Comments Add Comment

उपेन्द्र सुब्बाको अनुभूति: छोरी विदाइ गर्न त गाह्रो पो हाउ !

'कवि हुन सजिलो छ दाजै ! बाउ हुन गाह्रो छ !'

Mother Kalpana Lawati, Kajol And Upendraगत बुधबबार उपेन्द्र सुब्बाले ठूली छोरी काजोलको कन्यादान गरे । हरेक आमा-बुबालाई आफ्ना सन्तान जतिसुकै ठूला हुन्, सानै र कलिलै लाग्छ । २० वर्ष पुगेकी छोरीलाई बिहे गरेर दिइसक्दा उपेन्द्रलाई पनि छोरीले कसरी घर-व्यवहार चलाउली भन्ने लागिरहेछ । ज्वाइँ यूकेमा बस्छन् । तीन छोरीमध्ये माहिली ९ वर्षकी छिन् भने कान्छी भर्खर दुई वर्षकी ।

ठूली छोरी उपेन्द्रलाई कति प्यारी भने, उनले छोरीका बारेमा खुब प्रेमले कविता लेखेका छन् । छोरी हुर्काउने क्रममा छोरीसँगै खेल्दाखेल्दै उनले कविता बुने । उनले कवितामै छोरीको कपाल बाटिदिएका छन्, लोरी गाएका छन्, गतिलो बाउ हुन नसकेको भन्दै थकथकी मान्दै रोएका छन् । ती कविता ०७० सालमा प्रकाशित ‘खोलाको गीत’ संग्रहमा समेटिएका छन् ।

जीवनमा र कवितामा समेत मायाले हुर्काएकी छोरीलाई बिहे गरेर बिदाइ गर्दा एउटा पिता र त्यसमाथि कवि हृदयले के अनुभूति गरिरहेको होला ? पढौं उनकै शब्दमा:

००००

छोरीको बिहेको कुरा एक वर्षअघि नै आएको थियो । कबड्डी कबड्डी फिल्मको सुटिङका क्रममा मुस्ताङमा थिएँ म । त्यतिबेला अनौठै लाग्यो । छोरी त सानै छ जस्तो लाग्थ्यो । बिहेका लागि घरमा माग्नै आइसकेछन् । बुढीले पनि कुरा अघि बढाइहालिछ । यूकेबाट ज्वाइँ आइसकेका । मेरो कुनै उपाय लागेन । कुटुम्ब आएपछि नाइँ भन्ने कुरै भएन । लौ छोरी ठूली भइछ भन्ने लाग्यो ।

upendra subba_Chhori Jwain (1)पोहोर साल नै बिहे गराउने कुरा थियो । मगनी पनि पोहोरै भएको हो । तर, मेरी आमा बितेकाले बर्खी बारेर यसपालि बिहे गराइयो । त्यतिबेला छोरीलाई बिहे गर्ने हो कि हैन भनेर आफैंले सोध्ने त आँटै आएन । उसका काका प्रकाश आङदेम्बेलाई सोध्न लगाएँ । छोरीले त ‘हुन्छ, जान्छु’ भनि छ । म त दंगै पो परेँ ।

अस्ति बिहेको दिन साह्रै विरह लागेर आयो । रुनु-रुनु जस्तो । तर, उता छोरीलाई हेर्छु – हाँसिरा’छे । कति दुःखले हुर्कायो-हुर्कायो, कसको छोरालाई दिई पठाउनु चाहिँ साह्रै मन नमान्ने के । म कवि भएर मन विरक्तिएको हैन । आखिर सबै बाउलाई छोरी अर्काको घर पठाउँदा यस्तै हुन्छ होला ।

बिहेको दिन छोरीलाई बिदा गरियो । पार्टी प्यालेसबाट सबै पाहुनालाई पनि पठाइयो । राति १२/१ बजे कोठा फर्किने बेला एक्लै थिएँ म । कडो विरक्त लागेर घरभित्र पस्नै मन लागेन । बाहिर खुला ठाउँमा पल्टिएर मोबाइल चलाइरहेँ । फेसबुकमा केही लेखूँ कि जस्तो लाग्यो । हैन, रुन्चे कुरा के लेखूँ भन्ने सोचेँ । छोरीसँगको फोटो पोस्ट गरूँ कि भन्ने लाग्यो । यो पनि रोनाधोना हुन्छ जस्तो ठानेँ । यत्तिकै टोलाएर बसिरहेँ । अलिक पछि बिहेको पार्टी खाएर हल्ला गर्दै आएका केटाहरू झगडा गर्न थाले । त्यो एरियामा एसो झगडा भो कि पुलिस आइहाल्छ । के लफडा आइलाग्ला भनेर घरभित्र छिरेँ ।

छोरीको बिहे गराएर पठाइरहँदा मलाई त एक्कासी बूढो भएँ जस्तो लाग्यो । जिन्दगी त आधी बाँकी नै छ, हिँड्दा-डुल्दा भेटघाट कसैसँग अवश्य हुन्छ । कोही मान्छे मलाई मन पर्न पनि सक्छ । तर, मन पराउँछु भन्ने नैतिकता अब रहेन जस्तो सोच आयो । के भनेर मन पराउँछु भन्नुहोला ? छोरीको बिहे भइसक्यो, अब एक-दुई वर्षमा त नाति-नातिनी भइसक्लान् । ससुरा भइसकेको मान्छेले मन पराउँछु भन्नु चाहिँ कस्तो हुन्छ होला ! (हाँसो)

मन पर्ने त यसै भेट्छु नै होला जिन्दगीमा । त्यस्तोबेला मन पर्छ चाहिँ कसरी भन्नु ! दिमागमा यस्तो सोच आएको थियो । बिहेको पार्टीमा यो कुरा जोकका रूपमा केही साथीलाई पनि सुनाएँ ।

मेरा छोरीहरू छन् भन्ने त सबैलाई थाहा छ । तर, छोरी कत्री छ भन्ने चाहिँ थाहा थिएन योभन्दा अगाडि । छोरीको बिहे भएको भनेपछि त आम्मामा ! त्यत्तिकै बूढो सोच्दैनन् ? बूढो हुन चाहिँ के भएर मन नलागेको होला ! (फेरि हाँसो)

लिम्बू  समुदायमा त बूढी-बूढी भइसक्दा पनि चेलीबेटीहरू बूढासँग कुरा नमिल्दा भागेर माइत आउँछन् । त्यस्तो बेला ज्वाइँ आएर फकाउनुपर्छ । फकाएर लैजानुपर्छ ।

अचम्म लाग्छ । छोरीको बिहे गरियो । सानो बच्चै हुँदादेखि लेखेका कविताहरू छन् । छोरी १६ वर्ष पुग्दासम्मको कविता लेखेको छु । छोरीबारे जम्मा पाँचवटा कविता छन् । १६ वर्ष पुग्दा उसको जन्मदिनमा लेखेको थिएँ अन्तिम कविता । बर्थडेको कविता पढेर हो कि, छोरी त बिहे गर्छु भन्छे त ! एउटा जिन्दगी हो, भोग्नु नै छ जसरी पनि भन्ने सोचेँ । उनीहरूकै जिन्दगी हो, गरेर नै खालान् भन्ने लाग्यो । रोकटोक गर्ने कुरा भएन ।

ठूली छोरी जन्मिएपछि ११ वर्षसम्म यसले नै हामी बूढाबूढीसँग लुटुपुटु गरिरही । अरु बच्चा जन्मेका थिएनन् । यसैले माया पनि यसैको बढी लाग्छ । ११ वर्षपछि मात्रै अर्को बच्चा जन्मिएको हो । सुरुमा त यही एउटा मात्रै बच्चा होस् भनेर अर्को जन्माउने सोच नै थिएन । तर, आमा-बाउको शेषपछि त छोरीको बिजोग नै पो हुन्छ भन्ने सोच आयो । छोरीको माइत आउने बाटो नै पो बन्द हुन्छ भन्ने लाग्यो । उसैका लागि सोचेर पछि दुईटा छोरी जन्माएको । भाइ भए पनि बहिनी भए पनि पछिलाई दुःख पोख्ने ठाउँ त हुन्छ । त्यस्तो माया लाग्ने छोरी थिई यो ।

हाम्रो लिम्बू संस्कृतिमा छोरीका लागि माइत साह्रै ठूलो चिज हो । घरमा गरी खान सकिन भने फर्केर आउन सक्छे । माइतमा उसको हक नै लाग्छ । हाम्रो समुदायमा त बूढी-बूढी भइसक्दा पनि चेलीबेटीहरू बूढासँग कुरा नमिल्दा भागेर माइत आउँछन् । त्यस्तो बेला ज्वाइँ आएर फकाउनुपर्छ । फकाएर लैजानुपर्छ ।

ठूली छोरीलाई एक वर्ष जति एक्लै हुर्काएँ मैले । यसैले बढी माया लाग्छ । पाँचथरबाट धरान आएर बसेको बेलाको कुरा हो । बाउ र छोरीलाई छाडेर आमा त विदेश हिँडी । बूढाले पैसा कमाउने पारा ल्याएन भनेर कुवेत हिँडी । त्योबेला छोरी त्यस्तै पाँच वर्षकी थिई होला । साह्रै दुःख थियो । छोरीलाई एक्लै छोड्ने कुरा पनि भएन । सँगै काठमाडौं लिएर आएँ ।

जीवनमा कमाउनुपर्छ भन्ने बुद्धि आए त मरिजाऊँ । अहिले पनि छैन । तर, बाध्यताले गर्दैछु । छोरीहरू हुर्काउनु छ । यस्तै बिहे सिहेको कार्जे गर्नैपर्‍यो । कमाउने बुद्धि नआउनु पनि स्वाभाविकै थियो । म त एक्लो छोरा थिएँ । कसरी हुर्केँ भने जे चिज माग्दा पनि सजिलै पाइने । एउटा छोरा हुनुको फाइदा थियो । त्यसमा पनि गाउँमा सपना नै ठूलो नहुने । धेरै भए जुत्ता मागिन्थ्यो । घडी लाउन मन लाग्दा पाइहालिन्थ्यो । खसी बेचेर घडी आइहाल्थ्यो । यसैले एक किसिमले उच्केर हुर्कँदै आएँ म । जिन्दगी सजिलो लाग्यो ।

पछि साहित्यमा आइयो । सरसंगत पनि फुक्काफाल मान्छेहरूसँग भयो । कमाउनुपर्छ भन्ने त एकजना मान्छे भेटिएन । चिया खाऔं, रमाइलो गरौं भन्नेहरू मात्र भए । पारिवारिक कुरा गर्ने मान्छे पनि भेटिएन । त्यसो गर्दागर्दै काम गर्ने मेलो नै पाइएन । फेरि जागिरका लागि पनि म योग्य रहिनँ । दह्रो शैक्षिक योग्यता भएन । बीए पढ्दापढ्दै बीचैमा हापेँ । आईए पास गरेको मान्छेले कता, के चाहिँ जागिर पाउनु ? जागिरै भए पनि मेरो लाइफस्टाइल पाँच-दस हजार रुपैयाँले थेग्ने खालकै थिएन । एक महिनाको तलब एकै छाकमा सक्ने बानी-बेहोराको थिएँ । जागिरको मोह नै भएन ।

upendra subbaअनौठो कुरा चाहिँ, हाम्रो समुदायमा कुनै पेशा-व्यवसाय गर्न ऋण पाइँदैन । विदेश जान्छु भन्यो भने चाहिँ जसले पनि पैसा दिन्छन् । अझ अमेरिका, यूके जान्छु भन्यो भने ठूलै रकम दिइहाल्छन् । आफूलाई विदेश जाने फिटिक्कै रहर चलेन । हैन भन्दा पनि उमेरमा जङ चल्दा दुई खेप त कतार जान प्रयास गरेको हो । पासपोर्ट दुई खेप बनाएकै हो । तर, स्टोर किपरसम्ममा पनि पो पत्याएन हाउ ! भीसा नै लागेन । यसलाई दुर्भाग्य भन्नु कि सौभाग्य भन्नु !

अर्को चोटि कोरिया जाने भनेर लागियो । मेनपावरले तीन लाख रुपैयाँ मागेपछि छाडियो । बूढाले नकमाएपछि बूढीलाई आफैं कमाउन नगई अरू उपाय पनि थिएन । बाध्यतै भएपछि के पो लागोस् र !

काठमाडौं आएपछि साथीहरूको डेरा-डेरा चहार्दै हिँड्नुपर्ने दर्दनाक कथा थियो मेरो । ललितपुरको शोभाहिटीमा साथीले स्कुल चलाउँदै थियो । त्यसैमा छोरीलाई पढाउन राखेँ । श्रीमती विदेशबाट २०/२२ महिनापछि आइन् । त्यसअघि छोरीसँगै हुर्किएँ म । हामी एक-अर्काका निकट साथी । मलाई छोरीको कपाल बाट्न, खाना पकाउन सबथोक आउँछ । श्रीमती आएपछि यत्तिकै काठमाडौंबासी भइयो ।

बूढीसँगै भएपछि म पनि काममा लाग्न थालेँ । नराम्रा बानी सुधारेँ । साह्रै व्यवहारिक पो बनेँ हाउ Û त्यसै क्रममा फिल्मका साथीभाइसँग सम्पर्क भयो । फिल्ममा स्त्रिmप्ट लेख्न थालियो । चर्चामा आएका/नआएका, बनेका/नबनेका गरी अहिलेसम्म ९ वटा फिल्म लेखिसकिएछ हाउ ! हाहा !

उपेन्द्रले छोरीबारे लेखेको एउटा कविता:

गुडिया

बिहानै –
ओछ्यानबाट उठ्दै
छोरीले गुडिया किनी मागिन् –
घरबेटीकी नानीको जस्तै बाकी डल ।

यसो खल्ती छामेँ, सुको भेटिनँ
बरु भित्री गोजीमा एउटा कविता भेटेँ
र सोचेँ –
ुकिन यही कविताको गुडिया नबनाऊँ रुु
छोरीलाई भनेँ –
‘नानूलाई कविताको गुडिया बनाइदिन्छु ।’

म बसेँ कवितालाई गुडिया बनाउन

पहिले आँखा बनाएँ
यस अर्थमा कि –
कविताको गुडियाले पनि
जन्मँदै संसार हेर्नुपर्छरचिन्नुपर्छ
दोस्रोमा कान बनाएँ
यस मानेमा कि –
कविताको खेलौनाले पनि
जन्मँदै मान्छेको आवाज सुन्नुपर्छरबुझ्नुपर्छ
एवम् रीतले –
मुख, नाक, हात-खुट्टा र चट्ट परेको शरीर
मिहिनेतले बनाएँ
सकभर छोरीलाई मन पर्ने होस् भन्दै बनाएँ
र, अन्त्यमा छोरीलाई देखाएँ
छोरी त रुन पो थालिन् ।

मैले कति लगनले बनाएको गुडिया
छोरीलाई त भूतको नक्सा पो भयो रे !
त्यति मात्र कहाँ हो र,
रुँदैरुँदै छोरीले यसो भनिन् –
‘तपाईँ मेरो पापा नि होइन’

अनि,
मेरो पालो रुन मन लागेर आयो
थुइया १ तुच्छ मान्छे, बेकामे कवि !
उहिले उहिले अरब जानु थिएछ
‘कवि हुन सजिलो छ दाजै !
बाउ हुन गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment