Comments Add Comment

पप स्टारको प्रश्नः मेरा गीत मिडियामा किन बज्दैनन् ?

nabin

एक जमानाको पप स्टार हरायो भन्नेहरूलाई नवीन के भट्टराई कुनै जवाफ दिँदैनन् । हराउनलाई उनले बाटो बिराएका छैनन् । साढे दुई दशकदेखि निरन्तर संगीतमै सक्रिय छन् । एकपछि अर्को गीत गाइरहेकै छन् ।

अहिले चलनचल्तीमा भए जस्तो फुत्त सिंगल गीत बजारमा फालेर तत्काल चर्चा बटुल्न तम्सने भिडमा पनि छैनन् । समय लगाएर, साधना गरेर पहिले जसरी एल्बम नै निकाल्ने गरेका छन् । पछिल्लो समय दुई वर्षअघि छोराको नामबाट ‘श्लोक’ एल्बम ल्याए । यो उनको बाह्रौं एल्बम थियो ।

एल्बम भनेको गायकको निश्चित समयको परिवर्तन र विविधता झल्किने आत्मकथा हो भन्ने लाग्छ उनलाई । त्यसमा कलाकारको संवेदना पनि बुझिन्छ । यसैले उनले दुई-तीन वर्षको अन्तराल राख्दै एल्बमकै प्याकेज पस्किने गरेका छन् ।
तर निरन्तर संगीतमा काम गरिरहे पनि नवीन पछिल्लो समय कतै छोपिएका छन् ।

त्यसो त कुनै पनि चिजको एउटा समय हुन्छ । कलाकारको करिअरले पनि निश्चित आयु बोक्छ । ५० को दशकदेखि नेपाली पप संगीतमा उपस्थिति देखाएका नवीन के ले लामो समय राज गरे । पप संगीतलाई लोकप्रियताको उँचाइमा पुर्‍याउन उनको विशेष योगदान रहृयो । त्यसपछि नयाँ समय र प्रविधिसँगै फरक अनुहार र स्वरहरू आए ।

यति हुँदा पनि उनी किनाराका साक्षी बनिरहेका छैनन् । भन्छन् – ‘आनन्द आउँदासम्म र श्रोताले रुचाउन्जेल संगीत गरिरहन्छु । कुनै प्रतिस्पर्धामा नलागी आनन्दका लागि आफ्नै सुरमा लागिरहेको छु ।’

००००

नवीन के आफूलाई तीन पुस्ताको गायक मान्छन् । पुरानो पुस्ताले पनि उनको गीत सुनेको थियो । एउटा पुस्ता त उनको गीत सुनेरै हुर्कियो । त्यो पुस्ताको सन्तान पनि अहिले गीत-संगीतमा झुम्ने गरी हुर्किसकेको छ ।

नवीनकै गीतबाट नेपाली गीत-संगीत सुन्न थाल्ने युवा पनि छन् ।

मान्छेहरूले उनको गायन यात्रालाई गम्भीर रुपमा लिनुमा उनले गरेको साधनाकै हात छ । तर, सुरुवाती समयमा उनले रहरैरहरमा आफ्नो सांगीतिक पाइला चालेका थिए ।

कलेज पढ्ने बेला उनको पाँच सदस्यीय ब्यान्ड थियो ‘द स्टिल ह्विल्स’ । ब्यान्डबाटै पहिलो गीत ‘जिन्दगी बगेको खोला’ एनालग प्रविधिबाट रेकर्ड गरे । गीत रेकर्ड गराएका थिए धापासीमा रहेको गोपाल योञ्जनको स्टुडियोमा । सम्झिन्छन् – ‘गोपाल दाइ जस्तो दिग्गज संगीतज्ञबाट ५/७ टेक खाएर गीत रेकर्ड गर्न पाउँदाको त्यो क्षण निकै सौभाग्यशाली मान्छु ।’

सोही ब्यान्डले ‘जिन्दगी’ नामको गीति एल्बम निकाल्यो । तर त्यति बेला अडियो क्यासेट पाँच सय प्रति पनि बिक्री भएन । समय र व्यवहारमा पर्दै गएपछि ब्यान्डका सदस्य तितरवितर हुँदै गए । उनी भने संगीतमै टिकेर निरन्तर लागे ।

त्यसको दुई वर्षपछि २०५३ सालमा ल्याएको गीतपछि भने उनलाई धेरैले आँखा हुँदै मनमा सजाए ।

आँखामा तिमीलाई पाउँछु म धेरैधेरै
सपनीमा तिमीलाई पाउँछु निद्रैभरि
जलाई आफूलाई देखाउन म सक्दिनँ

रहरमै गाउन थालेका नवीनले आफ्नो पहिलो सोलो एल्बम ‘रहरैरहरमा’ नामबाटै ल्याए । अडियो क्यासेट साढे एक लाख प्रति बिक्यो ।

त्यतिबेला उनी काठमाडौं विश्वविद्यालय, धुलिखेलमा बीम्युज पढ्दै थिए । पुरानो बसपार्कबाट बस चढेर त्यता हान्निन्थे र उताबाट आउँदा पनि बसपार्कमै उत्रेर लुखुरलुखुर बागबजार हुँदै डिल्लीबजारको घर र्फकन्थे । ती दिन अझै आँखामा झलझली छन् – ‘बागबजारबाट हिंड्दै घरतिर लाग्दा बाटोका चिया पसल, समोसा पसलदेखि सबै ठाउँमा आफ्नै गीत बजिरहँदा यो कस्तो दिन आयो भनेर खुसीले मन नाच्थ्यो ।’

यतिखेर प्रविधि थिएन, तर कला थियो । कुनै टेक नलिई स्टेजमा जस्तै लाइभ गाउँदाको मजा नै छुट्टै

डिल्लीबजारको भट्टराई परिवारले उनको संगीतप्रतिको रुचिमा कुनै रोकटोक गरेन । अन्य कुनै दबाब पनि दिएन । यसैको भरपूर फाइदा उठाउँदै उनी आत्माको आवाज सुन्दै पप संगीतलाई आफ्नो आवाज दिन एकोहोरिए । तर लोकप्रियताको लागि संगीतकोे दुरुपयोग  कहिल्यै गरेनन् ।

००००

डेढ दशकअघि संगीतमा अहिले जस्तो प्रविधि भित्रिएको थिएन । तर पनि त्यो समयको मिठास नवीनको स्मृतिमा ताजै छ । भन्छन् – ‘त्यतिखेर प्रविधि थिएन, तर कला थियो । कुनै टेक नलिई स्टेजमा जस्तै लाइभ गाउँदाको मजा नै छुट्टै !’
लाइभ संगीतको पक्षपाती हुन् उनी ।

त्यसमा हुने प्राकृतिक स्वाद उनलाई बेहद मन पर्छ । अहिले प्रविधिले म्युजिक एरेन्ज भइसकेपछि अनेकौं टेक लिँदै गीत रेकर्ड सकिने सुविधा दिएको छ । स्वर घुमाउने, उठान-बैठान लगायत सबै चिज सफ्टवेयरले मिलाउन सक्ने प्रविधिका कारण नयाँ पुस्ता अल्छी भएको उनको ठम्याइ छ ।

यति सुविधा हुँदाहुँदै पनि भाइ पुस्ता एउटै गीत रेकर्ड गर्न दिनदिनै गरी महिना दिनसम्म स्टुडियो धाइरहेको देख्दा उनलाई विचित्र लाग्छ । ‘अहिले त जसरी होस् म्युजिक भिडियो बनाउने मोह छ । गीत राम्रो बनाउने, संगीत सिकेर गाउन र बजाउन जान्ने, साधना गर्ने धैर्य र लगन कमैमा देख्छु,’ नवीन अँध्यारो र उज्यालो पाटो एकसाथ नियाल्छन् – ‘यति भइकन म नेपाली पप संगीतको भविष्यप्रति सकारात्मक छु ।’

Nabin K Bhattarai (6)लाइभ म्युजिकमा श्रोतासँग प्रत्यक्ष सम्पर्क हुने भएकाले उनी कन्सर्ट गर्दा निकै रमाउँछन् । उनलाई म्युजिक ट्र्याकमा गाउन मन पर्दैन । कन्सर्ट गर्दा बाजा बजाउने आफ्नै टोली लिएर जान्छन् । विदेशबाट कन्सर्टका लागि प्रस्ताव आउने गरे पनि ट्र्याक सिस्टममा गाउनुपर्ने परिबन्दकै कारण उनले त्यस्ता धेरै कार्यक्रम अस्वीकार गरिसके ।

विदेशमा कन्सर्ट नगरेको साढे दुई वर्ष भइसक्यो । देशभित्र भने विभिन्न ठाउँमा महिनामा दुई-तीनवटा कार्यक्रम गरिहेको उनी सुनाउँछन् । त्यस्तो लाइभ शो दर्शकले भरिभराउ भएको देख्दा नवीनलाई लाग्छ – मेरो समय अझै गएको छैन । श्रोताहरूले मलाई खोजिरहेकै छन् ।

००००

नवीनको पुस्ताले संघर्ष सुरु गर्दाकोे समयमा पप संगीतमा सञ्जय श्रेष्ठको चर्चाको चुलीमा थिए । अरु थिए बबिन प्रधान, सञ्जीव प्रधानलगायत । उनका समकालीन हुन् दीपक बज्राचार्य, मोहन भुषालहरू । त्यसपछि नयाँ पुस्ताका गायकहरू पनि जन्मिरहेकै छन् ।

पप संगीतमा युवा आकर्षण र श्रोताको रुचि राम्रो रहे पनि मूलधारका मिडियाले राम्रो गीतलाई ठाउँ नदिएकोमा भने उनी तीतो पोख्छन् । भन्छन् ‘टेलिभिजनका मान्छेले आफूले बनाएका भिडियो मात्र बजाउने परिपाटी छ, यसले राम्रो गीत-संगीत अन्यायमा परेका छन् । रेडियोहरूले पनि राम्रो गीतलाई ठाउँ दिंदैनन् ।’

यस्तो अवस्थामा इन्टरनेटले संगीतको प्रवर्द्धनमा क्रान्ति गरेको उनको बुझाइ छ । ‘युट्युबले त गीत बजाउन मूलधारका मिडियामा जानुपर्ने बाध्यता नै हटाइदियो,’ प्रविधिको सफलतम पाटो खोले -‘फेसबुक-ट्विटरले प्रचार प्रसारमा कलाकारलाई थप सघायो ।’ उनले पनि युट्युबमा आफ्नो च्यानल बनाएर गीतहरू राखेका छन् ।

करिअरको धुरीमा हुँदाको जस्तो फ्यान फलोअर्स त अब छैन । कन्सर्टको लागि कतै जाँदा तानेर ज्याकेट नै च्यातिदिने युवतीहरूको झुन्ड पनि रहेन

पप संगीतलाई मिडियाले ठाउँ नदिएकोमा दुःख रहिरहँदा अर्कातिर कलाकारमा पनि गम्भीरता नदेख्दा उनको मन खिन्न हुन्छ । पछिल्लो समय संगीतमा पाइरेसीले मर्का भो भनेर कलाकारहरुले एकोहोरो गनगन गरेको उनलाई चित्त नबुझेको पाटो हो । भन्छन् – ‘गीत राम्रो भयो भने पाइरेसीले पनि केही बिगार गर्न सक्दैन । मान्छेले गीत किनेरै सुन्छ ।’ विदेशमा इन्टरनेटबाट सजिलै गीत सुन्न सकिने अवस्था हुँदाहुँदै अहिले पनि सीडी लाखौं प्रति बिक्री हुने गरेको उदाहरण दिन्छन् उनी ।

००००

आफूले गाउने गीतमा प्रायः आफैंले संगीत कम्पोज गर्छन् उनी । शब्दमा पनि सचेत छन् । यसमा नरेशदेव पन्त, मनोज आचार्य लगायत गीतकार साथीको सरसंगतिको प्रभाव पनि छ । साथीहरुले लेखेका गीतहरू पनि ट्युनिङमा लैजाँदा आफूले मिलाउने गरेको उनी सम्झिन्छन् ।

पप गायकहरूले गीतमा जथाभावी शब्द प्रयोग गर्ने गरेको प्रति एक समय ‘औंसीमा जून टहटह’ भनेर जिस्क्याउने गरिएको उनी सम्झिन्छन् । उनलाई भने अहिलेसम्म यस्तो बात लागेको छैन । उनी भन्छन् -‘गीत निकालेपछि गल्ती गर्नु हुँदैन भनेर शब्दमा समेत ध्यान दिने गर्छु ।’ उनी गीतमा साहित्यिक मूल्यलाई ध्यान दिन्छन् । सकेसम्म सबै वर्गका श्रोतासम्म गीत पुगोस् भनेर बोलीचालीका शब्द रोज्ने गरेका छन् ।

उनले गाएको ‘साँझपख एकान्तमा’ बोलको गीतमा गीतकार मनोज आचार्यले ‘गोधूलिको झिसमिसे’ भनेर लेखेका छन् । त्यो गीत आएको बेला केही मान्छेले नमिल्दो प्रयोग भनेर प्रश्न गरेका थिए । गोधूलि भनेको सामान्यतया रातो-पहेँलो घाम हुँदाको साँझको समय बुझिन्छ । तर, गीतमा ‘गोधूलिको झिसमिसे’ भनेर साँझलाई बिहानसँग मिसाइएको छ । ‘यसलाई संवेदनाअनुसार भावमा हेर्नुपर्ने’ उनी बताउँछन् । त्यसो त नवीन गीतको व्याकरण रुचाउँदैनन् । उनलाई सीमारेखा थोरै तोडमोड गरेर सिर्जनशीलता देखाउन मन पर्छ । उनका गीतहरूमा अन्तरा नै हुँदैन ।

नवीनको गायकी पनि आफ्नै शैलीको छ । उच्चारणमा बेग्लै अन्दाज सुनिन्छ । यसमा पश्चिमा संगीतको प्रभावले गाउने र शब्द लिने टेक्निक फरक भएको उनको अनुभव छ । उनी ब्रिटिस गायक साम स्मिथ र अमेरिकी गायक जोन लेजनलाई बढी सुन्छन् । नेपालीमा सुरेश कुमारलाई सुन्दा शान्त महसुस गर्छन् । भन्छन् ‘विशिष्ट कलाकारको गीत सुन्दा ऊर्जा र आफूलाई चिन्ने मौका पाइन्छ । आत्माले कस्तो संगीत चाहेको छ, थाहा हुन्छ । आफ्नो कमजोर र सबल पक्ष पनि थाहा पाएर सिक्न पाइन्छ ।’

सुरुवाती समयमा र करिअर उँचाइमा छँदा प्रेमका गीत खुबै गाए उनले । अहिले पनि प्रेमको विषयलाई गीतमा समेटेकै छन् । तर, पछिल्लो समय उमेर र सिकाइसँगै आफूमा थप परिपक्वता र नयाँपन आएको उनले नयाँ गीतहरूबाट छनक दिइरहेका छन् । ‘कामना’ एल्बमको ‘सयौं लाश टेकेर’ गीतमा उनले सर्वे भवन्तु सुखिनः भन्दै समाजप्रतिको दायित्वमा आफूलाई दार्शनिक रूपमा पेश गरेका छन् । ‘हो, समयसँगै मान्छेमा परिवर्तन आउँदो रैछ । फरक सोचिँदो रैछ,’ परिपक्व नवीन बोले ।

००००

४२ वर्षे यी गायक अझै पनि युवा ढुकढुकी छामेर उनीहरूका रुचिका गीत-संगीत सिर्जनामा तल्लीन छन् । समयले हरेक वर्ष पछार्दै गए पनि आफूमा नवीनता ल्याइरहेका छन् ।

संगीतले के दियो त उनलाई ? संगीतको व्याख्या कसरी गर्छन् ?

Nabin K Bhattarai (4)संगीतले दिएको आत्मसन्तुष्टि आफ्नो ठाउँमा छ । सात वर्षअघि पोखराको कन्सर्टमा जाँदा पहिलो चोटि फ्यानको रुपमा भेटिएकी युवतीलाई जीवनसाथी बनाएका छन् । लेखिएकै यस्तो थियो, ती फ्यानको नाम नवीना थियो । नवीन प्लस नवीनाबाट चार वर्षअघि ‘श्लोक’ को जन्म भयो ।

करिअरको धुरीमा हुँदाको जस्तो फ्यान फलोअर्स त अब छैन । कन्सर्टको लागि कतै जाँदा तानेर ज्याकेट नै च्यातिदिने युवतीहरूको झुन्ड पनि रहेन । कन्सर्ट सकेर सिक्किमको गान्टोकबाट फकिर्ँदा काँकडभिट्टासम्मै पछ्याउँदै आउने लीलावतीहरूको लीला पनि कतै देखिँदैन । तर, बाटो थाके पनि नवीनका सांगीतिक यात्रा भने अझै थाकेको छैन ।

बेलाबेला राजधानी र विभिन्न जिल्लामा सांगीतिक कार्यक्रममा गए बाहेक अरु बेला डिल्लीबजारको घरमा संगीत सिर्जनामा घोरिन्छन् । छोरासँग खेल्छन् । उसको तोतेबोलीलाई सही उच्चारण दिन झैं गरेर गीतहरू सुनाउँछन् ।

संगीतलाई उनी ‘सुन्ने र सुनाउने दुवैलाई आनन्द दिने स्वरहरू’ भनेर परिभाषित गर्छन् ।

आनन्द मानेर संगीतमा रमाए पनि एक समयका पप स्टारको गुनासो छँदैछ – ‘किन होला म त्यति मूलधारका मिडियामा त्यति देखिन्न ? किन होला त्यहाँ मेरा गीतहरू बज्दैनन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment