
८ चैत, बेइजिङ । नेपालले संविधान निर्माणमा चालेको कदमको चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रशंसा गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच बेइजिङमा सोमबार बिहान भएको भेटमा चीनले नेपालको संविधान निर्माणको स्वागत गरेको हो ।
भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो ।
भेटवार्तापछि नेपाल र चीनबीच पारवहनसहितका १० वटा सम्झौता एवं समझदारीहरुमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागकी सहायक निर्देशक हो यान्सीले बताए अनुसार प्रधानमन्त्री खछ्याङले नेपालले संविधान निर्माणमा चालेको कदमको प्रशंसा गरेका छन् । चीनले नेपाललाई संधै आर्थिक रुपमा समृद्धि, स्थायित्व र समाजिक एकतासहितको मुलुकका रुपमा हेर्न चाहेको बताए ।
भेटमा दुई देशका प्रधानमन्त्रीहरुवीच आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री केपी ओलीले चिनियाँ प्रधानन्त्री लीलाई ‘विशेष मिसन लिएर चीन आएको’ बताएका छन् ।
एक चीन नीतिमा नेपालको प्रतिवद्धता
नेपालका प्रधानमन्त्री ओलीले नेपालको एक चीन नीति दोहोर्याउँदै नेपाल भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले चीनको रेल नेपालसम्म विस्तार गर्न र नेपालभित्र पनि विभिन्न शहरलाई रेलमार्गबाट जोड्न सहयोगको आग्रह गरेका छन् । यसमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको छ ।
यसबारे आजै हुने चिनियाँ राष्ट्रपतिसँगको भेटमा कुराकानी हुने सरकारी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4