Comments Add Comment

यो हो स्कुले विद्यार्थीलाई दिइने सैन्य तालिम

सिकाइन्छ घोडचढीदेखि रक क्लाइम्बिङसम्म

Rastriya-Sewa-Dal,-Nepal-Army

२ असार, काठमाडौं । देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ । तर धेरैलाई थाहा छैन, नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ ।

परिआएको बेला राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तीले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्य लिएर २०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको हो । तालिम दिन गठन गरिएको सेनाको विभाग हो, राष्ट्रिय सेवा दल । यसले हरेक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिन्छ । हाल उपरथी डा. रमिन्द्र क्षेत्रीले राष्ट्रिय सेवा दलको नेतृत्व गरिरहेका छन् ।

स्थापनाकालमा राष्ट्रिय सेवा दलले प्रमाणपत्र तह अध्ययन गरिरहेका विद्यार्थीलाई सिनियर डिभिजन तालिम दिने गर्दथ्यो । त्यसको सात वर्षपछि सिनियर डिभिजन स्थगित गरेर ७ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिन थालियो गरियो । तर, ७० सालबाट फेरी उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि सिनियर डिभिजन तालिम सुरु भएको छ ।

यस्तो छ मापदण्ड

Rastriya-Sewa-Dal,-Nepal-Army-1

सिनियर डिभिजनमा तालिम लिन चाहनेहरुले प्लस टु पढिरहेको र उमेर कम्तिमा १६ वर्ष पुगेको हुनु पर्छ । केटाको उचाई कम्तिमा पाँच फिट र केटीको ४ फिट १० इन्च हुनु पर्ने प्रावधान छ ।

जुनियर डिभिजनका लागि माध्यमिक तहमा अध्ययनरत १४ वर्ष उमेर पुगेको हुनुपर्छ । केटाको उचाई कम्तिमा ५ फिट र केटीको ४ फिट १० इन्च हुनु पर्छ ।

यसरी हुन्छ छनोट

सुरुमा सेनाको स्थानीय इकाइले सम्बन्धित जिल्लाहरुमा तालिम दिन सकिने विद्यालयहरुको आन्तरिक रुपमा सर्भेक्षण गर्छन् । त्यसपछि सैनिक अधिकारीहरु छनोटमा परेका विद्यालयमा जान्छन् र विद्यालयका व्यवस्थापन, अविभावक र विद्यार्थी सबैलाई राखेर तालिमको बारेमा जानकारी गराउँछन् ।

त्यसपछि विद्यालय, अभिभावक र विद्यार्थी स्वयमले इच्छा देखाएमा तालिम दिइने राष्ट्रिय सेवादलका प्रमुख उपरथी क्षेत्री बताउँछन् ।

यस्तो हुन्छ तालिम

सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी तालिम दिने गरेको उपरथी क्षेत्रीको भनाई छ ।

Nepal Army Ratriya Sewa Dal Training (2)

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।

७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।

एक जनालाई ३० हजार लगानी

पछिल्लो दुई वर्षमा मात्रै ४ हजार जनाले राष्ट्रिय सेवादलको तालिम लिइसकेका छन् । आगामी दुई वर्षमा प्रत्येक वर्ष ७ हजार ५ सय जना युवालाई तालिम दिने योजना भएको उपरथी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार करिब ६ महिनाको तालिमपछि  पास गराउँदासम्म एक जनालाई ३० हजार लगानी हुन्छ ।

‘यो तालिमले युवाहरुलाई अनुशासित मात्रै बनाउँदैन, राष्ट्रप्रति समर्पित पनि बनाउँछ,’ क्षेत्रीले भने । यस्ता युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा पनि योगदान दिनसक्ने उनको भनाई छ ।

२२ हजार जनशक्ति उत्पादन गरिसकेको राष्ट्रिय सेवादलले आगामी साउनदेखि ६६ जिल्लामा तालिम सञ्चालन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment