Comments Add Comment

अनुभूति: भुल पनि थर हो र ?

आफ्नो थर लुकाएर अर्को फेर्दैमा छुवाछुत कसरी कम होला !

‘तपाईंको नाम ?’

‘केशव भुल’

‘केशव गुरुङ ?’

‘होइन, केशव भुल,’ अंग्रेजी वर्णमालाका एक-एक अक्षर गरी भन्छु ।

‘वास्तविक थर चाहिँ के हो तपाईँको ?,’ फेरि सोधिन्छ ।

‘मेरो थर नै भुल हो भन्या ।’

‘ए, भुल भन्ने पनि थर छ र ? म त पहिलो पटक सुन्दै छु ।’

‘छ नि । सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा भुल थरका मानिस बसोबास गर्छन् । तर, मध्यमाञ्चल र पूर्वमा छैनन् जस्तो लाग्छ मलाई ।’

‘हो हो, अनि कुन वर्गमा पर्छ नि यो भुल भन्ने थर ?’

जवाफ दिन्छु, ‘यो दलित वर्गभित्रको एक थर हो ।’

‘दलित भन्नाले के ? नेपाली, विश्वकर्मा या अरु कुनै ?’

‘होइन, यी दुवै वर्गभित्र पर्दैन । सार्कीसँग सम्बन्धित हो ।’

‘ए ए, यस्तो पो रहेछ ।’

यी प्रश्न मलाई कुनै एक जना मानिसले सोधेका होइनन् । अछामबाट आएर काठमाडौंमा बस्न थालेको करिब ९ महिना भइसक्यो । यस बीचमा अपवादका दिन बाहेक धैरैलाई यसरी जवाफ दिनुपर्छ मैले । कतिसँग त समय नभएर धेरै बोलचाल गर्न पाइँदैन । तैपनि छोटो परिचय दिने क्रममै आफ्नो नाम बताउँदा कोहीले हतारमै पनि नामको पछाडि के भन्नुभएको भनेर सोध्छन् । फेरि दोहोर्‍याएर अलि ठूलो स्वरमा थर बताउँछु, बुझ्छन् या बुझ्दैनन् थाहा छैन ।

Keshab-Bahadur-Bhulकैयौंले त भुल भनेको उपनाम या साहित्यक नाम हो भनेर अड्कल गर्ने रहेछन् । अधिकांशले यो उपनाम पो हो कि भनेर सोध्नु स्वाभाविकै हो । किनभने धेरैले आफ्नो नामका पछाडि उपनाम राख्ने गर्छन् । जस्तैः संघर्ष, पागल, वियोगी, असफल, जलन, अविरल, जंगली, जिज्ञासु, विष्पोट इत्यादि ।

मैले तीन वर्षदेखि जिल्ला हुँदै राष्ट्रिय स्तरका रेडियो, पत्रिका, अनलाइन हुँदै टेलिभिजनमा काम गरिरहँदा नामसम्बन्धी मसँग त्यस्ता धेरै अनुभव छन् । पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनमा मैले मेरो नाम बताउँदा या लेख्दा धेरैजसोले भुल भनेको उपनाम नै होला भनेर अड्कल गर्छन् । केहीले भने वास्तविक थर भन्न/लेख्न आग्रह गर्छन् । जुन थर मैले लेखेकै हुन्छ ।

पछिल्लो समय भने मलाई एउटा कुराले अचम्म लाग्ने गरेको छ, त्यो हो आफ्नो थर लुकाउने वा परिवर्तन नै गर्ने । देशमा भुल थर जस्तै अल्पसंख्यक केही मानिस पनि छन्, जसले आफ्नो वास्तविक थर कहिल्यै लुकाएनन् । उनीहरूले जहाँ पुगे पनि आफ्नो वास्तविक थर भनिरहे र सबैले थाहा पाउने थर बन्यो । तर, सुदूर तथा मध्यपश्चिममा मात्र बसोबास गर्ने भुल थरका मानिसहरुमध्ये केहीले विभिन्न क्षेत्रमा प्रगति गर्न सके पनि यो थर चर्चामा आउन सकेन ।

म आफ्नो वर्गका त्यस्ता व्यक्तिहरुलाई घृणा गर्छु, जो आफ्नो थर नै परिवर्तन गर्छन् र उच्च वर्गमा गनिने थरमा पाइला टेक्न चाहान्छन् । यसो भन्दा कसैको मन चसक्क दुख्न सक्छ । मैले अछामकै एउटा रेडियोमा काम गर्दा एकजना सहकर्मीले मसँग सधैं भन्थे, ‘अहिलेका केहीे मानिसले आफ्नो थर नै लुकाउँछन्, किन होला है ?’

ती सहकर्मीले म दलित समुदायको मानिस भएको र दलितहरूले नै थर परिवर्तन गरेको देखेर पनि मसँग त्यसरी सोधेको हुन सक्छ । उनी मलाई भन्थे, ‘तपाईँ त्यही समुदायभित्रको मान्छे भए पनि आफ्नो नाम र थर नहिचकिचाई बताउनुहुन्छ ।’ हुन पनि मेरो नाम र थरले कसैको केही बिगारेको छैन भने किन हिचकिचाउनु ? यसैले मेरो परिचयसँग जोडिएको कुरा निर्धक्क बताउँछु म ।

अछाममा हुँदा भुल भन्ने थर धेरैका लागि नौलो होला भनेर मलाई थाहा थिएन । काठमाडौंमा आएपछि आफूबारे मान्छेहरुले सोधखोज गर्न थालेपछि थाहा पाएँ । यो पनि थाहा पाएँ, भुल थरका धेरै मानिसले प्रगति गरेका रहेछन् तर, त्यो प्रगति भुल थर भएरै गरे पनि अहिले अरु नै थरमा परिवर्तन भइरहेका रहेछन् । थर परिवर्तन गर्नुपर्ने कसैको बाध्यता देखेँ भने कतिपयको रहर पनि पाएँ ।

अछामबाट आएर काठमाडौंमा अध्ययन गरिरहेका एक जना त्यस्तै साथी भेटेँ । उनले आफ्नो थर भुसाल भने/लेखे पनि उनको वास्तविक थर भुल रहेछ । भुसाल किन भन्नुभएको भनेर उनलाई सोध्दा जवाफ दिए – ‘मेरो थर भुल भए पनि अहिलेसम्म कसैलाई पनि आफ्नो साँचो थर बताएको छुइनँ । सुरुमा बताए पनि अहिले नजिकका साथीलाई समेत भुसाल नै भनेको छु ।’

मैले यसको कारण बुझ्न चाहेँ । दलित थर भन्ने थाहा पाएपछि काठमाडौंमा कसैले पनि कोठा भाडामा नदिने भएपछि उनले आफ्नो थर परिवर्तन गरेका रहेछन् । तर, भुल भन्ने दलित थर हो भनेर काठमाडौंमा कसैलाई थाहा नभएकाले कसरी दलित ठान्नु ? यसमा उनले औपचारिक पाराको मात्रै जवाफ दिए । पढ्ने कलेजमा भर्ना गर्दा मात्र उनले भुल लेखेका रहेछन् ।

मान्छेहरु किन यसरी आफ्नो थर नै परिवर्तन गर्छन् ? के पाइन्छ थर परिवर्तन गरेर ? परिवर्तन नै गर्नु छ भने आफ्नो क्षमता, आनीबानी, कामकाज र लवाईखवाई पो परिवर्तन गर्नुपर्छ

थर सम्बन्धी रमाइला अनुभव पनि छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला काठमाडौंमा एउटा कार्यक्रममा रिपोर्टिङमा पुगेको थिएँ । रक्तदाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेछ । रक्तदाताहरुलाई सम्मानका लागि मञ्चमा बोलाउने क्रममा एकजना भुल थरका व्यक्तिको नाम पनि बोलाइयो । मलाई अचम्म आग्यो, काठमाडौंमा पनि भुल थरको मान्छे छन् र ? उनी सम्मानित भएर आएपछि परिचय गरेँ, साँच्चिकै भुल थरकै रहेछन् । घर अछाम नै रहेछ र काठमाडौंमा एउटा विद्यालयमा पढाउँदा रहेछन् । साह्रै खुसी लाग्यो ।

भुल थर भएकामध्ये पनि विद्यार्थी नेतादेखि सरकारी कर्मचारी र राजनीतिक दलका नेतासम्म छन् । उनीहरु कोही भुजेल र कोही बिएल बनेका छन् । उनीहरुले आफ्नो थरका पछाडि क्षेत्री, ब्रह्मण पनि उल्लेख गर्न थालेको प्रशस्त उदाहरण छन् । तर, यो सत्य हो, उनीहरुले अरुका लागि आफ्नो थर नै परिवर्तन गरे पनि आफ्ना लागि भने परिवर्तन गरेका छैनन् । किनकि उनीहरु जहाँ पुगे, भुल र दलित थर भएकैले पुगेका हुन् । कहीँ कतै आरक्षण चाहियो भने उनीहरु म दलित हुँ, मेरो थर भुल हो भन्न पछि पर्दैनन् ।

अहिले धेरैले आफ्नो थर परिवर्तन गर्न थालेपछि र वास्तविक थर भएकासँग बनावटी थर मिल्न थालेपछि वास्ततिक थर भएकाहरु संकटमा पर्न थालेका छन् । मलाई सधैं लागिरहन्छ, मान्छेहरु किन यसरी आफ्नो थर नै परिवर्तन गर्छन् ? के पाइन्छ थर परिवर्तन गरेर ? परिवर्तन नै गर्नु छ भने आफ्नो क्षमता, आनीबानी, कामकाज र लवाईखवाई पो परिवर्तन गर्नुपर्छ ।

थर परिवर्तन गर्ने चलन खासगरी दलित समुदायका मानिसमा देखिन्छ । देश जातीय छुवाछुतमुक्त घोषणा भए पनि छुवाछुत कायमै रहँदा थर फेर्नुपरेको विवशता सुनिन्छ । तर, आफ्नो थर लुकाएर अर्कै थर बनाउँदैमा छुवाछुत कम हुन्छ त ? त्यसका लागि त चेतना र विचार पो परिवर्तन गर्नुपर्छ । थर परिवर्तनले केही दिन केही मानिसका अगाडि लुके पनि सबै र सधैंका लागि कहिल्यै लुक्न सक्दैन । थर लुकाउने, फेर्ने जस्ता कारणले नै हाम्रो भुल थर पनि ओझेलमा परेको हो ।

हामी आफ्नो थरलाई नै परिवर्तन गरेर अरुको थरमा उक्लिने प्रयास नगरौं । कोही दलित मानिस थर परिवर्तन गर्दैमा क्षेत्री बन्ने होइन र कोही क्षत्री थर फेरेकै भरमा ब्राह्मण बन्ने होइन । सकिन्छ भने उदाहरणीय काम गरेर आफ्नो थरलाई उच्च तहमा पुर्‍याऔं, होइन भने जहाँ छ त्यहीँ रहन दिऔं । आफ्नो क्षमता र कलालाई प्रयोग गरेर अघि बढौं ।

(लेखक हिमालय टेलिभिजनमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment