Comments Add Comment

आगलागी रोक्न ताप्लेजुङ सदरमुकाममा गाउँलेको गस्ती, मैनवत्ती बाल्न रोक

Taplejung1रविन भट्टराई

ताप्लेजुङ ९ चैत । ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडा क्षेत्रलाई आगलागीले तहसनहस बनाएको मंगलबार एक वर्ष पूरा भएको छ । सदरमुकामको वाँकी रहेको क्षेत्रसमेत आगलागीको जोखिममा रहेको भन्दै स्थानीयले दैनिक गस्ति गर्दै आएका छन् ।

प्रहरीसंँगको साझेदारीमा जिमी पोखरी क्षेत्रमा गस्ती हुुने गरेको जिमी पोखरी टोलसुधार समितिका संयोजक नेत्रप्रसाद खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार टोल सुधार समितिले सम्भावित आगलागी क्षेत्रमा मैनबत्ति बाल्न पुर्णतया प्रतिवन्ध लगाइएको छ । घरपटाई गरिएको घरको माथिल्लो तलामा आगो बाल्न पनि निषेध गरिएको छ ।

पटक-पटक आगलागिको चपेटामा परेको फुुङलिङ बजारका लागि दोबाटो छुट्ने ठाउँदेखि ट्याक्सी काउन्टर रहेको क्षेत्र हुुदै हुलाक झर्ने बाटोसम्मको भाग आगलागीका लागि सबैभन्दा जोखिम क्षेत्रको रुपमा पहिचान गरी गस्ती अभियान बढाईएको खतिवडाले जानकारी दिए । २०६० सालबाट पटक-पटक दोहरिएको आगलागीका घटनाबाट अहिले सम्म यो क्षेत्र मात्र जोगिएको छ । अधिकतर घर काठले बनेका र झुुरुप्प बस्ती भएकोले आगलागिका लागि यो क्षेत्र सबैभन्दा जोखिममा गनिन्छ ।

यसबाहेक साँघुरो बस्तीभित्र दमकल छिराउन जिमी पोखरी क्षेत्रका स्थानीय आफैंले आफ्नो घरको बार्दली काटेर सहयोग समेत गरेका छन् । पहिले एउटा दमकलसमेत नभएको यहाँ अघिल्लो बर्षको आगलागीपछि नगरपालिकाले दमकल खरिद गरेको छ ।

आगलागी पिडितले सहयोग पाएनन्

तोक्मेडाँडाका आगलागी पिडीतले एक वर्षसम्म राहतका नाममा आश्वासनबाहेक केही पाउन सकेका छैनन् । २०७१ साल, चैत ९ गते राति एक होटलबाट सुरु भएको आगोले यस क्षेत्रका ४४ घर नष्ट भएका थिए । आगलागीबाट ५५ करोडभन्दा बढीको क्षति भएको थियो भने १ सय २२ परिवार विस्थापित भएका छन् ।

Taplejung-aaglagi
तोक्मेडाँडामा १ बर्षअघि भएको आगलागीको दृश्य

सरकारसमक्ष स्थायी पुनर्वास, निव्र्याजी ऋण लगायत माग राखेको भए पनि अहिलेसम्म पुरा नभएको पिडित मुक्ति पौडेलले बताए । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम लगायतबाट आगलागी पिडितले मिठा आश्वासन पाएका थिए । गौतमले विनाधितो ऋणको व्यवस्था गरीदिने तथा बैकहरुले पनि सहुलियत ऋण दिने भने पनि हालसम्म केही भएको छैन ।

आगलागी पीडित परिवारको पहिलो माग तोक्मे क्षेत्र हुदै बीच बजारबाट निस्कने मार्गको बिकल्प बजार बाहिरबाट खोजिनुपर्ने रहेको छ । गत असोज ३ गते तत्कालिन सरकारले फुङलिङ बजार बाहिरबाट मेची राजमार्गको बिकल्प खोज्न सकिने आधारको निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

२०६९ सालको जेठ दोस्रो साता भएको मन्त्रीस्तरीय निर्णयले मेची राजमार्ग अन्तरगत झापाको केचनादेखि ईलाम-पाँचथर-ताप्लेजुुङ हुदै उत्तरको सिमावर्ती क्षेत्र घाङगि्रला सम्मको भागमा राजमार्गको क्षेत्राधिकार ३० मिटर कायम गरिएको थियो । सरकारको सो निर्णय अनुसार मेची राजमार्गको क्षेत्र तोक्मेबाट शान्तिटोल, पराजुली चौक, बुद्धचौक हुँदै सेती चौताराबाट उकालो लाग्छ ।

ताप्लेजुुङ नगरपालिकाले हाल आगलागीग्रस्त क्षेत्रमा बनेका घर/टहरा मापदण्ड बिपरित रहेकोले स्वीकृति दिन अझै मानेको छैन । राजमार्ग घुमाइएको विषयमा माथिल्लो निकायबाट जानकारी नआएकाले घर-टहरा स्विकृत गर्न नमिल्ने नगरपालिकाको भनाई छ । भखरै नियुक्त भई आएका ताप्लेजुुङ नगरपालिकाका कार्यकारी अधिकृत डिल्लिरमण पौडेल भने आफुले यस विषयमा अध्ययन गरीरहेको बताउछन् ।

Taplejungसरकारले मेची राजमार्गको बिकल्प दिने निर्णय गरेपछि स्थायी पुनर्वासका लागि घर/टहरा निर्माण गरेका पीडित परिवारले सरकारी निर्णय कार्यान्वयनमा देखिएको उल्झनले समस्यामा परेको बताएका छन् ।

‘यसको कार्यान्वयन हुने हो भने हाम्रो सबैभन्दा ठूलो माग पूरा हुुने थियो,’ एक पिडितले भने । यसअघि बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट घोषणा भएका सहुलियतपुर्ण ऋणको कार्यान्वयनका लागि पनि पीडितहरुले सरकारको ध्यानाकृष्ट गराएका छन् । उनीहरुले पुनः व्यवसाय सञ्चालनका लागि समेत सरकारले गर्ने सहयोगको खाका प्रस्तुुत गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment