+
+

मधेसी नेतालाई प्रधानमन्त्रीको प्रश्न- समस्या के छ ? संविधान संशोधन गर्न सरकार तयार छ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २९ गते २०:०१

SAMSUNG CAMERA PICTURES२९ जेठ बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज मागहरुलाई संविधान संशोधन गरेर समाधान गर्न सरकार तत्पर रहेको भन्दै मधेसी मोर्चाका नेताहरुलाई वार्तामा आएर आफ्ना समस्याहरु राख्न आग्रह गरेका छन् ।

बिराटनगरमा निर्माण गर्न लागिएको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शनिबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज मागहरुलाई वार्ता, छलफल, सहमति, सहकार्य र संविधान संशोधन गरेर समाधान गर्न सरकार जुनसुकै समय तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकाले यो सरकारले जायज माग पूरा गर्ने भन्दै वार्तामा आएर के समस्या छ, त्यो ल्याउन आन्दोलनरत मधेसवादी दलहरुलाई आग्रह गरे ।

उनले मुलुकलाई आन्दोलन, बन्द हड्ताल गरेर गरिव बनाइराख्ने कार्य नगरी संविधान कुन ठाउँमा संशोधन गर्नुपर्छ, त्यो गर्न सरकार तयार रहेको स्पष्ट पार्दै लोककल्याणकारी राज्यका अवधारणाबाट मुलुकलाई विकासको गतिमा बढाई समृद्ध बनाउन सरकार सदैव अग्रसर रहेको धारणा राखे ।

सबैलाई चित्त बुझाउनुपर्‍यो, सम्बोधन हुनुपर्‍यो भनेर गन्तव्य स्पष्ट नभएको अमूर्त एवं  पपुलिष्ट कुरा गरेर अब देश नबन्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने- मूर्त कुरा कहाँ, के हुनुपर्छ ? केमा चित्त बुझेन र के अन्याय भयो ? स्पष्टसँग कुरा ल्याए वर्तमान सरकार सबैलाई चित्त बुझाउन, न्याय दिन दृढ संकल्पीत  छ ।

मुलुकको अग्रगमन, विकास निर्माण र समृद्धिको गतिलाई अवरोध पुर्‍याउने र देशलाई विखण्डन गर्ने सोचबाट सबै मुक्त हुनुपर्ने र त्यस्तो सोच कुनै पनि हालतमा पूरा हुन नदिन सरकार दृढ रहेको उनले प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले सञ्चारविहीन अवस्थाबाट सञ्चारको युगमा लैजाने र आधुनिक नेपाल निर्माण गर्नुपर्छ भन्ने सोच भएका स्व. तारिणीप्रसाद कोइरालाको योगदानको कदर गर्दै सञ्चारग्राम निर्माण गर्न लागिएको बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार नयाँ सञ्चार नीति ल्याएर देशको सञ्चार क्षेत्रलाई मर्यादितएवं व्यवसायिक बनाउन लागि परेको बताए । उनले बिराटनगरमा बन्ने तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम प्रेस जगतमा काम गर्नेहरुका लागि तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित हुने जानकारी दिए ।

यसरी बन्दैछ सञ्चारग्राम

बिराटनगर उपमहानगरपालिको निशुल्क उपलव्ध गराएको ७ कठ्ठा जग्गामा सञ्चारग्राम निर्माण हुनेछ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले १८ महिनामा रेडियो नेपालले तयार पारेको योजना र नक्सा अनुसार सञ्चारग्राम निर्माण गरि हस्तान्तरण गरिने जानकारी दिए ।

sanchar garam 1८ करोड रूपैयाँको लागतमा निर्माण हुने सञ्चारग्राममा करिब ३ सयजना अट्ने हलका साथै पत्रकार सम्मलेन गर्ने बेग्लै कक्ष एवं रेडियो नेपालको प्रशारण स्टुडियो, गीत रेकर्डिङ, क्षेत्रीय संग्रालय तथा गीत संगीतका कार्यक्रमहरु सञ्चालन गर्ने कोठाहरु रहने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिए ।

यसका लागि रेडियो नेपालले पहिलो चरणमा यसअघि नै बिराटनगर उपमहानगरपालिकालाई ३ करोडको चेक हस्तान्तरण गरिसकेको कार्कीले जानकारी दिए ।

नेपालमा प्रजातन्त्रको स्थापनासँगै स्वर्गीय तारिणीप्रसाद कोइरालाले २००७ सालमा विराटनगरस्थित जुटमिलबाट प्रजातन्त्र रेडियोका नामबाट रेडियो प्रसारण प्रारम्भ गरेका थिए । सोही रेडियोलाई पछि नेपाल रेडियो हुँदै रेडियो नेपाल बनाइएको हो ।
उनै संस्थापकको सम्झनामा रेडियो नेपालले कोइरालाको स्मृतिमा सञ्चारग्राम निर्माण गर्न लागेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कार्यक्रममा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?