+
+
Shares
:

विवादमा राष्ट्रिय कविता महोत्सव: अघिल्लो वर्षका विजेता भन्छन्, यसपालि झूर कविता प्रथम भयो

जोतारे धाइबा जोतारे धाइबा
२०७३ असार १६ गते १७:४३

Acadamy

‘कविताको पनि प्रतियोगिता हुन्छ र ?’

एकथरि कविहरु कविताका नाममा हुने विभिन्न प्रतियोगिता र महोत्सवको औचित्यमाथि नै प्रश्न गर्छन् । बलियो र कमजोर प्रतिष्पर्धी छुट्याउने कुस्ती वा दौड प्रतियोगिताजस्तो कवितामा बौद्धिकताको वैज्ञानिक परीक्षण सम्भव नहुने उनीहरूको तर्क हुन्छ ।

अर्कोथरि कविको राय हुन्छ – ‘युवा प्रतिभालाई प्रोत्साहित र स्थापित गर्न यस्ता महोत्सव आवश्यक छ ।’

कविहरूबीच सधैं चलिरहने यिनै तर्क-वितर्कबीच नेपाल प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि आफ्नो वाषिर्कोत्सवमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ । तर, एकेडेमीले गर्ने महोत्सव सधैं विवादको घेरामा पर्ने गरेको छ ।
यसपालि पनि महोत्सवमा पुरस्कृत कविताहरूबारे कविहरूबाटै तीतो पोखियो । महोत्सव भएको एक साता भइसकेको छ । तर, अझै पनि सामाजिक सञ्जालका भित्तामा एकेडेमीले गर्ने महोत्सवको आलोचना गर्ने क्रम जारी नै छ ।

कविता छनोटको विधि र आधार पारदर्शी नरहेको, राम्रा कविता मिल्काएर आफ्ना र भनसुन गरेकालाई पुरस्कृत गर्ने परिपाटी रहेको भन्दै कविहरू नै रुष्ट छन् ।

विवादको जरो 

Prollas Sindhuliya
प्रोल्लास सिन्धुलीय

गत वर्षको कविता महोत्सवमा कवि प्रोल्लास सिन्धुलीयको ‘गाउँको वृद्धालय’ शीर्षकको कविता पहिलो घोषित भयो । पुरस्कृत भएसँगै उनलाई बधाइको ओइरो लाग्न थाल्यो । बधाइसँगै मधुपर्क पत्रिकामा पहिले नै प्रकाशित उनको त्यो कवितालाई पुरस्कृत गरियो भनेर कविहरूबाटै विरोधका स्वर आए । अप्रकाशित कविता मात्र महोत्सवमा समेटिने प्रावधानलाई मिच्दै कवि सिन्धुलीयले अनैतिक काम गरेको भन्ने आरोप लाग्यो ।

तर, कविले असार ९ गते हुने महोत्सवका लागि पहिले कविता बुझाएर पछिमात्रै पत्रिकामा दिएको र महोत्सव ढीला भएकाले कविता पहिल्यै छापिन पुगेको तर्क अघि सारे । हुन पनि गत वर्ष भूकम्प र नाकाबन्दीका कारण कविता महोत्सव असारमा नभएर चैतमा सरेको थियो ।

गत वर्ष आफैं विवाद झेलेका प्रोल्लास यसपालि एकेडेमीको शैलीप्रति प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा कडा रुपमै उत्रिए । अत्यन्तै झुर कविता प्रथम भएको र राम्रा कविताहरुले कुनै स्थान नपाएको भनेर उनले स्टाटस लेखे । खासगरी यसपालि पहिलो बनेका मणिराज सिंहको कविता ‘लोकतन्त्रको अस्मिता’ बारे उनी आक्रामक बने ।

कविता महोत्सवको नतिजाप्रति यति धेरै तीतो किन त ? प्रोल्लास भन्छन्- ‘राजनीतिक दलको कोटा सिस्टमबाट निर्णायकहरु पठाइन्छ, उनीहरुले पार्टी निकट कविलाई च्याप्ने भएकाले राम्रो कविता पुरस्कृत होला भनेर आश गर्ने ठाउँ नै रहन्न ।’

राजनीतिक ट्याग लागेका निर्णायकहरुका कारण महोत्सवमा राम्रा कविहरुको सधैं बेइज्जत हुने गरेको सिन्धुलीयको ठहर छ ।
यसपालि कविताको छनोट समितिमा एकेडेमीका प्राज्ञ सभा सदस्यहरू हेमनाथ पौडेल, वियोगी बुढाथोकी, धु्रव मधिकर्मीका साथै प्राध्यापक केशव सुवेदी र कवि लक्ष्मी माली थिए ।

गत वर्ष भने दिनेश अधिकारी, पुरुषोत्तम सुवेदीजस्ता कविता बुझेका र कविता क्षेत्रकै व्यक्तिहरु निर्णायक मण्डलमा भएकाले आफू पुरस्कृत हुँदा नैतिक धरातलमा उभिन सकेको प्रोल्लासको दाबी छ ।

Srawan-Mukarung
श्रवण मुकारुङ

अधिकांश कविहरु एकेडेमीको मूल्याङ्कन परिपाटीमै विश्वास नभएर राम्रा र सक्रिय कविले भाग लिन छाडेको बताउँछन् ।

अप्रकाशित कविता बुझाएर मात्रै महोत्सवमा भिड्न पाउने नियम मिच्दा यसको शिकार बन्ने कवि हुन् श्रवण मुकारुङ । ०५० को दशकमा महोत्सवमा भिडेका श्रवण प्रथम घोषित भए । तर, पहिल्यै छापिइसकेको कविता बुझाएको पुष्टि भएपछि उनको पुरस्कार खोसियो ।

त्यसपछिको समयमा पनि कुनै न कुनै विवादले एकेडेमीको कविता महोत्सव डामिएकै छ । कहिले महोत्सव हुनुअघि नै पुरस्कृत कविहरूको सूची साहित्यिक वृत्तमा बाहिरियो । कहिले प्राज्ञहरु निकट फलानो व्यक्तिले पुरस्कार पाउँदैछ भन्ने बजार हल्ला ठ्याक्कै मिल्न गयो ।

कवि छान्ने अकविहरु !

प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवप्रति कवि मनु मञ्जिल पनि खिन्न छन् । यसपालिको महोत्सवमा पनि राम्रा कविताहरू छायामा परेको उनको अनुभव रह्यो ।

Manu Manjeel
मनु मञ्जिल

मनु भन्छन् -‘कविताको भित्री कुरा, त्यसमा प्रयोग गरिएको नयाँ भाषा र हर्कत कविलाई मात्र थाहा हुन्छ, तर एकेडेमीको महोत्सवमा कविता नबुझ्नेहरुबाट कविताको मूल्याङ्कन गराइन्छ भन्ने कुरा नतिजाहरूबाटै देखिंदै आएको छ । कविताको निर्णय कविहरुले गर्नुपर्छ । अरुले गर्दा भूल हुन्छ।’

एकेडेमी भने कविता बुझेकै मान्छेहरूलाई निणर्ायक राखेर कविताको चिरफार गर्ने गरेको दाबी गर्छ । एकेडेमीका काव्य विभाग प्रमुख अमर गिरी भन्छन् – ‘हामीले निर्णायक मण्डलमा विषय विज्ञहरूलाई राखेर मूल्यांकन गराएकाले कविता महोत्सवमा सही नतिजा आइरहेकोमा म विश्वस्त छु ।’

लेखकहरूको साझा संस्थाको प्रतिष्ठा अग्लो भएको हेर्न चाहे पनि त्यस्तो महसुस गर्न नपाएको मनु बताउँछन् । कुनै पनि प्रतियोगितामा पुरस्कृत हुने कविहरूमा उनले खोज्ने तत्वहरूको सूची आफ्नैखालका छन्ः

– लेखन र प्रकाशनमा सक्रिय
– सम्भावना भएको
– जीवनको अनुभव र अनुभूति भएको
– अध्ययनशील
– कविताबारे कम्तिमा दस हजार घन्टा घोत्लिएको ।

मनु सुनाउँछन् – ‘यी सबै कुरा ख्याल गरेर कविता छनोट गर्नुपर्छ । त्यस्तो कविमा पो विश्वास गर्न सकिन्छ । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएर राष्ट्रपतिको हातबाट पदक थाप्ने कवि चानचुने कवि कहाँ हुन् र !’

नयाँ समयमा पुरानै ताल 

पञ्चायत कालमा राजाले कुनै शीर्षक दिएपछि त्यसअन्तर्गत कविता रचेर महोत्सवमा कविहरू भाग लिन्थे । गणतन्त्र आउनु अघिसम्म पनि एकेडेमीको नाम नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान थियो । पुरस्कृत हुनेहरूले राजाबाटै पदक थाप्थे ।

swapnil smiriti
स्वप्निल स्मृति

लोकतन्त्र पुनःस्थापनापछि भने त्यो सिलसिला तोडिएर कविहरूले खुला विषयमा कविता लेख्न सक्ने भए । पदक दिने हात राष्ट्रपतिको भयो । तर, कविहरूले कुनै परिवर्तन महसुस गर्न सकेका छैनन् । ०६० सालमा महोत्सवमा भाग लिएका कवि स्वप्निल स्मृतिले त्यसपछि खासै जाँगर चलाएनन् । उनी भन्छन् – ‘एकेडेमीले तोकेको राष्ट्रियताको मापदण्ड र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले परिकल्पना गरेको राष्ट्रियता मेल खाँदैन । त्यसैले मलाई भाग लिन मन पर्दैन ।’

तर, उनी हरेक वर्ष महोत्समा अरुका कविता सुन्न प्रज्ञा प्रतिष्ठानको सभा हल छिर्छन् । नेपाली कविहरु चेतनाको कुन स्तरमा छन् भनेर परख गर्छन् । त्यसरी कविता सुन्दा कहिले त रमाउँछन्, कहिले भने बिजोग कविताहरु मात्रै सुन्नुपर्दा दुःखी बन्छन् । महोत्सवमा सुनाइने कविताबारे उनी कटाक्ष गर्छन् – ‘पञ्चायतले तयार गरिदिएको राष्ट्रवादको सफ्टवेयरमा शब्द भर्‍यो, त्यसैलाई कविता भन्यो वाचन गर्‍यो ।’  प्रतियोगिताका लागि लेखिएका कविताहरुमा खास कविता नै भेट्दैनन् उनी । कृत्रिम शब्दको थुप्रो मात्रै !

कविता महोत्सव जस्तो राष्ट्रिय स्तरको पुरस्कारमा पुरस्कारको राशी भने निकै कम रहेको भनेर नमज्जा मान्ने कविहरू पनि छन् । महोत्सवको आकर्षण र भव्यता रहने गरी पुरस्कार रकम बढाउनुपर्ने उनीहरूको सुझाव छ ।

कविता महोत्सवमा प्रथम हुनेले २० हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँ पाउँछन् । यस्तै तेस्रो हुने तीन जनालाई १०-१० हजार रुपैयाँ दिइन्छ ।

सूचना-प्रविधिको समयमा एकेडेमीले कविता छनोटमा प्रविधिको उपयोग गर्नुपर्ने सुझाव दिनेहरू पनि छन् । अनलाइन भोटिङ र सामाजिक सञ्जालको जनमतबाट पनि शक्तिशाली कविता चयन गर्न सकिने सुझाव आउने गरेको छ ।

भिडेको भिड्यै

पछिल्ला वर्ष निरन्तर एकेडेमीको प्रतियोगितामा भाग लिरहेका कवि हुन् असीम सागर । कविता वाचन गर्ने दिन कविताप्रेमी र कविहरुबाट वाह-वाह पनि पाएकै हुन् । तर, लगातार पाँच वर्षसम्म महोत्सवको दिन श्रोताहरुबाट प्रशंसा सुनेर उनी सधैं रित्तो हात घर फर्किए । यसपालि छैटौं वर्षमा भने उनी बल्ल पुरस्कृत भए – तृतीय स्थानमा । यसअघिका पाँच वर्ष भिडिरहे, हरेश नखाई । धेरैले उनको धैर्य र आत्मविश्वासको तारिफ गरे ।

अर्कातिर कविता महोत्सवमा भिडिरहने र आफू पुरस्कृत नभएपछि एकेडेमीलाई अन्धाधुन्ध गाली गर्ने कविहरू पनि छन् । यी कविहरुले फेसबुकमा पोखेको गालीलाई संयमित गराउने गरी शुभेच्छुक कवि र पाठकहरुले थुमथुम्याउने गरेका छन् । एकजनाले लेखेका छन्, ‘प्रज्ञालाई गाली पनि गर्ने र उसैको पुरस्कार थाप्न पनि लालायित हुने, हामी कवि पनि कस्ता ! कि त महोत्सव नै बहिस्कार गरौं, कि त यो पारा भएन भनेर उसैको सामुन्ने आवाज बुलन्द पारौं ।’

सुनेका भरमा कविताको मूल्यांकन हुँदैन, निर्णायकहरु योग्य छन्
अमर गिरी, काव्य विभाग प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठान

amar-giri
अमर गिरी

एकेडेमीको कविता महोत्सवमा हरेक वर्ष विवाद हुन्छ ? किन ?

जतिसुकै राम्रो गरे पनि विवाद आइरहन्छ । म एकेडेमीमा आएपछि तीनवटा महोत्सव भइसक्यो । विवाद गर्ने हाम्रो समाजको प्रवृत्ति नै हो कि भन्ने लाग्छ ।

यसपालिको विवादमा तपाईंको धारणा के हो ?

सही मान्छे र कवितालाई पुरस्कृत गरिएन भन्ने कुरा आयो । खासगरी प्रथम बनाइएका मणिराज सिंहको कविताबारे असन्तुष्टिका आवाज सुनिए । तर स्तरीय कवितालाई नै पुरस्कृत गरेको हो भन्ने मेरो दाबी छ । मणिराजका कवितामा परिवर्तनको मर्म र स्वर छ । अन्य पुरस्कृत कवितामा पनि सामाजिक सरोकारका विषय र सामान्य यथार्थ छन् ।

महोत्सवमा कविता छनोट गर्ने विधि र आधार चाहिं के-के हुन् ?

रूप र अन्तर्वस्तु मुख्य दुई आधार मानिएको छ । रुप भन्नाले कस्तो विम्ब, भाषा र शैली प्रयोग गरिएको भनेर हेरिन्छ । अन्तर्वस्तु भन्नाले कवितामा विषयवस्तु र भाव कस्तो छ भन्ने पाटोलाई मूल्याङ्कन गरिन्छ । यस क्रममा रूप पक्षलाई ४० अंक र अन्तर्वस्तुलाई ६० अंकभार राखेर नम्बर दिइन्छ ।

मूल्याङ्कनका क्रममा निष्पक्ष होस् भन्ने ध्यानमा राख्दै कविको नाम, ठेगाना, फोन नम्बर र फोटो छोपेर निणर्ायक मण्डललाई कविता जाँच्न लगाइन्छ । त्यसपछि आउने नतिजालाई प्राज्ञ परिषद्को बैठकले अनुमोदन गर्छ । कविता वाचन चाहिँ औपचारिक कार्यक्रम मात्रै हो । वाचनअघि नै पुरस्कृत कविताको टंगो लागिसकेको हुन्छ ।

यसपटक महोत्सवका लागि तीन सय ३३ वटा कविता प्राप्त भएका थिए । वाचनका लागि ४५ वटा कविता छानिएका थिए । त्यसमध्ये पनि ३२ वटा उत्कृष्ट ठहर गरेर त्यसबाट टप टेन छानियो । टप टेनबाट पाँच वटा कवितालाई पुरस्कृत गरिएको हो ।

तर, कविताको मूल्यांकन गर्ने निणर्ायक मण्डल कुन स्तरको भनेर प्रश्न उठिरहन्छ नि ?

त्यो निराधार आरोप हो । एकेडेमीले विषय विज्ञहरूलाई निर्णायक मण्डलमा राखेर मूल्यांकन गराउँछ । उहाँहरुको विज्ञतामा हामी ढुक्क छौं ।

कविता वाचनमा बहुसंख्यक श्रोताहरूले ताली बजाउने र निर्णायकहरूबाट उत्कृष्ट भनेर पुरस्कृत हुने कविता किन सँधै फरक हुन्छन् ?

त्यसो हुनु अस्वाभाविक हैन । मान्छेहरूको सौन्दर्यबोध त फरक-फरक हुन्छ । निणर्ायकहरूले गम्भीर पठन गरेर कविताको रूप र अन्तर्वस्तु समग्रमा मूल्यांकन गर्नुपर्छ । यत्तिकै सतही रुपमा हैन । वाचन सुनेर श्रोतालाई तत्काल कविताको प्रभाव पर्न सक्छ । तर, सुनेर मात्र मूल्याङ्कन हुँदैन ।

राष्ट्रिय स्तरको प्रतियोगितामा कविहरूको सहभागिता त्यति उत्साहजनक देखिंदैन । राम्रा लेख्ने भनेर चिनिएका कविहरू त झन् भाग नै लिंदैनन् । कारण के हो ?

सहभागी कविको संख्या धेरै नभएको र राम्रा कविहरू पनि नआएको सही हो । पछिल्लो समयमा कविता प्रकाशन हुने, वाचन हुने मञ्चहरूको कमी छैन । यसैले पनि कविहरूले प्रतियोगितामा भाग लिइरहन आवश्यक नमानेका हुन सक्छन् । धेरै कविहरूमा आफ्नो हिसाबमा सक्रियतापूर्वक लेखिरहेकै छौं, पुरस्कारकै लागि किन भाग लिइरहनु भन्ने मानसिकता पनि होला । अर्कातिर महोत्सवबारे नकारात्मक टीका-टिप्पणी फैलिएकाले पनि यसप्रति वितृष्णा बढेको छ । नकारात्मक मनस्थिति चिर्नुपर्ने चुनौती छ ।

यो महोत्सव एकेडेमीको कर्मकाण्डीय काम जस्तो मात्र भयो भनेर टिप्पणी गर्नेहरू धेरै छन् । पञ्चायतकालीन महोत्सवभन्दा के फरक छ गणतान्त्रिक समयको एकेडेमीको महोत्सव ?

म प्राज्ञ भएर एकेडेमी आएको तीन वर्ष भयो । यो तीन वर्षको कविता महोत्सवमा केही फरक गर्ने प्रयास पक्कै भएको छ । कविता महोत्सवको अघिल्लो दिन काव्य विमर्श गरिन्छ । त्यसमा कविताबारे परिचर्चा, कार्यपत्र प्रस्तुत गरिन्छ । यसमा नेपाली कविताको फरक स्वर र परिवर्तित अवस्थामा कविताले हिँड्नुपर्ने बाटोबारे छलफल हुँदै आएको छ ।

लेखकहरूको साझा संस्था हो एकेडेमी । हामीले प्रयास गर्दागर्दै पनि सोचेअनुसार काम गर्न नसकेका हौंला । एकेडेमीले यो र त्यो गरेन भनेर आलोचना मात्र गर्नुभन्दा के गर्दा राम्रो हुन्छ भनेर सबैबाट रचनात्मक सुझाव आओस् भन्ने हामी चाहन्छौं । कविता महोत्सवलाई प्रतियोगितात्मक गर्ने कि नगर्ने ? कविता विमर्श मात्र गर्ने कि ? क्षेत्रीय स्तरमा बहसका कार्यक्रम चलाउने हो कि ? परिवर्तनको मर्मअनुसार अघि बढाउनुपर्छ एकेडेमीलाई । सुधारका लागि हामी तयार छौं ।

राष्ट्रिय कविता महोत्सव ०७३ मा प्रथम भएको कविताः

लोकतन्त्रको अस्मिता
·मणिराज सिंह

maniraj
मणिराज सिंह

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन।

शब्दहरू नबुझिनेगरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पड र नलीहाड
ब्युँतिनेछन् पुर्खाहरू मसान भत्काउँदै
नदीहरू उफ्रँदै
घुघुती-बासुती गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य-चन्द्र अङ्कित अटल झन्डामा
टल्काउँदै खुकुरीको धार
चट्याङहरू
खेती गर्न तम्सनेछन्
आस्था र विचारको।

एक टुक्रो भोकसित
नुन-खोर्सानी टोक्दै
मुर्कुटा भुइँचालो
आँखामा बास माग्दै हिँडेका सपनाहरू
काटकुट पारेर
जूनको सितनसित
तारेर खानेछ नयाँ बिहानी
उलटोबाट कखरा घोकाइनेछ बबुराहरूलाई
टाउको खाने निहुँमा
पटक-पटक सुत्केरी हुनेछ बैंसालु घाम
घाइते सम्भावना बोकेर
विरोध जुलुस निस्कनेछ हाँसहरूको
भालेहरू बास्दै हिँड्नेछन् मध्याह्नमै
सिउर उचालेर
त्यसबखत,
भूत र वर्तमान च्यापेर
नापिरहनेछ समय
लोकतन्त्रको अस्मिता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?