Comments Add Comment

वैद्यको प्रस्तावपछि एकताको सन्देश दिने तयारी रोकियो

baidhya and badal

१० वैशाख, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले योजनावद्ध रुपमा ‘प्रचण्ड माओवादीसँग पार्टी एकताबारे संस्थागत ढंगले नै पहल गरौं’ भनेपछि महासचिव रामबहादुर थापा ‘बादल’ रोकिएका छन् ।

बादल बहुमतले निर्णय गरेर भएपनि आज वैशाख १० गते लेनिन दिवसको अवसर पारेर प्रचण्डसँग पार्टी एकताबारे सन्देश दिने तयारीमा थिए । यसका लागि उनले वार्ता टोली बनाउनेसहितका तीन विकल्प अघि सारेका थिए ।

तर, अन्तिम समयमा आएर वैद्यले एकाएक पार्टी एकताबारे संस्थागत रुपमा नै वार्ता गरौं भनेर बादलसँग समय मागे । जसले १० गते एकताको सन्देश दिने प्रचण्ड र बादलको तयारी असफल भएको छ ।

एमाओवादी उच्च स्रोतका अनुसार वैद्यले तत्काल पार्टी एकता हुँदैन भनेर सन्देश दिइसकेका छन् । तर, बादललाई रोक्न मात्र समय लिएका हुन् । स्रोतले भन्छ, ‘वैद्यले एकता हुँदैन भनिसक्नु भएको छ । तर, अहिले वार्ता गरौं भनेपछि बादल कमरेडलाई निर्णय गर्न गाह्रो परेको छ ।’

केन्द्रीय समिति बैठक एक महिनालाई स्थगित भएको छ । तर, अहिले बस्ने टुंगो छैन । पार्टी एकताबारे छलफल गर्न बोलाइएको बैठकमा वैद्य एकता नगर्ने कित्तामा उभिए । बादल बहुमतका आधारमा एकतामा जाने देखेपछि वैद्यले संस्थागत वार्ता गरौं भन्ने कार्ड फालेका हुन् ।

एकता पक्षधरका नेताहरु अहिले नै वैद्यको प्रस्तावलाई षड्यन्त्रको रुपमा बुझ्न नहुने तर्क गर्छन् ।

एक नेताले भने, संस्थागत ढंगले नै वार्ता गरौं भनेपछि जिम्मेवारीपूर्वक पहल गर्न तयार भएका हौं । अहिले नै षड्यन्त्रका रुपमा नबुझौं ।’

बादल समूह तत्काल वार्ता गरेर मे १ सम्ममा निर्णयमा पुग्न चाहन्छ । तर, यो सम्भावना कम देखिन्छ । किनकी मे एक आउन अब एक साता मात्र छ ।

निर्णय लिन बादललाई समस्या

वैद्यले एकताका लागि भन्दा पनि आफूलाई रोक्न चाहेको भन्ने बादलले पनि बुझेका छन् । तर, कुनै निर्णय लिन सकिरहेका छैनन् ।

अध्यक्षले संस्थागत रुपमा नै वार्ता गरौं भनेकाले के गर्ने भन्ने उनी अन्योलमा छन् । उनी अहिले पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

बादलसामू आफैंले बैठक बोलाउने विकल्प छ । तर, एक महिना पनि कुर्न नसकेको भन्ने आरोप लाग्ने भएकाले उनले यो कदम पनि चाल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment