । र, उनी सफल पनि देखिएका छन् ।

कांग्रेस नेताका अनुसार पार्टी एकतापछि शेरबहादुर देउवा कहिल्यै संस्थापन पक्षको पनि नेता हुने प्रयास गरेनन् । सांसदको टिकट वितरण, पार्टीका विभागको गठन तथा मनोनयनदेखि सरकारमा मन्त्री पठाउँदा पनि उनले त्यही ४० प्रतिशतको आफ्नो समूहबाट रोजे ।

यसले उनी केन्द्रदेखि गाउँ वडा तहसम्म नै आफ्नो गुटलाई जोगाउन सफल देखिएका छन् ।

आफ्नै गुटले यसरी खाँदै छ सुशीललाई

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालासँग पार्टी सञ्चालनको अनौठोको क्षमता थियो ।

अघिल्लोपटक संस्थापन पक्षका नेता चन्द्र भण्डारी, श्याम घिमिरे, विश्वप्रकाश शर्मा र मानबहादुर विश्वकर्मा अहिले खुलेर नै देउवा गुटमा लागेका छन् ।

शेरबहादुर देउवा कांग्रेस प्रजातान्त्रिक बनाएर बाहिरिएपछि कांग्रेसमा संस्थापन पक्ष मात्रै थियो । तर, दुई पावर सेन्टर देशैभरि जस्तै रह्यो, जसको सिर्जनाकर्ता कोइराला आफैं थिए भन्छन्, कांग्रेस नेताहरू । प्रायः अधिकांश जिल्लामा दुई नेताको पावर सेन्टर रह्यो । झापामा कृष्ण सिटौला र चक्र बास्तोला, नुवाकोटमा अर्जुन नरसिंह केसी र रामशरण महत उदाहरण हुन् ।

दुई केन्द्रीय नेताको टकराब कोइरालासम्म आइपुग्थ्यो र उनी मिलाउँथे । यसले दुवै नेता आफ्नो पकडमा राख्दै गिरिजाप्रसाद अनुकूल  निर्णय गर्थे । तर, कोइरालाको निधनपछि संस्थापन पक्षको नेता बनेका सुशील कोइराला यसलाई म्यानेज गर्न नराम्ररी चुकेका छन् ।

अहिले फेरि सभापति लड्ने तयारी गरिरहँदा पनि सुशील कोइराला संस्थापन पक्षको यही ६० प्रतिशत गनिरहेका छन् । हरेक दिन खाता पल्टाउँदा ६० प्रतिशत नै देख्छन् । गाउँ नगरमा भएको चुनावमा पनि यो घटेको देखिएको छैन । सम्भवतः महाधिवेशन प्रतिनिधि छनोटमा पनि यही हुनेछ ।

तर, केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा त्यो ६० प्रतिशत कोइरालासँगै कति रहन्छ अहिले नै भन्न सकिन्नँ । संस्थापन पक्षका नेताको व्यवस्थापनका लागि विधान संशोधन गरेर तीन उपसभापति राख्नेसहित कोइरालाका केही योजना छन् । तर, देउवाले मानेका छैनन् ।

यो लडाइँ त कोइरालाले लड्नु नै छ । सँगै संस्थापन पक्षका नेतालाई जोगाएर राख्नु उनको अर्को चुनौती बनेको छ ।

४० लाई ५१ कसरी पुग्याउँदै छन् देउवा ?

देउवा आफ्नो ४० प्रतिशत जोगाएर त्यसमा एक-एक थपिरहेका छन् । अर्थात् संस्थापन पक्षमा त्यसरी नै एक-एक घटिरहेका छन् । अघिल्लोपटक संस्थापन पक्षका नेता चन्द्र भण्डारी, श्याम घिमिरे, विश्वप्रकाश शर्मा र मानबहादुर विश्वकर्मा अहिले खुलेर नै देउवा गुटमा लागेका छन् ।

रोचक त यो छ कि, संस्थापन पक्षमा सभापतिका लागि चार-पाँच नेता आंकाक्षी देखिँदा पनि देउवा समूहमा उनी निर्विकल्प छन् । सबैको एउटै गोल छ- देउवा सभापति ।

दलित संघको महाधिवेशनबाटै मानबहादुर असन्तुष्ट थिए । कोइराला प्रधानमन्त्री रहँदा पनि उनलाई समेट्ने प्रयास भएन । जसकारण उनले गुट परिवर्तन गरेर अर्को खेमामा पुगेका छन् ।

अझै रोचक छ, श्याम घिमिरेको कथा छ । उनी केन्द्रीय सदस्यमा मनोनित हुने समय भइसकेको थिएन भन्छन्, कांग्रेसीहरू । तर, समाज डेन्टल हस्पिटलका श्याम कोइरालासँगको सम्बन्धकै कारण कांग्रेस केन्द्रीय सदस्य बने । अहिले उनी सुशीललाई छाडेर देउवा क्याम्पमा पुगेका छन् ।

संस्थापन पक्षले कुनै बोल्ड निर्णय गर्न सकेन भने अर्जुननरसिंह केसी देउवा समूहमा जानेमा शंका छैन । यद्यपि अहिले पनि उनी बार्गेनिङ गरिरहेका छन् र दुवै समूहको सम्पर्कमा छन् । महामन्त्री बन्ने दाउमा रहेका उनीसँग सयदेखि एक सय ५० सम्म भोट हुनेछ र उनलाई देउवाले महामन्त्री बनाउने सम्भावना छ । नेताका अनुसार विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन संस्थापन पक्ष सफल नहुने हो भने केसी दलबलसहित देउवा समूहमा जानेमा कुनै शंका छैन ।

१२औं महाधिवेशनबाट १३औंमा आइपुग्दा देउवा समूहका मीनेन्द्र रिजाल मात्र संस्थापनमा आएका छन् । पार्टीभित्रको जोड-घटाउलाई नजिकबाट नियालिरहेका कांग्रेसका एक नेता भन्छन्, ‘गुट व्यवस्थापनमा देखिएको सुशील कोइरालाको कमजोरी नै शेरबहादुर देउवाको प्लस हो । र, उनी त्यसलाई नै योपटक आफ्नो जितको आधार बनाउँदै छन् ।’

देउवाको यो रणनीति चार भ्रातृ संगठनमा सफल पनि देखिएको छ । १२औं महाधिवेशनपछि दलित संघ, ट्रेड युनियन, शिक्षक संघ र प्रेस युनियनमा देउवा समूह नेतृत्वमा आएको छ । त्यहाँ पनि देउवाले ४० प्रतिशतलाई ५१ पुर्‍याएर जित हात पारेका छन् ।

यसरी चुनाव जित्न संस्थापन पक्षलाई तान्न देउवाले प्रमुख नेतृत्व बाहेकका अन्य पदमा सम्झौता पनि गर्ने गरेका छन् । अब जिल्ला सभापतिको चुनावमा पनि उनले जहाँ आफू कमजोर छ, त्यहाँ सभापति लिएर बाँकी असन्तुष्ट समूहलाई लिन सक्ने एक नेताले बताए ।

नेता व्यवस्थापनमा पनि सहज

देउवालाई योपटक आफ्नो समूहका नेताको व्यवस्थापनमा पनि खासै समस्या देखिएको छैन । रोचक त यो छ, संस्थापन पक्षमा सभापतिका लागि चार-पाँच नेता आंकाक्षी देखिँदा पनि देउवा समूहमा उनी निर्विकल्प छन् । सबैको एउटै गोल छ- देउवा सभापति ।

यसका लागि आफ्नो समूहका सबै नेता कम्प्रमाइज गर्न तयार रहेको एक केन्द्रीय सदस्यले बताए । योपटक देउवा समूहबाट उपभासपतिका उम्मेदवारका रूपमा खुमबहादुर खड्कालाई हेरिएको छ । अदालतले भ्रष्टाचारी ठहर गरेर जेल पर्दा कांग्रेसमा समेत उनको गुट कायमै छ ।

महामन्त्रीका प्रमुख दाबेदार विमलेन्द्र निधि छन् भने संस्थापनबाट आउन लागेका अर्जुननरसिंह केसीसँग पनि कुराकानी भइरहेकाले महामन्त्रीमा कसले चुनाव लड्ने भन्न गाह्रो छ । सहमहामन्त्रीमा पूर्णबहादुर खड्का, बालकृष्ण खाँड लगायतलाई दाबेदारका रूपमा हेरिएको छ । तर, समग्रमा भन्दा संस्थापन पक्षमा जस्तो नेता व्यवस्थापनमा समस्या देखिएको छैन ।

यो पनि पढ्नुस्

कांग्रेसको विधान विवादः गुट मिलाउन तीन उपसभापति राख्ने सुशीलको प्रस्ताव

खुमबहादुरको गुनासोः कांग्रेसमा पैसाको चलखेल बढ्यो

कांग्रेसमा सभापतिका पाँचजना आकांक्षी निस्किए

कांग्रेसमा उमेर हदः ८० वर्षे सुशीलदेखि ४० वर्षे गगनसम्म

कांग्रेसका ‘हार्डलाइनरहरु’ भन्छन्- देउवाले राजालाई बुझाए, सुशीलले कम्युनिष्टलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment