+
+
Shares

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

रासस रासस
२०७३ जेठ २८ गते ९:४७

Earth-Quack-in-japan-Kyushuटोकियो । गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले पीडा देख्दा नेपाल सम्झेर स्तब्ध भएको उनीहरुले बताए ।

भूकम्प प्रभावित क्षेत्रका अधिकांश घरमा नीलो, पहेलो र रातो रङको प्रयोग सूचनाका रुपमा गरिएको छ । घरको छानामाथि नीलो रङका त्रिपाल प्रयोग गरिएका छन् जसको अर्थ आफ्नै घरमा जान चाहन्छु भन्ने हुन्छ । भूकम्पले घर भत्किएका छन् । च्यापिएका र पुरिएका सामान तानिरहेकामा ८०/८५ वर्षका वृद्ध मात्र छन् । तान्दा कपडाको एकएक धर्सा मात्र निकाल्ने गरेका थिए । तैपनि आउँछ कि भनेर अनेक प्रयास गर्दा पनि पुरिएका सामान निकाल्न नसक्दा पीडामा छट्पटिइरहेका छन् ।

भूकम्पप्रभावित अधिकांश वृद्धहरु भएकाले खानका लागि मात्रै होइन लगाउने लत्ताकपडादेखि बिछ्यौना सम्मको समस्याले पिरोलिरहेको छ । यो अवस्था देखेर कुमामोतो सरकारले नेपाली समुदाय सहितलाई सहायताका लागि आग्रह गरेको थियो । न बल छ, न त आफन्त भनाउँदा छोराछोरी र आफन्त नै । छन् त केवल उनीहरुलाई टुलुटुलु हेर्नेहरु ।

सो क्षेत्रमा गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा स्वयम्सेवकका रुपमा अध्यक्ष सुदन थापा, सचिव बुद्धिराज घिमिरे, सल्लाहकार जिज्ञानकुमार थापा, योगा गुरु निरज ज्ञवाली, युवा व्यवसायी केशव थापा, सरोजकुमार खत्री लगायतका १० जना टोकियोबाट गएको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरेको थियो ।

कुमामोतोको मास्सिकी सहर भूकम्पबाट प्रमुख प्रभावित क्षेत्र हो । सबैजसो घर भत्किएका छन् । चर्किएका र भत्किएका घरलाई रातो रङ लगाएर खतराको सङ्केत दिइएको छ । खतरा छ बस्नु हुँदैन भनेर ठूलो सूचना झुन्ड्याइए पनि ९०/९२ वर्षीय वृद्ध छेउमा पाल टाँगेर बसेका छन् । अझै पनि प्रभावित झन्डै एक हजार १०० स्थानीय सोकुरियोउ टेक्निकल विद्यालय आसपासमा पाल टाँगेर बसेकामा छोराछोरी र आफन्तको अभाव प्रस्ट देखिएको छ ।

रातो ज्याकेटमा जापानी भन्दा फरक अनुहार भएका नेपाली टोली देखेपछि ९३ वर्षीय वृद्व वातानाबे मिच्चीले सोधे, “को हो तपाईंहरु ? किन आउनुभएको हो ?” “हामी नेपाली हो तपाईंहरुलाई सहयोग गर्न आएका हौँ ” भन्दा आँखाबाट आँसु झार्दै भने, “नेपालमा के योभन्दा कम अवस्था थियो र ?” “जसबाट हामीसमेत स्तब्ध भयौँ”, नेपाली टोलीमा सहभागी व्यवसायी प्रल्हादसिंह महतले भने । मिच्चीको आँखा कमजोर भएकाले लठ्ठीको सहारामा कुर्चीमा बसेका थिए । उनकी पत्नी ९० वर्षीया ओओका सुत्ने ठाउँ साँघुरो भएकाले फ्रिज सार्न खोजिरहेकी थिइन् ।

जापान सरकारले भूकम्प प्रभावित क्षेत्रको संरचना हटाउन अझै महिनौँ लाग्ने जनाएको छ । युवा व्यवसायी केशव थापाले सहायताका लागि गएको टोलीले भत्किएर पुरिएका क्षेत्र र अस्थायी बासस्थान क्षेत्रमा सरसफाइ गर्न सहायता केन्द्रले दिएको निर्देशनअनुसार काम गर्दा धेरैजसो जापानी नागरिकले नेपालीप्रति धन्यावाद दिएको बताउनुभयो । “वृद्धहरुलाई देख्दा मनै थाम्न गाह्रो हुन्छ । पीडा हेर्दा नेपालको याद आयो”, थापाले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?