Comments Add Comment

अलैचीका विरुवा बेचेर लाखौं कमाइ

alaichi२५ असार, ताप्लेजुङ । ३७ वर्षसम्म शिक्षण पेशामा रहँदा ताप्लेजुङ हाङ्पाङका जनार्दन प्रसाईले एक लाख रुपैयाँ नगद कहिलै समाउन पाएनन् । तलबले जीवन गुजार्दै आएका प्रसाईको मन शिक्षण पेशा छाडेर अलैची खेतीमा मोडियो र अहिले अलैचीको विरुवानै बेचेर एकै सिजनमा सात लाख बढी नगद हात पारी सकेका छन् ।

२०५८ सालमा जागिर बाट बाहिरिएपछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी सुरु गरि यो वर्षबाट प्रसाईले धमाधम अलैचीको बिरुवा विक्री गरिरहेका छन् ।

पछिल्लो समय अलैचीको फल बिक्रीबाट राम्रो आमदानी लिन थालेका कृषकहरुले धान खेती मासेर अलैची लगाउन थालेकाले विरुवाको माग समेत बढेको प्रसाई बताउछन् । प्रसाईले उत्पादन गरेको विरुवा ताप्लेजुङ, पाँचथर, तेह्रथुम मात्र नभई सिन्धुपाल्चोक सम्म पुगेको छ । सिन्धुपाल्चोक मेलम्चीका रमेश ढुंगानाले यो वर्ष एकै पटक ८५ हजार विरुवा लगेको प्रसाईले बताए ।

ढुंगानाबाट एकै पटक चार लाख २५ हजार पाउँदा प्रसाईले गौरब लागेको सुनाए । उनले भने ‘३७ वर्षसम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख समात्न पाएको थिईन, तर नर्सरी गरेर विरुवा बेच्दा मोटो रकम समात्न पाए गौरव लाग्यो’ प्रसाईले भने ‘कृषि पेशालाई बुझि मिहेनत गर्न सके पैसा कमाउन अरु विकल्प सोच्नु नपर्ने रहेछ ।’

गाउँघरमा प्रति गोटा १० देखि १५ रुपैयाँका दरले बिक्री वितरण हुँदै आएको अलैचीको विरुवा प्रसाईले ५ रुपैयाँका दरलेनै बिक्री गरिहेका छन् । धेरै विरुवा खरिद गर्नेलाई ५ रुपैयाँका दरलेनै दिएको र थोरै मात्रामा लैजानेलाई ८ रुपैयाँसम्ममा विक्री गरको उनले बताएका छन् । केही विरुवा गाउँमा विक्री भएको र अव बाँकी रहेको करिव १५ हजार विरुवा जिल्ला कृषि विकास कार्यलयले खरिद गरेको उनको भनाइ छ ।

बिरुवा उत्पादन तथा बिक्री गरेर जम्मा भएको पैसा घर खर्च र समाज सेवामानै लगानि गर्ने बताउदै आएका प्रसाईले २०५८ साल देखिनै स्थानीय सरस्वती उच्च माविको बाल कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई दैनिक खाजा खुवाउदै आएका छन् । केही रकम त्यँही खाजा खुवाउने कार्यमा खर्च गर्ने र बाँकी रहेको रकमले त्यही विद्यालयमा छात्रवृत्ति अक्षयकोष निर्माण गर्ने प्रसाईले बताए ।

नर्सरी गरेर अलैचीको विरुवा उत्पादन गर्न कम्तिमा ३२ महिना लाग्ने साथै यो झन्जटीलो भए पनि मेहनत गरे राम्रै आमदानी लिन सकिने प्रसाईको बुझाइ रहेको छ । उमेरले ६० वर्ष नाघेका प्रसाईले अवको ५ वर्षसम्म नसरी गर्नमै समय खर्च गर्ने सोच बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment