+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

वन्यजन्तु अपराधको केन्द्र बन्दैछ काठमाडौं

बहसमा अखेटोपहारः नष्ट गर्ने कि 'जेनेटिक लाइब्रेरी'मा राख्ने ?

विश्वनाथ रिजाल विश्वनाथ रिजाल
२०७३ असार २४ गते १४:०९

wild life (1)

राजधानीबाट विभिन्न समयमा बरामद भएका वन्यजन्तुका अखेटोपहारबाट काठमाण्डौं उपत्यका वन्यजन्तुको ओसार-पसार तथा वन्यजन्तु अपराध कार्यमा एक प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गरेको तथ्यलाई पुष्टि गर्दछ ।

जिल्ला वन कार्यालय काठमाडौंमा विगत आठ वर्षको अवधिमा वन्यजन्तु अपराधसँग सम्बन्धित मुद्दाको सख्यां हेर्दा सबैभन्दा बढी चराचुरुङ्गी-४७२ बरामद भएको छ । यसमा दुर्लभ मकाउ सुगा पनि छन् । यी चराचुरुङ्गीहरु विशेष गरी भारतीय नागरिकहरुबाट पिँजडामा राखी विक्री वितरण गरिरहेको अवस्थामा बरामद भएका छन् ।

चराचुरुङ्गीपछि सबैभन्दा बढी संख्यामा चितुवा ५०, रेडपाण्डा ३१, गैंडा १४, सालक १३, भालु १२, बाघ ८, कस्तुरी मृग ७, वन विरालो ६ र हात्ती ५ वटाका आखेटोपहार बरामद भएको देखिन्छ ।

विगत ८ वर्षको दौरान जम्मा ४०५ जना व्यक्तिहरु वन्यजन्तु अपराधमा संलग्न रहेकामा नेपालीहरुको संख्या ३ सय ८२ र बाँकी विदेशीहरु संलग्न देखिन्छन् । वन्यजन्तु अपराधमा महिला ६ प्रतिशत र पुरुष ९४ प्रतिशतको संलग्नता रहेको देखिन्छ ।

नेपाली बाहेक सबैभन्दा बढी भारतीयहरु नेपालमा हुने वन्यजन्तु अपराधमा संलग्न रहेको देखिन्छ । काठमाण्डौंमा दायर भएका वन्यजन्तु अपराधमा नेपाल बाहेक बाहृय मुलुकका नागरिकको संलग्नता पनि रहेको देखिन्छ । विदेशीहरुमा भारत, चीन, अरब र पाकिस्तान, अमेरिकन, कम्बोडियन, मलेसियन तथा भियतनाम मूलका नागरिकहरु संलग्न रहेको देखाएको छ ।

नेपाली नागरिकहरुमा सबैभन्दा बढीे नुवाकोट जिल्लाका संलग्न छन् । त्यसैगरी काठमाण्डौं, धादिङ्ग र काभ्रे अनि काठमाण्डौं जिल्लासँग सीमाना जोडिएका अन्य जिल्लाका बासिन्दाहरुको पनि संलग्नता देखिन्छ ।

जातका आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी जनजातिहरु ६० प्रतिशत, ब्राहृमण/क्षेत्री २९ प्रतिशत, दलित ३ प्रतिशत, मधेसी २ प्रतिशत र बाकीँ अन्य ६ प्रतिशतको संख्यामा अपराधमा संलग्नता रहेको पाइन्छ ।

Bishwanath-Rijalउमेर समूह हेर्दा सबैभन्दा बढी २६ देखि ४० वर्षका व्यक्तिहरुको संलग्नता पाइन्छ । हुन त ७२ वर्षका वृद्धको पनि संलग्नता देखिएको छ ।
आर्थिक वर्ष ०६४/०६५ देखि ०७१/०७२ सम्म जिल्ला वन कार्यालय काठमाण्डौंमा दायर भएका वन्यजन्तु अपराधका मुद्दाहरुको संख्या क्रमशः ८ देखि ३९ सम्म छ । सर्सती हेर्दा आ.व. ०६६/०६७ देखि ०७१/७२ सम्म मुद्दाको संख्या बढ्दो क्रममा रहेको पाइन्छ ।

जिल्ला वन कार्यालय काठमाण्डौं, महानगरीय प्रहरी परिसर काठमाण्डौं, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत अन्य सरोकारवालाहरुबाट भइरहेको वन्यजन्तु अपराध नियन्त्रणका प्रयासहरुका बाबजुद पनि वन्यजन्तु अपराधका मुद्दाहरुमा कमी नआउनाले समग्र निकायहरुको समन्वयात्मक थप प्रयास हुनु जरुरी देखिन्छ ।

वन्यजन्तु अपराध न्यूनीकरणमा भइरहेको सहकार्यलाई निरन्तरता दिँदै यस्ता किसिमका अपराधमा संलग्न रहेकाहरुलाई कानूनी दायरामा ल्याउने तथा त्यस्ता व्यक्तिहरुलाई जनचेतना एवम् परामर्शद्वारा देश विकासको रचनात्मक कार्यमा संलग्न गराउन आवश्यक देखिन्छ ।
छोटो समयमा धेरै आर्थिक लाभ आर्जन गर्ने आशामा कतिपय व्यक्तिहरु वन्यजन्तु अपराधमा संलग्न रहेको पाइएको छ । आर्थिक अवस्था नाजुक भएकाले जस्तोसुकै खतराको सामना गरेर पनि वन्यजन्तु अपराधमा संलग्न भएको देखिन्छ ।

साथै, कतिपय अवस्थामा, वन्यजन्तुका आखेटोपहार ओसार-पसार अवैध हो भन्ने थाहा नपाइकन नै वन्यजन्तु अपराधमा संलग्नहरु पनि पाइन्छ । यसैले नेपाल भ्रमणमा आएका विदेशीहरुलाई ‘डिक्लेरेशन कार्ड’ भर्ने बेलामा वन्यजन्तु अपराधबारे सन्देश दिन उत्तिकै आवश्यक छ ।

त्यसैगरी वन्यजन्तु अपराधमा आरोपितहरुले दिएको वयानलाई अध्ययन गर्दा अपराध गर्ने भन्दा पनि अपराध गराउनेहरुको सञ्जाल भयावह देखिन्छ । अपराधिक क्रियाकलाप गर्ने मुख्य योजनाकार दुरदराजमा सुरक्षित रहेको अवस्था एकातिर छन् भने अर्कातिर अवैध सम्पत्ति आर्जन गरी समाजमा प्रतिष्ठाको आडम्बरी देखाउनेहरुले सोझा साझा, गरीब अझ महारोगी (हेपाटाइटिस ) एवंम नाबालक, महिला, वृद्धहरुलाई सलंग्न गराएको तीतो यर्थाथता छ ।

प्रकृतिमा गिद्ध, हुँडार जस्त जीवले मरेका सिनो खानुपर्ने पारिस्थितिक प्रणालीमा सिनोको व्यापार गरेर प्रतिष्ठा कमाउनेहरु धार्मिक एवंम कानुनी दृष्टिकोणले क्षमावान छैनन् भने अर्कोतिर यस्ता वन्यजन्तु अपराध गराउने र मुद्दा मामिलाको विषय वनाएर अवैध कारोबारमा सलंग्नहरुको जालो झनै अपराधमा मलजल वनेको कुरालाई नकार्न सकिन्न ।

पछिल्लोपटक राजधानीमा ठूलो संख्यामा जीवित कछुवा र चराचुरुङ्गीको अवैध व्यापार गर्न पल्किएका भारतीय नागरिक मोहमद उसामनको मुद्दाको अनुसन्धान गर्न खटिएका अनुसन्धान अधिकारी टेकप्रसाद आचार्यले विद्यमान ऐन, कानून, मुलुकी ऐन एवंम प्राकृतिक न्याय सिद्धान्तलाई विश्लेषण गरी सरकारीवादी मुद्दालाई विजय गराउन गर्नु भएको अनुसन्धान जिल्ला वन कार्यालय काठमाडौंमा वन्यजन्तु अपराधलाई निरुत्साहित गर्न एक कोशेढुङ्गा देखिएको छ । त्यसैले यस्ता जघन्य अपराधलाई सही ढङ्गले निरुत्साहित गर्न योग्य सक्षम कर्मचारीहरुको आवश्यकता एवंम उनीहरुलाई सरकारी तवरबाट पुरस्कृत गर्न अपरिहार्य छ ।

नेपाली समाजमा पुस्तौंदेखि पुराना वन्यजन्तुको सामान प्रयोग हुँदै आएकोमा ती सामानहरुको आवश्यक प्रमाण लिने वा कानूनी सुरक्षा प्राप्त गर्न सरकारी निकायले राष्ट्रिय स्तरमा पहल गर्न उत्तिकै आवश्यक छ । वन्यजन्तु अपराधलाई निरुत्साहित गर्न वन्यजन्तु अपराध व्युरोको मातहतमा विभिन्न सरोकारवाला निकायहरु छन् ।

यी निकायहरुले एक अर्कालाई दोष थुपार्ने भन्दा समन्वयात्मक ढङगले अघि बढ्ने र आˆना मातहतमा विभिन्न चरणका अपराध नियन्त्रणका लागि अन्य गैर सरकारी, अनुसन्धानकर्ता, समाजका व्यक्ति, स्थानीय स्तरको युवा, विद्यार्थी आदिको सञ्जाल निर्माण गर्न कन्जुस्याइँ गर्न हुँदैन ।

wild life (2)

जिल्ला वन कार्यालय काठमाडौंले वि.स. ०६२ सालदेखि थुपि्रएका वन्यजन्तुका आखेटोपहारलाई सशस्त्र वन रंक्षक तालिम केन्द्र, टिकौली, चितवनमा भण्डारणका लागि असार १३ गते चलान गरिएको थियो, जस्ामा चितुवाको छाला ४७, ध्वाँसे चितुवाको छाला-४, चरी बाघको छाला १, बाघको छाला ७, रेडपाण्डाको छाला ४७, उड्ने लोख्ा्रकेको छाला १, सालकको छाला २, सालकको खपटा ३१ केजी, कस्तुरीको विना थान १०, भालुको पित्त ६, समुन्द्री घोडा २२ केजी, हात्तीको पुच्छरको रौं ६३९ वटा, हात्तीको दाराबाट बनेको ६४ वटा दाना, अजिङ्गरिको छाला २, बाघको छालासहित अन्य वन्यजन्तुको आखेटोपहार भरिएको बाकस ५, गैंडाको नक्कली भनिएको खाग १२ र यसका अतिरिक्त प्रकृतिका दुर्लभ एवंम सकंटपन्न अवस्थामा रहेका चिरु, याक, हिउँ चितवा, गैडाको खुरलगायतका २१ वटा आखेटोपहारहरु थिए ।

‘जेनेटिक लाइब्रेरी’ को बहस

राष्ट्रिय प्रकृति संरक्षण कोषले ‘जेनेटिक लाइब्रेरी’को लागि तयारी गरिरहेको छ । यस्तो लाइब्रेरीका लागि आवश्यक जीवको नमूना लिएपश्चात वन्यजन्तु जीवित हुँदा मात्र अमूल्य हुन्, मरेपछि मूल्यहीन हुन् भन्ने सन्देश दिन नष्ट गरिने प्रकृया अघि बढिरहेको छ । तर, मृत जीवको संग्रहालय खोल्न विभिन्न निकायले यी आखेटोपहार माग गर्न थालेका छन् ।

यसअनुसार पूर्वाञ्चलको बिराटनगरमा मृतजीवको संग्रहालय खोल्ने पहल भएको छ । प्रकृतिका यी अनुपम सम्पत्ति कसका कारण, कहिले नष्ट भए भन्ने विवरणका साथै त्यस्ता व्यक्तिले पाएको सजायँको विवरणसहित संग्राहालयमा राख्ने व्यवस्था गरिए पक्कै पनि संरक्षणको क्षेत्रमा टेवा पुग्ने देखिन्छ ।

अर्कोतिर देशभरिबाट जम्मा हुने त्यस्ता मृत जीवहरु नष्ट गर्ने दिन कम्तिमा त्यस क्षेत्र वरिपरिका शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारी, सम्बधित विज्ञ एवं पत्रकारहरुको उपस्थितिमा राष्ट्रिय, अन्तराष्ट्रिय समाचार बनाएर नष्ट गरिने कार्यक्रम बनेमा पक्कै पनि संरक्षणका लागि थप सन्देश प्रवाह हुने थियो ।

वन्यजन्तु अपराध एक विश्वव्यापी समस्याको रुपमा रहेको छ र यसैले विश्वव्यापी रुपमा दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु लोप हुदै गएको छन् । वन्यजन्तुका अङ्ग-प्रत्यङ्गबाट बनाइने परम्परागत औषधी तथा सौन्दर्य-श्रृङ्गारका साधनको लागि अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र मागका कारणले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुका वन्यजन्तुमा ठूलो प्रभाव परेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?