Comments Add Comment

गौतम भन्छन्- बली चढ्न पाउनु पशुको भाग्य हो !  टण्डन भन्छन्- मठमन्दिरलाई बधशाला नबनाऔं !

Ghadhi mai२३ असोज, काठमाडौं । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको बताएका छन् । आइतबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गौतमले भने- ‘पशु बली दिनु हाम्रो शास्त्रमै उल्लेख छ, देवीलाई शक्ति प्रदान गर्नका लागि बली दिइने हो ।’

 गौतमले भने- मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन

डा.गौतमले बजारमा हल्ला भएजस्तो बलीको संख्या नघटेको समेत दाबी गरे । उनले देवीदेवतालाई दिइने बली प्रसादका रुपमा कसैले मासु खान्छ भने त्यो राम्रै हुने बताए । शास्त्रमै उल्लेख भएकाले पशु बली रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने गौतमले चुनौति दिए ।

‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनुपर्छ, मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो, गौतमले भने- अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ ।’

गृहस्थाश्रममा बसेर सुखसुविधा भोग गर्नेले अनिवार्य बली दिनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा.डा. गौतमले दाबी गरे । ‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गायज्ञका बेलामा अनिवार्य बली दिनुपर्छ,’ गौतमले भने- प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ, राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।’

दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने गौतमले बताए । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलीप्रथाको सुरुवात भएको डा. गौतमले बताए ।

उनका अनुसार राज्य सञ्चालन गर्ने क्षत्रीयमा बली दिनैपर्ने मान्यता रहेको छ । गौतमका अनुसार बली पनि तीन प्रकारका हुन्छन् ः सात्विक बली, राजस बली र तामस बली । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत आदिले पूजा गर्ने विधिलाई सात्विक बली भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बली भनिन्छ । सात्विक र राजस दुवै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजाविधिलाई तामस बली भनिने गौतमले स्पष्ट पारे ।
गुहृयेश्वरी मन्दिरमा तामस विधिबाट बली दिने परम्परा रहेको उनले बताए । पशुबली दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी दिने विधि रहेको उनले बताए ।

मासु नखाने (शाकाहारी) ले पनि बली दिएर सुँघेर छोड्ने परम्परासमेत रहेको गौतमले बताए । उनले भने- ‘अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रति विधि भएकाले शक्तिपीठमा बली दिनुपर्छ भन्ने मान्यता प्रबल छ ।’

रिपोर्टस क्लबले आइतबार आयोजना गरेको दशैं सम्बन्धी कार्यक्रममा डा. गौतमले दशैंको सामाजिक, सांस्कृतिक र धार्मिक महत्वबारे प्रकाश पारेका थिए ।

मठमन्दिरलार्इ  बधशाला नबनाअाैंः   टण्डन

Gobinda Tandanकार्यक्रममा बोल्दै बलीप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले चाँहि डा. गौतमको तर्कविपरीत शास्त्रले बली प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको दाबी गरेका छन् ।

सदस्यसचिव टण्डनले भने, ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बली दिने भनिएको हो, पशुलाई होइन ।’

राणा र राजाको दरबारमा बली प्रथाको साक्षी बसेकाहरुले बलीलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेको टण्डनले आरोप लगाए ।

बली प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशुको ज्यान लिन नहुने उनको भनाइ छ । बली प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बली ४५ प्रतिशतले घटेको उनको दाबी छ ।

पशुबली यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुवलीविरुद्धको अभियान चलाइएको टण्डनले बताए । पशुवलीका नाममा अब देशका मठमन्दिरहरु वधशालामा परिणत हुनेसमेत टण्डनको आरोप छ । उनले भने-‘मठमन्दिरमा रगतको खोला बगिररहेको छ, यही तरिका हो भने हामी हिंसाबाट माथि उठ्न सक्दैनौं ।’

यो पनि पढ्नुहोस्
ब्यारेकभित्र बली प्रथाः नेपाली सेनाले यसरी मनाउँछ दशैं

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment