Comments Add Comment

अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त

पोष्टमार्टमले खोल्यो प्रहरीको पोल, अजितको आत्महत्या होइन हत्या

Ajit-Mijar-Dhakal-3

काठमाडौं । साउन ३ गते सोमबारको कुरा हो । सधैं झै म विहानै नौ बजे अफिस पुगेकी थिएँ । अफिस पुगेर पहिले पत्रिका पढ्न थालें ।  ‘अन्तरजातिय विहे गरेका युवकको मृत्यु’ शिर्षकको समाचारमा मेरो आँखा ठोक्कियो । निकै कौतुहलताका साथ समाचार पढें । मन स्तब्ध भयो ।

काभ्रेको पाँचखाल नगरपालिका-६ होक्सेका १८ वर्षीय अजित ढकाल (मिजार)को ‘मृत्यु’ भएको रहेछ अन्तरजातिय विवाहका कारण । समाचारअनुसार अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेम विवाह गरेका थिए ।

असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि अजितको लास धादिङमा डोरीमा झुन्डिएको अवस्थामा फेला पर्‍यो । यो शंकास्पद र रहस्यमय मृत्यु थियो ।

यो घटना एकाएक चौतर्फी फैलिइसकेको थियो । सामाजिक संस्थामा कार्यरत भएकाले मैले यो घटनालाई नजिकबाट बुझ्न आवश्यक सम्झिएँ । यसैबीच, अजितको लास आफन्तले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ल्याएको थाहा भयो । त्यसबारे रिर्पोटिङका लागि म कुदेर टिचिङ अस्पतालतर्फ गएँ ।

अस्पताल पुग्दा दिउँसोको करिब साढे दुई बजिसकेको थियो । अस्पतालको प्रांगणमा दलित अधिकारकर्मीहरु, संघ-संस्थाका प्रतिनिधि, सांसद लगायत अजितका आफन्तहरुको ठूलो भिड थियो । सबैको अनुहारमा निकै निराशा र भावुकता देखिन्थ्यो । मेरो मन पनि निकै भारी भयो । आँशु मात्रै खस्न सकेको थिएन ।

अस्पतालमा मैले घटनाबारे सबिस्तार बुझ्ने प्रयत्न गरें । मृतकका बुवा हरिभक्त ढकाल मिजारसँग केहि सोध्न खोजें, उहाँ बोल्नै सक्नु भएन । मृतक अजितका दाजु दिपेन्द्र अलि-अलि बोल्न सक्ने अवस्थामा भए पनि घरि-घरि गला अवरुद्ध हुँदै थियो उहाँको पनि ।

दाजु दिपेन्द्रको मुखबाट एउटै कुरा बारम्बार निस्किन्थ्यो, ‘मेरो भाइको कसरी हत्या भयो ? सत्यतथ्य पत्ता लगाइयोस् ।’

दिपेन्द्रका अनुसार काभ्रे प्रहरीले पीडितको उजुरी पनि दर्ता गर्न मानेको छैन ।

अन्तरजातीय विवाह गरेलगत्तै केटीका आफन्तहरुले अजितलाई धम्क्याउन थालेका रहेछन् । ‘तँलाई तीन दिनमा देखाइदिन्छौं,’ भनेर धम्क्याएपछि छोरालाई घरबाहिर नजान सल्लाह दिएको अजितका बुवा हरिभक्तले बताए । असार २८ गते ठुली आमाको घर आएका अजित २९ गते विहान क्याम्पससमेत गएको उनले जानकारी दिए ।

काभ्रेका अजितको शव धादिङमा भेटियो

कलेजबाट फर्किएपछि आमासँग मोबाइलको रिचार्ज कार्ड किन्न भनेर १०० रुपैयाँ मागेका थिए अजितले । पछि रिचार्ज कार्ड नकिनेर ५० रुपैयाँ बहिनीलाई दिएर निस्केका थिए ।

‘दिउँसो दुई बजेतिर दाजुभाइले सँगै खाना खाएर बसेका थियौं । म पानी लिन निस्किएँ । घर फर्किंदा भाइको मोबाइल घरमै थियो तर भाइ थिएन,’ दिपेन्द्र भन्छन् । रातिसम्म नफर्केपछि आफूहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउँछन् ।

त्यसै रात ८ बजेतिर अजितले आफ्नो ठूली आमालाई पनि फोन गरेका रहेछन् । ठुली आमाले यो कुरा अजितको घरमा जानकारी गराइन् । त्यसपछि अजितले फोन गरेको नम्बरमा आफूले फोन डायल गर्दा उताबाट अरुले नै गीत सुनाउने र फोहर कुरा बोल्ने गरेको दिपेन्द्रले बताए ।

त्यसपछि, अजित सम्पर्कविहीन भए । घरकाले धेरै खोजिनिती गर्दा पनि केही पत्तो लागेन । विवाह गरी छुटेको तीन दिन नबित्दै अजितको लास धादिङमा पासो लागेको अवस्थामा फेला पर्‍यो । उनको मृत्यु निकै शंकास्पद थियो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको उनका आफन्त बताउँछन् ।

अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले अजितको आत्महत्या नभई हत्या नै भएको ठोकुवा गरिरहेका बेला पोष्र्टमाटमको रिपोर्टले पनि यो आत्महत्या नभएको पुष्टि भएको छ ।

प्रहरी बेइमानीको पर्दाफास

धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजीरुपमा पोष्टमार्टम गरी दरौदी खोलामा गाडिदिए ।

प्रहरीले बेवारिसे अवस्थामा भएकाले स्थानीयको सहयोगमा अजितको लास गाडेको उल्लेख गरेको छ । तर, कानुनतः बेवारीसे लास भेटिएमा त्यसका धेरै प्रकृया पूरा गरेर मात्रै लास गाड्न सकिन्छ । यहाँ सामान्य प्रकृया पनि नपुर्‍याइ लास गाडिएको देखियो ।

यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन । धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेला परेको अजितका फोटाहरु जब फेसबुकमा सेयर गर्‍यो त्यसपछि बल्ल आफन्तले थाहा पाए कि, अजित यो संसारमा छैनन् । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडिसकेको जवाफ दियो ।

त्यसपछि अजितका आफन्तले अधिकारकर्मी गुहारे । राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमार्फत चिठ्ठी पठाएपछि साउन २ गते गाडिएको लास उत्खनन गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुर्‍याइयो ।

साउन दुई गते बेलुका अजितको लासलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विडम्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकाले फेरी पोष्टमार्टम गर्न नपाइने रिपोर्ट दिएर अजितका आफन्तलाई फिर्ता पठाइयो । जबकि उक्त पोष्टमार्टम झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लास हेर्दा पोष्टमार्टम नै नभएको कुरा सामान्य मान्छेले पनि थाहा पाउँथ्यो ।

राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमा दबाव दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो । लास ल्याएको तीन दिनपछि साउन पाँच गते पोष्टमार्टम भयो । पोष्टमार्टम रिपोर्टले अजितको आत्महत्या भएको प्रहरी दावीलाई झुट सावित गरेको छ ।

टिचिङ अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले अजितले आत्महत्या गरेको पुष्टि नहुने भन्दै यसमा थप अध्ययन जारी रहेको बताएका छन् ।

अस्पतालको रिपोर्टले पनि अजितको अन्तर्जातिय विबाह गरेकै कारण हत्या भएको पुष्टी भएको छ । आजको एक्काइसौं शताव्दीमा यो जति लाजमर्दो कुरा अरु के हुन सक्छ ?

(खड्का जागरण मिडिया सेन्टरमा कार्यरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment