Comments Add Comment

गभर्नर भन्छन्- धेरै जनतालाई कृषिमा सस्तो ऋण पाइन्छ भन्ने नै था’छैन

governer७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले अहिले पनि धेरै जनतालाई बैंकहरुले सस्तो व्याजदरमा ऋण दिन्छन् भन्ने थाहा नभएको बताएका छन् ।

‘म राष्ट्र बैंकको गभर्नर भएर जाँदा जम्मा ५/६ जनाले मात्रै ६ प्रतिशत व्याजदरमा कृषि कर्जा लिएका थिए,’ राष्ट्रिय सूचना आयोगले शुक्रबार राजधानीमा गरेको बैंकिङ क्षेत्रमा सूचनाको अधिकारको प्रयोगबारे अन्तक्रिया कार्यक्रममा गभर्नरले भने ।

अहिले करिब १५ सय किसानले ६ प्रतिशत व्याजदरमा बैंकबाट ऋण लिएको उनले जानकारी दिए ।  ‘अझैपनि धेरै किसानहरुलाई ६ प्रतिशत व्याजमा बैंकबाट ऋण पाइन्छ भन्ने थाहा छैन’ उनले भने ।

राष्ट्र बैंकले पश्चिम नेपालका १० वटा जिल्लामा कृषि कर्जा बढाउनका लागि बैंकहरुलाई १ प्रतिशत व्याजदरमा पुनरकर्जा उपलब्ध गराउने जानकारी दिए ।

त्यसैगरी, उनले बैंकिङ क्षेत्र अत्यन्तै संवेदनशील र पारदर्शी भएको बताए । नेपालमा सबैभन्दा बढी पारदर्शी सूचना प्रवाह गरेबापत सूचना आयोगले बैंकहरुलाई धन्यवाद दिनुपर्ने उनको धारणा थियो ।

तर, अझै कतिपय सूचनाहरु सिस्टमबाट नआउने गरेको उनले गुनासो गरे । राष्ट बैंकले २०७० साल फागुन ११ गते सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना अधिकारी र सूचना इकाइ स्थापना गर्न निर्देशन दिएको नेपालले बताए ।

बैंक लगानीकर्ताको नभई निक्षेपकर्ताको भएकाले बैंकहरु पारदर्शी हुनुपर्ने उनले बताए । निक्षेपकर्ताको सुरक्षा गर्नु राष्ट्र बैंकको पहिलो दायित्व भएकाले निक्षेपकर्ताको रकम डुबाउन खोज्ने बैंकलाई नछाड्ने उनले चेतावनी दिए ।

सूचना जति बाँड्यो त्यतिनै ज्ञान बढ्ने र जनताको विश्वास बढ्ने भकाले पारदर्शि भएको सूचना दिन बैंकरहरुलाई आग्रह गरे । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी वास्कोटाले सूचनाको अधिकार १ प्रतिशत दिने र ९९ प्रतिशत लिने भएको बताए ।

सूचनाको अधिकार संविधानको धारा २७ मा उल्लेख भएको मौलिक अधिकार भएकाले त्यसको पालना गर्नु सबैको दायित्व भएको बताए ।

आयोगका आयुक्त किराण पोखरेलले पारदर्शिताले नै लोकतान्त्रिक व्यवस्थाप्रति जनताको विश्वास बढेको बताए । जनताले विश्वास गरेको शासन व्यवस्था ढल्न कठिन भएजस्तै जनताले विश्वास गरेका संस्थाहरु पनि ढल्न नसक्ने उदाहारण दिँदै बैंकहरुलाई पारदर्शी हुन आग्रह गरे ।

कार्यक्रममा केही बैंकरहरुले सूचना दिँदा संवेदनशील सूचनाहरु बाहिर जानसक्ने भएकाले त्यसले संस्थालाई कठिन हुनसक्नेप्रति बिचार पुर्‍याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment