- फाइल तस्वीर
१७ चैत, चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दुई वर्षभित्र चाहिए जति बिजुली प्रयोग गर्न पाउने दाबी गरेका छन् । उनले अबको एक वर्षभित्र लोडसेडिङ अन्त्य हुने दाबीसमेत गरे ।
‘एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छभन्दा हाँसिमजाक गर्छन्,’ चितवनको रत्ननगरमा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्ष भित्र चाहिएजति बिजुली पाइन्छ ।’
पूर्व-पश्चिम राजमार्ग ६ लेन
संविधान जारी भइसकेकाले अब विकास निर्माणमा सरकार लाग्ने उनले बताए । आफूले गरेको भारत भ्रमणबाट दुई देशबीचको असमझदारी हटेको र चीन भ्रमणबाट सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।
प्रधानमन्त्री ओलीले पूर्व-पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, दुई वर्षभित्र केरुङबाट काठमाडौं जोड्ने दुई लेनको सडक बनाइसक्ने र देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने दाबीसमेत गरे ।
प्रधानमन्त्री ओलीले बुधबारै नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा रजत वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पपछिको पुनर्निर्माणमा प्रभावकारी काम गर्न निर्देशन दिए । जनताको हर समस्याप्रति सरकार जानकार रहेको भन्दै आन्दोलनको औचित्य अब नभएको उनले बताए ।
भूकम्प र नाकाबन्दीका कारण निर्माण व्यवसायीहरुलाई पनि मर्का परेकोबारे सरकार जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले निर्माण आयोजनाको अबधि एक वर्ष थपिने बताए ।
गत वैशाख १२ को भूकम्पबाट परेको असर, नाकाबन्दीले पारेको प्रभाव तथा पुनर्निर्माण कार्यमा निर्माण व्यवसायीको भूमिकाका विषयमा साधारणसभा केन्द्रित हुने निर्माण व्यवसायी संघ चितवनका द्वितीय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए ।

प्रतिक्रिया 4