Comments Add Comment

गंगा दशहरामा मेला भर्न खप्तड जाने की ?

Khaptad-finalनेपाल सरकारले घोषणा गरेको घुमफिर बर्ष २०७३ को उदघाटन सत्रमा पहिलो महिला पर्यटन उद्यमी अम्बिका श्रेष्ठले खप्तड घुम्न जाने ईच्छा जाहेर गरिन् । नेपाल पर्यटन बोर्डमा आयोजित उक्त कार्यक्रममा नेपालको नक्सामा उनले खप्तड लेखेर आफु घुम्न जान मन लागेको स्थानको बारेमा जानकारी दिइन ।

समुदघाटन समारोहमा बोल्दै श्रेष्ठले भनिन्, म लौरो टेकेर भएपनि खप्तड घुम्न जान्छु । श्रेष्ठ जस्तै अन्य कार्यक्रममा उपस्थित अन्य आगन्तुकहरुले पनि खप्तड घुम्न जाने बताए । नेपालका अन्य भू-भाग भन्दा खप्तड घुम्न जाने इच्छा राख्नेको संख्या करिब ४ गुनाले बढि देखियो ।

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका सिलशिलामा मलाई पनि सुदूरपश्चिमको सबैभन्दा बढी जान्न खोजिने गन्तब्य खप्तड नै पर्छ । चाहे ति स्वदेशी होउन या बिदेशी अधिकांशको चासो खप्तडनै पर्छ ।

अहिलेसम्मको तथ्याकं हेर्दा खप्तडमा बिदेशी पर्यटकहरु जाने गरेको, जाने ईच्छा जाहेर गरेको भएपनि बाषिर्क १०० को हाराहारीमा मात्रै बिदेशी पर्यटक खप्तड पुग्ने गरेका छन् । तर, स्वदेशी भने उल्लेख्य मात्रामा खप्तड गएको भेटिन्छन् । खप्तडमा लाग्ने मेला र बिभिन्न महोत्सवहरुमा गरेर बाषिर्क ६ हजार भन्दा बढी आन्तरीक पर्यटकहरु खप्तड पुग्ने गरेका छन् ।

प्रकृतिको बगैचा खप्तड

खप्तड सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले पनि होला खप्तडलाई धर्तिको स्वर्गको उपमा पनि दिईएको छ । २२ वटा ठूला ठूला घाँसे मैदान जुन स्थानिय भाषामा पाटन पनि भनिन्छ, खप्तडको सुन्दरताका गहना हुन । चारैतिर जंगल, जंगलका बिचमा पाटन । खप्तड जानका लागि गएको जो कोहि पर्यटक दिनभरको हिँडाइले थकित हुन्छ, जब खप्तडको मैदानमा खुट्टा टेक्छ तब उसले सबै थकान, दुःख बिर्सन्छ । Khaptad-final-4

केहि दिन अघि केहि पत्रकार, पर्यटन ब्यवसायी, स्थानीय सरोकारवालाहरुका साथमा म पनि खप्तड पुगेको थिएँ । खप्तड मेरो पहिलो पटक त थिएन, तर यो पटक निकै थाकियो । स्वास्थ्यमा सामान्य गडबढी आएपछि खप्तडबाट दुईवटा घोडा मगायौं लिनलाई । बिहान बझाङको लामातोलाबाट खप्तड क्षेत्र पर्यटन बिकास समितीका सदस्य डबल बोगटीदाईका साथमा हिडेका हामी करिब ४ बजेतिर बझाङबाट खप्तड जाँदा पर्ने बेस क्याम्प लोखाडा पुग्यौं ।

लामो समयदेखी पानी नपरेर सुख्खा लागेको खप्तडमा त्यो दिन मेघ गर्जनकासाथ पानी पर्ने छाँटकाँट देखियो । सुरक्षा क्याम्पमा रहेका नेपाली सेनाले चट्यागंबाट होसियार रहनु भन्ने सूचना दिए । त्यस क्षेत्रका अनुभवी ब्यक्तित्व डबल दाईका साथ हामी मेघको प्रवाह नगरी खप्तड उक्लिरहयौं ।

मेघ गर्जनकासाथ पानी दन्किन सुरु गर्‍यो । हामी ओत लाग्नेकी अगाडि बढ्ने भन्नेमा दोधारमा पर्‍यौं । उकालो सकिएपछि खप्तड नजिकै थियो । खप्तडका पाटन सुरु हुनासाथ छेउमै धर्मशाला छ, जहाँ हामी पानी छल्न सक्छौं भन्ने भएपछि भिज्दै अगाडि बढिरहृयौं । नयाँ पत्रिकाका अच्युत र फोटोग्राफर सरोज अस्वस्थताका कारण घोडामा थिए, आर्थिक अभियान दैनिककी पुजा ढकाल पनि त्यति स्वस्थ देखिन्न थिईन ।

हामी झोला बोक्दै उकालोमा स्या स्या गर्दै उक्लिरहृयौं । अन्ततः लामो संघर्षपछि खप्तडका घाँसे मैदानमा पाईला राखेपनि पानी निकै जोरको परेकाले हामी त्यहाँ खप्तड क्षेत्र पर्यटन बिकास समितीले यस्तै अवस्थामा सेल्टर लिन तयार पारेको भवनमा ओत लाग्यौं । चिसोले सबै कठ्यांगि्रएका थिए, दिनभरको यात्रामा स्वस्थ देखिएपनी पानी र चिसोले गोरखापत्रका विश्वास रेग्मी, कारोबारका केदार दाहाल र म पनि थुरथुर काप्न थाल्यौं । वरपर रहेका केहि ओभाना दाउरा र त्यहाँ रहेका केहि जगेडा दाउराहरु झिकी आगो दन्कायौं । Khaptad-final-3

आधाघण्टा आगो तापेर जिउ अलि तातो बनेपछि बल्ल साथिहरुको अनुहारमा खुशि र खप्तको सुन्दरताको बखान हुन थाल्यो । मौसम खुल्यो, पानी थामियो तर साथिहरु थामिएनन्, गएर उफि्रन थाले । तस्विर खिच्नका लागि तछाड मछाड हुन थाल्यो । अघि सम्म बिरामी भएर घोडा चढाउनु परेका अच्युत र सरोज पनि उत्तेजित हुँदै उफ्रन थाले । उनिहरुको अनुहारमा आएको उत्तेजना र खुशीले उनिहरुलाई हामीले घोडे बिरामीको पनि संज्ञा दियौं ।

हाम्रो स्वागत र हामीसँग घुम्नका लागि खप्तड क्षेत्र पर्यटन बिकास समितीका सदस्य सचिव यमराज कुँवर हिजै खप्तड पुगिसकेका रहेछन् । हामी पुग्ने बेला सम्म उनले हामीलाई तातो बनाउने तयारीका साथ आगो ताप्ने र सुपहरु खाने ब्यवस्था मिलाई सकेका थिए । साँझ पख हामी खप्तडमा सञ्चालित गेष्ट हाउस पुग्यौं ।

हिजो परेको पानीले तुवालो हटेर मौसम सफा भएको थियो । प्रकृतिले हामीलाई खप्तडको सुन्दरता अघाईञ्जेल हेर र तस्विर खिच भनेझैं अनुभुत भयो । वरपरका घाँसे मैदान, खप्तड दह, नाग ढुंगा, खप्तडबाबा आश्रम निकै टहल्यौ दिनभर । खप्तडमा चर्न छाडिएका घोडा, भैसि, भेडा बाख्रा चरेको दृष्य पनि कम मनमोहक देखिएन, सबैका मन तृप्त भए ।

बैशाखको दोस्रो साता भएपनी लालिगुराँस अझै बचिरहेका थिए । बिभिन्न रंगका लालिगुरास देखिए जंगलभरी । पश्चिमपटि्ट हासिँरहेका अपि सैपाल हिमश्रृखंला पनी हाम्रा नजरमा परे । Khaptad-final-5

आध्यात्मीक र आयुर्बेदको फ्युजन

टोनी हेगेनले नेपालका दुर दराज, कुना काप्चाका पर्यटकीय मार्गलाई नक्सामा उतार्ने काम गरे । हेगेन पश्चात ब्यक्तिगत प्रयासमा अष्ट्रेलियन नागरिक रोबिन बोस्टार्डले त्यसलाई निरन्तरता दिए, अहिले पश्चिम नेपालको पदयात्रा र नक्साकंन गर्ने नयाँ मार्ग पत्ता लगाउनेमा जिम्मी म्याकगुनिज सक्रिय छन् ।

खप्तड बाबा एउटा प्रसिद्ध नाम र ब्यक्तित्व । उनले लामो समय खप्तडमा बिताए, खप्तडलाई आध्यात्मको हिसावले नेपालभर चिनाए । खप्तडमा बसेर प्राकृतिक चिकित्साको अध्ययन गरे, जडिबुटिलाई औषधी बनाएर धेरैको रोग बिशेक बनाए ।

अष्ट्रेलियन नागरिक रोबिनले पनि खप्तड भ्रमण पश्चात एउटा पत्रिकामा लेखेको लेखमा खप्तडलाई लर्ड सिभाज प्याराडाइसको उपमा दिए । अहिले पनि खप्तडमा आन्तरिक पर्यटकहरुमा अधिकांश खप्तडको त्रिबेनिमा नुहाउन, पित्रृलाई तर्पण दिन र अन्य धार्मिक स्थलको दर्शन गर्न जाने गर्दछन् । धर्म ग्रन्थ अनुसार भगवान शिवले देबी पार्बति बिहे गरेपछि बिहे पछिका रमाईला क्षणहरु बिताउन खप्तड पुगेका थिए रे ।

पूर्ब आइजिपी हेम बहादुर सिंहका छोरा प्रवजंन सिंह (हाल सन्यासी) पनि धेरै जसो समय खप्तडमा बिताउने गरेका छन् । खप्तडमा उनि शान्तीको महशुष गर्छन, ध्यान गर्छन र मनलाई एकाग्र बनाउँछन् । उनका बिचारमा खप्तडलाई ध्यान केन्द्र, आध्यात्मीक पर्यटन र ग्रेजिगं टुरिजमको को रुपमा अगाडि बढाउदा खप्तडको पर्यटकीय भविष्य उज्जवल हुन सक्छ । यसका साथै खप्तडमा प्राकृतिक चिकित्सा, योग आदि बिषयका पुस्तकहरु समेटेर पुस्तकालय खोल्दा थप प्रभावकारी बन्ने उक्ति पनि सुझाउँछन् ।

रहस्यमय प्रकृती

२२५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तडमा २२ वटा ठूला ठूला घाँसे मैदान छन् । जुन क्षेत्रिय बिमानस्थल बन्न सक्ने क्षेत्रफलमा फैलिएका छन् । मुलबाटो बाहेक अन्य मैदानहरुमा त्यति साईनेज राखिएका छैनन् र बाटोहरु बनाईएको छैन् । यसैकारण यदाकदा पर्यटकहरु हराउने पनि गर्दछन् । खप्तडको बिषयमा प्रशस्त ज्ञान नहुँदा र गाईड बिना भ्रमण गर्दा उनिहरु समस्यामा पर्ने गरेको पाईन्छ । Khaptad-final-2

आज भन्दा करिब १० बर्ष पहिला ५ जना नेपाली सेनाका जवान खप्तडको हिउँमा पुरिएर आफनो ज्यान गुमाए । डोटिको झिग्रानाबाट खप्तड जाने क्रममा हिउँ पर्न थाल्यो । खप्तडमा रहेको आर्मि क्याम्प सम्म पुग्न हिडेका उनिहरु बिच बाटोमै हिउँ पर्न थालेपछि रोकिएर कतै रुख अथवा ओढारको सेल्टर लिनुको साटो अगाडि बढीरहे । करिब ५ ६ फिटको हिउले उनिहरुलाई पुरी दियो । उक्त घटनाले पाठ सिकायो र अहिले खप्तड पर्यटन समितिले यसरी हिउँ, पानी हावाहुरी आए ओत लाग्न ठाउँ ठाउँमा सेल्टरहरु तयार पारेको छ ।

हामी खप्तडमै रहँदा दुईजना काठमाण्डौंबाट गएका आन्तरिक पर्यटकहरु पनि करिब ४ घण्टा जती खप्तडमा हराए । गाईड बिनै बिहान ८ बजे गेष्टहाउसबाट घुम्न निस्किएका उनिहरु साँझ ५ बजेतिर मात्र गेष्ट हाउस फर्किए । यता मैदान, उता मैदान बाटो जस्तो देखिने तर नहुने, भैसि र बस्तुभाउले बनाएका बाटाहरुमा उनिहरु झुक्किए ।

खप्तडका बिभिन्न स्थानमा साईनेज राखिनुपर्ने र सेल्टरहरु तयार पारिनु पर्ने उनिहरुको पनि सुझाव आयो तर देशमा हराउँदा कुनै पिंडा नभएको पनि उनिहरुले धारणा पोखे । ति मध्ये एकले भने, बिदेशमा हराएको भए, भिसा खोजिन्थ्यो हजुर, जेलमा रात कटाउनु पथ्र्यो । खप्तडमा हराउँदा केहि डर त लाग्यो तर आज नभए भोली त बाटो भेटिएला भनेर चित्त बुझाएका थियौं ।

पानी पर्दा असिना बुरुरु झर्ने खप्तडमा मौसम बदलिन खौज्दा सर्तक हुनु जरुरी हुन्छ, नजिकको सेल्टरमा ओत लिन उर्पयुक्त हुन्छ । हिउँदोको समय भए, हिउँ र्झन थाले नजिकैको सेल्टर अथवा, जति सक्यो माथितिर होइन, तलतिर झर्नु उर्पयुक्त हुने त्यहाँको मौसमलाई नजिकबाट चिन्नेहरु उपाय सुझाउँछन् ।

गंगादशहरा मेलाको आर्कषण

प्रत्येक बर्ष जेठ महिनाको दशहराको समयमा खप्तडमा बृहत मेला लाग्ने गर्दछ । सुदूरपश्चिमका ९ वटै जिल्ला, पूर्बि नेपालका धार्मिक पर्यटकहरु त्यो समयमा खप्तडमा खचाखच भरिने गर्दछन् । त्यो दिन त्रिबेनीमा नुहाँउदा पाप पखालिने, पित्रृलाई तर्पण दिदा पित्रृले मुक्ति पाउने र स्वर्ग जाने, मनको ईच्छा पुरा हुने गाढा बिश्वास स्थानीयहरुमा छ ।

त्यस समयमा खप्तड कुनै मालिले सजाएको बगैचाझै हुन्छ । रंगि बिरंगी सयौं थरीका फुलले खप्तडलाई सिंगारेको हुन्छ । त्यसैमाथि सुदूर भाकामा रातभर घन्किने डेउडा र अन्य कला संस्कृतिले खप्तड साच्चिकै प्रकृति र संस्कृतिको भण्डार जस्तै हुन पुग्छ ।

अन्य समयमा खप्तडमा ४० जना सम्मको लागि आवास र खाना पाईने भएपनि मेलाको समयमा आवाशको कठिनाई हुने गर्दछ । खाना भने मेलाको समयमा सञ्चालन गरिएका होटेलहरुमा र खप्तडमा अवस्थित गेष्टहासमा खान पाईन्छ । मेलाको समयमा सुत्नको लागि स्लिपिगं बेग, मेटि्रस र न्यानो कपडा लिएर जान उर्पयुक्त हुन्छ ।

कसरी पुग्ने खप्तड ?

खप्तड जानका लागि २ वटा बाटो प्रसिद्ध छन् पहिलो बझागंको तमैलबाट र दोस्रो डोटीको झिंग्रानाबाट । बझागंको बाटो भएर जान धनगढीबाट गाडिमा तमैल सम्म ९ घण्टाको हाराहारीमा गुडनु पर्छ । तमैलबाट लामातोला सम्म लोकल जिप पाईन्छ, जिपमा ४५ मिनेट जति कुदनु पर्छ । लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट २ घण्टामा खप्तडका घाँसे मैदान र क्याम्पसाईट सम्म पुग्न सकिन्छ । तमैल कटेपछि त्यहाँको गाउँ बस्ती, डाडाकाडा असाध्यै सुन्दर छन् । ठाउँ ठाउँमा लोकल टि हाउस छन् भने खाने बस्ने ब्यवस्था पनि छ । लोखाडाबाट पश्चिमपटि्ट सुन्दर अपि सैपाल हिम श्रृखंला देख्न पाईन्छ । उकालोबाटो करिब ४ घण्टा हिडनु पर्छ अरु बाटो सहज छ ।

डोटीबाट झर्दा राम्रो हुन्छ । खप्तडका घाँसे मैदान छोडेर करिब ७ घण्टा जंगलको भिरालो बाटो हिडनु पर्छ । बिचपानीमा बाहेक अन्त पानी, आवास र खानेकुराको ब्यवस्था छैन् । झिग्रानाबाट पनि करिब ३ घण्टा हिडेर सिलगढी पुग्न १० घण्टा जति नै लगातार हिडनु पर्ने हुन्छ । डोटी बाहेक अछामको साफे बगर भएर पनि र्झन सकिन्छ ।

खप्तडका लागि लाग्ने खर्च र बन्दोबस्ती

खप्तडमा गर्मि समयमा पनी असाध्यै चिसो हुन्छ तसर्थ न्यानो कपडा अनिबार्य लिनु पर्दछ । मौसम जति बेला पनि बदली हुन सक्ने हुँदा रेनकोट या छाता सँगै बोक्नु पर्ने हुन्छ । यि बाहेक ड्राईफुड, डाईरीया, टाउको दुख्ने आदिको औषधी पनि बोक्दा उर्पयुक्त हुन्छ ।

काठमाण्र्डौबाट खप्तड जान काठमाण्डौं बझागं सिधा बस सेवा २४ घण्टा, काठमाण्डौं धनगढी, धनगढी बझागं बसबाट जान सकिन्छ । त्यसैगरी धनगढी सम्म जहाज र त्यहाँबाट निजी सवारी भाडामा लिएर पनि जान सकिन्छ । सामान्य यात्रा गर्ने हो भने, बसमा धनगढी र बझाङ, र्फकदा पनि बसमै र्फकने हो भने ८ दिनका लागि २५ हजारको हाराहारीमा खर्च हुन्छ । काठमाण्डौं धनगढी र धनगढी काठमाण्डौं जहाजमा र धनगढीबाट बझागं या डोटी र बझागं या डोटीबाट धनगढी बसमा आउने हो भने थप १२ हजार लाग्छ । यो बाहेक खप्तडमा  घोडचढीको आनन्द तथा सुबिधा लिने हो, भरिया लिने हो भने खर्च केहि बढन सक्छ ।

गंगादशहरा मेला बिशेष प्याकेज

खप्तडमा आयोजना हुने गंगादशहरा मेलाको अवसरलाई लिएर बजारमा खप्तड घुम्न ईच्छुक आन्तरिक पर्यटकका लागि गंगादशहरा बिशेष टुर प्याकेज ल्याईएको छ । एरोलिना ट्राभेल एण्ड टुर्सले ल्याएको उक्त प्याकेजमा ८ दिनमा काठमाण्डौं, खप्तड, काठमाण्डौं समेटिएको छ ।

२५ हजार मुल्य राखिएको उक्त प्याकेजमा पर्यटकले खप्तड घुम्ने र त्यहाँ सञ्चालित गंगादशहरा मेला अवलोकन गर्न पाउने बताईएको छ । उक्त समयमा खप्तडमा आन्तरिक पर्यटकहरु अत्याधिक हुने हुँदा सहज यातायात र आवासको लागि प्याकेजमा जाँदा सहज र प्रभावकारी हुने एरोलिनाका संचालक तथा खप्तड टुर प्याकेज तयार पारेका ब्यवसायी यम खड्का बताउँछन् ।

खड्काका अनुसार गंगादशहरा मेलामा खप्तड जानको लागि आउँदो जेठ २४ गते सम्मका लागि बुकिङ खुल्ला छ । सो समय पश्चात ब्यवस्थापन मिलाउनु पर्ने हुँदा बुकिङ बन्द गरिने र २५ जना सम्म मात्र समुहमा सहभागि गराउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment