+
+

गायक भाइलाई सम्झिएर सिक्किमबाट काठमाडौं

जोतारे धाइबा जोतारे धाइबा
२०७३ भदौ २९ गते १३:४५

Garjaman Gurung

तिमी चिया बगानमा राबाङ्लादेखि झरेको
हुस्सु र कुहिरोसँगै सिमसिम पानी परेको
मायालु… हो… मायालु
चियाबारीको डिलैडिलमा हात समाई घुमेको

गायक खेमराज गुरुङ र भारतको सिक्किमका सडक तथा पुल र सांस्कृतिक धरोहर मन्त्री गर्जमान (जिएम) गुरुङ धेरै पटक सिक्किमको कुना-कन्दरा सँगसँगै घुमे । घुमघामपछि मन्त्री निवासमा सँगै मिलेर यस्तै गीत कोर्थे । स्थानीय ठाउँ, समुदाय र संस्कृतिको कुरा गीतमा खिप्थे ।

खेमराज सिक्किम जाँदा मन्त्रीको घरमा पुगेकै हुन्थे । त्यहाँको लोकगीत गाउँछु भन्थे । नभन्दै सम्पूर्ण सिक्किमलाई हेरेर पर्यटन प्रवर्द्धन गर्ने गीतहरु बनाउने योजना अघि बढ्यो । निधन हुनु अगाडिसम्म पनि उनी पर्यटन गीतहरु तयार पार्न जुटेको मन्त्री गुरुङ सम्झिन्छन् ।
‘६ महिना, वर्ष दिनमा उनी सिक्किम आइरहन्थे । सुदूर इलाकाहरुसम्म पुगेर हामी मकैको ढिँडो, गुन्द्रुक र सिन्की खाँदै गीतहरु बनाउँथ्यौं,’ उनले भने ।

लेखेका थुप्रै पर्यटन गीतहरुमध्ये खेमराजले जम्मा दुइटा गीत काठमाडौंमै रेकर्ड गराएका रहेछन् । बाँकी गीतहरु भएको डायरी नभेटिएको मन्त्री गुरुङले सुनाए ।

‘हामी विभिन्न जगह (ठाउँ) को नाम गीतमा समावेश गर्दै गीतहरु बनाउँदै थियौं । तर, अधुरो रह्यो हाम्रो योजना । जिन्दगी यसरी नै अधुरो हुन्छ,’ शोक र चिन्ता एकैसाथ छल्कियो ।

खेमराजको निधन भएको २१औं दिनको पुण्य तिथिमा मंगलबार उनै मन्त्री सुकेधाराको नमोबुद्ध गुम्बामा थिए । खेमको परिवारलाई समवेदना प्रकट गर्न ३५ जनाको टोली सिक्किमबाट काठमाडौं आएको थियो । ‘खेमराज मेरो हितैषी गायक भाइ भएकोले व्यक्तिगत भावना त छँदै थियो,’ मन्त्री गुरुङले भने, ‘मुख्य मन्त्री पवनकुमार चाम्लिङले समवेदना पुर्‍याउन गइदिनुस् भनेकोले आएको हुँ ।’

प्राकृतिक सौन्दर्य निकै रुचाउने खेमराज खोलानाला र गाउँले जनजीवन देख्नासाथै गीतका गेडा बुन्न थालिहाल्थे । सिक्किम गएको बेला कहिले हप्ता-दश दिन त कहिले महिना दिनसम्म बसेर स्थानीय जनजीवन र डाँडापाखा नियाल्थे । त्यस क्रममा खेमसँग मन्त्री गुरुङको रुचि मिल्यो, प्रकृति र लोक संगीतमा रमाउने ।

०००

खेमसँग मन्त्री जिएम गुरुङको सरसंगत केवल दुई-चार वर्षको होइन । भेटको सिलसिला करिब १५ वर्षअघि सिक्किमबाटै सुरु भएको थियो । उतिबेला सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको स्थापना दिवसको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा भारतका विभिन्न प्रान्तका कलाकार आएका थिए । नेपालबाट कुन्ती मोक्तान, राजेश पायल राई, सुक्मित गुरुङ लगायतका धेरै कलाकारसँगै खेमराजलाई पनि निम्त्याइएको थियो ।

पछिल्लो समय जन्मथलो संखुवासभाको खाँदबारीमा गुम्बा गुम्बा बनाएर त्यसलाई अध्यात्मिक महत्वमा मात्रै सीमित नराखी पर्यटकीय स्थलका रुपमा पनि विकास गर्ने खेमको सोच थियो

त्यसबेला खेमको ‘वारि जमुना’ गीत निकै चर्चित थियो । त्यो पूर्वेली भाकाले देशको सिमानाभन्दा पर विदेशका नेपालीभाषीमाझ समेत जादु गरेको थियो । कुनै पनि सांगीतिक कार्यक्रममा दर्शकलाई अन्तिम समयसम्म अल्झाइराख्न हिट गीत अन्तिममा पस्किने चलन नै छ । सोही अनुसार खेमको पालो पनि सबैभन्दा पुछारमा राखिएको थियो ।

धेरै कलाकार थिए । साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा गीत-संगीतको बहार रातैभरि चल्यो । ‘खेमराजले गाउन थाल्दा त बिहानको साढे ४ बजिसकेको थियो,’ मन्त्री गुरुङले सम्झिए ।

कार्यक्रमको संयोजक मन्त्री आफैं थिए । संयोजकका रुपमा कलाकारसँग सोझै सम्पर्क भएकोले पहिलो भेटमै खेमसँग केही निकटता भयो । त्यसपछिको समयमा घनिष्टता अझ बढ्दै गयो ।

खेमराज कपनस्थित होंगवाङ्जी गुम्बाका अध्यक्ष सोनाम वाङ्दी भुटियाको साथमा सिक्किम पुग्थे । गुम्बाहरु बनाउन सरसहयोग गर्न अघि सर्थे । पछिल्लो समय जन्मथलो संखुवासभा खाँदबारीमा गुम्बा बनाउने योजना सुनाउने गरेको मन्त्री गुरुङ सम्झिन्छन् । ‘गुम्बा बनाएर त्यसलाई अध्यात्मिक महत्वमा मात्रै सीमित नराखी पर्यटकीय स्थलका रुपमा पनि विकास गर्ने उनको सोच थियो,’ उनले सुनाए, ‘राजधानीसँग संखुवासभालाई जोड्न चाहन्छु भनिरहन्थे ।’

०००

झट्ट हेर्दा मन्त्री गुरुङ खेमराजका सहोदर दाइ जस्ता देखिन्छन् । उस्तै मोटो कद, बाटुलो अनुहार र गीत गुनगुनाउने उही शैली । उमेरमा खेम उनीभन्दा १५ वर्ष कान्छा थिए ।

‘हामी त दाजु-भाइ जस्तै छौं है भनेर खेम प्रायः भनिरहन्थे । हुन पनि हामी साह्रै मिल्थ्यौं,’ टोलाउँदै सम्भिmए, ‘मैले लगाउने सर्ट उनलाई ठिक्क हुन्थ्यो । हामी घडी पनि साटफेर गरेर लगाउँथ्यौं ।’

जिउ मिले जस्तै खानपानमा खूब मिलेर रमाउँथे दुवै ।

खानपानको कुरा गरिरहँदा खेमलाई धेरै पिउने बानीले लगेकोमा थकथक माने उनले । नेपालबाट जाने अन्य कलाकारहरुसँग मन्त्री गुरुङ आग्रह गरिरहन्थे, कलाकारलाई पिउनबाट जोगाउनुपर्छ, सम्झाउनू है खेमलाई !

सामुन्नेमै हुँदा पनि जिस्के जस्तो गरी आफैं सम्झाउँथे, ‘पिउन त कसले पिउँदैन र भाइ ! तर, पिउन जान्नुपर्छ । धेरै पिउनेले थोरै समय पिउन पाउँछ । थोरै पिउनेले धेरै समय पिइरहन्छ । यसैले धेरै खानको लागि थोरै-थोरै गरेर खानुपर्छ ।’

गायकी प्रतिभा र दाजुभाइको आत्मीयतासँगै उनले खेमराजमा देखे, बिन्दास मान्छे ! अरुको दुःख देख्न नसक्ने हरिश्चन्द्र जस्तो । जुन ठाउँमा गयो, त्यो ठाउँमा त्यहाँको समुदायसँग घुलमिल भएर बस्न सक्ने । समाजको लागि केही गरौं भन्ने सकारात्मक सोच भएको ।

खेमराजको ‘वारि जमुना’ भाका कहिल्यै विलीन नहुने र भावी पुस्ताले समेत रुचाइरहने सदाबहार गीत हो भन्ने उनलाई लाग्छ ।

१५ वर्षअघिको कार्यक्रमपछि खेमले सिक्किममा एक दर्जनभन्दा बढी कार्यक्रममा गीत-संगीत प्रस्तुत गरे । यसमा मन्त्री गुरुङको अग्रसरता अहम् रह्यो । नतिजा कस्तो भने, आज सिक्किमका हरेकजसो घर खेमराजको गला र कलासँग परिचित छ । ‘खेमराजलाई प्रत्यक्ष नभेटेकाहरुले पनि खेमको फोटो र गीत आफ्नो घरमा राखेको पाइन्छ,’ उनले सुनाए ।

०००

भावनाले जोडिएका यी दाजुभाइको भेट हुँदा प्रायः संगीतकै कुरा हुन्थ्यो । प्राकृतिक कुरा हेरेर रमाउँदै त्यसैबारे गीतहरु बनाउँथे । स्थानीय भाका र शैलीहरुको खोज गर्ने क्रममा फलानो जातिको यस्तो बाजा र लय हुन्छ भनेर सुनायो भने त्यहाँ जानैपर्छ भनेर जिद्दी कसिहाल्थे खेम ।

०६४ सालतिर खेमराजले ‘ढाक्रे’ नामक गीति सँगालो निकालेपछि मन्त्रीले नेपालका भाइलाई फेरि जोडदार सम्झिए, ‘भाइ, जसरी तिमीले पहाडको उकाली र ओरालीको कुरा गीतमा गरेका छौं । हाम्रोमा पनि यस्तो ढाक्रे र तोक्माको कुरा छ, सिक्किम आऊ ।’

तर, पछिल्लो समय यातायातको सुविधाले सिक्किमको पहाड पनि समथर फाँटै जस्तो सहज भएको छ । एक समय ढाक्रेले ढाकर बोक्ने र तोक्मा बिसाउँदै हिँड्ने खोला किनार र भिरपाखामा मोटर दगुर्न थालेको छ । यद्यपि पुरानो दिनको कष्ट र व्यथा जनताको मन-मस्तिष्कमा ताजै रहेकोले ढाकर र तोक्मा कसैले नबिर्सेको उनी बताउँछन् ।

मन्त्री गुरुङलाई लोकगीतमा पनि लोकदोहोरी बढी मन पर्छ । नेपालका प्रायः लोकदोहोरी कलाकारलाई चिन्छन् । नामै सुनाए – बद्री पंगेनी, सिन्धु मल्ल, शर्मिला गुरुङ । भन्छन्, ‘प्रायः नेपाली गीतहरु नै चल्छ सिक्किममा । युट्युब, सीडीमार्फत हेर्छन्, सुन्छन् ।’

यताका भाइ सिक्किममा धेरै पटक गए पनि पारिका मन्त्री दाइलाई आफ्नो जन्मथलो संखुवासभा लैजान नपाउँदा खेमलाई खसखस भइरहेको थियो । यसैले यो वर्षको हिउँदमा सँगै संखुवासभा गएर घुम्ने सल्लाह भएको थियो । ‘सेप्टेम्बर ९ तारिखमा अमेरिका गएर उताबाट फर्केलगत्तै हाम्रो गाउँ जानुपर्छ भन्थे । अहिले वर्षामा बाटो राम्रो छैन भन्ने कुरा भएको थियो,’ उनले अन्तिम भेटको कुराकानी सम्झिए ।
अगष्टको ५ तारिख सिक्किम पुगेका खेमसँग भोलिपल्ट उनको भेट भयो । त्यही भेट नै अन्तिम बन्न पुग्यो ।

खेमको निधन भएपछि लोकपि्रय गायकको सम्झनामा सिक्किमका कलाकार, राजनीतिक दलले शोकसभा गरे धेरै ठाउँमा ।

यता नेपालमा कलाकारको श्रद्धाञ्जलीमा देखिएको भिड र दिइएको सम्मान टीभी र फेसबुकमा हेरेर मन्त्री गुरुङ खुशीले झनै पग्लिएछन् । ‘त्यो सम्मान बहुत ठूलो थियो, जो कोहीले पाउन सक्दैन,’ यति भनिरहँदा उनको आँखा रसिलो थियो, तर त्यसमा मुस्कान जस्तो चमक पनि छाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?