Comments Add Comment

सौर्य सडकबत्तीः पूर्णिमामा जूनको भर, औंसीमा भगवानको भर !

आधा बल्दैनन्, बलेका पनि ६ घण्टा टिक्दैनन्

solar-sadak-batti-light-ban८ वैशाख । काठमाडौंका सडकमा ठडिएका सौर्य सडकबत्तीका सेता पोलले दिउँसो शहरको शोभा चम्काउँछ । खासमा अन्धकारमा उज्यालो दिन जोडिएका ती बत्ती रातको समयमा भने काम लाग्दैनन् ।

डेढ वर्ष अघि जोडिएका आधाजसो सौर्य सडकबत्तीहरु बल्दै बल्दैनन् । साँझपख ‘मधुरो’ बल्ने अधिकांश बत्तीहरु रातको १२ बजेसम्म पनि टिक्दैनन् । सडकबत्ती जोडिएका सडक क्षेत्र मध्यरात नहुँदै चकमन्न भइसक्छन् । यसैकारण पूणिर्मामा जूनको भर, औंसीमा उन (भगवान) को भरको अवस्था बनेको सर्वसाधाराण र यात्रुहरु बताउँछन्  ।

मर्मतमा बेवास्ता
९ करोड रुपैयाँ खर्चिएर जडान भएका बत्तीले काम गर्नै छाडे पनि मर्मतका लागि कुनै निकायले चासो दिएका छैनन् ।

१८औं सार्क शिखर सम्मेलनका समयमा काठमाडौंका मुख्य सडकमा जडान गरिएका सौर्यबत्ती तत्काल मर्मतका लागि जिम्मेवार निकायहरुले कुनै योजना बनाएका छैनन् ।

माइती घरदेखि थापाथली हुँदै त्रिपुरेश्वर र सुन्धारा, रत्नपार्क, घन्टाघर, भृकुटीमण्डप सडकखण्ड हुँदै भऽकालीसम्म यस्तै अवस्था छ । त्यसैगरी सिंहदरबार हुँदै माइतीघर मण्डला सडकखण्डम्म रहेका अधिकांश सडकवत्ती अहिले ३ घण्टासम्म पनि टिक्दैनन् ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीनकुने खण्ड र तीनकुनेदेखि एयरपोर्ट हुँदै गौशाला खण्डमा जोडिएको बत्तिको हविगत पनि उस्तै छ ।

नेपाल विद्युत प्राधिकरणले आफुले जोडेका बत्ती मर्मत गर्न चासो दिएको छैन । यसको अपनत्व लिएको काठमाडौं महानगरपालिका अर्को आर्थिक वर्षमा मर्मत गर्ने भनेर बसेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशकुमार काफ्ले दुई महिना अघिमात्रै सोलार प्यानलहरु सफा गरिएको दावी गर्छन् । प्राधिकरणलाई राति चाँडै बत्ति निभ्ने कुरा जानकारीमा नआएको उनले बताए ।

‘सोलार बत्ती सफाइ पनि महंगो छ । हामीसँग बकेट क्रेनसहितको उपकरण पनि नभएकाले समस्या भएको छ’ उनले भने-‘नबल्ने बत्तीको मर्मतको गर्ने योजना छ । तर, समस्याहरु पनि छन् ।’
solar-sadak-batti-light--2
त्यसो त केशरमहलदेखि पानीपोखरी हुँदै शीतलनिवास र शीतलनिवासदेखि महाराजगञ्ज, पुरानो बसपार्क आसपासका क्षेत्र, न्युरोडदेखि हनुमानढोका, धरहरा आसपासका क्षेत्रमा सडक खण्डमा महानगरपालिकाले जोडेका सौर्यबत्ती पनि तत्काल मर्मत हुने छैनन् ।

अब बत्ती जोडिएका यी सडकमा यात्रुले एकवर्ष भन्दा बढी अध्यारो भोग्नुपर्ने भएको छ ।

अर्को वर्षमात्रै मर्मत
महानगरपालिकाले यो वर्ष सडकबत्ती जडान गर्न कुनै कार्यक्रम तयार गरेको छैन । अर्को आर्थिक वर्षका लागि सौर्य सडकबत्ती मर्मत गर्न बजेट विनियोजन गरेको भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए ।

उनले सौर्य पातमा धूलो जमेकाले बत्ती नबलेको दाबी गरे । धूलो  हटाउनासाथ सबै बत्ती राम्रोसँग बल्ने उनको भनाइ छ ।

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले ९ करोड रुपैयाँभन्दा धेरै खर्च गरेर मुख्य सडकमा सौर्यबत्तीका ब्याट्री र एलइडी गुणस्तरहीन भएका कारण बल्न छाडेको उपभोक्ताहरुको तर्क छ ।

जडानपछि सडकबत्तीहरु एकपटक पनि मर्मत भएका छैनन् भने सौर्यपातालाई सरसफाइ पनि गरिएको छैन ।

एउटै बनाउन ८ हजारसम्म लाग्ने

महानगरपालिकाले एउटा सौर्य सडकबत्तीको मर्मतका लागि वर्षमा ५ देखि ८ हजार रुपैयाँ लाग्ने जनाएको छ ।

भौतिक निर्माण प्रमुख रेग्मीकाअनुसार सौर्यपताको सफाइ र बत्तीको मर्मतमा अर्को आर्थिक वर्षदेखि महानगरपालिकाले काम थाल्नेछ ।

मर्मत कसले गर्ने भन्नेमा प्राधिकरण र महानगर स्पष्ट हुन नसक्दा करोडौँ रुपैयाँ खर्च गरेर जडान गरिएको सौर्यबत्ती डेढ वर्षमै बल्न छाडेको छ ।

प्राधिकरणले जडान गरेको सडकबत्ती महानगरपालिकालाई हस्तान्तरण पनि गरेको छैन । त्यसैकारण महानगरपालिकाका अधिकारीहरु जसले जडान गरेको हो, उसैले मर्मत गर्नुपर्ने बताउँछन् ।

प्राधिकरणका कार्यकारी प्रमुख काफ्लेले चाँडै सबै सडकबत्ती महानगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।

यो पनि पढ्नुस्

७१० किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने घोषणा

देशभरिका नगरपालिकाले मागे ४३ हजार सौर्य सडकबत्ती

काठमाडौंमा थप ८ सय सौर्य सडकबत्ती जडान हुने

काठमाडौंको १२० किलोमिटर सडकमा सोलार बत्ती जडान गर्न प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment