+
+
Shares

राप्रपा नेपाल पनि प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने

लोकेन्द्रबहादुरले साउन ११ गते के गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १०:२६

Kamal-Thapa९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम घडीसम्म साथ दिएको कमल थापा नेतृत्वको राप्रपा नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी हुन सक्ने संकेत दिएको छ ।

पार्टी एकताको पूर्वसन्ध्यामा लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । तर, राप्रपा नेपालले भने ओलीलाई नै समर्थन जनाइरहेको छ । सरकारलाई हेर्नेबारे फरक मत राखेका यी दुई दलवीच यसैसाता पार्टी एकता गर्ने तयारी छ ।

‘ओली सरकारबाट राप्रपाले समर्थन फिर्ता लिई प्रचण्ड गठबन्धनलाई समर्थन जनाउँदैमा यसले पार्टी एकतालाई प्रभावित गर्दैन,’ राप्रपा नेपालका एक केन्द्रीय नेताले अनलाइनखबरसँग भने, ‘भोलिका दिनमा राप्रपा नेपाल पनि नयाँ सरकारमा सहभागी हुन सक्छ ।’

इमान जमानको राजनीति गर्ने भएकाले आफूहरुले अन्तिम घडीसम्म ओलीलाई साथ दिएको ती नेताले बताए । उनले भने ‘हामीले अन्तिम घडीसम्म ओलीजीलाई साथ दियौं । तर, अविश्वासको प्रस्ताव पारित भइसकेपछि हामी कुनै पनि निर्णय गर्न सक्छौं, अब बन्ने सरकारमा सहभागी हुने निर्णय पनि हुन सक्छ । राप्रपाले त्यस्तो निर्णय गरिसकेको छ ।’

नयाँ सरकार गठन हुनुपूर्व नै राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता एकता भइसक्ने उनले बताए ।

लोकेन्द्र र पशुपतिको बेग्लाबेग्लै तयारी

विधान अनुसार साउन ११ गते अर्थात आउँदो मंगलबार राप्रपा नेपालका अध्यक्ष लोकेन्द्रबहादुर चन्दको कार्यावधि समाप्त हुँदैछ । विधानलाई मान्ने हो भने उनले सोही दिन पार्टीको अध्यक्षता पशुपति समशेरलाई सुम्पनुपर्ने हुन्छ । तर, चन्द सोही दिन आफ्नो पार्टीलाई राप्रपा नेपालमा समाहित गर्ने तयारीमा जुटेका छन् ।

राप्रपाको पशुपतिसमशेर राणा खेमा भने ११ गते नै कमल थापासँग समाहित हुन नहुने पक्षमा छन् । पार्टी एकताका लागि अझै पनि केही राजनीतिक मुद्दामा टुंगो लगाउनुपर्ने भन्दै पशुपति समशेर खेमाले ११ गतेको बैठकबाट अध्यक्षको पालो परिवर्तन हुनुपर्ने जोड गरेका छन् ।

लोकेन्द्रबहादुर चन्दले कमल थापालाई नभएर पार्टी आफूलाई बुझाउनुपर्ने र पछि आफ्नै अध्यक्षतामा पार्टी एकता गर्न सकिने राणा पक्षको लाइन छ । यही लाइनमा डा. प्रकाशचन्द्र लोहनी र सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा पनि छन् ।

‘अब ११ गते या त दुई राप्रपावीच पार्टी एकता हुन्छ, या चन्दले राणालाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने हुन्छ,’ राप्रपा स्रोतले भन्यो, ‘गणतन्त्र र संघीयतामा स्पष्ट प्रतिवद्धता नआएसम्म कमल थापासँग अहिल्यै पार्टी एकता गरिहाल्ने बेला भएको छैन ।’

यसका साथै राप्रपाले  विगतदेखि नै प्रजातान्त्रिक खेमासँग सहकार्य गर्दै आएकाले अब नेपाली कांग्रेसको गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पशुपतिसमशेर पक्षका नेताहरुले जोड दिएका छन् ।

उता लोकेन्द्रबहादुर चन्द पक्षका नेताहरुचाँहि गणतन्त्रमा भन्दा संवैधानिक राजतन्त्रतिर र्फकन चाहिरहेका छन् र उनीहरु कमल थापासँग ११ गते नै पार्टी एकता गरिहाल्ने पक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?