Comments Add Comment

बिहारबाट अपहरित भारतीय बालिकाको नेपाल प्रहरीबाट उद्धार

२४ साउन, काठमाडौं । गत बिहीबार भारतको बिहारबाट अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवालको नेपाल प्रहरीले उद्धार गरेको हो ।

Sparsha-agrawal-Biharबिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ति बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छोरी हुन् ।

पेट्रोल पम्प सञ्चालक भानुकै ड्राइभर मिथुन पासवानले बालिकाको अपहरण गरेको खुलेको छ । उनलाई साथ दिने विराटनगरका दिनेश गुप्ता र अर्का एक ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएलगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले अनुसन्धान सुरु गरेको थियो । सिआइबी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चार दिन पछि ति बालिकालाई सकुशल अपहरणमुक्त गराएको हो ।

अपहरणका मुख्य योजनाकार मिथुन पासवानले बालिकालाई नम्बर प्लेट नखुलेको मोटरसाइकलमा राखेर नेपाल ल्याएका थिए । विराटनगरको भण्टाबारीमा राखेका अपहरणकारीले भोलिपल्ट त्यहाँबाट भेडेटारस्थित एक होटलमा राखेको अनुसन्धानबाट खुलेको छ ।

सिआइबीले उपलब्ध गराएको सूचनाको आधारमा दिनेश गुप्ता पक्राउ परेपछि बालिका राखिएको ठाउँ पत्ता लागेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए ।

‘हामीलाई अनुसन्धानको लागि आग्रह आएपछि प्राविधिक सहयोग गरेका हौं । अपहरणमा परेकी बालिकाको चार दिनपछि उद्धार भएको छ । थप जानकारी क्षेत्रिय प्रहरी कार्यलयले दिन्छ होला,’ डिआइजी सिलवालले भने ।

बालिकाको परिवारसँग अपहरणकारीले एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । तर नेपाल प्रहरीको सक्रियताका कारण फिरौती बुझाउनु परेन र बालिकाको सकुशल उद्धार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment