Comments Add Comment

हाई ब्लडप्रेसरः जनमानसमा व्याप्त भ्रम र वास्तविकता

Doctor/nurse checking blood pressure with sphygmomanometer gauge in focus.

बढ्दो आधुनिकिकरणसँगै संसारमा कति राम्रो नतिजाहरु पनि पाएका छौं भने नयाँ नयाँ समस्या पनि उत्पत्ति हुँदै गएको छ । यस्तै मध्ये एक हो ब्लडप्रेसरको समस्या । कुनै समयमा आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेको छ ।

कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

बदलिँदो जीवन शैलीसँगै मानिसहरु विलासी भएको महसुस हुन्छ । मीठो मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै मात्र जोड दिने, रक्सी, सूर्ती जस्ता नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिंदै गएको छ। फलस्वरुप हृदयाघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौलामा तथा आँखामा क्षति बढेको पाइन्छ ।

ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइँदैन । जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देेखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन् ।

ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सर्धै हाइ ब्लडप्रेसर लिएर हिँड्दा के-के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको देखिँदैन । यस लेखमा ब्लडप्रेसर सम्बन्धि विरामीका धारणाहरु प्रष्ट पार्ने कोशिस गरेको छु ।

dr=milan prakash shrestha
डा. मिलन प्रकाश श्रेष्ठ

डाक्टरसा’ब, केही भएकै छैन, किन औषधी खानु ?

ब्लड प्रेसर हाइ भएका विरामीहरुलाई सबैलाई लक्षणहरु देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छन् ।

विरामीहरु अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन् । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउनसक्छ ।

केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याइनै रहेको हुन्छ । विशेषगरी मुटु, मृगौला, आँखा र मस्तिष्कहरुमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने विरामीहरु नै एकै पटक हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ ।

त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ । साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ ।

औषधी खाएपछि त सधैं खानुपर्छ रे

मानिसहरु अरु समस्याको लागि औषधि खान डराउंदैनन् । तर, ब्लड प्रेसरको औषधि भनेपछि हच्किहाल्छन् ।

ब्लडप्रेसरले गर्नसक्ने खतराहरुबारे आवश्यक ज्ञान नभएकोले नै मानिसहरु यति साह्रो हच्केको जस्तो लाग्छ । तर, ब्लडप्रेसर त्यति धेरै हाइ नभएको अवस्थामा, पहिलोपल्ट देखिएको ब्लडप्रेसर, तथा शरीरका अंगहरुमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोशिस गर्न सकिन्छ ।

यी उपायहरु अपनाउँदा पनि ब्लडप्रेसर उच्चै रहिरहेमा औषधि शुरु गर्न धेरै ढीला नगरेको राम्रो हुन्छ । अरु उपाय भन्नाले खानामा नून, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि बुझिन्छ ।

साइड इफेक्ट सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरुको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ

औषधि बन्द गर्न मिल्छ र ?

ब्लडप्रेसरको औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लड प्रेसरलाई नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरुमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ ।

नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा परहेज, नियमित व्यायाम आदि गर्दैगएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ ।

बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्नसकिन्छ ।

औषधिले किड्नी खराब गर्छ ?

साइड इफेक्ट सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरुको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ ।

चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नून धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेेलेष्ट्रोल बढ्छ, जसले मुटुरोगको खतरा हुन्छ । तर यसो भनेर खानेकुरा पनि नखाने त ? होइन । त्यस्तै ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो ।

ब्लडप्रेसरका औषधिहरुको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । तर ती सबै साइड इफेक्टहरु सधै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखापर्छन् भने कुनै २०/३० बर्षको लगातार औषधि सेवनपछि देखिन्छन् ।

डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेक जाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेमा तुरन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्नसकिन्छ ।

कुनै औषधि खांदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउनसक्छ । कुनैले ढुकढुकी चाहिने भन्दा कम गराउनसक्छ । ब्लडप्रेसरकै कुनै औषधिले सुख्खा खोकी लाग्ने गर्छ र कुनैले मृर्गौलामा असर पार्न पनि सक्छ ।

ब्लडप्रेसरको औषधि शुरु गरेपछि पहिले नभएको समस्याहरु देखापरेजस्तो लागे डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ । र, विशेषज्ञ डाक्टरसँग चेकजाच गरेर मात्र औषधि खानुपर्छ । औषधी शुरु गरेपछि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नुपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।

तर, साइड इफेक्ट गर्छ भनेर औषधि शुरु नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मृर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरु हुनसक्छन्, जुन असरहरुको तुलनामा औषधिको साइड इफेक्टहरु केही होइनन् ।

औषधि खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ ?

रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षति बाहेक केही गर्दैन ।

धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ ।

जांड, रक्सी पिउँदा हामी मध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? मैले देखेेको ब्लडप्रेसरका विरामीहरुमा धेरैमा ५ प्रतिशत विरामीहरुमा मात्र यस्तो भेटेको छु ।

रक्सी पिएपछि बेहोशै हुनेगरि पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा डि्रक गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको विरामीहरु बताउँछन् । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ ।

त्यसैले विदेशमा गरिएको केही अध्ययनहरुमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरको लागि नपिउनु नै ठीक हुन्छ ।

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ

अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि रक्सी भनेपछि हि्वस्की मात्रै हो । तर वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी यी सबै रक्सीकै वर्गमा पर्छन् । फरक यति हो कि वियर, वाइन आदिमा अल्कोहोलको मात्रा कम हुन्छ, अरुमा बढी ।

मैले यो ५ र ५० गरी ५५ मिलिग्राम खाँदैछु, तर पनि प्रेसर घट्दैन

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ ।

त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधि कति मात्राको खाने भन्ने मानिसमा निर्भर गर्छ ।
ब्लडप्रेसरको औषधिहरु कुनै २.५ मिलिग्रामबाट शुरु हुन्छ, कुनै २५ बाट शुरु हुन्छ त कुनै २० बाट । एउटा किसिमको औषधिको २.५ मिलिग्राम बराबर अर्को किसिमको औषधिको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम हाइ डोज भन्ने बुझ्नुहुँदैन ।

रातो पान आकारको खाएको, अरु त खाएको छैन

विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका विरामीहरुमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने विरामीहरुमा यो समस्या देखिन्छ ।

एउटा भन्दा धेरै गोली औषधि खानुपरेको अवस्थामा यस्ता विरामीहरु झुक्केर एउटा खानुपर्नेमा दुईपटक खाएको, खानुपर्ने चाँही नखाएको, राति खानुपर्ने विहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्याहरु सामान्य हुन् ।

अझ कति त औषधि सकेपछि ल्याइदिने मान्छे नभएको भनेर औषधि खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ र कतिपय अवस्थामा प्यारालाइसिस, हृदयाघात भएको अवस्थामा पनि विरामीहरु आउँछन् ।

यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरुको गहन जिम्मेवारी हुन्छ । त्यस्ता विरामीहरुलाई नाम भन्दा पनि औषधिको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधि खानुपरेको अवस्थामा हरेक औषधिहरुलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ?

विजनेस मेन परियो, साँझ त बस्नै पर्छ नि

विजनेस मेनहरुको धेरैको गुनासो यही हुन्छ । विजनेस पनि चलाउनैपर्‍यो, पार्टीका लागि आएका निम्ताहरु त जसरी पनि मन्नुपर्छ । अनि मन राख्न यसो बसिदिनैपर्‍यो । अनि उनीहरुको कामको कुनै समय नै हुँदैन ।

यता पैसा उठाउ, उता विवाद, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, विहान उठेदेखि फोन, अफिसमा मिटिङ, यता जाउ, उता जाउ, राति घर आयो, नसुतुन्जेल फेरि फोन । न शनिबार, न विदा । न शारिरिक आराम, न मानसिक आराम । सधै तनावपूर्ण वातावरण, आराम र शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जांचको कमी आदि भएपछि यस्तै व्यक्तिहरुमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्दछ ।

जसको कारण पछि गएर हृदयाघात, पक्षघात जस्ता भयानक समस्याहरु भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर, पनि चेकजाँचको लागि समय छुट्याउन सक्दैनन् ।

तर, कतिपय अवस्थामा विरामी जतिसुकै सम्झाँउदा पनि औषधि तयार गर्न राजी हुँदैनन् । जब छर छिमेकमा, आफन्तहरुमा कोही ढलेको, प्यारालाइसिस भएको, हृदयाघात भएको अथवा कसैको स्वास्थ्यमा ब्लडप्रेसरको असर परेको जस्तो प्रत्यक्ष देख्छन्, त्यसपछि विरामीहरु पूर्ण तनावमा आउँछन् र जतिसक्दो छिटो औषधि शुरु गरिदिन डाक्टरलाई अनुरोध गर्दछन् ।

घरमा नाप्दा ठिकै, अस्पताल गयो कि बढ्छ

मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारिरिक व्यायाम, खाने खानेकुराहरु, निद्रा, तनाव आदि विभिन्न कुराहरुमा भर  पर्छ । तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिनसक्छ ।

तर सबै कुरा सामान्य भइसकेपछि ब्लडप्रेसर नर्मल लेवलमा आउँछ । जहिलेपनि ब्लडप्रेसर नाप्दा केही क्षण आराम गरेर, दिसापिसाब त्याग गरेर, तनावरहित रहेर नाप्दा सही परिणाम आँउछ । यदि सामान्य अवस्थामा रहेको बेला पनि ब्लडप्रेसर बढिरहने भएमा बढेकै मान्नुपर्छ ।

कोही कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधै एकदम नर्मल भेटिने तर, डाक्टर-नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक प्रेसर बढ्ने समस्या हुन्छ । डाक्टरहरुले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ ।

ब्लडप्रेसरको समस्या भएको विरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो

हाइ ब्लडप्रेसरका विरामीहरुमध्ये करीव २० प्रतिशत समूहमा यो समस्या देखापर्ने कुरा अध्ययनमा देखापरेको छ । त्यसैले साच्चिकै हाई हो वा इफेक्ट मात्रै हो भन्ने पहिचान गर्न २४ घण्टा मसिन लगाएर ब्लडप्रेसरको अध्ययन गरिने एबीपी मसिनको सहयोग पनि लिइन्छ ।

ब्लडप्रेसर बढ्यो भनेर ५ दिनदेखि नून मुखमा हालेकै छैन

ब्लडप्रेसरको समस्या भएको विरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो ।

शरिरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नून हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नून शारिरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नून चटक्कै बन्द गर्नाले शरिरमा अन्य समस्या गराउनसक्छ, त्यसैले नून चटक्कै बन्द गर्न कदापि हुँदैन ।

कति विरामीहरु औषधि नखाने तर, करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आयर्ुेवेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपर्‍यो । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर, माथिका उपाय अपलम्बन गर्दा ब्लडप्रेसर नाप्दैपनि गर्नुस् ।

मैले नेटमा पढेको यो औषधी खाएपछि डिप्रेशन हुन्छ रे

एउटा वर्गको मानिसहरुमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर, पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ ।

कुनै रोगको बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरु, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउँदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरु आफैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ ।
इन्टरनेटमा दिइएका रोग सम्बन्धि जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ, यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ, यो साइड इफेक्ट यो जातिमा मात्र बढी देखिन्छ, यसमा देखिन्न जस्ता कुराहरु विस्तृतमा लेखिएको हुन्छ ।

तर मानिसको मन न हो, त्यहाँ जे सुकै लेखेपनि आँखाले त्यहाँ लेखिएका गम्भीर कुराहरु जस्तै मात्र देख्नपुग्छ । अनि होस् न होस् मलाई पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् ।

त्यसैले यदि कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुराहरु प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । होइन भने यस्तो सामग्री नपढ्नु नै बेस हुन्छ । अनि एक प्रकारको मानिसमा चेकजाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ ।

डाक्टर कहाँ गएपछि केही न केही देखाइहाल्छन्, यो नखानु, यो नगर्नु भन्छन्, औषधि खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ भन्ने खालको सोचले उनीहरु चेकजाँच नै गराउँदैनन् । यो राम्रो होइन ।

के-के जाँच नियमित गर्नुपर्छ ?

प्रेसरका विरामी तथा प्रेसरको औषधि खाने विरामीहरुले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मृर्गौला तथा पिसाबको जाँच तथा कोलेष्ट्रोलको जाँच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्दर्छ । साथै इसीजी, इको जाँचहरु मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे-नरहेको पत्ता लाग्छ । साथै कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ ।

र, डिजिटल मेसिन

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसँगै ब्लडप्रेसर नाप्ने मसिनहरु, मोवाइल एप्लिकेशनहरु अचेल सजिलै उपलब्ध हुनथालेका छन् ।

उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुनथाल्छ

तर, अस्पतालहरुमा भने एनोरोइड मसिनहरु नै बढी प्रयोगमा छन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मसिनले पनि राम्रै काम गर्छन् त,र कतिपय अवस्थामा भर्खरको भर्खरै दोहोर्याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक भएको पाइएको पनि देखिएको-सुनिएको छ ।

त्यसैले यस्ता मसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिने भन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मी कहाँ गएर फेरि नापेर कन्र्फम गरेको राम्रो हुन्छ ।

अन्त्यमा, ब्लडप्रेसको नकारात्मक असरहरुबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ ।

साधारणतया उमेर ४० को  वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरु, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरु पालना गर्नैपर्ने देखिन्छ । किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुनथाल्छ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment