Comments Add Comment

मौद्रिक नीतिमार्फत् लघुवित्त संस्थाको चुक्ता पुँजी बढाइँदै

Nrb-810१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुको चुक्ता पुँजी बढाउने भएको छ ।

मौद्रिक नीतिअघि नै लघुवित्तको चुक्ता पुँजी बढाउने तयारी गरिएको भएपनि कति बढाउने भनेर अझैसम्म टुंगो लाग्न नसक्दा मौद्रिक बैंकले अन्तत मौद्रिक नीतिमार्फत नै बढाउने भएको हो ।

राष्ट्र बैंक स्रोतहरुका अनुसार लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी अहिले भएको भन्दा कम्तीमा २ गुणादेखि बढीमा ४ गुणासम्म बढाउने तयारी छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति असार अन्तिममा सार्वजानिक गर्ने जनाएको छ ।

चुक्ता पुँजी वृद्धिको हल्लाले लघुवित्त कम्पनीहरुको सेयरमूल्य अत्यधिक बढेको छ ।

हाल १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको १ करोड, ३ देखि १० जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको २ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

त्यसैगरी, एक विकास क्षेत्रलाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएका संस्थाहरुको ६ करोड र राष्ट्रियस्तरका लघुवित्त संस्थाहरुको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा लघुवित्तको चुक्ता पुँजी बढाउनेबारे प्रारम्भिक छलफल भइसकेको तर कति बढाउने भन्ने बारे भने हप्तादिन भत्रि टुंगो लाग्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘यति नै बढ्ला भनेर अहिले नै ठ्याक्कै भन्न त सकिँदैन तर कम्तीमा दुई देखि बढीमा चार गुणासम्मले बढ्नसक्छ,’ ती अधिकारीले भने ।

चुक्ता पुँजी वृद्धिको हल्लाले लघुवित्त कम्पनीहरुको सेयरमूल्य अत्यधिक बढेको छ । चुक्ता पुँजी बढाउनुपर्ने दबाबमा कम्पनीहरुले अधिकतम बोनस र हकप्रद सेयर दिने आशामा लगानीकर्ताहरु लघुवित्तको सेयरमा आकषिर्त भएका हुन् ।

राष्ट्र बैंकभित्र कार्यक्षेत्रका आधारमा चुक्ता पुँजी बढाउने बारे पनि छलफल गरेको छ । जसअनुसार राष्ट्रियस्तरकालाई धेरै र सानालाई कम बढाउने नीति पनि लिन सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको चुक्ता पुँजी ०७४ असार मसान्तसम्ममा ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने घोषणा गरेको थियो । मौद्रिक नीतिमा लघुवित्त कम्पनीहरुको पनि चुक्ता पुँजी बढाइने कुरा उल्लेख थियो ।

लघुवित्त संघ भन्छ- अढाई गुणामात्रै बढाउ

लघुवित्त कम्पनी संघले राष्ट्र बैंकलाई अढाई गुणासम्ममात्रै चुक्ता पुँजीब ढाउन सुझाब दिएको छ । संघले राष्ट्र बैंकलाई नयाँ मौद्रिक नीतिका लागि ८ बुँदे सुझाब दिइसकेको संघका अध्यक्ष धर्मराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

‘पुराना र ठूलो कम्पनीहरुको चुक्ता पुँजी चार/पाँच गुणासम्म बढाए पनि खासै असर पर्दैन तर नयाँ र साना कम्पनीलाई भने समस्या पर्छ’ अध्यक्ष पाण्डेले भने- ‘त्यसैले कसैलाई पनि मर्का नपर्ने गरी अढाई गुणाले पुँजी बढाउनुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाब दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment