Comments Add Comment

कर्मचारीहरु धेरै चाहार्छन् तर विज्ञ हुँदैनन्

एकात्मक शासन प्रणालीमा सेवाग्राहीलाई सेवा दिन नसकेका भनी आरोपित कर्मचारीहरु परिवर्तनको प्रतीकका रुपमा आत्मसाथ गरिएको संघात्मक शासनप्रणाली हाँक्ने तरखरमा छन् । खासमा देशको भविष्य बोकेका कर्मचारीको आम मनोवृत्ति कस्तो छ ? र कर्मचारी यति विवादित हुनुका कारण के हुन् ? यिनै विषयहरुमा केन्द्रित भएर सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्मासँग अनलाइखबरकर्मी पुष्प ढुंगानाले गरेको कुराकानी:

Tankamani Sharma (1)

अन्य देशका कर्मचारीसँग तुलना गर्दा हाम्रा कर्मचारीमा रहेको सकारात्मक पाटो के छ ?

जुनसुकै विषयमा विज्ञता राख्ने । अरु देशका कर्मचारी सबै विषयमा जानकारी राख्दैनन् । हाम्रा कर्मचारी जहाँ-जुन कार्यालयमा पनि जाने तर अरु देशका कर्मचारी जहाँ पायो त्यही जाँदैनन् । उनीहरु आफूले जे काम जानेको हुन्छ, त्यो काम मात्र गर्छन् । जुन सेवाका लागि भर्ना भएका हुन्, त्यो क्षेत्रमा मात्र बसेर काम गर्छन् ।

हाम्रो कर्मचारीको सबैभन्दा राम्रो विशेषता भनेकै हामी जहाँपनि जाने, ‘ज्याक अफ अल-मास्टर अफ माइण्ड’ । सबै कुरा जानेको, जहाँ पनि गइदिने । कतै काम गर्नका लागि कुनै ज्ञान र विज्ञताको खाँचो हुँदैन ।

किन व्यङ्ग्य ?

व्यङ्ग्यात्मक होइन । क्षमताको कुरा गरेको हो । अरु ठाउँमा यस्तो हुँदैन । हाम्रोमा जनरल सर्भिस र स्पेशल सर्भिसको व्यवस्था छ । स्पेशलहरु जहाँ-जहाँ छन्, त्यही हुन्छन् । जनरलहरु जहाँपनि जाने गरेका छन् । सचिवको कुरा गर्नुहुन्छ भने इञ्जिनियर पनि सचिव छन्, प्रशासनको पनि सचिव छन्, लेखा, कानुनका पनि सचिव छन् । एकै ठाउँमा बसेर विशेषज्ञ बन्नुभन्दा पनि धेरै ठाउँमा चहारेर धेरै ज्ञान हासिल गरेको अवस्था छ । आज एलडीओ भएको मान्छे अर्को वर्षसम्म सिडिओ हुन्छ, त्यसपछि मालपोतको हाकिम हुन्छ । यसरी एउटै कर्मचारी सबैतिर चाहारिरहेको हुन्छ । तर, विदेशमा कर्मचारी यसरी सबैतिर हात हाल्दैनन् । एकैठाउँमा बसेर काम गर्छन् र पूर्ण विज्ञता हासिल गर्छन् ।

यही अस्थिरताले बेथिति ल्याएको भन्न मिल्छ ?

बेथिति भन्दा पनि हुन्छ । हामीले सरकारको कामलाई राम्रोसँग ब्याख्या गरेर समूहहरु बनाउन सकेका छैनौं । पछि विशिष्टिकरण त अपनाइयो तर राम्रोसँग कार्यान्वयन हुन सकेको छैन ।

आज यहाँ छ भोलि कहाँ हुने हो ठेगान छैन । कर्मचारीको परिचालन बढी भयो । म कहाँ जान हुन्छ, कहाँ जान हुन्न भन्ने क्षेत्र नै छैन । पहुँच भए जहाँ गएपनि हुन्छ । जे गरे पनि हुन्छ भन्ने मान्यता विकास भइरहेको छ । यसले गर्दा हामीभित्र संस्थागत ज्ञान र सूचना अर्थात् इन्स्टीच्युसन मेमोरीको अभाव हुने गरेको छ । अर्को कुरा कर्मचारी पनि निस्कने बेलासम्म कुनै एउटा विषयमा पनि पोख्त नहुने । रिटायर्ड हुँदा केको विज्ञ हो भन्नुपर्दा ठम्याउन नै गाह्रो पर्छ ।

Tankamani Sharma (2)

रिटायर्ड हुने बेला आइसक्यो, तपाईंको विज्ञता चाँही के हो ?

मैले भेटेनरी डिपार्टमेन्टमा काम गरेँ । स्वास्थ्य मन्त्रालयमा केही वर्ष काम गरेर सहकारीको डीजी भएँ । पछि आएर अर्थ मन्त्रालयमै बसेर पनि काम गरेँ । यस्तै राजस्वको सबै विभागको महानिर्देशक भएर काम गरेँ । सार्वजनिक खरिद अनुगमनको हाकिम हुँदै सामान्य प्रशासन मन्त्रालयको सचिव भएर काम गरिरहेको छु । अब तपाईं नै भन्दिनुस् म के को विज्ञ ? सबैखाले ज्ञान छ, तर केमा विज्ञता देखाउने ?

यसरी कर्मचारी बढी अस्थिर हुँदाको समस्या के-के हुन् ?

जवाफदेही र जिम्मेवारीको समस्या हुन्छ । कहिलेकाँही कुनै कार्यालयमा पूरै नयाँ कर्मचारी आएका हुन्छन् अनि कार्यालयको मेमोरी केही पनि हुँदैन । फाइल अगाडि बढाउनेदेखि कार्यालय सञ्चालनमा समेत समस्या आउने गरेको हुन्छ । कर्मचारी रिटायर्ड हुँदा पनि केको विज्ञ छुट्याउन गाह्रो पर्छ । कुनै विषयको विज्ञता खोज्दा भेटिँदैन ।

हाम्रा कर्मचारीमा रहेको साझा समस्या के रहेछ ?

अस्थिरता । दुईखालका अस्थिरता छन् । एउटा कर्मचारीहरु मानसिक रुपमा एउटै कार्यालयमा बसिरहन चाहन्नन् । सकेसम्म धेरै हिँडडुल गर्न चाहने र छटपटाउने समस्या छ । सरुवाका लागि भनसुन गर्न दौडिरहने गर्छन् ।

राजनीतिक तहबाट अर्को समस्या छ । कुनै कर्मचारी सरुवा गर्दिन पर्‍यो हजूर भन्दै पुग्यो भने उसको विगत बुझ्ने, मिल्ने नमिल्ने बुझ्नुभन्दा पनि गराइदिन पाए हुन्थ्यो भनेर भन्दिहाल्ने समस्या छ ।

सबैभन्दा ठूलो समस्या के भने निजामती सेवा ऐन भनेर भन्छौँ । तर, त्यो ऐनमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउने भन्दा कर्मचारीहरुको सरुवा बढुवा आदि इत्यादि कुराहरु मात्र बढी राखेको पाइन्छ । त्यहाँ जिम्मेवारी र जवाफदेही, काम विगार्दा हुने कारवाहीका कुरा राखिएन । त्यस्ता कुराहरु बढी समेट्नुपर्छ भन्ने मैले देखेको छु । अर्को चाँहि कर्मचारीहरुमा एउटा विषयमा विज्ञता हासिल गरेर काम गरौँ न भनेर राम्ररी काम गर्दा पनि सुख नपाउने स्थिति देखियो । राम्रो काम गर्दा गर्दै पनि अर्कोलाई त्यहाँ जान मन लाग्यो भने उसलाई निकाल्दिने र आफू जानेसम्मको विकृति यहाँभित्र मौलाएको छ ।

कर्मचारी अस्थिर हुन्छन् भन्नुभयो नी, किन त्यसरी चहार्छन् ?

असुविधा भएको ठाउँमा नबस्ने, दुर्गम जान नचाहने । सकेसम्म सुगममा जान खोज्ने, सुगममा पनि कहाँ बढी सेवा सुविधाहरु पाइन्छ भन्ने खोज्दै हिँड्ने समस्या छ ।

आर्थिक कोणबाट पनि बढी छटपटाउँछन् हो ?

त्यसरीभन्दा पनि सुविधा भनौं न । त्यतिभन्दा सबैकुरा बुझिन्छ होला । अरु-अरु सुविधा खोज्ने, काम कम खोज्ने अनि प्रमोशन पनि चाँडो खोज्ने प्रवृत्ति पाइन्छ ।

यस्ता कर्मचारीले भोलि संघीयताको असल अभ्यास गर्लान् र देशको भविष्य सुन्दर होला भनेर कसरी विश्वास गर्ने ?
म हाम्रा कर्मचारीलाई काम नगर्ने कर्मचारी भन्न चाहन्नँ । वातावरण बनाइदियो भने काम गर्न सक्ने खालका छन् ।

वातावरण कसले बनाइदिनुपर्ने भयो ?

सरकारले । अलिकति बढी अनुशासनमा राख्ने व्यवस्था राजनीतिक तहबाट हुनुपर्छ । प्रष्ट भन्न चाहन्छु, वैधानिक तवरले नीतिमाथि राजनीतिक हस्तक्षेप बढाउनुपर्छ ।

सरुवा बढुवाका लागि होइन, सिस्टम बसाल्न, उनीहरुबाट बढी काम लिन र कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन राजनीतिक हस्तक्षेपको खाँचो छ । मन्त्रीहरु राजनीतिक नेतृत्व हो । उनीहरुले आफ्ना पार्टी निकट कर्मचारी खोज्दै हिँड्ने होइन । हस्तक्षेप गरेर जागिर खाने भए राम्रोसँग काम गर, नत्र राजीनामा बुझाऊ भन्ने स्थिति सिर्जना गरिदिनुपर्छ ।

यति सुधार त कर्मचारी आफैँले गर्ने होला नि ? बिगार्नेचाँहि कर्मचारीले अनि सुधार्ने चाँहि सरकार/सरकार मात्र भनेर हुन्छ र ?

हो । तर, त्यो लेभलको काम गर्न सक्ने पदाधिकारी हामीले राखेका छौँ कि छैनौँ ? कुरा त्यहाँ हो ।

तपाई सामान्य प्रशासन मन्त्रालयको सचिव, यहाँका कुनै कर्मचारीले बदमासी गरे तपाईं जिम्मेवार बन्नुहुन्छ ?

यो कार्यालयको कर्मचारी मेरो पूर्ण नियन्त्रणमा छन् । र, कुनै कमजोरी गरे भने त्यसका लागि म पूर्ण जवाफदेही हुन्छु । म के मान्छु भने कुनै कार्यालयका कर्मचारीले घुस लिन्छ, अनियमितता गर्छ, बदमासी गर्छ भने त्यसको नैतिक जिम्मा कार्यालय प्रमुखले लिनुपर्छ । म त्यो कार्यालय अन्तर्गत त्यस्तो जिम्मा लिन्छु ।

Tankamani Sharma (3)

हाम्रा कर्मचारीहरु इमान्दारिता, नैतिकतामा कति बाँधिएको भेट्नुहुन्छ ?

कारवाही हुँदैन । गरेपनि कारवाही प्रक्रिया नै झन्झटिलो छ । प्रशासनलाई बढी जिम्मेवार र जवाफदेही बनाउनका लागि तीनवटालाई मात्र निगरानीमा राख्दा पुग्छ । मन्त्रालयको सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखलाई । ऊ अन्तरगतका कर्मचारीलाई पूर्णरुपमा अनुशासनमा राख्ने, नियन्त्रण गर्ने, काम कारवाहीको राम्रो मूल्यांकन गर्ने र उसले गरेको कामका आधारमा सरुवा/बढुवा गर्ने काम गरे सबै कुरा सिस्टममा आउँछ । अहिलेको सबभन्दा कमजोर स्थिति त्यो हो ।

कर्मचारीका सुधार गर्नुपर्ने पक्ष के छन् ?

मुख्य त मनोवृत्ति । कर्मचारी कामप्रति लगाव बन्नुपर्‍यो र सेवाग्राहीप्रति इमान्दार बन्नसक्नुपर्छ । काम गर्ने क्षमता चाँही छ । व्यक्तिगत आचरण र व्यवहारमा चाँहि सुधार्नु आवश्यक छ । काममा आएको हो, राज्यबाट सुविधा लिएको छु भन्ने कुरामा कर्मचारी प्रष्ट हुन बाँकी छ ।

जनताले सेवा नपाउने समस्याको मुख्य समस्या के हो ?

हाम्रो सिस्टममा समस्या देख्दिनँ । गाउँ-गाउँसम्म सरकारको निकाय उपस्थित हुने सिस्टम हामीले बनाएका छौं । यसमा इलेक्ट्रोनिक विधि अपनाएनौं भने झनै सजिलो हुन्छ ।

यस्तै सर्वसाधारणमा पनि सेवा प्राप्त गर्ने सम्बन्धी ज्ञान फैलाउनु आवश्यक हुन्छ । कतिपय कर्मचारीमा सर्वसाधारणप्रति गर्ने व्यवहारमा समस्या छ । त्यो सुधार गर्नुपर्छ । भोलि मैले नै सरकारी सुविधा लिनुपर्दा मैले गरेको जस्तो व्यवहार मलाई भयो भने कस्तो लाग्छ भन्ने सामान्य सोच कर्मचारीमा हुनुपर्छ ।

सामाजिक छवि विस्तारै धुमलिनुको कारण के होला ?

एउटा त समाज बढी खुल्ला र सचेत हुनु हो । अर्को कर्मचारीहरुमा पनि कमजोरीहरु छन् । पक्कै पनि हिजो जस्तो निजामती कर्मचारी भन्दा पाउने सम्मान घटेको छ । यसका लागि खुल्ला समाज, सञ्चारमाध्यमको पहुँच र कर्मचारीका आनीबानी जिम्मेवार छन् ।

कन्ट्रोलिङ मेजरहरु कमजोर भयो । यस्ता समस्या थाहा पाउने वित्तिकै कारबाही गर्ने, सोधखोज गर्ने गरियो भने धेरै समस्या हल हुन्थ्यो । तर निगरानी पुगेन । मुख्यतः प्रशासनिक नेतृत्व कमजोर हुँदाको परिणाम हो । यस विषयमा म राजनीतिलाई दोष दिन्नँ । हामी कर्मचारीकै नेतृत्व कमजोर हुँदाको परिणाम हो यो ।

भन्नाले मुख्य सचिवको भूमिका पुगेन ?

होइन, मन्त्रालयका सचिवहरुको कुरा गरेको । सचिव मात्र भएर भएन । मन्त्रालयलाई सिस्टममा राख्ने सचिव बन्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment