Comments Add Comment

मरेपछि मलाई जलाए पनि हुन्छ, अस्पतालमा बुझाए पनि हुन्छ

विस्मृतिले गर्दा मेरो लेखन कमजोर हुँदैछ

Modnath

सक्रिय राजनीतिबाट विश्राम लिएपछि थानकोटमा रहेको आफ्नो निवासमा लेखपढ गरेर दिन बिताइरहेका छन् मोदनाथ पौडेल (प्रश्रित) । अन्तर्वार्ताका लागि घरमा पुग्दा उनी आफैं ढोका खोल्न आए ।

हाल ७४ वर्षको उमेरमा हिँडिरहेका प्रश्रित झट्ट हेर्दा ६० आसपासका देखिन्छन् । उनको ज्यान हृष्टपुष्ट छ । अनुहारमा चाउरीका धर्साहरु टर्च बालेर खोज्नुपर्छ । यद्यपि पछिल्लो समय उनको मानसिक तीक्ष्णता भने सिथिल हुँदै गइरहेको छ । आफूलाई ३-४ वर्षयता विस्मृतिले छोप्न थालेको प्रश्रितले बताए ।

प्रस्तुत छ, पूर्वएमाले नेता तथा प्रगतिशील साहित्यकार प्रश्रितसँग उनको निजी जीवनका विविध आयामहरुबारे अनलाइनखबरकर्मी चिरञ्जीवी पौडेलले गरेको कुराकानीः

तपाईंको घरको नाम ‘गौथलीको गुँड’ भन्ने सुनेको थिएँ । यहाँ त जानकी सदन लेखेको रहेछ नि ?

मैले काठमाडौंमा पहिलोचोटि बनाएको घरको नाम थियो गौथलीको गुँड । यो मेरो तेस्रो घर हो ।

मान्छेलाई जीवनभरिमा एउटा घर बनाउन मुस्किल पर्छ, तपाईंले तेस्रो बनाइसक्नुभो ?

घर मेरो पनि एउटै हो । पुरानो बेचेर नयाँ किनेको ।

पहिलोपटक मन्त्री हुनासाथ घर बनाउनुभएको हो क्यारे । राम्रै कमाइ हुँदोरहेछ कि कसो ?

सुरुको घर बनाउँदा म मन्त्री भइसकेको थिइनँ । ०४६ सालको जनआन्दोलन सफल भएर प्रजातन्त्र आएपछि मैले स्वयम्भुमा स-सानो घर बनाएको थिएँ । समकालीन कम्युनिस्ट नेताहरुमध्ये काठमाडौंमा घर बनाउने म दोस्रो हुँ । मभन्दा अघि प्रदीप नेपालले मात्रै बनाउनुभएको थियो ।

प्रजातन्त्र आउनासाथ कसरी घर ठड्याउन सफल हुनुभयो त ?

प्रजातन्त्र आएपछि म स्वयम्भूमा एउटा साथीको घरमा बस्न थालेको थिएँ । उसको घरको आँगनमा चारआना घडेरी थियो । यो घडेरी बेच्न पाए हुन्थ्यो भनिरहन्थ्यो । मैले एक दिन सोधेँ, ‘कतिमा दिने त ?’ उसले लाख रुपैयाँ आना भन्यो । मैले किन्ने निर्णय गरेँ ।

मसँग पहिलेदेखि आफ्नो किताब बिक्रीबाट जम्मा भएको अलिकति पैसा थियो । त्यसबाट उसको आधा मूल्य तत्काल चुक्ता गरेँ र बाँकी किताब बेच्दै बिस्तारै तिरेँ ।

घर बनाउने क्रममा बुढा-बुढी आफैं मजदुर भएर खट्यौं । डण्डी काट्नेदेखि बालुवा बोक्ने, ईट्टा ओसार्ने सबै काम गर्‍यौं । दुईजना मात्रै मिस्त्री लगाएर साना-साना कोठा भएको तीन तल्ले घर बनायौं ।

तर, पछि त्यहाँ बाटोको समस्या भयो । सात फिटको बाटो दिन्छु भनेको साथीले तीन फिट मात्रै दियो । मोटरसाइकल पनि नछिर्ने भयो । फेरि सामुन्नेमा ढ्याप्पै हुने गरी दुई आना जग्गामा अर्को घर ठडियो । हाम्रो घरको ढोकामात्रै देखिने भयो । त्यसैले त्यो घरलाई गौंथलीको गुँड नामाकरण गरेको थिएँ । यसैलाई लिएर खगेन्द्र संग्रौलाहरुले मसला बनाए ।

मेरो घरको चर्चा बढ्दै गयो । हुँदा-हुँदा अख्तियारसम्म मविरुद्ध उजुरी पुगेको थाहा पाएँ । त्यसपछि एक दिन आफैं अख्तियार गएँ । मैले यो-यो स्रोतबाट यसरी घर बनाएको हो भनेर तत्कालीन अख्तियार प्रमुखलाई बुझाएँ । उहाँले धन्यवाद दिएर बिदा गर्नुभयो ।

त्यसपछि ०५२ सालमा म मन्त्री भएँ । नौ महिना मन्त्री क्वाटरमा बसियो । सरकार ढलेपछि मैले आफ्नो किताब बिक्रीको क्रमलाई तीव्रता दिएँ । त्यसबाट केही पैसा संकलन भयो । अनि, गौंथलीको गुँडलाई १२ कि १३ लाखमा बेचिदिएँ । त्यो सबै पैसाले स्वयम्भुमा सशस्त्रको ब्यारेक नजिकै घडेरी किनेँ साढे दुई लाखका दरले । त्यहाँ घर बनाउँदाखेरिको छुट्टै कथा छ ।

त्यो पनि सुनाइदिनुस न ?

घडेरी त किनियो, तर घर बनाउन एक पैसा थिएन । त्यसपछि धेरै सोचेर मैले एउटा जुक्ति लगाएँ । मैले चिनेका जानेका साथीभाइ, आफन्त, व्यवसायीहरु गरेर करिब सवा सय जनाको सुची बनाएँ । अनि सबैलाई सम्वोधन गरेर एउटा चिठी लेखेँ । चिठीमा लेखेँ ‘मलाई तिमीले घर बनाउनका निम्ति पाँच वर्षभित्रमा फिर्ता गर्ने गरी घटीमा एक हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म निर्ब्याजी रकम सापटी दिनुपर्‍यो । कसैको पैसा खाएर भागिन्न ।’

मेरो यो आइडिया सफल भयो । धेरैथोरै सबैले सहयोग गर्नुभयो । बसन्त चौधरीले ७० हजार, विनोद चौधरीले ५ हजार, माधव नेपालले १० हजार, प्रदीप ज्ञवालीले ५ हजार यस्तै-यस्तै गरी जम्माजम्मी साढे १५ लाख रुपैयाँ उठ्यो । मलाई सापटी दिनेहरुको सुची अहिले पनि सुरक्षित राखेको छु ।

Modnath 4

त्यो घर फेरि किन बेच्नुभयो र यति टाढा आउनुभो ?

सशस्त्रको ब्यारेक नजिकै थियो घर । माओवादी जनयुद्धमा सशस्त्रको ब्यारेकमा आक्रमण हुने खतरा थियो । उनीहरुले डाँडाबाट सशस्त्रलाई ताकेर बम हाने भने हाम्रो घर पनि ढुटो हुन्थ्यो । त्यसमाथि पूर्वमन्त्रीको घर भनेपछि मेरो घरलाई पनि निशाना बनाउन सक्थे ।  त्यसैले बेच्नुको विकल्प रहेन ।

त्यो घर ६५ लाखमा बिक्री गरेँ । पहिलेको उठाएको सापटी रकममा तिर्न बाँकी ८-१० लाख तिरेँं । २० हजार चाहिँ मान्छे नभेटेर अझै तिर्न सकेको छैन ।

त्यो घर बेचेपछि अलि सस्तो घर खोज्न थाल्यौं । खोज्दै जाँदा यहाँ आइपुगियो । सात आना जग्गामा बनेको एक तल्लाको घर थियो । घरधनी ड्राइभर रहेछन् । उनलाई ऋण लागेर बेच्न खोजेका रहेछन् । कतिमा दिने भनेको १३ लाख भने । सस्तो लाग्यो र किनेँ । त्यतिबेला आँगन थिएन । यो आँगन भएको घडेरी उनकै भाइको रहेछ । भाइसँग कुरा गरेँ । उनले भने, ‘म तपाईंकै किताब पढेर कम्युनिस्ट भएको हुँ, जीवनमा जग्गाको कारोवार गरेर धेरै पैसा कमाएँ । यो आँगन तपाईंलाई फूलबारीको रुपमा मेरो उपहार भो ।’ यसरी आँगन सित्तैमा आयो ।

पहिलेको घर बेचेको पैसा अझै बाँकी थियो । त्यसले यो घरपछाडि १० आना जग्गा थपेँ, सवा लाख रुपैयाँको दरले । त्यसपछि फेरि मैले केही पुरस्कारहरु पाएँ । पुरस्कारबाट आएको रकम र अलिअलि सरसापट गरेर घरको तल्ला थप्यौं । अहिले तल्लो फ्ल्याट भाडामा दिएको छु । माथि हामी बुढाबुढी बस्छौं ।

नेपालमा जति कम्युनिस्टहरु छन्, तीमध्ये आधा तपाईंकै किताब पढेर भएका हुन् भनिन्छ । किताब बेचेर कति पैसा कमाउनुभयो ?

आधा त होइन, २५ प्रतिशत कम्युनिस्ट मेरो किताब पढेर भएका हुन् भन्ने दाबी गर्न सक्छु । तपाईंको किताब पढेर कम्युनिस्ट भएँ भन्नेहरु कति हुन्छन् कति । किताबबाट ठ्याक्कै यति कमाएँ भनेर भन्न सक्दिनँ । तर, मेरा किताबहरु खुबै बिकेका छन् । १०-१२ वटा किताबहरु ८-९ संस्करणसम्म छापिएका छन् । पञ्चायतकालमा त मेरा किताब हटकेक नै थिए । प्रजातन्त्र आएपछि पनि बिक्ने क्रम रोकिएन ।

जहाँसुकै आमसभा हुँदा पनि म बोराका बोरा किताब पठाउँथे । ठाउँको ठाउँ बिक्थे । एउटा आमसभामा १०-१२ हजार मेरो हात पथ्र्यो । माओवादीको जनयुद्धमा पनि मेरा किताबहरु पाठ्यसामग्रीको रुपमा प्रयोग हुने गरेको पछि नेताहरुले सुनाउनुहुन्थ्यो । वास्तवमा साहित्यको आम्दानीले मेरो जीवनयापनमा धेरै भरथेग भएको छ ।

लेखनमा सक्रिय हुन भनेर राजनीतिबाट चाँडै अवकास लिनुभयो, योबीचमा के-के लेख्नुभयो त ?

मैले दुई कारणले राजनीतिबाट विश्राम लिएको हुँ । एउटा कारण उमेर हो । एमालेमा ६५ वर्ष पुगेपछि नेताहरुले अवकास लिनुपर्छ भनेर मैले नै प्रस्ताव गरेको थिएँ । यसको प्रयोग आफैंबाट गरेँ । तर, दुखको कुरा अरुले यसको अनुशरण गरेनन् ।

दोस्रो र मुख्य कारणचाहिँ आफूलाई लेखनमा केन्दि्रत बनाउनलाई नै हो । पार्टी छाडेपछि केही समय निकै लेखेँ पनि । यो बीचमा पाँच-सात सय लेख अखबारहरुमा आए होला । तर, अहिले लेख्ने क्रम घट्दै गएको छ । पहिलेजस्तो लेख्ने क्षमता छैन र जाँगर पनि । केही उपन्यासहरु छन् सिध्याउनुपर्ने । केही फुटकर साहित्य पनि छन् । त्यसैमा काम गर्दैछु ।

Modnath 6
यति लामो राजनीतिक जीवनमा कहिल्यै पार्टीको प्रमुख पदमा पुग्नुभएन । नचाहनुभएको हो कि नसक्नुभएको ?

नचाहेको नै हो । राजनीतिकर्मीका रुपमा बढी परिचित भए पनि मैले आफ्नो मूल क्षेत्र साहित्यलाई नै मान्दै आएँ । पार्टीमा प्रमुख पद लिएको भए मेरो कलम डुब्थ्यो । साहित्य सिर्जना अवरुद्ध हुन्थ्यो । त्यही भएर अध्यक्ष, महासचिवमा दावी नै गरिनँ ।

एकपटक मन्त्री बन्नुभयो, त्यसको अनुभव कस्तो रह्यो ?

मन्त्री बन्नुलाई नै ठूलो रुपमा लिएको थिइँन । हामीले थुप्रै काम सुरु गरेका थियौं तर, सरकार नौ महिनामै ढलिहाल्यो । त्यतिबेला मैले सम्हालेको एउटा मन्त्रालय अहिले फुटाएर ६ वटा भइसकेका छन् ।

धर्मलाई अफिम भन्छन् कम्युनिस्टहरु । तर, तपार्इंले त शिक्षा मन्त्री भएका बेलामा आफैं सहभागी भएर चरुहोम गराउनुभयो नि ?

म शिक्षामन्त्री हुँदा मुम्बईमा लगेर बेचिएका दिदीबहिनीहरुलाई कुनै संस्थाले उद्दार गरेर ल्याएछ । सायद २०-२२ जना थिए । उनीहरुमाथि ‘दाग’ लागेकाले परिवार र समाजको डरले आफ्नो घर जान सकेनन् । त्यसपछि उक्त संस्थाले उनीहरुलाई कार्यकर्ता बनाएर सतरुद्री गर्ने अनि सतरुद्री गरेको पानीले नुहाइदिएर चोख्याउने कार्यक्रम बनाएछ । त्यसमा मलाई अतिथि हुन आमन्त्रण गरियो । राम्रो सोचका साथ गरिएको कार्यक्रम भएकाले भाग लिएँ ।

तपाईंले त्यहाँ के-के गर्नुभयो ?

म कर्मकाण्ड जानेको मान्छे । पहिले-पहिले सप्ताह पनि भन्ने गर्थेँ । तीन ठाउँमा भागवत, दुई ठाउँमा देवी भागवत र एक ठाउँमा रामायण भनेको छु । म पहेँला वस्त्र लगाएर प्रमुख अतिथिको आसनमा बसेँ । वेदका मन्त्र पढेर स्वाहा स्वाहा गरेँ । त्यसबाट चरु होमबाट निस्केको तरखु लगाएर उहाँहरुलाई भने, ‘तिमीहरु आजबाट पवित्र भयौ, बेश्यालयमा लागेको पाप पखालियो ।’ बडा राम्रो कार्यक्रम भयो ।
 
तर, तपाईं यस्ता कुरामा विश्वास गर्नुहुन्थ्यो र ?

मैले विश्वास गरेको होइन । ती बेचिएका चेलिबेटीहरुको मनोबल बढाउनका लागि यति गरिदिएको हो । कुनै धार्मिक विधि गर्दा ती चेलीबेटीले आफूलाई शुद्ध ठान्छन् र परिवार तथा समाजको नजरमा पनि चोखो हुन्छन् भने त्यसलाई किन साथ नदिने ? आखिर उनीहरु रहरले बम्बईको बेश्यालयमा पुगेका थिएनन् । दलालहरुले गरेको गल्तीको सजायँ उनीहरुले किन भोग्ने ? त्यसैले यो अनुष्ठान केवल उनीहरुको हीनतावोध हटाउनका लागि गरिएको थियो । तर, फेरि पनि खगेन्द्र संग्रौलाहरुले यसलाई मसला बनाए ।
 
त्यसोभए धर्म-संस्कृतिप्रति तपाईंको दृष्टिकोण के हो त ?

संस्कृति त म पनि मान्छु । जहाँसम्म धर्मको कुरा छ, मेरो परिभाषामा धर्म भनेको कर्तव्य हो । जस्तै आगोको धर्म तातो हुनु हो । पानीको धर्म तल बग्नु हो । हावाको धर्म तेर्सो बहनु हो । तपाईं यहाँसम्म आउनुभो, तपाईंलाई अन्तरवार्ता दिनु मेरो धर्म हो ।

म परलोकमा विश्वास गर्दिँन । यो भौतिक संसारबाहेक अर्को कुनै संसार छ भन्ने लाग्दैन । मरिसकेपछि स्वर्ग वा नर्क गइन्छ भन्ने मान्यता राख्दिनँ ।

आफ्ना पितामाताको देहावसानपछि हिन्दू विधिअनुसार दाहसंस्कार र १३ दिने कर्म त गर्नुभयो होला ?

गरेँ । त्यतिबेला म सानै थिएँ ।

वार्षिक श्राद्ध गर्ने गर्नुभएको छ कि छैन ?

विधिपूर्वक श्राद्ध गर्दिँन । तर, आफ्ना पूर्वजको तिथिमा आफ्नै हिसाबले उहाँहरुलाई स्मरण गर्छु । उहाँहरुको तस्वीर टेबलमा राख्छु । खिर र फलफूल अर्पण गर्छु । उहाँहरु फलानो हो, उहाँहरुको योगदान यस्तो थियो भनेर चर्चा गर्छु । नातेदारहरुलाई बोलाएर खुवाइपियाइ गर्छौं । भाञ्जाभाञ्जीलाई टीका लगाइदिन्छु । मैले ३० वर्षदेखि श्राद्धलाई यस्तो रुपमा परिमार्जन गरेको हुँ ।

Modnath 5
आफ्नो देहान्तपछि सन्तानले कस्तो क्रियाकर्म गरुन् भन्ने चाहनुहुन्छ ?

मलाई जलाउने भए पनि जलाउन् । अस्पतालमा बुझाउने भए पनि बुझाइदिउन् । आफ्ना इष्टमित्र बोलाएर भात खुवाउन् । यति गरे पुग्छ ।
मान्छेको मृत्यूपछि आत्मा कहाँ जान्छ होला ? के शरीरसँगै आत्मा पनि मर्छ ?

आत्मा भनेको त के हो र ? तपाईंले एउटा बिउ रोप्नुहुन्छ । त्यसको निश्चित आयु हुन्छ । त्यो आयु सकिएपछि सकियो । बाबुको शुक्रकीट आमाको डिम्बमा गएर जोडिएर हामी जन्मियौं । हामीले यही प्रक्रियाबाट सन्तान जन्माउँछौं । हामी मरेपछि आत्मा भन्ने चिज त्यहीँ समाप्त हुन्छ । शरीरसँगै सबैथोक सकिन्छ । नाम र काम मात्रै बाँकी रहन्छ । हामीबाट जन्मेको सन्तानमा हाम्रो संस्कार र स्वभाव वितरण हुन्छ । अरु केही रहन्न ।

भगवानको विषयमा चर्चा गरिएका धार्मिक शास्त्रहरु कसरी जन्मे होलान् ? के सबै काल्पनिक हुन् ?

मान्छे तर्कशील हुन्छ । समाजमा मान्छेलाई मनोरञ्जन दिन र नैतिकता सम्झाउन सम्झाउन आवश्यक भयो । यसका लागि तर्क र कल्पनाशक्तिका आधारमा विभिन्न कथाहरु रचना गरिए । यसैबाट ग्रन्थ बने ।

तपाईं माछा-मासु खानुहुन्छ कि खानुहुन्न ?

पहिले खान्थेँ । अचेल खासै खाइन्न ।

के-केको मासु खानुभएको छ ?

चाख्नलाई जेको पनि चाखेको छु । एकचोटिलाई सुंगुरदेखि गाईको मासु पनि खाएको छु । प्रयोग गर्न केही पनि बाँकी राख्नुहुन्न भन्ने मान्यता छ मेरो ।

गाईको मासु कहाँ खानुभयो ?

भारतको मेघालय जाँदा खाएको हुँ । त्यहाँका नेपालीमा चल्दोरहेछ । मैले पनि चाखेँ । त्यसपछि कहिले पनि खाएको छैन ।

एमालेको नौ महिने सरकारमा मन्त्री हुँदा पद्मरत्न तुलाधरले गाईको मासु खान पाउनुपर्छ भन्नुहँुदा ठूलो काण्ड भएको थियो । यसमा तपाईंको मान्यता के छ ?

म गाईको मासु खान पाउनुपर्छ भनेर वकालत गर्दिँन । पहिलो कुरा, नेपालमा हामीले गाईलाई राष्ट्रिय जनावर घोषित गरेका छौं । दोस्रो कुरा, गाईसँग नेपालीहरुको धार्मिक आस्था जोडिएको छ । म भौतिकवादी हुँ भन्दैमा सबै जनता भौतिकवादी हुनुपर्छ भन्ने छैन । बहुसंख्यक जनताले विरोध गर्न सक्ने कुरालाई जबरजस्ती किन लाद्ने ? खानेले आखिर खाइरहेकै छन् ।

मदिरालाई चाहिँ कसरी लिनुहुन्छ ? तपाईं कत्तिको सेवन गर्नुहुन्छ ?

पहिले-पहिले गरिन्थ्यो । त्यस्तै खालका कार्यक्रमहरुमा जाँदा पिउन कर लाग्थ्यो । तर, अहिले पिउँदिन । मदिराले मान्छेलाई औसत चेतनाबाट पर धकेल्छ । तपाईंले रक्सी खानुभएको थियो भने मसित यति नरमसँग बोल्नुहुन्नथ्यो । मैले पनि तपाईंलाई जे पायो, त्यही भन्न सक्थेँ । चेतना सन्तुलित हुनुपर्छ र आफ्नो नियन्त्रणमा हुनुपर्छ । त्यसैले मदिरा सेवन राम्रो होइन ।
 
कम्युनिस्ट भएर पनि पूर्वराजाहरुप्रति तपाईंको आशक्ति देखिन्छ । यो विरोधाभास किन ?

म राजसंस्थाप्रति आशक्त होइन । इतिहासको कुनै समयमा राजसंस्थाको आवश्यकता थियो । पहिलो चरणमा राजतन्त्रले नै सबै समाजलाई बटुलेको हो । त्यतिबेलाको प्रगतिशील भूमिका हो यो । पछि सामन्तको रुप लिएर जनता लुट्न थालेपछि विश्वभर उनीलाई फाल्ने क्रम चल्यो ।

नेपालमा चाहिँ राजसंस्था हामीले मात्रै फालेको भन्न मिल्दैन । यसमा भारत र भारतीय नेताहरुको ठूलो हात छ । जबसम्म राजसंस्था थियो, त्यहाँ उनीहरुले आफ्नो कुरा हुवहु लागू गराउन सक्दैनथे । राजसंस्था फालेपछि दलहरुमार्फत आफूले जे चाह्यो, त्यही गराउन सकिन्छ भन्ने निस्कर्षका साथ उनीहरुले राजाविरुद्धको संघर्षमा साथ दिएका हुन् ।

विगतमा राजा महेन्द्रले पनि राजनीतिक दल र नेताहरुको भारतपरस्त चरित्र देखेपछि सत्ता हत्याए । उनले राष्ट्रवादको लहर ल्याए । नेपालमा पूर्वपश्चिम राजमार्ग बनाए । चीनसँग जोड्ने कोदारी राजमार्ग बनाए । चीनकै सहयोगका देशभर उद्योगधन्दा खोले । महेन्द्रले बनाइदिएका पूर्वाधारमै आज हामी बाँचिरहेका छौं । उनलाई निरंकुश भनेर आलोचना गरिरहँदा महेन्द्रका सकारात्मक पक्षहरुलाई हामीले बिर्सनुहुँदैन । त्यतिबेला नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउन जस्तो भूमिका आवश्यक थियो, महेन्द्रले त्यस्तै भूमिका निभाएका हुन् । त्यसैले म राजसंस्थाको विश्लेषण एकांकी रुपमा गर्न चाहन्न ।

तपाईंलाई स्त्रीप्रेमी चित्रण गर्ने खालका विभिन्न चुट्किलाहरु छन् बजारमा । के युवाअवस्थामा तपाईं स्त्रीहरुप्रति अति नै क्रेजी हुनुहुन्थ्यो ?

त्यो गलत हो । अलिकति प्रतिभाशाली मान्छेप्रति केटीहरु झुम्मिन्छन् । मेरो वरिपरि पनि झुम्मिए होलान् । तर, मैले कसैप्रति गलत नियत राखिनँ । म नारीवादी लेखक थिएँ । नारीलाई केन्द्रमा राखेर थुप्रै किताब लेखेको छु । यसको अर्थ नारीप्रति हुरुक्क हुन्थेँ भनेर बुझ्नु हुँदैन ।

उदाहरणका लागि, शान्ता मानवीको कथामा मैले नारी बन्धन र मुक्ति भन्ने किताब लेखेँ । उनी अहिले मन्त्री छिन् । बालविधवा हुन् । पढ्न पाइनन् । म त्यतिबेला भैरहवा कलेजमा पढाउथेँ । घरमा असाध्यै हेपिएको थाहा पाएर मैले उनलाई ‘भैरहवातिर आउ, पढाइदिन्छु’ भनेँ । उनी आइन् पनि । तर, जतिबेला उनी आइन्, म जेल परेको थिएँ । मलाई नभेटेपछि उनी दिल्ली गइछन्, फुपूलाई भेट्न । तर, उनकी फुपु केटी बेच्ने काम गर्दिरहिछन् । आफूलाई पनि बेच्ने षडयन्त्र गरेको थाहा पाएपछि शान्ता उनीबाट फुत्केर भागिछन् र दिल्लीकै एउटा कलेजमा पियन काम गर्न भएर थालिछन् ।

त्यहाँबाट मलाई एउटा चिठी लेखिन् । उनले लेखेकी थिइन्, ‘दाइले मलाई केटाकेटीदेखि नै पढ्नुपर्छ भन्नुहुन्थ्यो  । पढ्ने इच्छाले तपाईंलाई भेट्न आएँ । तर भेट्न सकिँन । अब मेरो जिन्दगी यत्तिकै सकिने भो । यतै मर्छु होला ।’ त्यो चिठीले मलाई निकै भावुक बनायो । त्यसपछि नै हो मैले नारी बन्धन र मुक्ति लेखेको  ।

जेलबाट निस्केपछि एउटा साथीलाई लिएर उनलाई खोज्न दिल्ली गएँ । खोजेर ल्याएँ पनि । त्यसपछि धेरैले मेरो र उनको सम्वन्धका विषयमा कुरा काट्न थाले । केही सम्वन्ध थिएन भने किन दिल्लीसम्म पुगेर खोजीखोजी ल्यायो त ? भन्नेखालका कुराहरु मैले पनि सुनेँ । मानिसहरु घटनामाथि प्रतिक्रिया जनाउँदा त्यसको पृष्ठभूमि हेर्दैनन् ।

अर्को कथा पनि छ । विदेशमा गएर एम्युज गरेर आएकी एउटी अतिशय सुन्दरी कन्याले मलाई भेटिन् । त्यतिबेला म बुटबलमा पढाउँथे । मेरा साहित्यहरु सबै पढेकी र मलाई राम्रोसँग बुझेकी कन्या रहिछन् । पहिलोभेटमै उनले एउटा किताब मलाई दिएर भूमिका लेखिदिन आग्रह गरिन् । मैले स्वीकारेँ ।

जब किताब पढ्न थालेँ, म अचम्भित भएँ । उनले मलाई नायक र आफूलाई नायिका बनाएर कथा बुनेकी रहिछन् । दुईजनाको लभ परेको, तानसेन घुम्न जाँदा लजमा बसेको, पछि बिहे भएका कुराहरु थिए । मेरो विषयमा पढेको र सुनेको भरमा यसरी कथा बनाएकी रहिछन् । यो किताब छापियो भने त म नराम्ररी फस्छु भन्ने लाग्यो । त्यसपछि मैले उनलाई एउटा पत्र लेखेर दिएँ । मैले लेखेँ, ‘हेर बहिनी, तिमीले मलाई साह्रै माया गर्दिरहिछौ । तर, म एक विवाहित व्यक्ति हुँ । मेरो एउटा अनुरोध छ, यो किताब प्रकाशित नगर । यसले हामी दुबैको बदनामी हुन्छ ।’ उनले मेरो अनुरोध स्वीकारेर किताब छापिनन् । तर, निकै रिसाइन् र मसँग बोल्नै छाडिन् ।

अहिले उनी काठमाडौंको एउटा कलेजमा पढाउँछिन् । कहिलेकाहीँ भेट हुन्छ । उनी अहिले भन्छिन्, ‘दाइ तपाईंले बेलैमा मलाई सचेत गराउनुभयो र एउटा दुर्घटना रोकियो ।’ यदि म उग्र स्त्रीप्रेमी नै थिएँ भने यति सुन्दरी र पढेलेखेकी कन्यालाई सजिलै हातबाट फुत्किन दिन्नथेँ होला नि ।

अहिले बजारमा आएको एउटा किताबमा पनि तपाईंलाई आरोपित गरिएको छ । त्यसको यथार्थ के हो ?

शारदा भुसालले लेखेको किताबको कुरा गर्नुभएको होला । बाहिर चर्चा सुनेपछि मैले पनि ल्याएर पढेँ । पढ्दाखेरि मलाई हाँसो उठ्यो । सत्यकथाका नाममा यस्ता उडन्ते कुराहरु पनि छापिँदा रहेछन् भनेर उदेक पनि लाग्यो ।

अलिकति विवेक भएको पाठकले सहजै ठहर्‍याउन सक्छ कि उनले लेखेका कुराहरु सबै काल्पनिक हुन् । त्यो किताब एउटा पागल प्रलाप मात्रै हो । त्यत्रो सामाजिक प्रतिष्ठा भएको र जहान-परिवार भएको व्यक्तिले कुनै अर्द्धपागल केटीलाई स्वास्नी बनाएर राख्न सक्छ ? तैपनि मानिसहरुलाई आशंका नहोस् भनेर मैले यसको खण्डनमा एउटा पुस्तिका नै निकाल्न लागेको छु ।

तपाईंसँग कस्तो सम्वन्ध हो त शारदा भुसालको ?

अर्घाखाँचीमा हाम्रो पार्टीका एक नेता हुनुहुन्छ गुणनीधि भुसाल । उहाँकी छोरी हुन् । छोरी सानैदेख आवारा भई भनेर गुणनीधि चिन्तित हुनुहुन्थ्यो । १०-१२ वर्षको उमेरदेखि नै छाडा भएर आफूखुशी रातदिन हिँड्ने, जोसित पनि सुत्ने गर्दिरहिछन् । गाउँमै बदनाम भइसकेकी थिइन् । त्यसमाथि आंशिक मानसिक रोगी पनि रहिछन् ।

२०४७ सालको वैशाख १ गते अर्घाखाँचीमा एमालेको सभा थियो । जिल्ला नेता भएकाले सभामा प्रमुख वक्ता भएर म गएँ । सभा सकेपछि गुणनीधिजीले छोरीको विषयमा सुनाउनुभो । छोरीलाई काठमाडौं लगेर उपचार गराइदिन उहाँले आग्रह गर्नुभयो । आफ्नी मानसिक रोगी छोरीलाई उपचार गराइदिन पार्टीका सहयोद्धाले गरेको आग्रह मैले टार्न सक्ने कुरा थिएन । त्यसमाथि म आफैं डाक्टर पनि भएकाले रोगीप्रति अतिरिक्त संवेदनशीलता हुने नै भयो ।

म र शान्ता मानवीले उनलाई काठमाडौं लिएर आयौं । मैले नै डाक्टरकहाँ पुर्‍याएर जचाएँ । तर, उपचार चल्दाचल्दै उनी भागेर हिँडिन् । हिँडेको हिँड्यै भइन् । अहिले आएर एउटा  छट्टु प्रकाशकले उनलाई हातमा लिएछ । रक्तकुण्ड लेखेर घर बनाएँ, यो किताबबाट गाडी किन्छु भन्दै हिँडेको छ रे । दुई पागलहरुको मिलिभगतमा सारा दुनियाँलाई पागल बनाउन खोजिएको छ ।

शारदासँग त्यसपछि तपाईंको कहिले भेट भयो ?

त्यसको २२ वर्षपछि ०६९ सालमा भेट भयो । मधेसमा एउटा संगठन बनाएकी रहिछन् । मलाई फोन गरेर भनिन्, ‘बुवा, शान्तिबाटिकामा भ्रष्टाचारको विरोधमा अनसन बस्दैछु, हजुर आएर अतिथिको रुपमा भाषण गरिदिनुपर्‍यो ।’ ठीकै छ भनेर म गएँ पनि । उनलाई भेटेर भनेँ, ‘यतिका वर्ष कहाँ हराएकी थियौ ? अब यसरी भागेर नहिँड ।’ उनले ‘हुन्छ बुवा’ भनिन् ।

Modnath 2

तैपनि, यो बुढेसकालमा यस्तो आक्षेप झेल्नुपर्दा परिवारमा भयानक तनाव भयो होला नि ?

विल्कुल भएन । त्यसमा सत्यताको केही अंश थियो भने तनाव हुन्थ्यो होला । तर केही बिराएको भए पो डराउनु । मेरी श्रीमती र मेरो परिवारले मलाई राम्ररी बुझेका छन् । म कस्तो चरित्रको व्यक्ति हुँ भन्ने दुनियाँलाई थाहा नै छ । किन तनाव लिने ? यो एउटा क्षणिक रमिता हो र मैले यहीरुपमा लिएको छु ।

किताब पढेपछि मैले गुणनीधिजीलाई फोन गरेँ । तपाईंकी छोरीले त यस्तो यस्तो लेखिछिन् भनेर सुनाएँ । उहाँले पनि सुन्नुभएको रहेछ । ‘के गर्नु, यस्तो गरिछे’ भनेर दुखमनाउ गर्नुभयो । उहाँको पनि छोरीसँग कुनै सम्पर्क रहेनछ ।

ख्यातिप्राप्त मान्छेसँग आफ्नो नाम जोडेर चर्चामा आउने प्रवृत्ति विश्वव्यापी नै छ । यो घटना पनि यस्तै प्रवृत्तिको एउटा रुप हो ।

पछिल्लो समय तपाईंका छोरा विजय पौडेल अख्तियारको अंकुशमा पर्नुभएको छ । यसमा चाहिँ कसले गडबडी गर्‍यो होला ?

विजय एमालेभित्रको होनहार अर्थशास्त्री हो । मार्क्सवादी अर्थशास्त्रको ज्ञाता हो । व्यवस्थापनमा पनि एकदमै कुशल छ । पार्टीले यसपालि उसलाई अर्थमन्त्री बनाउनुपर्ने थियो, तर गुटगत भावनाले विष्णु पौडेललाई बनाइयो । पार्टीभित्र उसको खुट्टा तान्न खोज्नेहरु थुप्रै छन् । मलाई लाग्छ, पार्टीकै कसैले ख्यास्स उजुरी गरिदिए होलान् ।

यो बुढेसकालमा पनि छोरा-बुहारी तपाईंहरुसँग नबसेर किन अलग्गै बस्नुभएको ?

पहिले सँगै बस्थ्यौं । तर, उनीहरुलाई साह्रै अपायक र टाढा भयो । छोराको बालकुमारी जानुपर्ने, बुहारीको नैकाप । आउजाउ गर्न हैरानी भएपछि एक वर्षअघिदेखि उनीहरु कलंकीमा फ्ल्याट लिएर बस्न थालेका छन् । पहिले भरतमोहनजी बस्नुभएको फ्ल्याट १४ हजारमा भाडामा लिएर बसिरहेका छन् । हामी बुढाबुढी यहाँ छौं । माथिल्लो फ्ल्याटमा हामी बस्छौं, तल्लो फ्ल्याट भाडामा दिएको छ । हामी दुबै लेखक हौं । एक्लो महसुस भएको छैन ।
 
अहिलेको दिनचर्या के छ तपाईंको ? दिन काट्न गाह्रो हुँदैन ?

सक्रिय राजनीति त्यागेपछि फुर्सदिलो नै छु । यो फुर्सदलाई साहित्यकर्ममै उपयोग गर्न चाहन्छु । तर ३-४ वर्षदेखि बिस्मृति बढ्न थाल्यो । तपाईंको नाम आज सुनेँ, भोलि सम्भिmन सक्दिनँ । घरका व्यक्तिहरुको बाहेक अरुको नाम बिर्सिदै गइरहेको छु । पार्टीका नेताहरुको नाम पनि सम्भिmन धेरै बेर लाग्छ ।

पहिलेजस्तो दन्दनाएर किताब लेख्न सक्दिनँ । लेख लेख्न थाल्यो, आधा लेखेपछि कुरा बांगोटिंगो हुन्छ । विस्मृति सुरु हुनुअघि २-३ दिनमा एउटा किताब लेखेर भ्याइदिन्थेँ । अहिले सक्दिँन । साथीहरुले भूमिका लेखिदिनुपर्‍यो भनेर किताब ल्याउँछन् । मैले आजसम्म ४ सयजति किताबको भूमिका लेखिसकेँ । पहिले एकैछिनमा लेखिदिन्थेँ । अचेल दुई पेज भुमिका लेख्न पनि चार दिन लाग्छ । किताब पढ्दै जान्छु, बिर्सिदै जान्छु ।

कुन टाइममा बढी बिर्सिनुहुन्छ ? कि एकनास हुन्छ ?

बिहान उठ्दा धेरै प|mेस हुन्छु । त्यतिबेला धेरै कुरा सम्भिmन पनि सक्छु । जब दिन ढल्दै जान्छ विस्मृतिले छोप्न थाल्छ । अहिले तपाईंसँग कुरा गर्दा विस्मृति सुरु भइसकेको छ । अब आज म कुनै सिर्जनात्मक काम गर्न सक्दिनँ ।

सायद आगामी दिनमा विस्मृति बढ्दै जानेछ । त्यसो भएर लेख्न चाहेका कुरा सक्दो चाँडो लेख्नुछ । तयार भएका चिजहरुलाई जतिसक्दो प्रकाशन गर्नुछ । त्यसैले भेटघाट र घुमफिर कम गर्छु ।

हेर्दा  निकै हट्टाकट्ट देखिनुहुन्छ, यो उमेरमा पनि अनुहारमा चाउरी छैन । के हो रहस्य ?

म नियमित योगासन र प्राणायाम गर्छु । यसैले चाउरी पर्न नदिएको हो । खानपिनमा पनि परहेज गर्छु । बिहान नियमित २-३ किलोमिटर हिँड्छु । पानी प्रशस्त पिउँछु ।

आफ्नो जीवनलाई फर्केर हेर्दा सन्तोष मान्ने विषयहरु के-के पाउनुहुन्छ ?

मूलरुपमा म आफ्नो जीवनप्रति सन्तुष्ट नै छु । चाहेको भए मैले धन कमाउन सक्थेँ । उतिबेलै नेपालीमा एमए र संस्कृत (आयूर्वेद) मा आचार्य गरेको हुँ । आयुर्वेदको आचार्य भनेको एमडी बराबर हो । नेपाल र भारतमा पनि मेरो नाम आयूर्वेद डाक्टरको रुपमा दर्ता छ । अहिले  क्लिनिक खोलेँ भने पनि चल्छ । अथवा, कलेजै पढाइरहेको भए पनि आर्थिक अवस्था धेरै सुदृढ हुन्थ्यो । मैले सबै विकल्पलाई पन्छाएर राजनीति र साहित्य साधना गरेँ । सादा जीवनमै रमाएँ । फर्केर हेर्दा खुशी लाग्छ । देश र समाजलाई के-कति योगदान दिएँ भन्ने कुरा अरुले मूल्यांकन गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment